ललितपुर— मोरङको सुन्दरहरैंचाका युवा कवि सिजन श्रेष्ठ ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार २०८१’ बाट सम्मानित भएका छन्।
एनसिएम डेको अवसरमा, गुरुकुल एजुकेसन फाउण्डेसन एण्ड नेपाल कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा सोमबार ललितपुरमा आयोजित विशेष समारोहमा श्रेष्ठलाई नगद ५० हजार रुपैयाँ, ट्रफी र मेडल सहित पुरस्कृत गरिएको हो।


पुरस्कारको लागि आयोजक संस्थाले सार्वजनिक गरेको अन्तिम चार उत्कृष्ट कृतिहरूको सूचीमा कवि श्रेष्ठको ‘हावामा अल्झिएको स्वर’, युवाकवि पल्लबिबको ‘लाटी’, सुभासिसको ‘क’ र सुरज रानाको ‘जब कविता निस्कन्छ जुलुसमा’ रहेका थिए। तीमध्ये श्रेष्ठको कृति ‘हावामा अल्झिएको स्वर’ लाई विजेता घोषित गरिएको हो।
पुरस्कार ग्रहण गर्दै कवि श्रेष्ठले भने, “यस सम्मानले कवि हुँ भन्ने आत्मबोधलाई अझ सशक्त बनाएको छ। प्रकृतिप्रेमी, नयाँ पुस्तालाई हौसला प्रदान गरिरहने गामबेसीका कवि क्षेत्रप्रताप अधिकारीको नाममा स्थापना गरिएको पुरस्कारबाट सम्मानित हुनु मेरो २२ वर्षे कविता साधनाको मूल्याङ्कन हो। यसले मलाई साहित्य लेखनमा अझ ठूलो जिम्मेवारीबोध गराएको छ।”
क्षेत्रप्रताप अधिकारीको स्मृतिमा स्थापना गरिएको यो पुरस्कार हरेक वर्ष नवीनतम काव्यकृति प्रकाशित गरेका युवा स्रष्टालाई दिने पुरस्कार पुरस्कार संयोजक अमनप्रताप अधिकारीले बताए।


“हामीलाई देशभरबाट मात्र नभई विदेशस्थित नेपाली भाषी कविहरूबाट समेत १० वटा उत्कृष्ट कविता संग्रहहरू प्राप्त भएका थिए। प्रतियोगिताका शीर्ष चार कविता संग्रह- ‘लाटी’, ‘हावामा अल्झिएको स्वर’, ‘कविता कृति क’ र ‘जब कविता निस्किन्छ जुलुसमा’ लगायत ‘म तिमि आउनु अघि नै गइसकेको थिएँ’, ‘मरुभूमिमा वासन्ती याम’, ‘यौवन हराएको मान्छे’, ‘मायाको आयतन’, ‘अर्धब्रम्ह’,’मस्तिष्क नै तपोभूमि’ कवितासंग्रह प्राप्त भएको थियो”, उनले भने।
“यी संग्रहहरू मध्ये हरेकमा आ–आफ्नै विशिष्टता, मौलिकता र भावनात्मक शक्ति थियो। मूल्यांकन समितिले गहिरो अध्ययन र समग्र काव्यपक्षको मूल्यांकनका आधारमा ‘हावामा अल्झिएको स्वर’ लाई यस वर्षको विजेता घोषणा गरेको हो”, अधिकारीले बताए।
पुरस्कारका लागि नेपाली भाषामा लेखिएका, आईएसबिएन नम्बर प्राप्त प्रकाशन गृहबाट वा स्वप्रकाशित गद्य तथा पद्य दुबै शैलीका कवितासंग्रहहरू योग्य हुनेछन्। संग्रह प्रकाशन हुँदा कविको उमेर ३५ वर्ष ननाघेको हुनुपर्ने तथा प्रकाशन मिति २०८० फागुन १ देखि २०८१ फागुन १ सम्म रहनुपर्ने शर्तहरू रहेको थियो।
गुन्जन राई, वेगेन्द्र बुढा, विप्लव प्रतीक समेत सम्मानित:
गुरुकुल एजुकेशनल फाउन्डेशन नेपालद्वारा आयोजित ‘NCM DAY – २०८१’ को विशेष अवसरमा विभिन्न साहित्यिक, सांस्कृतिक र सिर्जनात्मक विधामा उल्लेखनीय योगदान दिएका प्रतिभाहरूलाई सम्मानित गरिएको छ।
NCM Poetry Award 2081 अन्तर्गत, देशभरका विद्यार्थीहरूमाझ आह्वान गरिएको खुला कविता प्रतियोगितामा २०० भन्दा बढी कविता प्रविष्टिहरू प्राप्त भएको आयोजकले जानकारी दिएको छ।
उक्त प्रतियोगितामा डा. स्मीथा श्रेष्ठ, राघव देवकोटा, राजु उवरकोटी, स्वागता लुइँटेल, अभिनय कुमार सिंह र गुन्जन राई शीर्ष ६ कविका रूपमा छनोटमा परेका थिए। गुन्जन राई अन्ततः प्रथम पुरस्कार जित्न सफल भए।


त्यस्तै, ‘कवि क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार – २०८१’ बाट यसपटक नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर रेणुका नगरकोटेलाई सम्मान गरिएको छ। खेल र जीवनमा उहाँले देखाएको प्रेरणादायी संघर्षको कदरस्वरूप यो पुरस्कार प्रदान गरिएको हो।


यस्तै गरी, नेपाली साहित्यमा नवीन शैली र विचार प्रस्तुत गर्ने लेखक तथा गीतकार विप्लव प्रतीकलाई उनको पछिल्लो कृति ‘शाडेनफ्रोएडा’ का लागि विशेष सम्मान प्रदान गरिएको छ। यस कृतिमा समावेश हाइकु शैलीका कविताहरूले नेपाली साहित्यमा नयाँ विमर्शको ढोका खोलिदिएको आयोजकको भनाइ छ।
NCM Cover Artist Award 2081 अन्तर्गत, बेगेन्द्र बुढा विजेता घोषित भएका छन्। यस विधामा आर्यन पण्डित, गृष्मा गुरुङ, प्रशान्त डिसी, बेगेन्द्र बुढा र जोन कोइराला द्वारा प्रस्तुत आवरण-कलाहरू प्रतिस्पर्धामा थिए, जसमा बेगेन्द्र बुढाले निर्णायकहरूको ध्यानाकर्षण गर्न सफल भएका हुन्।


NCM Dance Award विधामा भने, प्रश्ना एण्ड टीम द्वारा प्रस्तुत नृत्य प्रदर्शनलाई उत्कृष्ट ठहर गर्दै सम्मान प्रदान गरिएको हो। उक्त विधामा सुदिक्षा मानन्धर (सोलो), आध्य एण्ड मिमांशा (ग्रुप), आवाशा एण्ड ग्रुप, टिमला महर्जन (सोलो) लगायत प्रश्ना एण्ड टीम को प्रस्तुति रहेको थियो।


कार्यक्रमको प्रमुख अतिथि डा. विजय केसी (डिन, KUSOM) रहेका थिए। त्यसैगरी, नेपाल कलेज अफ म्यानेजमेन्टका एसोसिएट प्रिन्सिपल डा. प्रेम प्रसाद सिलवालले कार्यक्रममा स्वागत मन्तव्य दिएका थिए।




























































Discussion about this post