म्याग्दीः मनाङको तिलिचो ताल जोड्ने नयाँ पदमार्ग सञ्चालनमा आएको छ । समुन्द्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलिचो संसारको सबैभन्दा अग्लो स्थानको ताल हो ।
मुस्ताङको सदरमुकाम जोमसोमदेखि घरपझोङ गाउँपालिका–५ ठिनी भएर तिलिचो तालमा पर्यटक जान थालेका हुन् । यसअघि मनाङको चामेदेखि खाङसार हुँदै तिलिचो ताल जोड्ने पदमार्ग प्रयोगमा थियो ।
मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जोमसोम–ठिनी–नमखुलेक, निलगिरि आइसफल, छेमा ताल, मसोकोन्दो पास हुँदै तिलिचो ताल जोड्ने पदमार्गलाई आन्तरिक पर्यटकले प्रयोग गर्न थालेका बताए । “गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले तिलिचो ताल जोड्ने पदमार्ग निर्माण भएको छ,” उनले भने “यो पदमार्ग भएर दुई दिनमै पर्यटक तिलिचो ताल जान र आउन थालेका छन् ।”
म्याग्दी र मुस्ताङका बासिन्दा, कर्मचारी, व्यवसायीहरू जोमसोम हुँदै तिलिचो ताल भ्रमणमा जान थालेका छन् । यो पदमार्ग भएर तिलिचो पुग्न पाँच हजार एक सय २० मिटर अग्लो मेसोकोन्दो पास ९झञ्जयाङ० पार गर्नुपर्छ । होटल र रेष्टुरेष्टको सुविधा नभएकाले आफै खानेबस्ने सामग्रीको जोहो गर्नुपर्छ । जोमसोमदेखि दुई घण्टा सवारी साधन र छ घण्टा पैदलयात्रा गरेपछि मेसोकोन्दो पास पुगिन्छ ।
मेसोकोन्दोदेखि एक घण्टा पैदलयात्रा गरेपछि तिलिचो ताल पुगिने यसै हप्ता तिलिचो भ्रमण गरेर फर्कनुभएका म्याग्दीको मालिका गाउँपालिका–४ फूलबारीका तुलना बुढामगरले बताए। “उकालो हिँडाइको थकान तिलिचो पुगेपछि वरपरका हिमालको बिचमा रहेको निलो र निश्चल तालको दृश्य अवलोकन गर्न पाउँदा मेटियो,” उनले तिलिचो यात्राको अनुभव सुनाए ।
आर्थिक वर्ष २०८०र०८१ मा घरपझोङ गाउँपालिकाले विभिन्न शीर्षकमा ५० लाख बजेट विनियोजन गरेको तिलिचो ताल जोड्ने पदमार्ग मर्मत तथा स्तरोन्नति योजनाका लागि एक्यापले पनि १० लाख खर्च गरेको छ । घरपझोङ गाउँपालिकाका रोजगार संयोजक शर्मिला श्रीसले प्रधानमन्त्री रोजगार कार्यक्रमको २१ लाख ४९ हजार र गाउँपालिकाको थप रु। २८ लाख ५८ हजार बजेटबाट वडा नम्बर ४ र ५ को विभिन्न ठाउँमा २२ किलोमिटर पदमार्ग बनाएको जानकारी दिइन ।
झोर खोलादेखि –नमखुलेंक खर्क–निलगिरि आइसफल– छमा ताल पहुँच मार्गको सोचिलेंक सम्म पदमार्ग निर्माण तथा स्तरोन्नति गरिएको रोजगार संयोजक श्रीसले बताइन। एक्याप मार्फत पाँच हजार १२० मिटर उचाइमा रहेको मेरोकोन्दो पास क्षेत्रमा ९५० मिटर पुरानो पदमार्ग मर्मत र ६०० मिटर नयाँ पदमार्ग निर्माण गरिएको वरिष्ठ रेञ्जर सञ्जोक थकालीले जानकारी दिए ।
जोमसोम–तिलिचो पदमार्गमा सूचनामूलक साइनबोर्ड, हाइअल्टिच्युड स्थल क्षेत्र, विशेषता, स्थान र उचाइको जानकारीलगायत पर्यटक लक्षित जानकारीमूलक होर्डिङ बोर्ड र साइन पोष्टिङ राखिएको एक्याप जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले बताए।
प्राकृतिक सौन्दर्ययुक्त तिलिचो ताल, नीलगिरि हिमाल, नमखु लेक, हिमचितुवाको वासस्थान, धुम्बा ताल, ह्यारझु भ्यु प्वाइन्ट, ठिनीगाउँ, ऐतिहासिक घरफझोङ किल्ला, कैश्याङ क्याम्प, थकाली कला र संस्कृति, भेडा च्याङ्ग्रा तथा चौरीको गोठ यस पदमार्गका आकर्षण हुन् । रासस



























































Discussion about this post