प्रदेश स्तरीय कृषि वन उद्यम अवलोकन भ्रमणका लागि दाङसहित १५ जिल्लाका स्थानीय पालिकाका प्रमुख तथा उपप्रमुखहरू सिकाई आदान-प्रदानका लागि दाङको तुलसीपुरमा सहभागी भएका छन्।
ग्रीन फाउन्डेसन नेपालको आयोजनामा कार्तिक ९ गतेदेखि सुरु भएको तीन दिने कृषि वन उद्यम अवलोकन भ्रमण तथा प्रदर्शनीमा सहभागी स्थानीय तहका प्रमुखहरूले कृषि वन उद्यम प्रवर्द्धन, नीति निर्माण, सीप विकास र तालिम कार्यक्रम सञ्चालन, सहुलियतपूर्ण ऋण र अनुदान कार्यक्रम, स्थानीय उत्पादनको बजार विस्तार, पूर्वाधार विकास, उद्यममैत्री नीति कार्यान्वयन, कानुनी सहजीकरण तथा युवालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने विषयमा सुझाव आदान-प्रदान गरेका छन्।
ग्रीन फाउन्डेसन नेपालका केन्द्रीय अध्यक्ष घनश्याम पाण्डेले स्थानीय अर्थतन्त्रलाई सशक्त बनाउन परम्परागत कृषि प्रणालीलाई व्यवसायिक कृषि वन उद्यममा रूपान्तरण गर्न जोड दिए। उनले कृषि वन उद्यमले जैविक विविधता, माटोको संरक्षण, र वातावरणीय सन्तुलनलाई जोगाउन मद्दत गर्ने भएकाले दीर्घकालीन रूपमा आर्थिक स्थिरता कायम गर्न योगदान पुर्याउने बताए। “अब हामीले आ-आफ्ना प्रश्न बदल्ने बेला आएको छ। ‘तपाइँ के काम गर्नुहुन्छ’ भन्दा पनि ‘तपाइँको के व्यवसाय छ’ भनेर प्रश्न सोध्ने बेला भएको छ। नेपाल जागिरेहरूको देश वा विदेश जानेहरूको देश मात्रै बन्नुहुँदैन, उद्यमीहरूको देश बन्नुपर्छ’, उनले भने।
सामुदायिक वन महासंघ तुलसीपुर नगर सचिव रक्षा काफ्लेको स्वागत मन्तव्यपछि सुरु भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका नगरप्रमुख पुष्प वादी, र तुलसीपुर-६ का वडा अध्यक्ष दुजमान भण्डारीलगायतका प्रतिनिधिहरूले कृषि वन उद्यम प्रवर्द्धनलाई स्थानीय तहमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अवलोकन भ्रमणको क्रममा टोलीले तुलसीपुर-६ स्थित तुलसीपुर तरकारी तथा फलफुल बजार, तुलसीपुर-१२ को प्राङ्गारिक मल उत्पादन केन्द्र, गणेशपुर पार्क, गड्यौला मल उत्पादन तथा व्यावसायिक कृषि उद्यम र थारु सांस्कृतिक होमस्टेलगायतका स्थलहरूको अवलोकन गरेको छ।
कार्यक्रमको दोस्रो दिन, भोलि टोलीले तुलसीपुर-१२ हरिपौरीमा सञ्चालित तुलसीपुर मेट्रो कलेजको पढ्दै कमाउँदै उद्यमशीलता विकास कार्यक्रम, ढकिया तथा बाँस उद्यम सहकारी संस्था, र घोराही उपमहानगरपालिका-१० मा रहेको निजी भेनियर प्लाइ उद्योगको अवलोकन गर्ने योजना बनाएको छ।
कार्यक्रमको सहजीकरण ग्रीन फाउन्डेसन नेपाल दाङका सचिव जितबहादुर खड्काले गरेका थिए।



























































Discussion about this post