काठमाडौँ। कलाकाग समूहले मंसिर १३, २०८२ (शनिबार) मा काठमाडौँको मैतिदेवीस्थित Happy Club मा आफ्नो दोस्रो प्रस्तुति कार्यक्रम ‘कलाकाग मेला २.०’ सफलतापूर्वक सम्पन्न गरेको छ। जेनजी आन्दोलन (भाद्र २३ र २४) को कठिन समयपछि केही शान्ति र साहित्यको आवश्यकता महसुस गरी, समयको उकुसमुकुसलाई सम्बोधन गर्न यो विशेष मेलाको आयोजना गरिएको आयोजक समूहले जनाएको छ।
कलाकारहरूको उत्साहजनक सहभागिता
कलाकाग मेला २.० मा विभिन्न विधाका १० जना कलाकारहरूले आ-आफ्ना सिर्जनाहरू दर्शकमाझ साझा गरे। सहभागी कलाकारहरूमा कृति अधिकारी, आलियन श्रेष्ठ, विजय लुईटेल, प्रमिला लुईटेल, र, सारस, बिना नेमकुल, सुदर्शन, रजत लगायत थिए।
विशेष आकर्षणको रूपमा, ‘मायाको पोखरी’ बोलको समूह गीत रजत, भेनिशा, कृति र सारसले प्रस्तुत गरेका थिए, जसले दर्शकको मन जित्यो।
मेलामा समावेशितालाई ध्यान दिँदै ‘ओपन माइक’ को व्यवस्था पनि गरिएको थियो। यद्यपि, समय सीमाको कारण ११ जना इच्छुक नामहरूमध्ये गोलाप्रथाबाट छानिएका ३ जनालाई मात्र आफ्नो प्रस्तुति दिने मौका दिइएको थियो। ओपन माइकमा प्रस्तुति दिने तीनजना कलाकारहरूमा सृजन सुवेदी, शाल्भी र श्रद्धा महत रहेका थिए।


नयाँ र अनुभवी प्रतिभाको संगम
यो कार्यक्रम अनुभवी र नयाँ प्रतिभाहरूको मिलनबिन्दु बन्यो। कवि तथा शिक्षा क्षेत्रमा कार्यरत कृति अधिकारी वर्ड वारियरको कोर समूहसँग पनि सम्बन्धित छिन्। यसैगरी, विजय लुईटेल लोकप्रिय नेपाली रियालिटी शो ‘द पोएट आइडल’ (The Poet Idol) को दोस्रो सिजनका फाइनलिस्ट थिए। उनको ‘समयका खुकुला चप्पल’ नामक किताब पनि बजारमा उपलब्ध छ। सुदर्शन समकालीन नेपाली कविता क्षेत्रमा परिचित नाम हुन् भने प्रमिला लुईटेलको यो पहिलो कविता कार्यक्रम थियो। उनी भर्खरै नेपाल एयरलाइन्सद्वारा आयोजित कविता प्रतियोगिताकी प्रथम विजेता हुन्। कथावाचन र गीत-सङ्गीतमा सक्रिय ‘र’ ले आफ्नो चर्चित गीत ‘रित्तिएको गाउँ’ मार्फत दर्शकलाई मन्त्रमुग्ध पारे।
यस कार्यक्रममा श्रीगेन्द्रले पियानोमा थिए भने डोल्मा लामाले पनि कार्यक्रमलाई सहयोग पुर्याएकी थिइन्।


सहकार्य र आत्मनिर्भरता
‘कलाकाग’ (कलामा लाग्ने कलाकारहरूको समूह) ले विभिन्न विधाका कलाकारहरू सहकार्य गरेर एक-अर्काको साधनामा सहयोगी बन्न सक्छन् र कला मार्फत नै ‘एक कप चिया नै सही’ कमाउन सकिन्छ भन्ने उद्देश्य राखेको छ।
यो कार्यक्रम सेल्फ फन्डेड थियो। यसलाई @MG_Bakebar (मेघनाको कुकीज) र प्रचार-प्रसारका लागि @coredeltav ले सहयोग गरेका थिए।
कार्यक्रमका लागि Happy Club, मैतिदेवीले ‘स्थान र टिकटिङ पार्टनर’ को रूपमा काम गर्यो भने KhajaSaja ‘फुड पार्टनर’ र Perfect Frames ‘भिडियो तथा फोटो पार्टनर’ रहेका थिए।


अबको बाटो: मिठो बाली लगाउने प्रयास
कलाकागको विधिवत् सुरुवात सन् २०२४ मे १२ (२०८१ वैशाख ३०) मा एक भेला गरेर भएको थियो। अहिलेसम्म समूहले ६ वटा ‘भेला’ (जसमा छलफल र एक अर्काको सिर्जना सुन्ने गरिन्छ) र २ वटा ‘मेला’ (जसमा केही मन परेका कलाकारहरूलाई आमन्त्रण गरी प्रस्तुति गराइन्छ) सम्पन्न गरिसकेको छ।
कलाकारहरू कृति अधिकारी, सारस, भेनिषा र अनुप न्यौपाने (एजे बब) को प्रयासबाट ‘कलाकाग’ जन्मिएको हो। उनीहरू ‘कलाले सबै आराम गरेको बेलामा आनन्दलाई प्रश्नले बिथोल्नु पर्छ, र दुखेको बेलामा मलमपट्टी पनि’ भन्ने विश्वास राख्छन्।
समूहले सम्भवतः अर्को महिना नयाँ कार्यक्रम गर्ने संकेत गरेको छ, जसको जानकारी इन्स्टाग्राममा @kalakaags मार्फत प्राप्त गर्न सकिनेछ। तर, तेस्रो मेला भने वसन्त ऋतु नआएसम्म नहुने जानकारी दिइएको छ।
































































Discussion about this post