- प्रेम बास्तोला, राजु झल्लु प्रसाद
काठमाडौँ । हिमाली क्षेत्रमा मात्र पाइने हिउँचितुवा पहिलो पटक तराईमा फेला परेपछि यसको संरक्षणमा लागेका विज्ञहरू अध्ययनमा जुटेका छन् । मोरङको उर्लाबारी–१ चारघरेको बाँस झ्याङको एक किसानको तोरीबारीमा मङ्गलवार हिउँचितुवा फेला परेपछि विज्ञहरू यस दुर्लभ घटनाको अध्ययन-अनुसन्धान कार्यमा जुटेका हुन् । उच्च हिमाली भेगमा पाइने हिउँचितुवा तराई क्षेत्रमा भेटिनु विश्वकै लागि नयाँ र दुर्लभ घटना भएकाले यसलाई नयाँ शिराबाट गम्भीरताका साथ अध्ययन अनुसन्धान गर्नुपर्ने निष्कर्ष सहित विज्ञहरू एकजुट हुँदै गरेको पाइएको छ । यस घटनाले वन, वातावरण तथा जैविक विविधता संरक्षणकर्मी, वन्यजन्तु विज्ञदेखि स्थानीय जनता हुँदै यस क्षेत्रमा काम गर्ने सरकारी, गैरसरकारी संस्थाहरूमा नयाँ तरङ्ग पैदा गरेको छ भने विश्वको ध्यान नेपालतर्फ खिचेको छ ।


मङ्गलवार हिउँचितुवा भेटिएको उर्लाबारीको उचाइ समुद्री सतहदेखि १५० मिटर मात्र रहेको र सो स्थानको तापक्रम हिजो करिब १४ डिग्री सेल्सियस रहेको हुँदा जलवायु परिवर्तन सम्बन्धि बहसहरू प्रथमत: सतहमा आएको पाइयो । विशेष गरी पहाडी भेगमा पाइने जन्तु एकाएक चुरे पहाडदेखि करिब २० किलोमिटर टाढा रहेको उर्लाबारी आइपुगेपश्चात् सामाजिक सञ्जालमा यस सम्बन्धमा विभिन्न टीकाटिप्पणीहरू देख्न पाइएको हो । हिमाल दाहाल व्यङ्ग्यसहित फेसबुकमा लेख्छन्, “तराइको जाडो ! आज हिउँचितुवा आयो । यस्तै हो भने, भोलि चौँरी र याक आउँछन् । अनि डाँफे आउँछ । त्यसपछि लालीगुराँस फुल्न थाल्छन् । यार्सागुम्बा पनि पाइएला । अनि विस्तारै यति आउँछ । सबै जनावर तराइ झरेपछि हिउँ पनि पर्न थाल्ला । हिमाललाई पनि हिमालमा बस्न बोर लाग्ला !”
तर, वन्यजन्तु, जैविक विविधता तथा वन तथा वातावरण संरक्षण विज्ञहरू भने यस घटनालाई जलवायु परिवर्तनको असर भनेर शङ्का गर्ने कुनै आधार नभएको बताउँछन् ।


घटना के हो ?
मङ्गलवार मोरङको उर्लाबारी नगरपालिका-१, चारघरेमा हिउँचितुवा फेला पर्यो । स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सब वन डिभिजन कार्यालय मंगलबारेको टोलीले दिनभरि जसो हिउँचितुवालाई बास झ्याङमा पहरा दिएर गाउँ पस्नबाट रोकेका थिए । स्थानीयले घेरा हालेपछि भाग्ने बाटो नपाएर हिउँचितुवा बाँसको झ्याङमा पसेको थियो । हिउँचितुवालाई नियन्त्रणमा लिन कोशी टप्पु वन्यजन्तु आरक्ष र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट वन्यजन्तु विज्ञको संयुक्त टोली उर्लाबारी आएको थियो । बाँसको झ्याङमा लुकेर बसेको अवस्थामा वन्यजन्तु विज्ञ र भेटनरी विज्ञको टोलीले डार्ट (औषधिजन्य सुई) प्रहार गरी बेहोस बनाएर साँझ ७ बजे आसपास हिउँचितुवालाई नियन्त्रणमा लिई उद्धारका लागि मङ्गलवार राति कोशीटप्पु पुर्याइएको थियो । कोशी केन्द्रमा लगेपछि औषधिमूलो गरिएको र अवस्था सामान्य उद्धार गरिएको हिउँचितुवालाई कोशीटप्पुबाट सदर चिडियाखाना, जावालाखेल ल्याइएको छ । चितुवा आज बिहान साँढे ८ बजे जावलाखेल आइपुगेको छ । तत्काल नियन्त्रण तथा उद्धार गरिएकाले चितुवाले कुनै क्षति भने गरेन ।


राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशीटप्पु संरक्षण कार्यक्रम प्रमुख वीरेन्द्र गौतम तराईमा हिउँचितुवा भेटिनु नौलो र अध्ययनको लागि पनि नयाँ विषय भएको बताउँछन् । “बच्चा हुन् सक्छ र माउबाट छुटेर तल आइपुगेको हुन् सक्छ । वा, आहारालाई पछ्याउँदै पछ्याउँदै गोप्रे खोला (खहरे) हुँदै तल आइपुगेको हुन् सक्छ । हिउँचितुवाको आहारा प्रजाति तराइमा नभेटिने हुँदा र यसअगाडि यस्तो रेकर्ड नभएको हुँदा हामी पनि अध्ययनकै चरणमा छौँ”, उनले टुरशालालाई बताए ।
गौतमले साँढे २ बजे आसपास आफूले खबर पाएको र खबर पाउँदा सामान्य चितुवा (कमन लिओपार्ड) मात्रै होला भन्ने ठानेको बताउँदै भने, “डार्क नगरी समाउन सकिने अवस्था रहेछ भने सोही गर्नु भनेको थिएँ तर, फोटो पाइसकेपछि सामान्य चितुवा नभई हिउँचितुवा नै रहेको र उच्च हिमाली भेगमा भेटिने जीव तराईमा भेटिनुलाई तत्कालै गम्भीरताका साथ लियौँ र वन्यजन्तु प्राविधिक र भेटनरी प्राविधिकसहितको ५ जनाको टोली स्थलमा पुग्यौँ”, उनले अगाडि भने, “सो हिउँचितुवाको उद्धार गरि राति कोशीटप्पुमा ल्यायौँ र पछि निकुञ्ज विभागको सल्लाहमा उसलाई जावालाखेल चिडियाखानामा पठाउने काम सम्पन्न गर्यौँ । तापक्रम समेत मिलाउनुपर्ने हुँदा कोशीटप्पु भन्दा जावलाखेलमा राख्नु नै उपयुक्त हुन्छ ठानेर सो गरेका हौँ । उनले त्यस भेगमा हिउँचितुवा सम्बन्धि जनचेतनामूलक कार्यक्रमहरू सुरु नभएको तर, हात्तीको गतिविधि बढिरहेकाले सो सम्बन्धका कार्यक्रमहरू भने सक्रियताका साथ् अगाडि बढिरहेको समेत बताए ।
सदर चिडियाखानाका सूचना अधिकारी गणेश कोइराला उद्धारका लागि जावालाखेल आइपुगेको ‘किशोर (सब-एडल्ट) चितुवा’ घाइते रहेकाले उपचारकै क्रममा रहेको बताउँछन् । “हामीकहाँ बुधवार बिहान साढे आठ बजे आइपुगेको हो, अहिले क्वारिन्टाइनमा रहेको छ । उसलाई हिँड्नमा अप्ठ्यारो परिरहेको देखिन्छ, गाउँलेले कुटपिट गरे कि भन्ने आशङ्का गरेका छौँ । हामीले अब्जरभेसनमा राखेका छौँ । चिडियाखानाकै डा. पर्वतजङ्ग थापा, दिव्या पौडेल लगायतको टिमले उपचार गर्दै हुनुहुन्छ”, उनले भने । कोइरालाले रिकभरिका लागि समय लाग्न सक्ने हुँदा त्यसपछि मात्रै वासस्थानमै फर्काउने काम थालिने समेत बताए ।
यसैगरी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी श्याम कुमार शाह उर्लाबारीको घटनाबारे विभागले आज साँझ प्रेस रिलिज निकाल्ने तयारी गरेको बताउँछन् ।


विज्ञ एवं सरोकारवालाहरू के भन्छन् ?
हात्तीमैत्री पर्यटन अभियन्ता एवं मेचीनगर-४ का वडाध्यक्ष अर्जुन कुमार कार्की भेटिएको हिउँचितुवालाई कुनै तस्करले ल्याएको र उम्किएको हुन् सक्ने अड्कल गर्छन् । उनी भन्छन्, “जलवायु परिवर्तनका कारण वन्यजन्तु र बोटबिरुवाहरू तलमाथि भइरहेका उदाहरणहरू भने छन् तर, जलवायु परिवर्तन यसको कारण नहुन पनि सक्छ”, उनी अगाडि भन्छन्, “हात्तीमा काम गरिरहेको कोशी प्रदेश सरकारले यस विषयमा पनि नयाँ ढङ्गबाट सोच्न आवश्यक छ ।”


सुदुरपूर्वको बाहुनडाँगी लगायत क्षेत्रमा विगतदेखि नै बढिरहेको हात्तीको गतिविधिलाई नजिकदेखि नियालिरहेका हात्ती विज्ञ, सिटिजन साइन्टिस्ट शङ्कर क्षेत्री लुइँटेल चोरीसिकारीको सञ्जालमार्फत हिउँचितुवा मोरङ आइपुगेको हुन् सक्ने बताउँछन् । “झापा, मोरङ लगायतका क्षेत्रमा पछिल्लो समय हात्तीको गतिविधि बढ्नु र यसअगाडि यस क्षेत्रमा हात्तीको दाह्रासहित केही मानिसहरू समातिएकाले यो शंका गरेको हूँ । यस घटनाले झापा-मोरङमा त्यो सञ्जालको उपस्थिति त छैन भन्ने प्रश्न समेत गरेको छ”, उनले भने । क्षेत्री हिमालको जनावर तराइमा देखिनु र तराइको बाघ पहाडतिर उक्लने घटनाक्रम बढ्दै जानुले संरक्षण कार्यक्रमहरू थप प्रश्नहरू समेत निम्ताएको बताउँछन् ।
यसैगरी, वन्यजन्तुबारे अध्ययन गरिरहेका नेपालका लागि वन कुकुर विज्ञ सुजन खनाल जलवायु परिवर्तन वा वासस्थान परिवर्तनका कारण हिउँचितुवा तराइ झरेको नभई चिसोयाममा शिकार खेल्दाखेल्दै झुक्किएर तल आइपुगेको हुनसक्ने बताउँछन् । “भेटिएको हिउँचितुवा घाइते छ भन्ने थाहा पाएको छु । यसलाई राष्ट्रिय प्रकृति संरक्षण कोषले स्वास्थ्योपचार गरि उसकै वासस्थानतर्फ लैजानुपर्छ । जु’मा राखिराख्न सम्भव पनि छैन”, उनले भने । उनकाअनुसार दार्जिलिङको चिडियाखानामा हिउँचितुवाले प्रजनन नै गरेको थियो तर, काठमाडौँको हावापानीमा गर्मीमा त्यो सम्भव नहुँदा उसकै वासस्थानमा छोड्नु उपयुक्त हुने उनले बताए । खनाल यो अनौठो घटना भएकाले यसबारेमा थप गम्भीर बन्न सुझाउँछन् ।


यसैगरी, हिउँचितुवा विशेषज्ञ एवं गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाका प्रमुख समेत रहेका इन्ल्याण्ड नर्वे यूनिभर्सिटी अफ अप्लाइड साइन्सका नेपाली वैज्ञानिक मधु क्षेत्री १५० मिटरको उचाई हिउँचितुवा भेटिनु दुर्लभ घटना भएको बताउँछन् । “मैले प्रत्यक्ष देखेको होइन तर पत्रिकामा आएको फोटोअनुसार त्यो चितुवा माउबाट छुटेको बच्चाजस्तो प्रतीत हुन्छ । तौल ४० केजी भनिएको छ, हिउँचितुवाहरू कहिलेकाहीँ लामो दूरी पनि हिँडिरहेको हुन्छ, यसो हुँदा मानवबस्ती या अन्य अवरोधसँग ठोकिएर अत्तालिएर त्यहाँ आइपुगेको हो कि भन्ने अनुमान गर्न सकिन्छ”, उनले अगाडि भने, “त्यस क्षेत्रमा भेटिनु भनेको कन्चनजङ्गा संरक्षण क्षेत्रको कोरिडोर एक्सटेन्ड भएछ कि भन्ने सङ्केत पनि हो । यस घटनाले कन्चनजङ्गा क्षेत्रको कोरिडोरबारे गम्भीर अध्ययन र अनुसन्धान गर्न आवश्यक रहेको देखाएको छ ।”
आयोजनाका प्रमुख क्षेत्रीले जलवायू परिवर्तनका कारण हिउँचितुवा तल झरेको भन्ने तर्कलाई इन्कार समेत गरे । “क्लाइमेट चेन्जको कारण हो भने ऊ (हिउँचितुवा) माथि जानुपर्ने हो, तर तल झरेको छ । यसैले जलावायू परिवर्तन कारण होइन । बच्चा चकचके हुन्छन्, यसैकारण आमासँग छुटिएर तल तल आउँदा तराइको मानवबस्तीसम्म आइपुगेको हुनसक्छ”, उनले टुरशालालाई बताए ।
“चोरीसिकारी भन्ने पनि छ तर, त्यस्तो लाग्दैन । घरमा पालेर राखेको जस्तो पनि देखिँदैन । मेरो अनुमानमा माथिदेखि तलैसम्म कहीँ न कहीँ कनेक्सन हुनुपर्छ । पर्सि काठमाडौँमा प्रेस कन्फरेन्स गर्ने कि भन्ने कुरा सुनेको छ, त्यतिबेला अझ क्लियर होला”, उनले भने ।


बर्दिया राष्ट्रिय निकुञ्जको पूर्व वार्डेन रमेश थापा ‘हिमालको रानी’ भनिने हिउँचितुवा उर्लाबारीमा भेटिनु ‘दुर्घटना’ भएको बताउँछन् । “कुनै गिरोहले तस्करी गरेर वा कुटेर त्यहाँ छोडेको पनि हुनसक्छ । उच्च हिमाली भेगमा पाइने जीव यसै तराई आइपुग्दैन । यसको कनेक्टिभिटी पनि सहज देखिँदैन”, उनी अगाडि भन्छन्, “सजिलै समात्न सकिने वा नियन्त्रणमा लिएर ढुवानी गर्न सकिने अथवा डार्क गर्न पनि गाह्रो पर्ने जीव विश्वलाई चकित पार्ने गरि एकाएक तराई आइपुग्नुले अवैध चोरीसिकारी (थ्रेट) तर्फ इशारा गरेको छ ।” उज्यालो नेपाल, बर्दियाका निर्देशक समेत रहेका थापाले एक गम्भीर अनुसन्धानको विषय बनेको बताए ।
यसैगरी, डब्लुडब्लुएफ नेपालमा कार्यरत वन्यजन्तु विज्ञ डा.शान्तराज ज्ञवाली हिउँचितुवाको हकमा यो पहिलो घटना भएको तर, कालो भालु लगायतका जनावरले यस्तो प्रकृति यसअघि पनि देखाएको बताउँछन् । “केही जनावरहरूले माथिदेखि तलसम्म आउने गर्दछ, कालु भालुले त्यसो गरेको छ तर, हिउँचितुवाको हकमा यो नर्मल कुरा भएन । कारण के हुनसक्छ भनि अध्ययन, अनुसन्धान गर्न आवश्यक छ”, उनी भन्छन् ।
यस्तै, चराविद् हेमसागर बराल कन्चनजङ्गाबाट आउन सक्ने चितुवा दार्जिलिङबाट पनि आउन सक्ने सम्भावना समेत रहेको बताउँछन् । “दार्जिलिङको चिडियाखानामा हिउँचितुवा राखिएको भन्ने छ । कुनै मिनी जूमा कसैले चितुवा भनेर राखेको पो हुनसक्छ कि ? या व्यक्तिगत तवरमा कसैले गैरकानूनीरुपमा राखेको पो थियो कि ? चोरीशिकारीको आशंका एक ठाउँमा छ भने प्राकृतिक वासस्थानबाट झर्दै पो आइपुग्यो कि ? तर, कन्चनजङ्गाबाट मोरङसम्म झर्नका लागि यसलाई धेरै पहाडहरू पो काट्नुपर्छ त”, उनले अगाडि भने, “तर आउँदै आएन भन्ने पनि होइन, हुन् पनि सक्छ ।”
जेटएसएल नेपालका पूर्व प्रमुख समेत रहेका बरालले हिउँचितुवाको स्वास्थ्य अवस्था राम्रो भएपश्चात् स्याटेलाइट ट्रान्समिटर राखेर यसको मुभमेन्ट हेर्नुपर्ने र त्यसले मात्रै आधिकारिक प्रमाण दिने बताउँछन् । “यसलाई प्राकृतिक वासस्थानमा छोडेर यसको मुभमेन्ट के हुँदो रहेछ भनेर हेर्नुपर्छ”, उनले भने ।
बरालले यस घटनापश्चात् नेपाल विश्वमै सबैभन्दा कम उचाइमा हिउँचितुवा भेटिएको देश बनेको समेत बताए । “यसले आफ्नो प्राकृतिक वासस्थान छोडेर केही तल झरेका उदाहरणहरूमा लाङटाङ भिलेजमा आएर १/२ महिना बसेको र सगरमाथा क्षेत्रमै पनि त्यस्तै रेकर्डहरू छन् । यसले आफ्नो आहारालाई पछ्याउँदै अलिकता तल चाहिँ आउने हो, तर यति तल आउनु चाहिँ अनौठो छ”, उनले भने ।


विश्व वन्यजन्तु कोष नेपाल (डब्लूडब्लूएफ) का निर्देशक घनश्याम गुरुङ उत्तरी भेगबाट मोरङसम्म हिउँचितुवा आउने सम्भावनादेखि लिएर माख्लो क्षेत्रतिरबाट खानाको खोजी गर्दै तराई झरेको, बाटो बिराएको, जलवायु परिवर्तनका कारणले, कसैले हुर्काएर छाडेको वा तस्करी गरेर कतै लैजान लाग्दा छुटेको लगायतका तमाम अनुमानहरूलाई साथमा राख्दै वैज्ञानिक अध्ययनको दायरा बढाउनुपर्ने त्यसमा डब्लुडब्लुएफ जस्ता संस्थाहरूले सघाउने बताउँछन् । “यो ‘टोटल्ली अनएक्सपेटेड’ घटना भयो । अहिले जावालाखेल चिडियाखानामा छ, त्यहाँ उसलाई हेर्न मान्छेको चाप समेत बढेको थाहा पाएका छौँ”, उनी अगाडि भन्छन्, “उसको हेल्थ चेकअप भइसकेपश्चात् उसको सम्भावित ट्रेल हेर्छौँ तर, प्रारम्भिक अध्ययनका आधारमा उसको आउने ठाउँ कन्चनजङ्गा बाहेक अरू देखेका छैनौँ । यसकारण कन्चनजङ्गा मा गरिएका क्यामरा ट्र्यापहरू हेर्ने दिशामा अगाडि बढ्नुपर्छ । यसको प्याट्रन हामीसँग भएको प्याट्रनमा मिल्छ कि मिल्दैन भनेर हेर्नुपर्ने हुन्छ ।” हिउँचितुवा कहाँबाट आएको र कुन ठाउँबाट कुन बाटो प्रयोग गरि आएको हो भन्ने अध्ययन तत्काल थालिनुपर्ने र त्यसका लागि होमवर्क आवश्यक रहेको गुरुङले बताए । हिउँचितुवा विशेषज्ञ समेत रहेका डा. गुरुङले यो नयाँ र अकल्पनीय विषय रहेको बताउँदै यसलाई उसकै वासस्थानमा पुर्याई अध्ययन अगाडि बढाउनु नै उत्तम उपाय रहेको बताए ।
दार्जिलिङबाट यस सम्बन्धमा कुनै अपडेट हालसम्म नआएकाले त्यो सम्भावना नरहेको समेत उनले बताए । “अनुमानको भरमा बोल्दा समस्या हुन्छ, ‘मोर साइन्टिफिक्कल्ली’ हेर्नुपर्ने हुँदा हामी अध्ययनकै चरणमा छौँ । हिउँचितुवाको हामीकहाँ ३ वटा ल्याण्डस्केप रहेको हुँदा कन्चनजङ्गाबाट नै यो आएको हुनुपर्छ”, उनले जोड दिए ।
कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे मन्त्रालय अन्तर्गतकै डिभिजन वन कार्यालय उर्लाबारीको अग्रसरता र प्रकृति संरक्षण कोषको प्राविधिक सहयोगमा ‘जिउँदो चितुवा’लाई कुनै क्षति बेगर सुरक्षित तरिकाले ‘सफल उद्धार’ सम्पन्न भएको बताए । “हात्तीको गतिविधि बढेसँगै हामीले वन कार्यालय, स्थानीय सरकार र संरक्षण संस्थाहरूको सहयोगमा स्थानीय जनतामा सचेतना बढाइरहेको हुँदा यस सम्बन्धमा पनि काम गर्नेछौँ”, उनले अगाडि भने, “मान्छेलाई क्षति पनि गरेन, जनावर पनि सुरक्षित रह्यो । यो राम्रो पक्ष हो ।”


हिउँचितुवा कति मिटरसम्म पाइएको छ ?
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को सहयोगमा तयार पारेको नेपालमा हिउँचितुवा संरक्षण कार्ययोजना (२०१७–२०२१) मा कञ्चनजङ्घा संरक्षण क्षेत्रबाट हिँडेको हिउँचितुवा एक हजार वर्ग किलोमिटरभन्दा लामो दूरी पार गरेको उल्लेख छ । रेडियो कलर जोडिएका यहाँका हिउँचितुवा भारतको सिक्किम, भुटान, चीनसम्म पुगेको पाइन्छ । साथै, यसअगाडि नेपालको हकमा २२५० मिटरको उचाइमा हिउँचितुवा भेटिएको रेकर्ड रहेको थियो । दुई वर्षअघि सगरमाथा जाने बाटोमा एक जना विदेशीले २ हजार २५० मिटर उचाइमा हिउँचितुवाको भिडिओ रेकर्ड गरेका थिए । मङ्गोलिया र रुसमा भने हिउँचितुवाको वासस्थान ५०० मिटर उचाइमै हुने गरेको छ तर यो उर्लाबारीको उचाई र यस घटना विश्वकै लागि अनौठो घटना बन्न पुगेसँग विश्वभर चासोको विषय बनेको छ ।
हिउँ चितुवा कस्तो जनावर हो ?
उच्च हिउँाली भेगमा पाइने हिउँचितुवाको अवस्था हिमाली क्षेत्रको जनजीवनकै सूचक हो । वन्यजन्तु चोरी–शिकारी, वासस्थानको अभाव तथा जलवायु परिवर्तनका कारण हिउँचितुवा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन) को ‘रातो सूची’ मा सङ्कटग्रस्त वर्गमा छ ।
सन् २०१७ को तथ्यांकअनुसार नेपालमा ३ सयदेखि ४ सयको सङ्ख्यामा हिउँचितुवा छन् । यो सङ्ख्या भारत, चीन तथा मङ्गोलिया पछिको विश्वको चौथो ठुलो हो । नेपालमा से-फोक्सुण्डो र मनाङको नार्फु भ्याली हिउँचितुवाको मुख्य वासस्थान हो । कञ्चनजङ्घा संरक्षण क्षेत्र, मकालु–वरुण राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, गौरीशङ्कर संरक्षण क्षेत्र, लाङटाङ राष्ट्रिय निकुञ्ज, मनास्लु संरक्षण क्षेत्र, अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष, से–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज, खप्तड राष्ट्रिय निकुञ्ज र अपि–नप्पा संरक्षण क्षेत्र हिउँचितुवाको वासस्थान रहेको हिउँचितुवा संरक्षण कार्ययोजनामा उल्लेख छ ।
नेपालसहित चीन, भारत, पाकिस्तान, अफगानिस्तान, भुटान, काजकिस्तान, मङ्गोलिया, रुस, ताजकिस्तान, उज्बेकिस्तानमा हिउँचितुवा पाइन्छन् । यी सबै देशमा गरेर ६ हजार २ सय बढी हिउँचितुवा रहेको अनुमान छ । सामान्यतया यिनीहरूको तौल २७ देखि ५४ किलोग्राम तथा लम्बाइ ७५ देखि १३० सेन्टिमिटरको हाराहारीमा हुन्छ भने पुच्छर सहितको लम्बाइ यो लम्बाइको ७५ देखि ९० प्रतिशत बढी हुने गर्छ ।
बढ्दो मानव बस्ती सिर्जित प्राकृतिक स्रोतसाधनमाथिको दोहनले हिउँचितुवाको वासस्थान जोखिममा पर्न थालेको छ । घुमन्ते गोठाला–स्थानीयवासीबीच द्वन्द्वसँगै चोरी–शिकारी र जलवायु परिवर्तनले पनि बँचेका हिउँचितुवालाई चुनौती दिइरहेको छ ।






























































Discussion about this post