- धर्म बहादुर अर्याल
ज्वालामुखी गाउँपालिका ऐतिहासिक धार्मिक स्थल ‘जलमुखी मन्दिर’को नामबाट नामाकरण भएको हो । जलबाट उत्पन्न भएर स्थापना गरिएको जलमुखीबाट अपभ्रंश हुँदै ज्वालामुखी नाम रहन गएको हो । साबिकको चार वटा गाउँपालिका चैनपुर, खरी, ढोला र मैधी मिलेर हालको ज्वालामुखी गाउँपालिकाको भूगोल तयार भएको हो ।
गाउँपालिकामा रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेका स्थलहरूको वृत्ति विकास गरेर उत्थान गर्न आवश्यक रहेको छ । यसका लागि केही कदम गाउँपालिकाले चलाएको छ । म सम्झन्छु, म जिल्ला विकास समिति धादिङको सदस्य हुँदा ज्वालामुखी मन्दिरको जीर्णोद्धार गर्ने कामको सुरुआत गरिएको थियो । त्यस बखत विक्रम संवत् १७०० देखिका ऐतिहासिक कुराहरू फेला पारेका थियौँ ।


त्यसका अलावा वडा नम्बर ३ मा रहेको मैधीकोट र खड्गदेवी मन्दिरको आफ्नो बेग्लै ऐतिहासिक एवम् धार्मिक महत्त्व रहेको छ । पृथ्वीनारायण शाहको व्रतबन्ध नै यहीँ भएको कुराको आधिकारिक पुष्टि भइसकेको अवस्था छ । गाउँपालिका भित्र रहेका खरिकोट, अन्नपूर्णा मन्दिर, बराह कालिका, दारेगौंडा, देवीस्थान, कालिका शिवालय (सत्तल), सुवर्ण दधी ज्वालामुखी धर्म महाविहार, पौवा वन क्षेत्र, चित्रेकालिका मन्दिर लगायतका पुरातात्त्विक, ऐतिहासिक, धार्मिक एवं पर्यटकीय स्थलहरूको अध्ययन, अनुसन्धान र प्रचारप्रसारको आवश्यकता महसुस गरेका छौँ । पालिकाभित्रका यस्ता स्थलहरूमध्ये आन्तरिक पर्यटकमाझ प्रचारको हिसाबले ढोला बसाह मन्दिर चिनिएको छ । प्राकृतिक हिसाबले समेत सम्पन्न उक्त मन्दिर ‘प्राकृतिक मन्दिर’को रूपमा पनि परिचित हुँदैछ । अन्य क्षेत्रको पनि यसप्रकारको परिचय बाहिर ल्याउने प्रयासमा छौँ ।


जातजाति तथा संस्कृतितर्फ: ज्वालामुखी विभिन्न जातजाति र उनीहरूको पृथक् संस्कृति, खानपान, रहनसहन, भेषभूषाले सिँगारिएको गाउँपालिका हो । हस्तान्तरणमा समस्या, पूर्वीय सनातनी एवं जनजाति समुदायका मौलिक संस्कारमाथिका आक्रमण, प्रविधिको विकास एवं तिनीहरूको संरक्षण र संवर्द्धनमा देखिएका उदासीनताका कारण हामीकहाँ सांस्कृतिक अल्पताको महसुस भएको छ, र त्यसको जगेर्नाका तत्काल काम गर्नुपर्ने देखिएको छ । उदाहरणका लागि घाटु नाचलाई लिन सकिन्छ । मैधीमा अहिले पनि घाटु लगाउने चौताराहरू छन् तर घाटु देखाउन छाडिएको छ । वडा नम्बर ६ मा पनि घाटु नचाउने चौर नामक स्थान रहेको छ तर, घाटु भने लोप भएको छ । लोप भएको यस नाचलाई फेरी कसरी जागृति गराउन सकिन्छ भन्ने विषयमा गाउँपालिकाले योजना बनाउन खोजिरहेको छ ।
पूजापाठ तथा धार्मिक कार्यक्रममा भजन, चुड्का, बालन गाउने लगायतका मौलिकताबाट विगतमा यस गाउँपालिका प्रख्यात थियो । रामपुरमा ख्याति प्राप्त समूहबाट भजन हुने गर्थ्यो । मैधीको खैँजडी भजनले पनि नाम कमाएको हो । चैनपुर र मैधीकोटमा पञ्चेबाजाहरू जिल्लामा नाम बनाएका थिए । अहिले यी कुराहरू हराउँदै गएका छन् । जनजाति समुदाय या भनौँ विशेषगरि मगर समुदायको बाहुल्यता भएको स्थानमा देख्न पाइने सोरठी, मारुनी लगायतका नाचहरूको पुनरुत्थान आवश्यक भइसकेको महसुस गरेका छौँ । लाखे नाँच पनि यहाँ देख्न पाइन्छ, जुन काठमाडौँबाट बसाइसराइ गरी आउने नेवार जातिले भित्र्याएका हुन् । विभिन्न कारणले ओझेलमा पर्दै गएका मौलिक संस्कृतिहरूलाई जगेर्ना गर्नुपर्ने दायित्व समेत हामीमा आएको छ, त्यसका लागि गाउँपालिका गम्भीर छ । बुढापाका सुस्ताउने चौतारा, साँझ बिहान भजन गुञ्जने पाटीपौवाहरूको संरक्षणमा कुनै कन्जुस्याइँ गर्ने छैनौँ ।


चाडपर्वतर्फ, नाग पञ्चमीदेखि चैते दसैँसम्म राष्ट्रभरि मनाइने विभिन्न चाडबाडहरू यहाँ मनाइन्छ । एक आपसमा परस्पर सम्बन्ध जोडिएका यी चाडहरूसँगै जातीय विविधताअनुरूपका खाद्य संस्कृति पनि जोडिएर आउँछ । सँगै, पुस १५ मा उद्घाटन गरेर गोरु जुधाई कार्यक्रम सुरु गर्ने र माघे सङ्क्रान्तिमा टोल–टोलमा गोरु जुधाई मनोरञ्जन लिने चलन हामीकहाँ छ । यस्ता मौलिक, ऐतिहासिक तथा धार्मिक संस्कृतिले गाउँपालिका भरिपूर्ण छ । ज्वालामुखी गाउँपालिकाको स्थानीय सरकारको नारा नै ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार; समृद्ध ज्वालामुखीको मूल आधार’ भन्ने रहेको छ । यसै अन्तर्गतको कदमको रूपमा लोप हुन लागेका सांस्कृतिक कुराहरूलाई लिपिबद्ध गरी पाठ्यक्रम तयार गर्ने योजना स्थानीय सरकारले बनाइरहेको छ, जसले संस्कृति पुस्तान्तरण गर्न समेत सहयोग पुर्याउनेछ ।


वन, वातावरण तथा जैविक विविधतातर्फ, पछिल्लो समय पूर्वाधार निर्माण, सडक निर्माण र विस्तार आदि कार्यले वनजङ्गल तथा प्राकृतिक सम्पदामा दक्खल पुर्याएको छ, जसकारण लोपोन्मुख प्रजाति र तिनको वासस्थानमा चुनौती नआओस् भनि खाली जमिनमा वृक्षारोपण गरी वनजङ्गल हुर्काउने र तिनको संरक्षण कार्यले निरन्तरता पाइरहेको छ । बाह्य मिचाहा प्रजातिको प्रवेश, बाँदरको गतिविधिमा वृद्धि, चितुवाको आक्रमण जस्ता घटनाहरूप्रति पनि हाम्रो ध्यानाकर्षण भएको छ । हामीकहाँ रहेको वन, वातावरण र जैविक विविधताको सम्भावनाको खोजी तथा पहिचान कार्य भने अझै बाँकी नै रहेको छ ।


शिक्षातर्फ, बढ्दो प्राविधिक शिक्षाको माग तथा आवश्यकतालाई सम्बोधन गर्न पालिका अग्रसर छ । हरेक नागरिकलाई स्वावलम्बी, असल, नैतिकवान् र निष्ठावान् नागरिक बनाउन नैतिक शिक्षा अत्यावश्यक रहेको महसुस गरिएको छ । आफू जन्मिएको ठाउँको मूल आधार नबुझेको मान्छेले बाहिरी संसार मात्र बुझ्दा ऊ सतही हुन्छ । आफ्नो मातृभूमि बुझेर बाहिरी संसारमा पाइला राख्दा अझ बलियो भइन्छ । यसर्थ, सोही अनुरूपको शिक्षा नीति प्रदान गर्ने सोच गाउँपालिकाले लिएको छ ।
ज्वालामुखी गाउँपालिकाको स्थानीय सरकारले शिक्षालाई विशेष प्राथमिकतामा राखेको छ । हाम्रो संविधानले शिक्षालाई मौलिक हकका रूपमा स्विकारी निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षालाई नागरिकको नैसर्गिक अधिकारका रूपमा लिएको हुँदा पालिकाले शिक्षालाई पहिलो प्राथमिकता राखेको छ । यसर्थ, शिक्षातर्फ आर्थिकरूपले तथा योजनामार्फत देखिएका गुनासाहरूलाई सम्बोधन गर्न गाउँपालिका तयार छ ।
सामुदायिक विद्यालयमा अङ्ग्रेजी विषय भएतापनि अभ्यासमा कमी भएका कारण अङ्ग्रेजी भाषाका शैक्षिक संस्थाप्रति विद्यार्थी आकर्षित भइरहेको र पालिकामा मध्यमस्तरीय समुदायको बाहुल्यता बढी रहेको हुँदा शिक्षालाई व्यवस्थित एवं समान वितरण गर्न विभिन्न कार्यक्रमहरू ल्याइरहेका छौँ । खेलकुदको क्षेत्रलाई पनि शिक्षाबाटै सम्बोधन गर्ने र त्यसबाट खेलाडीहरू उत्पादन गर्ने सोच लिएका छौँ । यसप्रकार, शिक्षामा बहुआयामिक आधार बनाएर पालिका अगाडी बढ्नुपर्छ भन्नेमा पालिका दृढ रहेको विश्वास दिलाउन चाहन्छु ।


कृषितर्फ: ज्वालामुखी खेतीयोग्य जमिन भएको भूगोल हो तर हामीकहाँ सिँचाइको असुविधा भने विद्यमान छ । यहाँका खेतीयोग्य जमिनलाई समय सापेक्ष उपभोग गर्नका लागि माटो जाँच गरेर ‘एक गाउँ एक खेती’ भन्ने अवधारणा ल्याएका छौँ । कृषिमा नागरिकलाई आकर्षित गरी बाँझो जमिन उपभोग गर्नु, विदेश पलायन हुने लहरमा रहेका युवालाई गाउँमै रोक्नु र समग्रमा नागरिकलाई आर्थिक समृद्धितर्फ अघि बढाउनु हाम्रो उद्देश्य रहेको छ ।
पूर्वाधारतर्फ: गाउँपालिका विकासका लागि सडकको पहुँच अनिवार्य आवश्यकता बनेको हुँदा त्यसतर्फ पालिकाले केही प्रयासहरूको थालनी गरिसकेको छ । बाह्रै महिना यातायातको पहुँच पुर्याउन केही चुनौतीहरू छन् तर पालिकाले त्यसको उपाय खोज्ने कामलाई पनि अगाडि बढाइसकेको छ । गाउँपालिकासँग जोडिएका मूल चार सडकको स्थायित्वका लागि पालिकाले सङ्घीय सरकारसँग समन्वय गरिरहेको छ ।
पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण वनसम्पदा एवं जैविक विविधता, पुरानो बाटो एवम् पदमार्ग, उच्च चोटिका डाँडाहरू, पुरातात्त्विक महत्त्वका स्थलहरू, पहरा, अँधेरीको छाँगा, मौलिक घरहरू र धार्मिक-ऐतिहासिक मठमन्दिर आदिबाट पालिका सुसज्जित छ । यस्ता स्थानहरूलाई उत्थान तथा विकासका पूर्वाधार निर्माणको चरणमा हामी रहेका छौँ ।


समग्रमा, स्थानीय सरकारको प्रतिनिधि भइरहँदा गाउँपालिकालाई समृद्धिको बाटोतर्फ लम्काउन हरसम्भव प्रयास गरिरहेका छौँ । यसमा केही चुनौतीहरू भने छन् । तिनको समाधान कसरी खोज्न सकिन्छ भनेर सचेत भएर लागेका पनि छौँ । (कुराकानीमा आधरित)
अर्याल ज्वालामुखी गाउँपालिकाको उपाध्यक्ष हुन् ।




























































Discussion about this post