“भू-प्रविधि विज्ञानको विकास र यसलाई नीति निर्माणमा एकीकृत नगरी दीगो पुनर्निर्माण र आपतकालीन तयारी सम्भव छैन,” – डा. नारायण प्रसाद मरासिनी
काठमाडौं, बैशाख ५ – राष्ट्रिय भूकम्प प्रविधि समाज (NSET) का उप–कार्यकारी निर्देशक डा. नारायण प्रसाद मरासिनीले गोरखा भूकम्पपछिको पुनर्निर्माण प्रक्रियाले नेपालमा भू-प्रविधिको महत्त्वलाई गहिरो ढंगले उजागर गरेको तर अझै पनि हामीसँग भू-इन्जिनियरिङमा नीति, ज्ञान र संरचनागत तयारीको ठूलो अभाव रहेको बताए ।
उनले नेपाल भू-प्रविधि समाज (NGS) को ३१औं वार्षिकोत्सव समारोहको अवसरमा “पोस्ट–गोरखा भूकम्प पुनर्निर्माणका भू-प्रविधिसम्बन्धी चुनौतीहरू र इन्जिनियरिङ शिक्षाहरू” शीर्षकमा प्रस्तुति दिँदै सो कुरा बताएका हुन्।


उनले नेपालले विगतका भूकम्पहरूसँग तुलना गर्दा एवं अन्य देशहरूमा यसै समय आसपास गएका भूकम्पहरूसँग तुलना गर्दा, एकातर्फ नेपालले मृत्यु दर कम राख्न सकेको भए पनि, पुनर्निर्माण रणनीति ढिलो हुनु, विशेषज्ञताको अभाव, र संस्था निर्माणमा ढिलाइले दीगो पुनर्निर्माणलाई असर गरेको बताए।
“पाकिस्तानमा सन् २००५ को भूकम्पपछि दुई हप्तामै ERRA गठन भयो। गुजरातको भूकम्पपछि पनि दुई हप्तामै GDSMA निर्माण भयो। तर, नेपालमा NRA गठन हुन आठ महिना लाग्यो,” – डा. मरासिनी
उनले थपे, “गोरखा भूकम्पअघि भू-प्रविधि इन्जिनियरहरू संरचना डिजाइन र पूर्वाधार योजनामा सहभागी थिएनन्, र दुर्भाग्यवश, अहिले पनि त्यो अवस्थाबाट हामी धेरै टाढा आएका छैनौं।”
भूकम्पले केवल विनाश ल्याउँछ भन्ने सोच अब पुरानो भयो : मरासैनी
गोरखा भूकम्पपछिका भू-जोखिमहरू – रकफाल, पहिरो, लिक्वीफ्याक्सन आदिलाई उनले पुनर्निर्माणको शिक्षाको रूपमा व्याख्या गरे। ती जोखिमहरूको वैज्ञानिक अध्ययन र व्यवस्थापन नभएको खाल्डो अझै कायम रहेकोमा चिन्ता व्यक्त गर्दै उनले भने,
“भूकम्पले केवल विनाश ल्याउँछ भन्ने सोच अब पुरानो भयो। यसले प्रविधिमा नवीनता ल्याउने र संरचना सुरक्षित बनाउने अवसर पनि दिन्छ।”
डोजरको अनियन्त्रित प्रयोग, बदलिंदो वर्षा ढाँचा, र भू-प्राकृतिक संवेदनशीलता जस्ता कारणले २०१७ सालपछि स्थानीय तहको निर्वाचनपछिदेखि पहिरोको घटना देशभर बढेको उनको तर्क थियो।


नीतिगत सुधार र आगामी प्राथमिकता
डा. मरासिनीले भू-प्रविधि ज्ञानको विस्तार र राष्ट्रिय नीतिमा यसलाई संस्थागत गर्नुपर्ने आवश्यकतामा बल दिए। उनले सुझाएका मुख्य कार्यसूचीहरूमा:
- पहिरो जोखिमको वैज्ञानिक नक्शांकन
- ढलान मजबुतीकरण प्रविधिको प्रयोग
- भू-प्रविधि अनुसन्धान र विज्ञहरूको सक्रियता
- क्षेत्रगत भू-प्रविधि मापदण्ड र कार्यविधिको विकास
- शहरी क्षेत्रमा सिस्मिक माइक्रोजोन म्यापिङ
- समग्र भूजोखिमको विस्तृत नक्सा तयार गर्ने कार्य, आदि रहेका छन् ।


नेपाल भू-प्रविधि समाज (NGS) ले आयोजना गरेको यो ३१औं वार्षिकोत्सव कार्यक्रममा विभिन्न भू-इन्जिनियर, अनुसन्धानकर्ता र विद्यार्थीहरूको उल्लेख्य सहभागिता थियो। कार्यक्रमले देशमा भू-जोखिम व्यवस्थापन, पूर्वतयारी र वैज्ञानिक पुनर्निर्माणप्रतिको दृष्टिकोणलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै समापन भएको थियो।




























































Discussion about this post