- केशव राज
काठमाडौं उपत्यका र त्यस वरिपरिका जिल्लाहरूका पर्यटकीय स्थानहरूमा धेरै पटक पुगेकाले होला मलाई यस क्षेत्रका घुम्न लायक ठाउँहरू, तिनको दुरी र बाटोमा लाग्ने समयावधिका बारे केही जानकारी रहेको छ। घुम्न रहर पनि छ। त्यसैले साथीभाइहरूलाई बेलाबेलामा घुम्नका लागि उत्साहित बनाउने गर्छु। त्यही कारण छोटो समयका लागि भए पनि शहरको कोलाहल, व्यस्त जीवनशैली, सामाजिक सञ्जालमा व्यक्त हुने उत्तेजनात्मक सामाग्री र मोबाइलको रिङ टोनका आवाजबाट केही टाढा जाने रहरले मित्र सुभाष आचार्यलाई म उत्साहित बनाउँदै थिएँ।
२०८२ साल श्रावण ७ गते बुधवारका दिन कार्यालय र परियोजनाका जरुरी काम र मिटिङहरू टुङ्ग्याएर घुम्न जाने सहमति बन्यो। साथमा मित्र उद्धव खनाल पनि जाने हुनुभयो।
काम र मिटिङ टुङ्ग्याउँदा दिनको ३.०० बजिसकेको थियो। मैले नुवाकोट जाने मात्र भनेको थिएँ। ठ्याक्कै कहाँ जाने भनेको थिइन। तर मेरो दिमागमा नुवाकोटको लौके झरना जाने योजना थियो।
‘फर्किन सकिन्छ त ?’ भन्ने सुभाषजीको जिज्ञासामा मैले मुस्कुराउँदै भनेँ, “यति मुस्किलले जुरेको साइत बिगार्न हुँदैन गुरु। उज्यालो हुँदै झरना स्थल पुगेर मुख्य राजमार्गसम्म फर्किन सकिन्छ। त्यस पछिको रात त आफ्नै हो नि।”
जाने सहमति जुट्यो। मैले बाहिर व्यक्त नगरे पनि लौके झरना स्थलमा पुगेपछि प्रकृतिले लेखेको त्यो विशाल कथा पढ्न र त्यसमा रमण गर्न पाउँदा प्राप्त हुने आनन्दले दुबैजना धन्य हुनेछन् भन्नेमा म विश्वस्त थिएँ।


काठमाडौंको कोलाहलका बिच यात्रा शुरुवात
मिनभवन स्थित कार्यालय भवनबाट निस्किँदा दिउँसोको ३:३० भएको थियो। अनुभवी सवारी चालक प्रेमराज भिक्षुजीलाई लैजाने भइयो। नयाँ बानेश्वर, पुरानो बानेश्वर, नक्साल, दरबारमार्ग, केशरमहल, लैनचौर, अमृत क्याम्पस, सामाखुशी चोक, टोखाको भिडभाड र कोलाहल युक्त सडकका जाम पार गर्दै ४:१५ मा टोखा नगरपालिका-०१ स्थित झोर झरना बौडेश्वर महादेव स्थानमा पुगियो। त्यहाँ गाडीबाट झरेर एकछिन काभ्रेस्थलीको शान्तिधाम क्षेत्र, साङ्ला देवीस्थानको झण्डा पार्क क्षेत्र, शिवपुरी राष्ट्रिय निकुञ्जमा रहेका गुर्जे भञ्ज्याङ, डाँडागाउँ आदि सुन्दर स्थानहरूको अवलोकन पछि हाम्रो यात्रा अगाडि बढ्यो।
वनपाखा र यात्राको उत्साह
झोर झरनाबाट अगाडि बढे पछिको यात्रामा हरेक घुम्तीको अर्को पट्टी केही नयाँ रहस्य लुकेर बसेको अनुभूति हुने गर्थ्यो। उकालो उक्लन नसकेर स्कुटी धकेल्दै गरेका युवा, हाफ क्लचमा गन्ध फाल्दै गरेका गाडी, सडक किनारमा प्रेमालाप गर्दै गरेका युवा जोडी आदिको रमाइला दृश्य हेर्दै हामी काठमाडौं र नुवाकोट जिल्ला सीमामा रहेको गुर्जेभञ्ज्याङ पार भयौँ। गुर्जेबाट ओरालो सडक सुरु हुन्थ्यो। दिउँसो पानी परेकाले होला कतै सडक चिप्लो थियो। कतै भित्ता खसेर सडकमा माटो थुप्रिएको थियो। गुर्जेबाट गुरुङगाउँ, चौकीभञ्ज्याङ, हात्तीगौँडा हुँदै करिब १३.५ किलोमिटरको दूरीमा रहेको एउटा सानो खोल्सा पार गरे पछि छहरा (नुवाकोट) जाने मुख्य सडक छाडेर बायाँ थानापति मन्दिर हुँदै लौके झरना जाने साइनबोर्ड राखेको देखियो। सो स्थानलाई थापागाउँको कालढुङ्गा, भोर्लेनी पाँखा भनिँदो रहेछ। मुख्य राजमार्गबाट झण्डै १.६ किलोमिटर भित्र शिवपुरी गाउँपालिका-०८, सानी पिपल पुगेर हामी गाडीबाट ओर्लियौँ।
सानी पिपल भन्दा केही अगाडिसम्म गाडी जाने भएता पनि हामी त्यहाँबाट पैदल जाने भयौँ। सानी पिपलबाट करिब १.२ किलोमिटरको ओरालो र तेर्पाएँ सडक हुँदै मोटर बाइकहरू पार्क गरिने ढोडिनी भन्ने ठाउँमा पुग्यौँ। त्यहाँबाट करिब ८०० मिटर ढुङ्गे सिँढीको ओरालो यात्रापछि बाँसडाँडा पुगियो। बाँसडाँडाबाट ठूलो र सानो लौके झरना जाने बाटो छुट्टिने रहेछन्। हामी करिब ३०० मिटर ओरालो झरेर ठूलो लौके झरनातर्फ लाग्यौँ।


पैदल यात्राको रमाइलो पक्ष
बाटोमा भेटिने मान्छेहरूसँग गफ गर्दै जान पाइनु मलाई पैदल यात्राको सबैभन्दा रमाइलो पक्ष लाग्छ। आफूलाई मन लाग्दासम्म धैर्यताका साथ चारै तर्फको दृश्य हेर्दै हिँड्न पाउनु मलाई पैदल यात्राको दोस्रो रमाइलो पक्ष लाग्छ। पैदल यात्रा सुरु गरेको एकछिनपछि सल्लाको वनमा प्रवेश गरियो। नजिकै खोला बगिरहेको थियो। सल्लाको सुसाइ, बर्खे खोलाका गड्गडाहट, चराचुरुङ्गीका मीठो आवाज, आदिले हामीलाई आफू भित्र लुकेर बसेको बालापनले पुनः जीवित हुने रहर गरेको महसुस भयो। हामी ओरालो ओर्लँदै गर्दा एउटा सानो झुपडीमा एकजना करिब ७५-८० वर्षका बा सुस्ताई रहनुभएको देख्यौँ।
“बा नमस्कार। अव झरना कति टाढा छ?”, मैले सोधेँ।
उहाँले मुस्कुराउँदै जवाफ फर्काउनुभयो,”नमस्कार बाबु। अव धेरै छैन। लट्ठीको सहारा लिनु पर्ने हामीलाई पो टाढा हो। बाबुहरू सजिलै पुगिहाल्नुहुन्छ।“, अनि थप्नुभयो, “के गर्नु बाबु! यो उमेरमा म जान सक्दिन। नत्र त्यहाँ पुग्दा प्रकृतिसँग जोडिएको मन फर्किनै मान्दैन। एक्लै भएको कुरा विस्मृतिमा जान्छ। फेरी एकपटक पहिलेको जस्तो हराभरा परिवारमा बाँचेको अनुभूति हुन्छ।“
उहाँसँगको छोटो संवादले हामीलाई अगाडि बढ्न झन् प्रेरित गर्यो। हामी उहाँसँग बिदाबारी भई अगाडि बढ्यौँ।
झरनासँगको अकल्पनीय अनुभूति
झरना कतिबेला आइपुग्ला भन्ने कौतुहलता बोकेर अगाडि बढी रहेका बेला अचानक हरियो जङ्गलका बिच अत्यन्तै मनमोहक झरना देखियो। हरियो वनका बिच ठाडो चट्टानको शीरबाट सिधै तल झर्दै गरेको शुद्ध सेतो पानीका धाराले प्रकृतिको अनुपम सौन्दर्य प्रकट गरिरहेको थियो। झरनाबाट झरेको पानी चट्टानहरूमा ठोक्किँदै, हावासँग उड्दै र खोलासँग बग्दै गरेको दृश्य निकै अद्भुत थियो। पानीको तेज गतिबाट उत्पन्न फोहोरा र बाफले वातावरणमा सुमधुर ध्वनि र दृश्य सिर्जना गरेको देखिन्थ्यो। झरना वरिपरि फैलिएको घना बन र बोटबिरुवाले त्यहाँको प्राकृतिक समृद्धता झल्काउँथ्यो। जो कसैलाई सहजै आफ्नो बाहुपासमा कस्न सफल हुन्थ्यो।
हामी जति नजिक पुग्दै गयौँ, त्यति झरनाको आवाज तीव्र हुँदै गयो। झरना, मुस्कुराई रहेका वन जङ्गल र हावामा उडेका पानीको बाफले यति रोमाञ्चित भइएछ कि धेरै बेरसम्म हामी केही बोल्न सकेनौँ। एकछिन पछि सुभाषजीको आवाज सुनियो, “साँच्चै अकल्पनीय ठाउँमा ल्याउनुभयो सर। धन्यवाद।“
दिउँसो पानी परेकाले झरनासम्म जानका लागि पार गर्नु पर्ने खोलाको सतह बढेको रहेछ। साथीहरूले आँट गर्नुभएन। तर मैले आफूलाई झरनासम्म जानबाट रोक्न सकिन। एक्लै भए पनि जाने भएँ। जुत्ता फुकालेर त्यहीँको सानो झुपडीमा छाडेर जसोतसो खोला पार गरेँ। उकालो उक्लँदै गर्दा पानीको बाफ मिश्रित हावाले मज्जाले सेक्यो। तर झरनाको अद्भुत दृश्यका अगाडि मैले त्यसलाई वास्ता गरिन। माथि पुगे पछि केही तन्नेरी युवा युवतीहरू झरनाको छेउमा एक अर्कालाई पानी छ्याप्दै, जिस्किँदै, हाँस्दै र रमाउँदै गरेको देखेँ।
उनीहरू एक अर्कालाई पानी छ्याप्तै, कराउँदै थिए, “यहाँको झरनामा चिसोपन मात्र हैन, मनको मैला फाल्ने शुद्धता पनि छ। ‘जिन्दगीले दिक्क पार्दै छ’ भन्ने लाग्यो भने यस्ता झरनाहरूमा आउँदा जिन्दगी ‘रिसेट’ हुने रहेछ यार।“
उनीहरूको गफ सुनेर र उनीहरू उन्मुक्त हाँसो देखेर म पनि हाँसे। मनमनै सोचेँ “रमाउने मामिलामा हाम्रो पुस्ता भन्दा अहिलेको पुस्ताका तरुनी तन्नेरीहरू निकै भाग्यमानी हुन्।“
पश्चिम आकाश तर्फ लाली चढ्न थालेको थियो। झरना स्थलबाट उत्तरतर्फ लिखु खोला उपत्यका शान्तिपूर्वक पसारिएको देखिन्थ्यो। लिखु खोला उपत्यकामा हावाको छालसँग नाचिरहेका धानका बोटहरू, चराहरूको चिरबिर, बारीको हरियाली र खोलाको सङ्गीत आदि हरेक कुरा अनुकरणीय रहेको अनुभूति हुन्थ्यो। अझै टाढा निलो आकाश माथि टाँसिएको जस्तो गरी गणेश हिमाल बादलसँग लुकामारी खेलिरहेको देखिन्थ्यो। दक्षिण पूर्वतर्फको पहाड शृङ्खलाको एक छेउमा साक्षी बसेको ककनी डाँडा झरनासँगै मुस्कान बाँडिरहेको देखिन्थ्यो।
लाग्थ्यो,
लौके झरना मन, प्रकृति र जीवन बीचको संवाद हो;
लौके झरना शब्दमा पोखिने भन्दा अनुभूतिमा महसुस गरिने प्रकृतिको सुन्दर रचना हो।


कसरी पुग्ने?
– काठमाडौंको सामाखुशी चोकबाट उत्तर सामाखुशी – नुवाकोट (छहरा) जाने मुख्य सडक मार्गबाट गुर्जेभञ्ज्याङ हुँदै हात्तीगौँडा, थापागाउँसम्म सार्वजनिक सवारी साधन। सामाखुशी देखि गुर्जेभञ्ज्याङ करिब १६ किलोमिटर तथा गुर्जेभञ्ज्याङ देखि थापागाउँसम्म करिब १३.५ किलोमिटरको दूरी।
– मुख्य सडक मार्गबाट देब्रे थानापति मन्दिरतर्फ सहायक सडक मार्ग हुँदै झण्डै १.८ किलोमिटरको दूरीमा सानीपिपलसम्म व्यक्तिगत सवारी साधन वा पैदल यात्रा।
– सानी पिपलबाट करिब ३०-४५ मिनेटको सहज पैदल यात्रा।
हाइकिङ गरेर जान चाहनेका लागि ककनी वा सुईरेचौरबाट सहजै लौके झरना जान सकिन्छ।
यो भ्रमण कसका लागि उपयुक्त?
– प्रकृति प्रेमीहरू,
– फोटोग्राफी गर्न चाहनेहरू,
– परिवार/साथीसँग रमाइलो गर्न चाहनेहरू,
– केही समय आफूसँग आन्तरिक संवाद गर्न चाहनेहरू।
इति।





























































Discussion about this post