सम्भवत: नेपालमै पहिलोपटक यति ठूलो संख्या भेटिएको दाबी
धादिङ, बेनिघाट रोराङ- धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–१० मा अवस्थित जवाङ-मौवाखोला सामुदायिक वनमा पाइने दुर्लभ पारिजातका रुखहरूको संरक्षण सम्भावना र जैविक विविधताको अध्ययनका लागि जिल्ला वन डिभिजन कार्यालय धादिङको टोलीले स्थल अवलोकन गरेको छ।
जिल्ला वन डिभिजन कार्यालय धादिङका डिभिजनल वन अधिकृत (प्रमुख) विष्णुप्रसाद आचार्यको नेतृत्वमा भएको अवलोकनमा सब-डिभिजनल वन कार्यालय बेनिघाट रोराङका वन अधिकृत रोजन पोख्रेल, अन्य रेन्जरहरू प्रतिमा काफ्ले र पिंकी पौडेल, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङका प्रमुख अमूल्य दाहाल तथा टुरशाला डटकमका प्रतिनिधि सहभागी थिए।


उक्त सामुदायिक वन क्षेत्रमा १०,००० भन्दा बढी पारिजातका बिरुवा र रुखहरू रहेको अनुमान गरिएको छ। पारिजात (Nyctanthes arbor-tristis) जैविक, धार्मिक, र औषधीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिन्छ। यस्ता विरुवा सामुदायिक वन क्षेत्रमा प्राकृतिक रूपमा बाक्लो पाइिनु दुर्लभ मानिन्छ।
उच्च प्राथमिकतामा सहित संरक्षणको थालनी
डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले यस क्षेत्रको जैविक विविधता, प्राकृतिक सौन्दर्य, तथा पारिजात जस्ता दुर्लभ वनस्पतिको महत्वलाई ध्यानमा राख्दै थप अध्ययन र संरक्षण योजनाको खाका तयार पारिने बताएका छन्।
उक्त क्षेत्रमा १० हजारभन्दा बढी पारिजातका बोटहरू रहेको वन पत्ता लागेसँगै डिभिजन वनले यसलाई जैविक, धार्मिक, औषधीय र साहित्यिक दृष्टिकोणबाट संरक्षण गर्ने तयारी गरेको हो।


जैविक महत्व र यसलाई प्रवर्द्धन गर्ने रणनीति आवश्यक देखिएकाले स्थानीय समुदाय, वन उपभोक्ता समूह र सरोकारवाला निकायबीच सहकार्य गरी पारिजात संरक्षण र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने योजना अघि सारिने उनले बताए।
डिभिजनल वन अधिकृत (प्रमुख) विष्णुप्रसाद आचार्यका अनुसार पारिजात वनस्पति बर्षौँदेखि “नेग्लेक्टेड प्रजाति” को सूचीमा पर्दै आएको छ। “हामी सरकारी कार्यक्रम वा एनजीओ/आइनजीओहरूले जैविक विविधता अन्तर्गत ठूला प्रजाति मात्रै हेर्छौं, पारिजात सधैं बेवास्तामा पर्छ,” उनले बताए। “अब हामी पछाडि परेका, लोप हुँदै गएका प्रजातिलाई उच्च प्राथमिकता दिने उद्देश्यसहित पारिजात संरक्षणमा लागिरहेका छौं”, उनले टुरशालालाई बताए।


आचार्यका अनुसार, साल, खयर, सिसौ जस्ता बहुप्रचलित प्रजातिमा मात्रै वन व्यवस्थापन केन्द्रित भइरहेको बेला पारिजातको यस्तो घना जंगल भेटिनु दुर्लभ घटना हो। “घर-आँगनमा गमलामा एक–दुई वटा बोट देखिने पारिजात यति ठूलो प्राकृतिक क्लस्टरमा देखिनु सम्भवत: पहिलोपटक हो र आश्चर्यजनक उपलब्धि हो।”


“८–१० हेक्टर क्षेत्रमा १० हजार भन्दा बढी बिरुवा/रुख सहित पारिजातको जंगल भेटिनु सामान्य कुरा होइन,” उनले थपे, “यस क्षेत्रलाई जैविक उद्यान वा अध्ययनस्थलका रूपमा विकास गर्न सकिने सम्भावना छ।”
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, धादिङका प्रमुख अमूल्य दाहालले पारिजातलाई औषधीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण बिरुवाको रूपमा उल्लेख गरेका छन्। “पारिजातको पात, फूल र छालाले विभिन्न किसिमका रोगहरूको उपचारमा उपयोग गरिन्छ,” उनले बताए। “यसको वैज्ञानिक र आयुर्वेदिक प्रयोगको सम्भावना उच्च छ, त्यसैले यस्तो दुर्लभ जंगलको संरक्षण अभियान सुरु हुनु खुसीको कुरा हो”, उनले भने।


पारिजातलाई उच्च प्राथमिकता दिएर कार्ययोजना निर्माण गरिने
सब-डिभिजनल वन कार्यालय बेनिघाट रोराङका वन अधिकृत पोख्रेलका अनुसार, जवाङ–मौवाखोला सामुदायिक वनमा प्राकृतिक रूपमा ठूला पारिजातका रुखहरू मात्र होइन, रिजेनेरेसन (पुनः वृद्धि) भएका बिरुवाहरू समेत प्रशस्त मात्रामा रहेका छन्।


“२ हेक्टर क्षेत्रफलमा कोर एरिया रहेको छ, जहाँ पारिजातको बाक्लो उपस्थिति छ,” पोख्रेलले बताए। “कोर क्षेत्र वरिपरि रहेको ८–१० हेक्टर बफर जोनमा पनि पारिजातका बोटहरू पाइएका छन्। यद्यपि त्यहाँ केही अन्य प्रजातिका रुखहरू पनि छन्, पारिजातको संख्या सबैभन्दा बढी छ।”


उनका अनुसार, जंगललाई डढेलोबाट जोगाउनका लागि विशेष गरी कोर एरियामा फायर लाइन निर्माणको काम भइरहेको छ। “भुइँमा थुप्रिएका सुक्खा पत्करहरू हटाउने र डढेलो लाग्ने सम्भावना भएका वनस्पति-जसमा वनमारा लगायतका प्रजातिहरू पर्छन्- हटाउने कार्य सम्पन्न भइसकेको छ,” उनले जानकारी दिए।
अधिकृत पोख्रेलले थपे, “साल, चिउरी जस्ता मौलिक र उपयोगी प्रजाति बाहेक अन्य साना प्रजातिका बिरुवाहरूलाई नियन्त्रण गर्दै पारिजातलाई मुख्य प्राथमिकता दिइनेछ।” यस कार्यबाट पारिजातको विकास, संरक्षण र जैविक विविधताको सन्तुलनमा ठोस टेवा उनले बताए।
साहित्य महोत्सवबाट संरक्षणको नयाँ मोडेल
पारिजात संरक्षण अभियानलाई केवल वन व्यवस्थापनको परिधिमा सीमित नराखी साहित्य र संस्कृतिसँगै जोड्ने योजना समेत डिभिजन कार्यालयले अघि सारेको छ। “हामी चाँडै ३०–४० जना साहित्यकारहरूलाई बोलाएर ‘पारिजात साहित्य महोत्सव’ गर्नेछौं। हरेक वर्ष यस्तो महोत्सव गरेमा संरक्षण, प्रचारप्रसार र सम्वर्धन सहज हुनेछ,” वन अधिकृत आचार्यले भने।
उनका अनुसार, पारिजातलाई हिन्दु धर्मशास्त्रले स्वर्गबाट अवतरित बिरुवाका रूपमा उल्लेख गरेको छ। “रुख भनेको रुख मात्र होइन, यो इतिहास, सभ्यता र संस्कृतिको एक अभिन्न पाटो हो।”
बेनिघाट रोराङ गाउँपालिका र डिभिजन वन धादिङको संयुक्त आयोजनामा यो महोत्सव आयोजना गरिने आचार्यले बताए।


‘पारिजात अनुसन्धानको केन्द्र’ बन्ने सम्भावना
उक्त क्षेत्रलाई जैविक अनुसन्धानको दृष्टिकोणले वनस्पति विज्ञ, विद्यार्थी, पर्यटन र अध्ययन भ्रमणका लागि केन्द्रित स्थल बनाउने योजना पनि अगाडि सारिएको छ। मन्त्रालयस्तरसम्मको समन्वय गरेर दीर्घकालीन संरक्षण योजना ल्याउने तयारी रहेको वन अधिकृत आचर्यले बताए ।
गाउँपालिकाको सहकार्यमा वनस्पतिविज्ञ, मन्त्रालयस्तरका कर्मचारी, सामुदायिक वन उपभोक्ताहरू, स्थानीय विद्यालय, साहित्यिक संघसंस्थाहरू र विज्ञहरूलाई समेत सहभागी गराएर यो अभियानलाई स्थानीय स्वामित्वको संरक्षण अभियान बनाउने तयारी थालनी गरिने आचार्यले बताए।


“पारिजात संरक्षणमा गाउँपालिका उत्साहित छ”- प्रशासकीय प्रमुख नर्बदा घिमिरे
यसै सन्दर्भमा,पारिजातको संरक्षण र सम्वर्धनलाई संस्थागत रुपमा अघि बढाउने प्रस्तावप्रति बेनिघाट रोराङ गाउँपालिका उत्साहित रहेको प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरेले बताइन्। उक्त क्षेत्रलाई संरक्षण क्षेत्र बनाउने योजना स्वागतयोग्य भएको बताउँदै काम थाल्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेकी छन्।
“डिभिजन वन कार्यालयले संरक्षण क्षेत्र बनाउने प्रस्ताव गर्नुभएको छ, हामी त्यसबाट उत्साहित भएका छौँ,” उनले भनिन्, “छिट्टै काम सुरु गर्छौं”, उनले टुरशालालाई बताइन्।


उनका अनुसार, डिभिजन वन कार्यालय र गाउँपालिका बीच जिम्मेवारी विभाजन गरेर काम अघि बढाउने प्रक्रिया बाँकी रहेकाले छिट्टै कार्यविभाजन गरी स्पष्ट खाका तयार गरिनेछ। “हामी एकदमै तत्पर छौँ। अर्को वर्षको गाउँपालिका कार्यक्रममै पारिजात संरक्षणलाई समावेश गरेर अगाडि बढ्छौँ,” घिमिरेले बताइन्।
पारिजातको जंगल भेटिएको यस क्षेत्रबाट एकसाथ धादिङ, गोरखा र चितवन जिल्ला देख्न सकिन्छ।





























































Discussion about this post