काठमाडौं- हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एशोसिएशन नेपाल (HSAMA) ले आज काठमाडौंको क्रिस्टल पशुपति परिसरमा सफलतापूर्वक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ क्षेत्रका २६ जना व्यक्तिहरूले रक्तदान गर्दै सामाजिक उत्तरदायित्वप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपालको हस्पिटालिटी उद्योगलाई थप उचाइमा पुर्याउने लक्ष्यसहित अघि बढिरहेको यस एशोसिएशनले, यस कार्यक्रममार्फत आतिथ्य क्षेत्रको सामाजिक योगदानलाई अझ सशक्त बनाएको छ । नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गरी एशोसिएशन रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
संस्थाकी पदाधिकारी एनी थापाले रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताइन् । “यो पहिलो रक्तदान अभियान भए तापनि अन्तिम हुने छैन । सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ”, उनले टुरशालालाई बताइन् । एशोसिएशन आगामी दिनहरूमा पनि, सामाजिक उत्तरदायित्व सम्बन्धि विविध कार्यहरूलाई प्राथमिकता दिँदै जाने सोच लिएको समेत उनले बताइन् ।


कार्य समितिको घोषणा
यसैगरी, आजको दिन, हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एशोसिएशन नेपाल (HSMAN) को औपचारिक स्थापना समेत भएको छ । पशुपति क्रिस्टल होटलमा शनिबार आयोजित हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एशोसिएशन नेपालका एडमिनहरूको भेलाले ६ महिनाका लागि नयाँ कार्य समिति समेत गठन गरेसँगै एशोसिएशनको औपचारिक स्थापना भएको हो।
नवगठित कार्यसमितिले नेपालको हस्पिटालिटी क्षेत्रका प्रमुख व्यक्तित्वहरूलाई एकत्रित गर्दै, बिक्री तथा मार्केटिङको क्षेत्रमा सहकार्य प्रवद्र्धन गर्ने र उद्योगको वृद्धिमा योगदान दिने लक्ष्य राखेको राखेको छ ।
नयाँ नेतृत्व घोषणा
नवनिर्वाचित कार्यसमितिमा नेपालका विभिन्न प्रमुख हस्पिटालिटी संस्थाका अनुभवी व्यक्तिहरू समावेश छन्:
कार्यसमिति:
- अध्यक्ष: रोबिन्सन महर्जन (होटल याक एण्ड यति)
- उपाध्यक्ष: संजीव तुलाधर (KGH)
- महासचिव: दीपक पोखरेल (प्याराडाइज इन)
- सचिव: लक्ष्मी श्रेष्ठ (टाइगर टप्स)
- कोषाध्यक्ष: गणेश बुढाथोकी (बेस्ट वेस्टर्न प्लस)
कार्यसमिति सदस्यहरू:
- उमेश श्रेष्ठ (बेस्ट वेस्टर्न प्लस)
- किशोर पौडेल (WAR)
- राजन तुलाधर (लेक भ्यु रिसोर्ट)
- प्रभा घिसिङ (प्याराडाइज इन)
- रमेश पाठक (ल्यान्डमार्क ग्रुप)
- एनी मानन्धर (माउन्टेन भिस्टा रिट्रीट)
सल्लाहकार समिति:
- राजकुमार केसी (बराही होटल एण्ड लेजर)
- प्रदीप पौडेल (माउन्टेन भिस्टा रिट्रीट)
- सुरेश श्रेष्ठ (एपेक्स बिजनेस होटल)
कानूनी सल्लाहकार:
- गणेश कुँवर


नवगठित समिति नयाँ योजनासहित अगाडि बढ्ने
हस्पिटालिटी, सेल्स एण्ड मार्केटिङ एशोसिएशन नेपाल (HSMAN) को औपचारिक दर्ता भएसँगै संगठनले आफ्नो कार्ययोजना स्पष्ट गर्दै विभिन्न रणनीतिक योजना अघि बढाउने घोषणा गरेको छ।
नवगठित समितिका महासचिव दीपक पोखरेलले Tourshala सँग कुरा गर्दै भने, “आजदेखि संस्था दर्ता भई आधिकारिक रूपमा कार्यारम्भ गरेका छौँ । आगामी पाँच-छ महिनाभित्रै प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेछौँ, र एक वर्षभित्र वृहत सेल्स मिट आयोजना गर्ने योजना छ। भविष्यमा हामी टुरिजम एक्स्पो समेत आयोजना गर्ने लक्ष्य राखेका छौं।”
“हामी विदेशी एजेन्टहरूलाई नेपाल भित्र्याएर यहाँका होटल तथा सेवाहरू अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने योजनामा छौँ”, उनले बताए ।
महासचिव पोख्रेलले, नयाँ तथा स्थापित होटलहरूको ब्रान्डिङ, डिजिटल मार्केटिङ अभियानहरू सञ्चालन, ग्राहक सेवा सुधारका लागि तालिमहरू, कर्पोरेट ग्राहक, ट्राभल एजेन्सी, र टुर अपरेटरहरूसँग सहकार्य, ग्राहक सन्तुष्टि वृद्धि गर्न लोयल्टी प्रोग्रामहरू निर्माण, बिक्री रणनीति विकास गर्दै लक्ष्य समूह पहिचान सहित कैयन कार्यक्रमहरू अगाडी बढाइने समेत बताए ।


प्रभावशाली विस्तारतर्फ अघि बढ्ने अध्यक्षको प्रतिबद्धता
नवगठित कार्य समितिका अध्यक्ष, रोबिन्सन महर्जनले संगठनलाई अझ संस्थागत रूपमा अघि बढाउन आवश्यक विधि तथा विधान तयार गर्ने दिशामा आफू प्रतिबद्ध रहेको बताए ।
“HSMAN स्थापना भएको तीन-चार वर्ष भइसके पनि स्पष्ट रणनीति थिएन । अब भने हामीले कार्ययोजनामा स्पष्टता ल्याएका छौँ । हाल संस्था सदस्य संख्या ३०० नाघिसकेको छ, र सबै सदस्यहरूले प्रत्यक्ष लाभ प्राप्त गर्न सकून् भन्ने हाम्रो प्रमुख उद्देश्य हुनेछ”, उनले भने ।
हस्पिटालिटी, सेल्स, र मार्केटिङ व्यवसायको सुदृढीकरण
अध्यक्ष महर्जनका अनुसार, पछिल्ला वर्षहरूमा, हस्पिटालिटी तथा मार्केटिङ क्षेत्र नेपालमा तीव्र रूपमा विस्तार भइरहेको छ । “पछिल्ला केही वर्षमा लक्जरी होटलहरू बढिरहेका छन्, रेस्टुराँ, क्यान्टिनहरूको संख्या पनि वृद्धि भइरहेको छ । नेपालको पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने होटल व्यवसायमा लगानीकर्ताहरू आकर्षित भइरहेका छन् । यसकारण पनि, हस्पिटालिटी तथा मार्केटिङ सम्बन्धि जानकार व्यक्तिहरूको खाँचो बढ्दै गएको छ”, उनी अगाडी भन्छन्, “यो क्षेत्र विदेश गइरहेका नेपाली युवाअहरूको लागि एक करियर अपरच्युनिटीको रूपमा अघि बढिरहेको छ । यसकारण, हस्पिटालिटी तथा मार्केटिङ क्षेत्र काम गर्ने संस्थाको आवश्यकता रहेकाले हामीले यसलाई वैधानिक रूपमा अगाडी बढाउने सोच लिएका हौँ ।”
मार्केटिङ र सेल्स क्षेत्रका दक्ष जनशक्ति आवश्यक पर्ने भएकाले यो क्षेत्रमा कार्यरत
व्यक्तिहरूलाई प्रशिक्षण र अवसर प्रदान गरिने समेत उनले बताए ।
उनले यस संस्थाले आगामी दिनहरूमा, B2B (Business to Business) नेटवर्किङ कार्यक्रम, होटल तथा रिसोर्टहरूको व्यवसायिक साझेदारी विस्तार, हस्पिटालिटी प्रोफेसनलहरूका लागि प्रशिक्षण कार्यक्रम, पर्यटन र होटेल उद्योगसम्बन्धी बजार अनुसन्धान एवं ग्राहकहरूको प्राथमिकता अध्ययन गर्दै ट्रेन्डहरू पहिचान गर्दै नवीन रणनीति निर्माण गर्ने उद्देश्य लिएको उनले बताए ।
“अन्तर्राष्ट्रिय बजारमा नेपालको होटेल र पर्यटन प्रवर्द्धन, डिजिटल मिडिया र विज्ञापनमार्फत नेपाललाई आकर्षक गन्तव्य बनाउने प्रयास तथा लोकल फुड, कल्चरल एक्सपेरियन्स, तथा स्थानीय सम्पदाहरू समेट्ने मार्केटिङ रणनीतिहरू निर्माण गर्दै जानेछौं”, उनले भने ।


राष्ट्रिय र अन्तर्राष्ट्रिय नेटवर्क विस्तार
यसैगरी, एशोसिएशनका पदाधिकारी रविश पाठकले संगठनलाई अझ व्यवस्थित बनाउन टोली गठन गरिनु यस क्षेत्रका लागि सुखद कुरा रहेको र यस दिन ऐतिहासिक रहेको बताए ।
“आज कार्यसमिति गठन भएको छ, छ महिनापछि हामी सहमतिमै वा मतदानमार्फत स्थायी कार्यसमिति चयन गर्नेछौँ । हामीसँग २० वर्षभन्दा बढी अनुभवी तथा नयाँ उत्साही व्यवसायीहरूको समावेशी समूह छ, जसले एकअर्कालाई सशक्त बनाउँदै अगाडि बढ्नेछ”, उनले भने ।
उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकहरूलाई आमन्त्रण गरी गुणस्तरीय तालिम सञ्चालन गर्ने, साथै नाटा, टान, लगायतका पर्यटन सम्बद्ध संघसंस्थासँग सहकार्य गर्ने योजना रहेको खुलासा गरे । “होटल तथा पर्यटन क्षेत्रका लागि दक्ष जनशक्ति तयार पार्ने तथा पर्यटन नीति निर्माणमा सहकार्य गर्दै सरकारलाई आवश्यक सुधारका सुझ्गाव दिने भूमिकामा पनि संस्था रहेनछ”, उनले बताए ।
व्यावसायिक सशक्तीकरण र दीर्घकालीन रणनीति
नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रीटका प्रतिनिधि तथा एशोसिएशनका पदाधिकारी प्रदीप शर्मा पौडेलले संगठनको दीर्घकालीन योजना साझा गर्दै भने, “हामी गतिशील कार्यक्रमहरू, सीपमूलक तालिम, र व्यापक प्रचारप्रसारमार्फत हस्पिटालिटी तथा सेल्स क्षेत्रलाई थप व्यवस्थित बनाउँदै जानेछौँ ।”
उनले सन् २००६ बाट प्रारम्भ भएको अवधारणा आज औपचारिक रूपमा स्थापित हुन पाउँदा खुशी व्यक्त गरे। “हामी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको हस्पिटालिटी तथा मार्केटिङ क्षेत्रमा संलग्न व्यवसायीहरूलाई एउटै छातामुनि ल्याउने लक्ष्यका साथ अघि बढेका छौँ ।”
हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एशोसिएशनले आगामी कार्यहरूले होटल, पर्यटन, तथा समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उनले विश्वास व्यक्त गरे ।


पर्यटन क्षेत्रबाट स्वागत
नेपालमा पर्यटन प्रवर्द्धन गर्न तथा हस्पिटालिटी, सेल्स, र मार्केटिङ क्षेत्रको सुदृढीकरण गर्न HSMAN ले प्रभावशाली पहल सुरु हुनुलाई पर्यटन क्षेत्रमा आबद्ध व्यक्तिहरूले उच्च महत्त्वका साथ् हेरेका छन् । एशोसिएशनले व्यावसायिक सीप विकास, अन्तर्राष्ट्रिय नेटवर्क विस्तार, तथा पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै व्यवसायी, राष्ट्रिय-अन्तराष्ट्रिय एजेन्ट, र सरकारबीचको समन्वय बलियो बनाउने लक्ष्य राखेकोमा उनीहरूले खुसी व्यक्त गरेका छन् ।





























































Discussion about this post