- भरतमणि भट्ट
राज्यले निश्चित नीति र विधि तर्जुमा गरी पठनपाठनको नियमित व्यवस्था गर्नु पहिले मानिसहरू आफ्नो लेखपढको आवस्यकता आफ्नै तरीकाले पूरा गर्थे । सिक्न चाहने मानिसले जुनजुन ठाउँमा विद्वान् गुरू, पण्डितहरू हुन्थे, त्यहीत्यही ठाउँमा गई लेखपढ गर्थे । यसरी गुरूका घरगाउँमै पुगेर वा त्यहाँ डेरा गरेर सिक्ने सिकाइ अर्थात् गुरूकुल शिक्षा शिक्षण हुने देशका धेरै स्थानमध्ये गर्गगोत्रीय भट्टहरूको मूलबसोबास भएको ठाउँ मैधी उखुबारी भट्टगाउँ (पण्डित गाउँ) पनि एक थियो । हाल धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका वडा नं ३, साविक मैधी (मैदी) . २ अन्तर्गत पर्ने मध्य नेपालका गर्गगोत्रीय भट्टहरूको उद्गमस्थल एवं महान् तीर्थस्थलका रूपमा रहेको यस सुन्दर र पवित्र गाउँमा प्रचलित परम्परागत गुरुकुल शिक्षाबाट धादिङ जिल्लाका मात्र नभई तनहुँ, नुवाकोट, रसुवा, काठमाडौं, मकवानपुर, चितवन आदि जिल्लाका व्यक्तिहरूसमेत लाभान्वित थिए भन्ने चर्चा प्रशस्त सुन्न पाइन्छ, दुःखको कुरा यसअधि उक्त गरिमापूर्ण विषयको अभिलेखीकरण काहीं कसैबाट हुन सकिरहेको थिएन । जो बादलभित्रको जूनझै ओझेलमा थियो । संयोग भनूँ कि खै के भनूँ ? यो लेख तयार भइरहँदा मकवानपुर जिल्लाको पालुङ पैतृकस्थल भई हाल काठमाडौं निवासी त्रिभुवन विश्वविद्यालयका पूर्ववरिष्ठ प्रशासक तथा प्रसिद्ध इतिहासविद् शिवप्रसाद ढकालले प्रकाशोन्मुख आफ्नो किताबमा उल्लेख गर्न भनी उक्त विषयको विवरण माग्नुभएको थियो, जसका निम्ति शिव सरलाई मुरीमुरी धन्यवाद ।


मैधी उखुबारीमा गुरुकुल शिक्षाको प्रथा कसले बसाल्यो ?
डोटीक्षेत्रबाट मैधी उखुबारी आई घरजम गरेर नौ भाइ छोरा जन्माएपछि आफ्ना छोराहरूलाई ९ लाख सम्पतिको रूपमा चित्रण गरी तात्कालिक राजारजौटाबाट प्रशस्त जग्गाजमिन बिर्ता पाउन सफल ‘दुर्लभ भट्ट’ नामका चलाख पुर्खाका सन्तति हुनुका नाताले मैधी उखुबारीका भट्टहरूमा केही न केही शैक्षिक विज्ञता त पहिलेदेखिकै विद्यमान थियो । दुर्लभका कान्छा छोरा दुर्गादास, पनाति वैयाकरण, छैटौँ पुस्ताका सन्तति भगीरथ, सातौँ पुस्ताका सन्तति पूर्णानन्द र टीकादत्त, आठौँ पुस्ताका चेतनाथ, ज्योतिखर, यमुनेश्वर, टेकनाथ, रूद्रप्रसाद, धर्मानन्द, गोविन्दप्रसाद, रूद्रदत्त, चौथों पुस्ताका सोमनाथलगायत व्यक्तित्व त संस्कृतका सामान्य ज्ञातामात्र नभई वेद–पुराणका व्याख्यातासमेत थिए र केही त अझै जीवित छन् । यसरी मैधी उखुबारीको पावन माटोले दर्जनभन्दा बढी भट्ट पण्डित जन्माएको मात्र नभई त्यहाँ प्रचलित परम्परागत गुरुकुल शिक्षाले धादिङ र आसपास जिल्लामा कैयौं दर्जन पण्डित वा विद्वान्हरू जन्मायो अनि जन्मनका लागि प्रेरणा प्रदान गर्यो । त्यतिमात्र नभई आधुनिक वा वर्तमान शिक्षाको आधारस्तम्भ खडा गर्यो । बिना शुल्क लेनदेन यस्तो महान् र पावन थालनीकर्ताबारे यस रचनाकारले निकै लामो समयसम्म वयोवृद्ध महानुभावहरूसँग सोधखोज गर्दा यो प्रथा विद्वान् पण्डित पूर्णानन्द भट्टले चलाएको पाइयो ।
विद्वान् गुरू पं पूर्णानन्दबारे
धादिङ र आसपासका जिल्लाका शिक्षाका जाज्वल्यमान् ज्योति तथा गर्गगोत्रीय भट्टपरिवारका चम्किला मोती मूर्धन्य विद्वान पं पूर्णानन्दको जन्म विक्रम संवत् १९२४ सालमा मैधी उखुबारीको पावन माटोमा भएको थियो भने देहावसान सोही स्थानमा वि. सं १९९९ मा ७५ वर्षको उमेरमा भएको थियो । पिता हेमलाल र माता सुमित्राका सातजना छोराछोरीमध्ये सबैभन्दा जेठा सन्तति भई जन्मनुभएका उहाँको न्वारनको नाम भने यज्ञदत्त थियो । पण्डितरत्न पूर्णानन्द बाल्यकालदेखि नै ज्यादै तीक्ष्ण बुद्धिका धनी हुनुहुन्थ्यो । साधारण लेखपढको अवसर आफ्नै घरपरिवारमा प्राप्त गर्नुभएका उहाँको लेखपढको इच्छा त्यतिले पूर्ण नभएकाले तीर्थयात्रीहरूको साथमा काशी वाराणसी गई निकै लामो समय अध्ययन कार्यमा जुट्नुभयो ।
संस्कृतव्याकरणलगायत विविध विषयमा गहनतम अध्ययन पूरा गरी फर्कनुभएपछि उहाँले आफूमा रहेको अथाहा ज्ञानको ज्योति सबैतिर फैलाउन आफ्नै घरमा शिष्यहरू जम्मा पारी लेखपढ गराउन थाल्नुभयो । मूर्धन्य विद्वान् पं पूर्णानन्दको विद्वत्ता र शैक्षीक विकासप्रतिको समर्पणबाट प्रभावित त्यति बेलाका बडाहाकिमले धादिङ जिल्ला सदरमुकाम निमारोपानीमा एक भाषा पाठशाला स्थापना गराई उहाँलाई प्रधान पण्डित नियुक्त गराएका थिए ।


शिक्षारत्न पं पूर्णानन्दका वैयक्तिक विशेषता
आफूले जानेका विषयवस्तुहरू आफ्ना शिष्यहरूमा प्रदान गर्नु त सामान्यतया सबै गुरूहरूको धर्म वा दायित्व हो, तर प. चूर्णानन्द आफ्नो सामान्य दायित्व मात्र पूरा गर्ने गुरू नभई विद्यार्थीमा कसरी बढीभन्दा बढी प्रभावकारी तरिकाले सिकाउन सकिन्छ ? भन्नेतर्फ ध्यान केन्द्रित गर्नुहुन्थ्यो वा उहाँ एक कुशल शिक्षक हुनुहुन्थ्यो । शिष्यहरूलाई आफूले दोहोर्याइ, दोहोर्याइ सिकाउन नभ्याएको खण्डमा मेधावी छात्रबाट कमजोर छात्रहरूमा सिकाइ स्थानान्तरण गराउनुहुन्थ्यो । उहाँका जेहेनदार छात्रहरूमध्ये उहाँकै कनिष्ठ सुपुत्र टेकनाथ भट्ट ज्यादै कुशाग्र बुद्धिका हुनुहुन्थ्यो । आफ्ना कार्यको पूजनीय पिता एवम् आदरणीय गुरूबाट एकपटक सुनेपछि लामो समय नबिर्सिने (श्रुतिधर) व्यक्तित्व उहाँले पिताजीको अध्यापन कार्यमा पाप्त सघाउनुभएको विवरण यसका जानकारहरू अहिले पनि बताउँछन् । संस्कृतशिक्षाका समुज्ज्वल नक्षत्र पं पूर्णानन्द भट्टले भाषा पाठशालामा सरकारी जागिर खानुभएको भए तापनि अध्यापन कार्यलाई जागिरका रूपमा मात्र कदापि लिनुभएन, बरू यसलाई एक पुनीत यज्ञका रूपमा लिनुभयो । कारण–वर्षे बिदा वा अन्य परिस्थितिले पाठशालामा लामो समय पठनपाठन नहुने अवस्थामा समेत विद्यार्थीहरूलाई आफ्नै घरमा ल्याई पढाइलाई निरन्तरता दिनुहुन्थ्यो, जसले गर्दा चारचौरासका शिक्षार्थीहरू त्यहाँ घुइरिन्थे । झन्डै झन्डै पुराणमा वर्णित नैमिषारण्य क्षेत्र जस्तै त्यो ठाउँ देखिएकाले होला सायद परपरका मानिसहरू मैधी–उखुबारीका त साल, चिलाउने, तिन्दु आदिका रूख, बुटाहरूले पनि कौमुदी जानेका हुन्छन् भन्ने गर्थे ।
सरकारी तथा गैरसरकारी दुवै माध्यमबाट समाजमा शैक्षिक चेतना फैलाउने ज्ञानपुञ्ज व्यक्तित्व पं पूर्णानन्द संस्थापक प्रधान पण्डित रहनुभएको नेवारपानीको भाषा पाठशाला उहाँको अवसानपछि केही समय सञ्चालन भई भैरवी मा. विद्यालयको नाममा रूपान्तरण भयो भने परम्परागत गुरुकुल शिक्षण सिकाइ उखुबारीमा थोरबहुत अद्यावधि कायमै छ ।
प्रयाप्त आर्थिक लेनदेनबाट मात्र शिक्षा आदानप्रदान हुने आजको स्वार्थी समाजमा निःशुल्क विद्यादान गर्ने उक्त चोखो प्रथा कायम राख्ने महान् व्यक्तित्वहरू अति आदर्श गुरू प पूर्णानन्दकै भाइभतिजा र छोरानाति हुनुहुन्थ्यो । उहाँहरूमध्ये धेरै जसोको इहलीला समाप्त भइसकेको छ भने एकदुई जना हिजोआज पनि अति वृद्धावस्थामा जीवित हुनुहुन्छ । हुन त केही दशक अघिदेखि हाम्रा पुराना जीवनशैलीलाई वैदेशिक प्रचलन र प्रक्रियाले नराम्ररी दुष्प्रभावित बनाइरहेको छ । जसले गर्दा हिजोको त्यो आदर्श प्रचलन भोलि कायम नरहने निश्चितप्रायः भइसकेको छ, तथापि मरणोपरान्तको इनामकै रूपमा भए तापनि यहाँ केही सम्मानित जानकार महानुभावहरूबाट तात्कालिक अवस्था प्रस्ट्याउने प्रयास गरेको छु ।
केही गुरुकुल शिक्षक र शिक्षार्थीहरू:
(क) पूर्णानन्द भट्ट;
झन्डै डेढ शताब्दी जति मैधी उखुबारीमा चलेको गुरुकुल शिक्षाका प्रारम्भकर्ता सुविख्यात विद्वान् पं’ पूर्णानन्द हुनुभएको चर्चा माथि नै गरिसकियो । सुनौँ, उहाँबारे केही व्यक्तित्वहरूको विचारः
अ) मुक्तिनाथ अधिकारीः तात्कालिक मैधी वडा नं १ निवासी मुक्तिनाथ अधिकारी त्यसक्षेत्रका वरिष्ठ समाजसेवी अनि शिक्षाप्रेमी हुनुहुन्छ। मैधी उखुबारीमा शमीभञ्ज्याङ मा.वि. स्थापना गराई साबिक मैधी र आसपासका गाविस (गाउँ) मा शिक्षाको ज्योति छर्ने पुनित काममा उहाँको उल्लेखनीय योगदान रहेको छ । आफूभन्दा धेरै पुराना शिक्षासेवी तथा आफ्ना श्रद्धेय गुरुसमेत रहेका पं पूर्णानन्दबारे उहाँ भन्नुहुन्छ: हिजोआज जस्तो प्रशस्त विद्यालय महाविद्यालय नभएको अन्धकार बेलामा गुरू पूर्णानन्दले यस भेगमा निकै शिक्षादीक्षा दिनुभयो । मोटोघाटो जिउडाल, गोरो र फराकिलो अनुहार, मिलनसार र न्यायप्रेमी व्यवहार भएका उहाँ त्यतिबेलाको राणा शासनको थिचोमिचो रत्ति मनपराउनु हुदैनथ्यो। शिक्षाको उज्यालो छरेर मात्र समाजसुधारको काम हुनसक्छ भन्ने सोचाइका हुनुहुन्थ्यो । त्यतिबेलाका दौडाहा टोलीप्रमुखसँग कुरा गरी माथिल्लो धादिङमा पाठशाला खुलाउन उहाँले नै ठूलो भूमिका खेल्नुभएको थियो । पाठशाला खुलेको बेला पाठशालामा र नखुलेको बेला आफ्नै घरमा पठनपाठन गराउने पूर्णानन्द गुरुसँग पढ्न यता वरिपरिका मात्र नभई लमजुङदेखिका विद्यार्थीसमेत आउँथे । मानिस भएर जन्मिएपछि समाजमा केही न केही सेवाका काम गर्नुपर्छ भन्ने उहाँकै प्रेरणाबाट मैले पनि शमीभन्ज्याङ विद्यालयलाई बढोत्तरी गर्दै लगेको हूँ, जो आज कलेजको रूपमा समेत संचालन हुन पुगिसक्यो। पं पूर्णानन्दको मानसम्मान यसभन्दा धेरै अगाडि नै गरिनुपर्दथ्यो, आज ढिलै भए पनि सम्झन पाइयो ।


आ) शेषकान्त रिमालः धादिङको गल्छी, बैरेनी र नुवाकोटको दुईपीपल, कोल्पुटारक्षेत्रमा श्रीमद्भागवतलगायत कथा पुराण वाचन गरी हिन्दू धर्मसंस्कृतिको प्रचारप्रसार गराउने र विद्यालय व्यवस्थापन समितिमा रही शिक्षासेवा जस्तो पुनीत कार्य गर्ने १०० वर्षीय शेषकान्त रिमाल मैधी उखुबारीको आफ्नो अनुभव यसरी व्यक्त गर्नुहुन्छ: मैधी उखुबारीका पूर्णानन्द गुरू धेरै ठूला विद्वान् हुनुहुन्छ भन्ने खबर पाएर म पढ्न त्यहाँ गएको थिएँ । म गएका बेला उहाँ माथिल्लो धादिङको भाषा पाठशालामा पढाउनुहुन्थ्यो । त्यहाँ धादिङलगायत अरू धेरै जिल्लाका हामी विद्यार्थीहरू पढ्थ्यौं । गुरुका छोराहरू पनि त्यहीं पढ्नुहुन्थ्यो । गुरुको डेरा गङ्गादत्त दहालका घरमा थियो, म गुरुको प्यारो विद्यार्थी भएकाले मेरा प्यारा साथी गङ्गादत्तकै घर वा गुरू बसेकै घरको पिंढीमा म पनि बस्थे । पाठशाला बिदा भएको बेला हामी गुरुसँगै मैधी जान्थ्यौं । विद्यार्थीलाई कति गाली नगर्ने बरु जिस्क्याइ जिस्क्याई पढाउने उहाँसँग पढेका विद्यार्थीहरू शिक्षाका ठूलाठूला पदमा पुगेका छन् । प्रसिद्ध–प्रसिद्ध पण्डित बनेका छन् । गुरुको गुणगान त अझै धेरैधेरै गाउन मन थियो। सयवर्षको बूढो मान्छे मलाई बोल्न गारो भएको छ । उहाँ भगवान्जस्तै हुनुहुन्थ्यो । अब म गुरू बसेकै ठाउँमा गएर बस्न पाए हुन्थ्यो ।
ख) मैदी उखुबारीका दोस्रो पुस्ताका गुरुकुल शिक्षक पण्डितमध्ये तीन जनाको नाम यहाँ लिनैपर्ने हुन्छ, जसमा गुरू पं पूर्णानन्दका पुत्रद्वय प्रेमनाथ र टेकनाथ अनि भाइ नाता पर्ने (पुछारघरे पछि अमराई झरेका) ज्योतिष पण्डित टेकादत्त ।
ख, १) प्रेमनाथ वा अन्तरे पण्डित: प्रेमनाथमा पनि संस्कृतको ज्ञान त राम्रै थियो तर उहाँ संस्कृत अध्यापनमा भन्दा विद्यार्थीहरूलाई सुन्दर अक्षर तथा चित्र लेख्न सिकाउनुहुन्थ्यो । हाल मालपोतका लेखन्दास र अदालतका वकिलले तयार पार्ने लिखतहरू वा कागजातहरू उहाँ सबै तयार पार्न जान्नुहुन्थ्यो । विद्यार्थीलाई लेख्न सिकाउनुका अतिरिक्त मैदी क्षेत्रमा हाल सञ्चालित विद्यालयहरूको पृष्ठभूमि तयार पारिदिने निःशुल्क संस्थापक शिक्षकसमेत उहाँ हुनुहुन्थ्यो ।
ख, २) टेकनाथ वा कान्छा पण्डितः कान्छा पण्डितका नामले चिनिनुहुने सुविख्यात पण्डित टेकनाथका बारेमा त माथि पनि केही चर्चा भइसकेको छ । उहाँ संस्कृतव्याकरण कौमुदी, अमरकोषलगायत थुप्रै संस्कृतका किताबै नहेरी पढाउनुहुन्थ्यो । पुराणको पाठपारायण र कथावाचनमा श्रोताहरूको मन जित्न सक्ने भएकाले धादिङका थुप्रै छिमेकी जिल्लाबाट उहाँलाई पुराणको निम्तो आउँथ्यो । सुमधुर स्वरका धनी पं टेकनाथबारे धादिङ बेनीघाट मूल घर भई हाल काठमाडौं निवासी प्राध्यापक तथा प्रसिद्ध साहित्यकार घनश्याम कँडेल यसो भन्नुहुन्छ: मैधी उखुबारी त्यहाँका भट्ट पण्डितहरूका कारण ज्यादै चर्चित ठाउँ हो । त्यहाँका भट्टहरूको विद्वत्ता प्रशंसनीय रहेको छ । यसले धादिङ र आसपास जिल्लाको शिक्षामा ठूलो टेवा पुर्याएको छ । त्यहाँ संस्कृतशिक्षा आदानप्रदान कहिलेदेखि भयो यकीन छैन । मेरा स्वर्गीय पिता पुष्पराज कँडेलले पनि यहाँका प्रकाण्ड विद्वान् पं पूर्णानन्दसित संस्कृतव्याकरण कौमुदी पढनुभाएको थियो र पिताजीका अनुसार त्यतिबेला अरू पनि थुप्रै विद्यार्थी त्यहाँ पढ्थे । पं पूर्णानन्दका सुपुत्र स्वर्गीय पं टेकनाब भट्टसित मैले पनि पढ्ने सुअवसर पाएँ । उहाँमा पनि असाधारण विद्वता थियो । आफ्ना छात्रहरूलाई उहाँ कौमुदीलगायत संस्कृतग्रन्थहरू पढाउनुहुन्थ्यो । उहाँ आफ्ना विद्यार्थीहरूलाई ज्यादै माया गरेर पढाउनुहुन्थ्यो । छात्रहरूलाई बुझाउने कला विलक्षण भएका गुरू टेकनाथ, असाधारण प्रतिभापुञ्ज भईकन पनि सरल, सात्विक र शालीन स्वभावका हुनुहुन्थ्यो । एक भेटमा कुरा भए अनुसार धादिङका प्रसिद्ध साहित्यकार तुथा शिक्षासेवी स्वर्गीय डिल्लीरमण अर्यालले पनि आफ्नो अध्ययनको जग उहाँसँगै बसाउनुभएको थियो । आज म जुन हैसियतमा छु, त्यसको आधारस्तम्भ खडा गरिदिने मेरा आदरणीय गुरुलाई आज म जति सम्झदै जान्छु त्यति नै भावुक हुन्छु र ममा श्रद्धाका छालहरू उर्लन थाल्छन् ।
ख, ३) ज्योतिष पण्डित टीकादत्त भट्टः
मैधी, उखुबारी भट्टगाउँ पुछारघर टोलका टीकादत्त पण्डित संस्कृतको ज्योतिष विद्यामा ज्याँदै विज्ञ हुनुहुन्थियो । बाटामुनी टोलका भट्ट पण्डितहरुमा भन्दा उहाँमा ज्योतिषशास्त्रमा विशेषज्ञता रहेकाले नै त्यति बेलाका गुरुकुल शिक्षार्थीहरुमध्ये कतिपयले उहाँसँग ज्योतिष विद्या पढेका थिए । आफ्नो जीवनकालमा गाउँका अनगिन्ती विद्यार्थीलाई घरमै बोलाई बोलाई रुद्री चण्डी, कौमुडि लगायतका ज्योतिषशास्त्र पढ्न प्रेरित गर्ने, निःशुल्क पढाउने, चिना (जन्मकुण्डली) लेख्ने र दैनानुदिनमा आइपर्ने कर्मकाण्ड र धर्मशास्त्रमा रहेका जिज्ञासुका जिज्ञासा मेटाउने, बाधा अड्चनको गाँठो फुकाउनेमा व्यस्त रहने गर्नुहुन्थ्यो । पं टीकादत्त ज्योतिष विधामा मात्र नभई कथापुराण वाचन कार्यमा समेत उत्तिकै संलग्न हुने गर्नुहुन्थ्यो । स्वर्गीय ज्योतिष पं टीकादत्तका सुपुत्र श्री गोपीकृष्यण भट्टले उहाँको सम्झनामा अमरावती मा. वि. अमराईमा नगद क १,११,१११/– को अक्षयकोष स्थापना गरिदिनुभएको छ ।


ग) स्वर्गीय पण्डित रुद्रप्रसाद भट्टः
धादिङ र आसपास जिल्लाका मानिसमा निःशुल्क संस्कृत शिक्षा प्रदान गरी वर्तमान शिक्षाको जग बसाल्ने मैधी उखुबारीका गुरुकुल शिक्षकहरूमध्ये पं रुद्रप्रसाद तेश्रो पुस्ताका महत्वपूर्ण व्यक्तित्व हुनुहुन्थ्यो । विद्यार्थीहरूमा एक दुईपटक पाठ सिकाउनेमात्र नभई सहपठनको माध्यम अपनाउने स्वभावका पं रुद्रप्रसादबाट थुप्रै विद्यार्थीले शिक्षार्जन गरेका छन् । आफ्नो घरमामात्र नभई गुरू रूद्रप्रसादले त सातदोबाटे संस्कृत मा.वि. मा समेत निःशुल्क संस्कृतशिक्षा प्रदान गर्नुभएको थियो । थालनीको शिक्षा गुरू रूद्रप्रसादबाट प्राप्त गरी पछि बाल्मीकि विद्यापीठबाट उच्चशिक्षा प्राप्त गर्नुभएका र निकै समय रानीपौवा मा.वि. तथा सल्यानटार बहुमुखी कलेज सल्यानटारमा अध्यापन गरेपछि हाल काठामाडौँ बस्ने विष्णुप्रसाद तिमल्सिना स्वर्गीय गुरू रूद्रप्रसादबारे यसो भन्नुहुन्छ: धादिङ जिल्लाको अतिविकट स्थान सल्यानटारमा जन्मिएर पनि आचार्य तह उत्तीर्ण गरेर अध्यापन कार्यमा संलग्न भई विद्यालय तथा कलेज दुवै तहमा सेवा गर्ने जुन अवसर मलाई प्राप्त भयो, यसको पहिलो श्रेय म अतिपूजनीय स्वर्गीय गुरू रूद्रप्रसाद भट्टलाई दिन्छु । मेरो उच्चशिक्षाको पहिलो जग उहाँ नै हुनुहुन्थ्यो । गुरूप्रति मेरो लाखलाख श्रद्धाभाव छ।


पं रुद्रप्रसादपछि गोविन्द शर्माभट्ट र सोमनाथ भट्टमा पनि संस्कृतज्ञता प्रशस्त विद्यमान छ। आफ्ना पिताहरूको बिँडो धान्ने कार्यमा उहाँहरूको पनि केही न केही योगदान रहेको पाइन्छ । समयको बदलिंदो क्रमसँगै विगत डेढ शतक अधिदेखि मैधी उखुबारी धादिङमा प्रचलित परम्परागत गुरुकुल शिक्षाको घाम आज अस्तप्रायः अवस्थामा पुगेको भए तापनि यो इतिहासको पानामा युगौंयुग चम्किरहन सकोस् ।
८) गर्ग–गोत्रीय भट्ट पण्डितहरूले शैक्षिक विकासमा पुर्याएको योगदानको दृष्टान्त हामी मैधी उखुबारीमा मात्र नभई अन्यत्र पनि भेट्न सक्छौं ।
क) हाम्रा सुदूरपश्चिम प्रतिनिधि, शिक्षक हरिप्रसाद भट्टका अनुसार वीरबलभद्र मा. वि. नवदुर्गा गाउँपालिका डडेलधुराका संस्थापक अध्यक्ष हरिलाल भट्ट हुनुहुन्थ्यो । स्वर्गीय पं हरिलालले गाउँका केटाकेटी जम्मा पारी निःशुल्क पठनपाठन सुरू गर्नुभएको उक्त विद्यालय हाल प्राविधिक कलेजका रूपमा समेत सञ्चालन भइरहेको छ। उक्त विद्यालयको विकासमा त्यहाँका गर्गगोत्रीय भट्टहरूको विशेष योगदान रहेकोदछ ।
ख) जनज्योति मा.वि. चिप्लेटी सिरानडाँडा गोर्खाका प्रअ वेद शर्माका अनुसार उहाँका हजुरबुबा स्वर्गीय पण्डित वैजनाथ भट्ट आफ्नो समयका निःशुल्क शिक्षासेवी हुनुहुन्थ्यो । गाउँमा विद्यालय नै नखुल्दाका समयमा उहाँ आफ्नै घरमा केटाकेटी जम्मा गरी लेखपढ गराउनुहुन्थ्यो । शिक्षाका साथै हिन्दू धर्मसंस्कृतिको प्रचारप्रसारमा समेत उहाँको योगदान रहेको थियो ।
ग) शैक्षिक विकासमा गर्गगोत्रीय भट्टहरूले निभाएको भूमिकाको बखान गर्दा सुप्रसिद्ध दार्शनिक तथा गोरखापत्र संस्थानका पूर्वाध्यक्ष स्वर्गीय गोविन्द भट्टको नाम पनि सम्झनैपर्ने हुन्छ । उहाँको कर्मक्षेत्र मूलतः दर्शन भए तापनि उहाँका कतिपय लेखरचनाले शैक्षिक उन्नयनलाई बल पुन्याएका छन् । त्यतिमात्र नभई विद्वान् गोविन्द भट्टले केही समय त अध्यापन कार्य पनि गर्नुभएको थियो भने उहाँकी धर्मपत्नी इन्दिरा त झन् शिक्षण पेशा नै गर्नुहुन्थ्यो अझै गरीमापूर्ण कुरा उहाँहरूका सुपुत्रीद्वय लुना र शिरिषामध्ये नेपालको चर्चित परीक्षा बीऋ मा लुना बोर्ड प्रथम र शिरिषा बोर्ड द्वितीय हुनुभएको थियो ।
ङ) मूल घर गोर्खा बोर्लाड हुने भाइबन्धुहरूको पनि शैक्षिक विकासमा कम योगदान छैन । तात्कालीन पाटनदेवी विद्यालय क्यामुनटार गोर्खा आर्थिक अभावले बन्द हुने अवस्था सिर्जना हुँदा पं कोमलप्रसाद भट्टले निःशुल्क अध्यापन गर्नुका साथै पुराण अर्थात् यज्ञमार्फत कोष व्यवस्थापन गराई विद्यालयलाई सुचारू बनाउनुभएको थियो भने, मैधी उखुबारीका स्वर्गीय पूर्णप्रसाद भट्टले त झन् आफू प्रधानपञ्च पदमा बहाल रहँदासमेत बिनाशुल्क कक्षा लिइदिएर विद्यालयलाई सहयोग पुयाउनु भएको थियो । यसरी माथि उठान गरिएका सन्दर्भहरूले हामी गर्गगोत्री भट्टहरूका पूर्वज वा अग्रजहरू अध्ययन– अध्यापन कार्यलाई जीविकोपार्जनको रूपमा नलिई सामाजिक दायित्वका रूपमा लिनुहुन्थ्यो भन्ने तथ्य स्पष्ट हुन्छ ।
९) संस्कृत व्याकरणमा भट् धातुले शब्द वा ज्ञानको अर्थ दिने अनि विगतका गर्गगोत्री भट्टहरूले (पठनं पाठनं चैव यजनं याजनं तथा। दानं प्रतिग्रहं चैव षट्कर्मो ब्राह्मणो द्विज) नामक प्रख्यात संस्कृतश्लोकको चरितार्थ वा कार्यान्वयन गर्दै आएको यथार्थ त घाम जतिकै छर्लड्ड हुँदै छ । विगतमामात्र नभएर वर्तमान अर्थात् आधुनिक शिक्षामा पनि गर्ग–गोत्रीय भट्टहरूको कम देन छैन । चाहे लामो समयको शैक्षणिक सेवापछि मण्डली विद्यालय ढोला स्थापना गर्ने बाँझोगहा हरिप्रसाद भट्ट हुनुहोस्, चाहे विभिन्न जिल्लाका शिक्षा अधिकारी र प्रजिअ सम्हाल्नुभएका हालका सहसचिव नारायणप्रसाद भट्ट हुनुहोस् अथवा निकै लामो समय प्रअ र आरपी भई मावि प्रथम श्रेणीबाट निवृत्त हुनुहुने सुदर्शन भट्ट हुनुहोस् चाहे आरपी हेमराज भट्ट नै किन नहुनुहोस्, वर्तमान शिक्षाको विकासमा थुप्रैथुप्रै गर्गगोत्री भट्टहरूको संलग्नता रहेको छ ।
आफ्ना स्वर्गीय हजुरबुबा भोजराज भट्टको सम्झनामा सिद्धेश्वर मा.वि. नलाङको सर्वाङ्गीण विकासका लागि करिब ११,००,००० बराबरको रकम प्रदान गर्नुहुने झंकनाथ भट्ट र नारायणप्रसाद भट्टदेखि सेवाकालमा मात्र नभई सेवावकाशपछि पनि चितवन नेत्रहीन सत्वको अध्यक्ष भई दृष्टिविहीन व्यक्तिहरूमा ब्रेल लिपि तथा कम्प्युटर प्रशिक्षणको दीर्घकालीन वातावरण सृजना गर्नुहुने भरतमणि भट्टसम्म हाम्रो जानकारीमा आएका नआएका प्रशस्तै बन्धुबान्धवहरूको शिक्षा एवम् समाज विकासका अन्य आयाममा उल्लेखनीय योगदान रहेको पक्कै छ । त्यसो भए तापनि यहाँ हाम्रा प्रातः स्मरणीय पूर्वजहरूको शैक्षिक योगदानको चर्चा गरिएको हुँदा शिक्षाक्षेत्रसँग सम्बद्ध केही व्यक्तित्वहरूको नाममात्र लिइएको हो ।


१०) शिक्षाक्षेत्रमा सरीक केही शिक्षक तथा कर्मचारीको स्थलगत नामावली–
पूर्वी नेपाल भोजपुर दिड्ला र अन्यत्र: स्वर्गीय रवीन्द्र भट्ट, स्वर्गीय कवीन्द्र भट्ट, डमरू भट्ट, गोपाल भट्ट, गोविन्द भट्ट, सुन्दर भट्ट बिदुर भट्ट, उपेन्द्र भट्ट,
गोर्खा बोर्लाङ, महादेवटार: बलराम भट्ट, ईश्वरी भट्ट, ओमप्रसाद भट्ट अर्जुन भवपंफा भट्ट कोपिला भट्ट आदि
धादिङ मैधी मुल पैत्रिकस्थल भई: मध्य नेपालका विभिन्न जिल्ला, स्वर्गीय पूर्णप्रसाद भट्ट, स्वर्गीय शालिकराम भट्ट, विष्णुप्रसाद भट्ट, मा.शि. प्र.अ., ढोला निबुवास्वारा, घनश्याम भट्ट – निम्नमाध्यमिक द्वितीय श्रेणी, नलाङ चरिमारे, भोजराज भट्ट प्रा शि प्रथम अमराई, स्वर्गीय कोमलनाथ, शालिकराम भट्ट रामप्रसाद भट्ट, कपिलदेव भट्ट, बाबुराम भट्ट, शिवराम भट्ट, शिवप्रसाद भट्ट, केशवराज भट्ट, गीता भट्ट, कमलप्रसाद भट्ट शोभा भट्ट गङ्गादत्त भट्ट, उत्तम भट्ट मैदी उखुबारी। बुद्धि भट्ट, कृष्ण भट्ट, हरि भट्ट ढोलापुर्मुक, राधा भट्ट (ज्योति भट्ट– परोपकार मावि काठमाडौं), लेखनाथ भट्ट, खुमराज भट्ट भैरवप्रसाद भट्ट, अर्जुन भट्ट सीता भट्ट, अम्बिका भट्ट, पूर्णप्रसाद भट्ट, दामोदर भट्ट गायत्री भट्ट, चितवन । इन्दिरा भट्ट, कल्पना भट्ट नेपालगञ्ज। शैक्षिक निजामती सेवातर्फ बुद्धिप्रसाद भट्ट, ज्ञानेन्द्र भट्ट काठमाडौं। गोर्खा सिरान डाँडा छोप्राक वेद शर्मा भट्ट, विष्णुप्रसाद भट्ट, अमृत भट्ट, गोकर्ण भट्ट, सिर्जना भट्ट, विजय भट्ट ।
सुदूरपश्चिम क्षेत्रका कृष्णदत्त भट्ट, हरिदत्त भट्ट, हरिप्रसाद भट्ट, दामोदर भट्ट, लोकराज भट्टलगायत वंशावलीभित्र समेटिएका नसमेटिएका बेगिन्ती गर्गगोत्रीय वन्धुबान्धवहरूले आआफ्नो ठाउँबाट शैक्षिक विकास निम्ति उल्लेखनीय योगदान पुयाउनुभएको छ । यो महानतम कार्यलाई विगतमा भन्दा आगतमा अझै बढवा दिएर संस्कृतव्याकरणको भट्ट शब्दको मर्मलाई मूर्तरूप दिने काममा तल्लीन हुन विनम अनुरोध छ ।
शिक्षा जिन्दगीको सार, उन्नतिको सोपान रे ।
डुब्नु पर्दछ शिक्षामा, गगंगोत्रीय भट्टले ।।
आदिपुर्खा थिए हाम्रा, गर्ग, ज्ञानमहारथी ।
उनकै सन्तति हामी, शिक्षामा नपरौ पछि ।।
शिक्षाको संहिता बोलौ, ओजस्वी गर्गले सरी ।
आफू चम्केर चम्काओं, यो संसार सधै भरी ।।


(आवश्यक संशोधनसहित गर्गगोत्रीय भट्ट वंशावलीबाट साभार)




























































Discussion about this post