- प्रेम बास्तोला/ राजु झल्लु प्रसाद
बुङचुङः धादिङको सिद्धलेक गाउँपालिका किसानहरूले बर्सेनि उत्पादन गर्दै आएको घिरौँला काठमाडौं, पोखरा लगायत स्थानका उपभोक्ताहरूको पहिलो रोजाइमा पर्ने गरेको छ ।


काठमाडौं, ललितपुर, भक्तपुर लगायत क्षेत्रका ठूला तथा साना तरकारी बजार र पसलहरूमा बिहान-बेलुकै आउने उपभोक्ताहरूको पहिलो रोजाइमा सिद्धलेकका किसानले उत्पादन गर्ने घिरौँला पर्ने गरेको हो । सिद्धलेकका किसानले वर्षका दुई पटक खेतबारीमा लगाउने घिरौँला त्यस अलावा बनेपा, धुलिखेल, काभ्रे, चितवन, हेटौंडा र पोखराका उपभोक्ताहरूबीच पनि लोकप्रिय मानिन्छ । यी बजारमा बुङचुङको घिरौँला हारालुछ हुने गरेको छ ।
मलेखुबाट धादिङबेसीसम्म पुग्ने नमुना हरियाली सडक कालु पाण्डे राजमार्गले छोएको सिद्धलेक गाउँपालिका वडा नम्बर-५ स्थित बुङचुङ र त्यसको आसपास क्षेत्रको मुख्य तरकारी बाली घिरौँला रहेको छ । यस गाउँपालिकाको वडा नम्बर २, ३ र ४ मा पनि घिरौँला खेती हुने गरेको साना किसान सहकारी संस्था लिमिटेड बुङचुङ शाखाका सह इन्चार्ज सन्तोष श्रेष्ठले जानकारी दिए ।


बुङचुङ शाखामा मात्र ५ हजार केजी तरकारी दैनिक किसानले बिक्री गर्ने गरेको उनले बताए । त्यसमा पनि सबैभन्दा बढी चाहिँ घिरौँला नै हुने गरेको उनले जानकारी दिए ।
‘न्यू नारायणी’ जातको घिरौँला यस पालिकाका किसानहरूले १५ वर्षअघिबाटै निरन्तर लगाउँदै आएको उनले बताए । यो जाँतको घिरौँलालाई सामान्य गोबर मल, सामान्य मात्रामा रासायनिक मल र सिँचाई भए पुग्ने समेत श्रेष्ठले बताए । “यहाँको माटोले न्यू नारायणी जातको घिरौँला रुचाएको छ, यसकारण किसानहरूको पनि यस घिरौँलाप्रति आकर्षण बढेको छ”, उनले भने ।
यस जातको घिरौँला सलक्क परेर पोटिलो हुने गरी फल्ने र एउटै घिरौँला आधा केजी सम्मको हुने गरेको उनले बताए । “यस जातको घिरौँलाको स्वाद पनि मिठो हुने भएकाले किसान र उपभोक्ताहरूको बर्सेनि पहिलो रोजाइमा परेको हो । अर्कोतर्फ, घिरौँलामा प्रशस्त मात्रामा फाइबर हुन्छ, जसले हाम्रो पाचन प्रक्रियालाई तन्दरुस्त बनाउने हुँदा पनि शहरवासीको घिरौँला मोह बढेको छ”, उनले भने।


वैशाखबाट उत्पादन हुने घिरौँलाको पहिलो लटमै किसानहरूले बारीमै प्रतिकेजी एक सय रुपियाँसम्म मूल्य पाएको सोही सहकारीको शाखा कार्यालयका कर्मचारी नन्दराज सिलवालले जानकारी दिए । खडेरी लागेको बेलामा पनि बुङचुङ क्षेत्रबाट मात्रै सहकारीबाट दैनिक तीन देखि पाँच गाडीसम्म घिरौँला काठमाडौंको कालीमाटी तथा बल्खु बजारमा जाने गरेको उनले बताए । “असार लाग्दा पनि किसानको बारीमा घिरौँलाका झाङहरूमा फसल लागिरहेको र हाल प्रतिकेजी ३५ रुपियाँका दरले किसानले सहकारी मार्फत मूल्य पाइरहनुभएको छ”, उनले भने ।


कृषिजन्य तथा पशुजन्य उत्पादित वस्तु खरिद-विक्री न्यूनतम समर्थन मूल्य उपसमितिको सिफारिसमा सन्चालक समितिको निर्णयअनुसार न्यूनतम समर्थन मूल्य तोकिएकाले अन्यत्र सरह कृषक मर्कामा नभएको उनले बताए । “तरकारी तथा फलफूलको जातअनुसार प्रति के.जी. न्यूनतम समर्थन मूल्य तोकिएको छ । हिउँदे (श्रावनदेखि पौषसम्म) र वर्षे (माघदेखि असारसम्म) गरेर तीन वटा ग्रेड: ए ग्रेड, बि ग्रेड र सी ग्रेड तोकेका छौँ । जसअनुसार, हरियो घिरौंलाको वर्षे अन्तर्गत ए ग्रेडको ४० रुपैयाँ, बि ग्रेडको ३५ रुपैयाँ र सी ग्रेडको १० रुपैयाँ दिने गरेका छौँ । उत्पादन बिग्रिएमा पनि हामीकहाँ ल्याइदिएपछी प्रतिकेजी १० रुपैयाँ किसानहरूले अनिवार्य पाउनुहुन्छ”, उनले भने ।


घिरौँला उत्पादन पनि गर्दै आइरहेका एवं बुङचुङ क्षेत्र आसपासका साना किसान सहकारीमा आबद्ध नभएका किसानहरूले उत्पादन गर्ने ४ गाडी घिरौँला दैनिक रूपमा खरिद गरिदिएर काठमाडौं, चितवन र पोखराको तरकारीको होलसेल बजारमा पठाउने काम गर्दै आइरहेका रामजी श्रेष्ठले घिरौंला खेती राम्रो हुँदै गएको बताए । उनी हप्तामा दुई चोटी जस्तो बुङचुङ, मावि खोला, परेवाटार लगायत क्षेत्रका किसानले उत्पादन गरेको घिरौँला खरिद गर्दै आइरहेका छन् ।


व्यापारी समेत रहेका श्रेष्ठ भन्छन्, ‘यहाँको घिरौँलाको काठमाडौंको कालीमाटी, बल्खुको ठूला तरकारीका होलसेल बजार, चितवनको नारायणगढ, मकवानपुरको हेटौडा बजार र पर्यटकीय राजधानी पोखराका होलसेल तरकारी बजारमा बर्सेनि माग उच्च हुने गरेको छ । व्यापारीहरूको मात्र नभई त्यस क्षेत्रका उपभोक्ताहरूको पहिलो रोजाइमा पर्ने भएकाले सिजनमा घिरौँलाको माग उच्च नै हुने गरेको छ ।’ किसानले जति उत्पादन गरे पनि बारीमै गएर आफूले खरिद गरिदिने गरेको समेत उनले बताए ।
मावि खोलादेखि बैरेनीसम्मको खोला किनारको खेतबारीमा किसानहरूले बर्सेनि दुई पटक ‘न्यू नारायणी’ जातको घिरौँला लगाउने गरेको सिद्धलेक गाउँपालिकाको सलाङघाटमा मुख्य कार्यालय रहेको साना किसान सहकारी संस्था लिमिटेड सलाङका व्यवस्थापक हरिनारायण श्रेष्ठले जानकारी दिए ।


उनका अनुसार किसानहरूले एक रोपनीदेखि लिएर २० रोपनी क्षेत्रफलमा बर्सेनि घिरौँला लगाउने गरेका छन् । सहकारीको मुख्य कार्यालय नजिकै रहेको तरकारी सङ्कलन केन्द्रबाट मात्रै घिरौँलाको सिजनमा काठमाडौं, चितवन, हेटौडा र पोखराको बजारमा दैनिक रूपमा ८/१० गाडी जाने गरेको छ ।
फाल्गुण र चैत्रमा लगाइएको घिरौँलाले खेतमा धान रोप्नुअघि अर्थात् असारको अन्तिमसम्म फसल दिने गरेको श्रेष्ठले बताए । किसानहरूले घिरौँलाको अलावा लौकाहा, भिण्डी, करेला, बोडी, भेँडी र काँक्रो लगाए पनि बजारमा यहाँ उत्पादन हुने घिरौँलाकै बढी माग भएकाले किसानले पनि बढी क्षेत्रफलमा चाहिँ घिरौँला नै लगाउने गरेको उनले बताए ।
श्रेष्ठका अनुसार असारमा घिरौँला खेती मासेर धान रोप्ने र कात्तिक अन्तिमसम्म धान काटिसकेर सो खेतमा मङ्सिरबाट घिरौँला नै रोप्न चलन रहेको छ । एक व्यावसायिक किसानले घिरौँलाको एक सिजनमा मात्रै खर्च कटाएर ५ लाखसम्म आम्दानी गर्ने गरेको उनले बताए ।


किसानहरूले दिनभरि लगाएर खेतबारीबाट टिपेको घिरौँलालाई प्लास्टिकका क्यारेटमा खबरी कागज (पत्रिका) को सपोर्टमा मिलाएर प्याकिङ गर्ने र ढुवानीका गाडीहरूमा हालेर काठमाडौं लगायतका बजार जस्ताको त्यस्तै पुर्याउने गरेको उनले बताए । “किसानले ग्रेडअनुसार न्यूनतम समर्थन मूल्य पाइसकेपश्चात् बाटोमा तरकारी बिग्रिएमा वा हानी भएमा त्यो जोखिम हामीले नै लिने गरेका छौँ, किसानले हामीकहाँ तरकारी ल्याइदिएपुग्छ”, उनले भने । बुङचुङ लगायत सिद्धलेक गाउँपालिका भरी नै उत्पादन गरिने घिरौँलाको स्वादलाई उपभोक्ताहरूले २० वर्षअघिबाटै सम्झँदै आएको समेत उनले बताए ।




गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले हरेक स्थानीय तहले कृषिमा लगानी गर्नुपर्ने र् कृषिबाट नै वैदेशिक रोजगारीलाई नियन्त्रण गर्न सकिने बताए । “हामीकहाँ नमुना कृषक र व्यवसायिक तरकारी खेती गर्ने कृषकहरू हुनुहुन्छ, उहाँहरूका लागि आवश्यक हरेक सहयोग गर्न पालिका तयार छ । सिचाइ सुविधा लगायतमा समस्या देखिएको छ, त्यसको समाधान गर्न हामी क्रियाशील छौँ”, उनले भने ।
अध्यक्ष खतिवडाले गाउँपालिकाले कृषि तथा पशुपालनलाई विशेष प्राथमिकता दिई विगतदेखि नै कृषिको यान्त्रिीकीकरण एवं व्यवसायिकरण गर्ने उद्धेश्यले विभिन्न कृषि औजार तथा सामाग्री वितरण गर्दै आइरहेको समेत बताए । गाउँपालिकाले कृषि पेशालाई सम्मानित पेशाका रुपमा विकास गर्न गाउँपालिका लागि परेको उनले बताए ।




























































Discussion about this post