अन्तर्राष्ट्रिय स्तरमा नेपाल, इको टुरिजम (पर्यापर्यटन)का लागि विश्वकै नमुना गन्तव्यको रूपमा परिचित छ, त्यसमा पनि बर्दिया राष्ट्रिय निकुञ्ज वाइल्डलाइफ टुरिजमका पारखी तथा बाघ अवलोकन गर्न चाहनेहरूका लागि विश्वकै उत्कृष्ट गन्तव्य मानिन्छ । पर्यावरणीय पर्यटन (पर्यापर्यटन)को प्रमुख आकर्षण भनेको प्राकृतिक विविधता, जीवजन्तु, वनस्पति तथा त्यहाँको धार्मिक–सांस्कृतिक सम्पदा नै हो, बर्दिया यस मानेमा निकै अगाडी छ । आधुनिकताबाट वाक्कदिक्क भएका र प्रकृतिको सामीप्य खोजिरहेका विश्वका हरेक नागरिकलाई बर्दियाले आफूसँग भएको अथाह प्राकृतिक एवम् जैविक विविधताले नित्य बोलाइरहेकै छ ।
यस निकुञ्जको पर्यावरण संरक्षण र सुधार गर्दै भावी पुस्ताका लागि प्राकृतिक सौन्दर्यताको दीर्घकालीन व्यवस्थापन गर्ने जिम्मा लिएको ‘पर्यापर्यटन विकास मञ्च, बर्दिया’ पर्यटन तथा प्रकृति संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलिरहेका संस्थाहरू मध्ये एक हो । मञ्चले विशेषतः पर्यटकीय स्थलको वातावरण, प्राकृतिक स्रोतको संरक्षण, स्थानीय संस्कार र संस्कृतिको जगेर्नाका साथै पर्यटन व्यवसायलाई बृहत् बनाउन स्थानीय तहबाट पहल गर्ने र व्यवसायीको हकहितको संरक्षण गर्ने जस्ता कामहरू गरिरहेको छ ।


प्राकृतिक सम्पदाको संरक्षणबिना बर्दियाको पर्यटन व्यवसायको अस्तित्व रहन सक्दैन । ३४ वटा सदस्य बोकेर वातावरण संरक्षणमा लम्किरहेको मञ्चको सदस्य बन्न सजिलो छैन । सर्वप्रथम त यसको सदस्यता एक व्यक्तिले लिन पाउँदैन । कुनै एक संस्था हुनुपर्दछ र त्यस्तो संस्था वैधानिक हुनुपर्छ । यसका साथै त्यस्तो संस्था पर्यटनसँग सम्बन्धित र नेपाल सरकारमा दर्ता भएको हुनु पर्दछ । यसपश्चात्, उक्त संस्थाले ‘पर्यावरणीय पर्यटन प्रकृतिप्रति उत्तरदायी यात्रा रहेको र उसले वातावरण संरक्षण तथा स्थानीय मानिसको जीवनस्तरमा सुधार ल्याउने’ उद्देश्य लिनुपर्दछ ।
प्रस्तुत छ, वातावरण संरक्षण गरि पर्यटन व्यवसायलाई दिगो बनाउन पर्या–पर्यटनको महत्त्वबारे सरोकारवाला पक्षसँग मिलि आवश्यक जनचेतनाका कार्यक्रम गर्दै आइरहेको संस्था पर्यापर्यटन विकास मञ्च, बर्दियाका अध्यक्ष कृष्ण भट्टराईसँग टूर न्युजका लागि राजु झल्लु प्रसादले गरेका कुराकानीको सम्पादित अंश:


बर्दिया निकुञ्जको पर्यटकीय प्रवर्द्धनमा योगदान पुर्याउन बर्दिया पर्या–पर्यटन विकास मञ्चले आफ्नो उपस्थिति कसरी देखाइरहेको छ ?
नेपाल आउने पर्यटक मूलतः पर्वतारोहण, पदयात्रा, जैविक विविधता, सांस्कृतिक विविधता, धार्मिक तीर्थयात्रा, तथा प्रकृतिसँग गरिने साहसी खेलकुदका लागि आकर्षित हुन्छन् । यी सबै गतिविधिको प्रत्यक्ष सरोकार पर्यावरण र वातावरणसँग गाँसिएको हुन्छ । यस अर्थमा हाम्रा अतिथि वस्तुतः पर्या-पर्यटक हुन्।
बर्दियाको कुरा गर्नुपर्दा, यहाँ पर्यटक आउनुमा दुईवटा कारण छन्, एक निकुञ्ज र दोस्रो थारु संस्कृति । केही क्षणलाई थारु समुदायको सांस्कृतिक पाटोलाई छेउमा राखेर हेर्ने हो भने अहिले हामी जे छौँ, त्यो निकुञ्जकै कारण छौँ । हामीले यहाँ पर्यटक बोलाउनुको कारण पनि वन्यजन्तु हो, निकुञ्ज हो । हामीले निकुञ्जमा पर्या-पर्यटक लैजाँदै गर्दा वन्यजन्तुको प्राकृत विचरणमा असर पुग्ने कुनै पनि काम नगर्न प्रेरित गर्छौँ । पर्यटकहरूलाई अनुशासनमा रहन सिकाउँछौँ ।
यसलगायत वन्यजन्तुको संरक्षणमा क्रियाशील राष्ट्रिय प्रकृति संरक्षण कोष (एन्टीएनसी), निकुञ्ज, पथप्रदर्शक सङ्घ, लगायतका संस्थासँग मिलेर प्रकृति संरक्षणका कार्यक्रम, मानव-वन्यजन्तु सहअस्तित्वबारे जनचेतना मूलक कार्यक्रम, वन्यजन्तु पीडितहरूको हकहितमा कार्यक्रम सञ्चालन गर्दै आइरहेका छौँ, यसमा विद्यार्थीहरूमार्फत इको क्लब सञ्चालन गरी प्रकृति संरक्षणका सन्देशहरू अभिभावकसमक्ष पुर्याउने गर्दर्छौं । हामीसँग स्थानीयवासीहरू पनि जोडिनुभएको छ ।


तपाई ‘जङ्गल हेभन’ नामक रिसोर्ट पनि सञ्चालन गर्दै आइरहनुभएको रहेछ, पर्यटन व्यवसायीको रूपमा यस यात्रामा कहिलेदेखि लाग्नुभयो ?
मैले विगत २९ वर्षदेखि पर्यटन तथा होटेल व्यवसायीको रूपमा काम गर्दै आइरहेको छु । विगत नै खोतल्ने हो भने त ७२ हजार रुपैयाँको लगानीमा ठाकुरद्वारामा होटेल खोल्ने म तेस्रो व्यक्ति हुँ ।
सन् १८१५ को सुगौली सन्धिमा गुमेका बर्दिया नयाँ मुलुकका रूपमा सन् १८६० मा फिर्ता आयो । बर्दिया राष्ट्रिय निकुञ्ज घोषणा हुनुअघि करिब दुई दशकसम्म सिकार आरक्ष तथा वन्यजन्तु संरक्षण केन्द्रको रूपमा रहेको यस ठाउँमा ब्रिटिस इन्डियाले प्रत्यक्ष शासन गरेको ४५ वर्षमा वन्यजन्तुको सिकार तथा वनपैदावारको व्यापक तस्करी भयो । त्यसपश्चात् बर्दिया राणा र राजाले शासन गरिरहँदा उनीहरूका पाहुनासहित सिकार गर्न आउने सोखको चपेटामा पर्यो । निकुञ्ज बनेकै वर्ष बेलायती व्यवसायी जीम एडवार्डस्ले यहाँ टाइगर टप्स कर्णाली लज खोलेपछि भने औपचारिकरूपमा बर्दियामा बाघ हेर्ने विदेशी पर्यटक आउन थालेको पाइन्छ । वि.सं. २०५० सम्म बर्सेनि औसतमा तीन सयजना जति विदेशी मात्रले भ्रमण गरिरहेका हुन्थे । त्यसपछि विस्तारै विदेशी सँगसँगै नेपाली पर्यटक आगमन बढ्न थाल्यो । विसं. २०५८ सम्म आइपुग्दा बर्सेनि राष्ट्रिय निकुञ्ज प्रवेश टिकट काट्ने सङ्ख्या १० हजार ७५० सम्म पुग्यो । तर, राजपरिवार हत्याकाण्ड, माओवादी जनयुद्धको उत्कर्ष, शान्ति सम्झौतापछि कायम राजनीतिक अस्थिरता, बन्द, हड्ताल आदि कारणले त्यसपछिका वर्षहरूमा बर्दिया भ्रमण गर्ने यात्रीको सङ्ख्या ह्वात्तै घट्यो । वार्षिक पर्यटक आगमनको उही विन्दुमा फेरि फर्किन एक दशक बढी समय लाग्यो । संविधान सभाको चुनावपछि झन् उत्साहजनक सुधार भयो । कोरोनाले पर्यटन तहसनहस पार्नुभन्दा अघिल्लो वर्ष झन्डै पच्चीस हजार पर्यटकले बर्दिया राष्ट्रिय निकुञ्ज घुमेका थिए ।
पहिले त निकुञ्जको यति महत्त्व नै थाहा थिएन । बुझ्दै गयौँ । सिक्दै गयौँ र यसको प्रचारप्रसार एवम् संरक्षणमा लागि पर्यौं । किनकि निकुञ्ज नै हाम्रो व्यवसायको प्रमुख आधार हो । नेपालको पर्यटन उद्योगमा एउटा विज्ञापनको आधार एकदम आवश्यक छ, त्यो हो माउथ टु माउथ एडभर्टीजमेन्टको सिद्धान्त । बर्दियाको हकमा यसैले काम गरेको हो, यहाँ हाल स्वदेशी भन्दा विदेशी पर्यटकहरू आकर्षित भइरहेका छन् । यद्यपि, हामीसँग बर्दियालाई विदेशमा प्रवर्द्धन गर्न सक्ने हैसियत छैन, यसमा काममा सरकारको अभिभावकत्व खोजिरहेका छौँ ।
मध्यपश्चिमको प्रख्यात पर्यटकीयस्थलको रूपमा परिचित बर्दियाको पर्यटन उद्योग हाल कुन अवस्थामा रहेको पाउनुहुन्छ ? बर्दियाले भोगिरहेका समस्याहरू केके हुन् ?
कोरोना महामारीको कारणले तीन वर्ष जति खस्किएको अवस्था अहिले भर्खर परिपूर्ति हुँदै छ । पछिल्लो समयमा वित्तीय सङ्कटले कतिपय व्यवसायीहरूलाई अझै हम्मेहम्मे छ, जसको एउटा उदाहरण म आफैँ हुँ । सरकारले खासै सहयोग नगरेका कारण पनि धेरै मारमा परेका छौँ । अझ, पर्यटन उद्योगले त सरकारले लगानी नगरी यसलाई विदेशी मुद्रा भित्र्याइ दिने काम गर्छ । भलै, सरकारले पूर्वाधारहरू निर्माण त गर्ला तर त्यो पर्यटन व्यवसायीकै लागि भनेर बनाएको हुँदैन । जनसमुदायलाई बनाएको पूर्वाधार प्रयोग गर्दै आफ्नो लगानी मार्फत हामीले पर्यटन व्यवसाय सन्चालन गर्ने हो ।
बर्दियाको हकमा नेपाल सरकारको भूमिका अझ कम छ । किनभने, नेपाल पर्यटन बोर्डले आजसम्म कत्तिको पर्यटन प्रवर्द्धन गर्यो ? अझ भनौँ, बर्दियाको हकमा कति पर्यटन प्रवर्द्धन भयो ? चर्चामा नआएका कति पर्यटकीय क्षेत्र पहिल्यायो ? के-कस्ता पर्यटकीय उत्पादनहरू बाहिर ल्यायो ? पर्यटन प्रवर्द्धनमा लगानी गरिरहेको रकमले राज्यलाई कति प्रतिफल दियो ? भन्ने जस्ता प्रश्नहरू अझै पनि अनुत्तरित छन् ।
यद्यपि, हामी व्यवसायीहरूको व्यक्तिगत प्रयास एवम् संस्थागत प्रचारप्रसारबाट पछिल्लो वर्षदेखि कमबेसी पर्यटकहरू भित्राइरहेका छौँ । निजीक्षेत्रबाट महँगो लगानी भए पनि राज्यले बेवास्ता गरेका कारण यस प्राकृतिक गन्तव्य ओझेलमै छ । साथै, आन्तरिक तथा बाह्य व्यक्तिका लागि काठमाडौँ–नेपालगन्ज जहाज भाडामा विभेद रहेकाले पनि विदेशी पर्यटक यात्रा गर्न हिचकिचाउने गरेका छन् । हवाई सेवा सञ्चालकहरूले यस्तो विभेदकारी नीति हटाउनुपर्छ ।


पछिल्लो बाघ गणनापश्चात् बर्दिया र बाघ पर्याय बनेका छन्, बाघले बर्दिया र बर्दियाले बाघलाई कत्तिको बुझेको पाउनुहुन्छ ?
निकुञ्जकै विगत हेर्ने हो भने पनि यो विशेषतः बाघकै संरक्षणको लागि स्थापना गरिएको हो । जसरी चितवन गैँडाको लागि, ढोरपाटन बाह्रसिङ्गेको लागि, कोशीटप्पु चराको लागि प्रसिद्ध छन्, त्यसरी नै बर्दिया बाघको लागि प्रसिद्ध छ । तर, केही समय अगाडि बाघको सङ्ख्या घटेर अत्यन्तै चिन्तित बनाएको थियो । सरकारको प्रयास, समुदायको प्रयास, वैदेशिक सहयोगी संस्थाहरूको सहयोग आदि इत्यादिले बाघको सङ्ख्या पुनः बढेर पछिल्लो सेन्ससअनुसार १२५ पुगेको छ । यो हाम्रो लागि मात्र नभएर सम्पूर्ण नेपालीको लागि खुसीको कुरा हो ।
तथ्यांकअनुसार रोयल बेंगाल प्रजातिको बाघ विश्वका तेह्र देशमा पाइन्छ । यीमध्ये प्राकृतिक बानी व्यहोरामा कुनै पनि परिवर्तन नभएको बाघ नेपालमा पाइन्छ । एसिया प्यासिफिक रिजनमा पहिलो ग्रीन डेस्टिनेसनको रूपमा स्थापित बर्दियालाई करिब तीन वर्ष अगाडि जर्मनमा भएको विश्व सम्मेलनले समेत संसारका घुम्ने पर्ने ठाउँमध्ये एकमा राखेको छ ।
बर्दियाले बाघलाई र बाघले बर्दियालाई बुझेकै कारण यति सानो क्षेत्रमा बाघको सङ्ख्या बढेको हो । बर्दियामा संसारमै सबैभन्दा सानो क्षेत्रमा बाघ बस्छ । किनकि बाघ एउटा मांसाहारी जीव हो । बर्दियामा आधारित रहेर कुरा गर्दा प्रति वर्ग किलोमिटरमा ९६ वटा यसका आहार प्रजाति पाइन्छन् । जति धेरै आहारा भयो, जति धेरै पानीका श्रोतहरू उपलब्ध भयो त्यति सानो क्षेत्रमा बाघ सीमित हुनु स्वाभाविक हो । सानो क्षेत्र भएकै कारण होला, हामीले एकैदिनमा सातवटा बाघसम्म देखेका छौँ । बाघले जमिनको इको सिस्टमको टप लेभलमा बसेर काम गरेको हुन्छ । पारिस्थितिक प्रणालीलाई सन्तुलन राख्ने काममा बाघ र यसै समूहमा पर्ने वन्यजन्तुले महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन् ।
‘टाइगर टुरिजम’ अन्तर्गत बाघ हेर्न भनेर आएका पर्यटकले के कस्ता सावधानीका उपाय अपनाउनु पर्छ ? तपाईँले बाघलाई कसरी बुझ्नुभएको छ, बाघ कस्तो जनावर हो ?
सबैभन्दा पहिलो कुरा त आफूमा धैर्यता हुनुपर्दछ । जस्तोसुकै परिस्थिति पनि सहन्छु भन्ने दृढता हुनुपर्छ, र आफूमा विश्वास हुनुपर्छ । अनिवार्य रूपमा गाइडसँग जानुपर्ने हुन्छ । हाम्रो आनीबानी जङ्गलमैत्री हुनुपर्छ । लगाएका कपडाको रङदेखि लिएर ठूलो स्वरले नबोल्ने जस्ता कुराहरू प्राथमिकतामा पर्छन् । किनकि बाघले हामीलाई देख्यो भने त्यो लुकिहाल्छ, त्यसमा लजालु प्राकृतिक स्वभाव हुन्छ ।
क्याट फ्यामिलीमा सबैभन्दा ठूलो प्रजाति बाघ जङ्गलको सबैभन्दा सुन्दर प्राणी हो । बाघ निकै भद्र एवम् लजालु हुन्छ । बाघसँग जम्काभेट हुँदा ऊ लजाएको प्रस्टै देख्न सकिन्छ । त्यसैगरी, बाघको सुन्न सक्ने र देख्न सक्ने क्षमता पनि अलिक बढी हुन्छ । त्यसैले बोल्ने, हल्ला गर्ने कुरामा ध्यान दिनुपर्ने हुन्छ । बाघ देख्ने बित्तिकै धेरै डराउनु पर्दैन । किनकि बाघले देख्ने बित्तिकै आक्रमण गर्ने पनि होइन । कतिपय अवस्थामा हामी आत्तिएरै पनि बाघको सिकार हुनु परेको अवस्था छ । बाघले अगाडीबाट आक्रमण गर्दैन । आई कनट्याक्ट गरी रहने र आफू पछाडि हट्ने हो भने बाघसँग जम्काभेट हुँदा पनि बच्न सकिन्छ ।
बाघबारे विशेषज्ञता हासिल गरेका कथित विज्ञहरू बाघले राति मात्र आक्रमण गर्ने बताउँछन्, तर, उनीहरू गलत छन् । बाघलाई मानिससँग डर भएका जतिबेला पनि गर्न आक्रमण सक्छ । मेरो अनुभवमा बाघभन्दा चितुवा बेसी हिंस्रक हुन्छ ।
अझ, जङ्गलमा कुनै जीवसँग डराउनुपर्छ भने, त्यो हो गैँडा । गैँडा एकदमै रिसाहा स्वभावको हुन्छ ।


वन्यजन्तुको संरक्षण र वृद्धि विकासका लागि जैविक मार्ग पनि महत्त्वपूर्ण हुने गर्दछ, बर्दियाको हकमा पछिल्लो समय खाता कोरिडोरमा ह्रासोन्मुख भइरहेको भन्ने सुन्निन्छ, यो कत्तिको साँचो हो ?
खाता कोरिडोरले बर्दिया राष्ट्रिय निकुञ्जलाई भारतको कतरनियाघाट वाइल्डलाइफ सेन्चुरीसँग जोड्छ । यी दुई संरक्षित क्षेत्रका बाघ, हात्ती, गैँडा जस्ता ठूला तर लोपोन्मुख जनावर आवतजावत गर्ने मार्ग यही हो । यस कोरिडोरले वन्यजन्तुलाई बाटो मात्रै उपलब्ध गराएको छैन, यता र उताका वन्यजन्तुबिचको सम्बन्धबाट नयाँ सन्तान जन्मने कारण पनि सिर्जना गरिरहेको छ, यस कोरिडोरका कारण जैविक विविधताका वृद्धि भएको छ । वन्यजन्तुका सन्तानमा अनुवांशिक ह्रास हुन् जोगिनु भनेको यहाँ मूल प्रजातिको वंश जोगिनु हो ।
यस मार्गमा केही समस्या आएको कुरा केही हदसम्म सत्य हो । यसमा जनताका आवश्यकताका कुराले पनि फरक पार्दछ । स्थानीय समूदायबाट अलिकति बाधा पुगेको हो । हात्तीसारदेखि तल्लो भेगमा तीनवटा सामुदायिक वन रहेका छन्, जुन बाघ र गैँडाको लागि उपर्युक्त प्राकृतिक निवास हो । त्यो भेगमा सयौँ भैँसी, गाईगोरु, पचासौँ मान्छे दिनहुँजसो पुगिरहँदा बाघ लगायतका जनावरलाई एकदमै नराम्रो असर परिरहेको छ । बाघ हाम्रो नेपालको मात्र नभएर विश्वको सम्पत्ति हो । यसलाई बचाउन यो भेगका स्थानीयहरूलाई सरकारले वैकल्पिक पेसाको अवसर दिएर यस क्षेत्रलाई संरक्षण गर्यो भने यो ह्रासमा कमी आउन सक्छ ।


(भट्टराई पर्या-पर्यटन विकास मञ्च, बर्दियाका अध्यक्ष हुन् ।)
(टुर न्युजको बर्दिया अंकबाट, अर्काइभ)




























































Discussion about this post