बाजा बजाउन पनि बल चाहिने रहेछ । तन्नेरी भएपछि बाजा बजाउन सक्ने केटाहरू पढ्न वा कामको खोजीमा गाउँ छोड्नु पर्नाले हामीलाई बाजा बजाउने टिमको अभाव हुने गरेको छ ।
धादिङ जिल्लाको साबिक मैदी गाविसको वार्ड नं १ (हाल ज्वालामूखी गाउँपालिका. वार्ड नं ३ ) उखुबारीमा एक गरिब किसान परिवारमा आजभन्दा झन्डै ८० वर्ष अघि जन्मिएका थिए- कविराज तुम्सिङ । सानैदेखि नयाँ नयाँ कुराहरू, सीप र इलमहरू सिक्ने र जीवनमा लागू गर्ने उनको अनौठो रुचि र विशेषता थियो । उनको सोच र क्षमता साँच्चै औसत मगर समाजका मानिसहरूको भन्दा फरक र तारिफ गर्न लायकको हुन्थ्यो । गाउँभरिमा उनकै घर सबैभन्दा राम्रो र चिटिक्क परेको थियो ।


गाउँघरमा चाडपर्वहरूमा नाचगान हुँदा उनको सहभागिता बिना खल्लो हुन्थ्यो । खासगरी मानिसहरूलाई रमाइलो गर्न हौस्याउने र वाद्यवादनहरू बजाउने काममा उनी “नम्बरी” कहलिएका थिए । हरेक वर्ष तिहारको बेला देउसी खेल्दा कविराजको ‘होला होला सदिनाको माला’ बोलको ठाडो भाकाको गीत सबैको विशेष रुचि र चासो हुने गर्थ्यो र गर्छ । मगरको छोरो भएर पनि जाँड रक्सी खाएर मातिएको, अपशब्दहरू बोल्दै हिँडेको र जात्रामात्राहरूमा झैँझगडा गरेको कहिल्यै देखिएन । औपचारिक शिक्षा नभएर पनि उनी समाजका गन्यमान्य, भलादमी र प्रतिष्ठित व्यक्ती थिए र छन् । अहिले पनि उनको समाजमा उनलाई सबैले आफ्नो अभिभावकको रूपमा मान्ने गर्दछन् ।
केही वर्ष अघि देखी उनी गाउँमा प्रचलित, सबैले मन पराउने र बिहे, व्रतबन्ध र पूजाआजा जस्ता शुभकार्यमा नभई नहुने पञ्चे वा नौमती बाजाको संरक्षण र विकास गर्न लागि परेका छन् । मगर समुदायले पनि नौमती बाजा बजाउन सिक्नुपर्छ र यसलाई आयआर्जनको माध्यमा बनाउनु पर्छ भन्ने सोचका साथ आफ्ना समुदायका मसिनहरूलाई बुझाउने, आर्थिक स्रोत जुटाइ बाजाहरू किन्ने, आफूले सिक्ने र अरूलाई पनि सिकाउँदै पञ्चेबाजालाई गाउँमा स्थापित गराउन सफल भएका छन् । उनको भनाइ अनुसार, अहिले गाउँमा उनीहरूको बाजाको राम्रो माग भइरहेको छ । समय र ठाउँ अनुसार उनीहरूले बाजा बजाएको १० देखि २५ हजारसम्म लिने गरेका छन् । टाढा–टाढाका गाउँहरूबाट समेत उनीहरूको माग हुने गरेको छ । उनको रहर र सोचले अहिले साकार रूप लिएको देखिन्छ । मेहनत गरे सोचेका सबै सकारात्मक कुराहरू पूरा हुने रहेछन् भन्ने पुष्टि भएको छ । समाज विकास गर्न मानिस पढेकै हुनुपर्छ भन्ने हुँदो रहेनछ जस्तोकी धेरै नै पढेको भन्ठान्ने म जस्ताले कविराजबाट सिक्न पर्ने र गर्न पर्ने धेरै कुरा छन् भन्ने बोध भएको छ ।
पञ्चेबाजाको सेरोफेरोमा केन्द्रित रही उनको जीवनका विविध पक्षहरूबारे गरिएको कुराकानीका प्रमुख अंशहरू:
तपाईँको शिक्षा कति हो ? लेखपढ गर्न आउँछ ?
स्कुल गएर त पढेकै छैन । आफ्नै कोसिसमा सामान्य चिठ्ठी बाच्ने (पढ्ने) र लेख्नेसम्म सक्ने भएको छु ।
घरको आर्थिक अवस्था कस्तो छ ? खान–लाउन पुग्छ ?
आँफैत, ठिकै छ । काम गरेर खान पुग्ने खेतबारी छन् ।
आर्थिक स्रोत पहिला के-के थिए र अहिले के-के छन् ?
सानैदेखि कर्मी (सिकर्मी र डकर्मी) काम गर्थेँ । त्यसैबाट लुगाफाटो, नूनतेल र मसला किन्न पुग्ने पैसा जोहो गर्थेँ ।
छोराहरूले सहयोग गरेका छन् कि छैनन् वा गर्नु परेको छ कि छैन, अर्थात् आत्मनिर्भर हुनुहुन्छ ?
अहिलेसम्म त सामान्य घर खर्चको लागि छोराहरूको मुख ताक्न परेको छैन । म आफैँले घर धान्दै आएको छु ।
तपाईँको पेशा के हो ? के-के कामहरू गर्नुहुन्छ ?
प्रमुख पेशा त उही खेतीपाती र बस्तुभाउ नै हो नि । यसबाहेक कर्मी काम गर्ने, नाङ्लो, चाल्नो र माछाको जाल बुन्ने अनि पिँजडा, सारङ्गी र मादल बनाउने र बेच्ने गर्दछु । केही वर्षदेखि पञ्चेबाजा पनि बजाएको छु र यसबाट पनि केही पैसा आर्जन गर्ने गरेको छु ।
प्रायजसो दिनहरू कसरी बिताउनुहुन्छ ?
धेरैजसो समय त मौसम अनुसारका बालीनाली र सागसब्जीहरू लगाउने, खनजोत गर्ने, घाँसपात गर्ने र गोठालो जाने नै हो नि !
राति के विषयमा बढी सोच्नुहुन्छ वा हुँदैन ?
पहिले पहिले त नयाँ कुरा र कामहरूको बारेमा सोच्ने, जान्ने, बुझ्ने र सिक्ने रहर, जोश र जाँगर हुन्थ्यो, र गरिन्थ्यो पनि । तर अहिले त बुढो भएर हो कि क्या हो, खासै नयाँ कुराहरूको बारेमा सोचाइ आउँदैन ।
यहाँका सीपहरू के-के छन् ? कसरी सिक्नुभयो ?
सीपको बारेमा त अघि नै भनीसकेँ । ती सबै सीपहरू मैले आफैँले रहर र मेहनतेले सिकेको हुँ, कसैले सिकाएका होइनन् । अरूले गरेको हेरेर, देखेर र आफैँले प्रयोग गरेर जानेको हुँ ।
यहाँलाई नाच्न, गाउन र बाध्य वादनहरू बजाउन आउँछ ? आउँछ भने, कस्ता-कस्ता गीतहरू गाउन र कुन कुन कुराहरू बजाउन आउँछ ?
मलाई नाच्न त खासै आउँदैन तर बजाउन र केही गीतहरू गाउन भने आउँछ । म मादल, सारङ्गी, बाँसुरी र पञ्चेबाजा बजाउन सक्छु । अहिलेका दोहोरी गीतहरू मलाई आउँदैन । ‘होला होला सदिनाको माला’ नै मलाई गाउन आउने र मनपर्ने गीत हो ।
गाउन र बजाउन कसले सिकायो वा कसरी सिक्नुभयो ?
अरूले गरेको देखेर, हेरेर र आफैँले सिकेर जानेको हुँ । भित्री मनदेखि रहरले जान्न चाहेमा र सिकेमा मानिसले गरेका सबै कुराहरू गर्ने सकिने रहेछ ।
गाउँमा पहिले देखिनै तपाईँको घर अरूको भन्दा राम्रो, चिटिक्क र सुन्दर देखिन्छ । त्यसैले धेरैले यसलाई ‘राम्रो घर’ पनि भन्दछन् । यो कसरी सम्भव भयो ? पैसा भएर हो वा तपाईँको सीप र सोचको कारण यस्तो भएको हो ?
सानैदेखि नै सबै कुराहरू राम्रो चाहिने र राम्रो गर्नुपर्ने बानी पर्यो मलाई । घर बनाउँदा ढुङ्गा र काठहरूमा बुट्टा कुँद्ने र रङरोगन गर्ने सबै आफैँले गरेको हुँ । बढी पैसा भएर र बढी खर्च गरेर पनि अरूको भन्दा राम्रो घर बनाउन सकेको भने होइन ।
मगर जातिले पनि पञ्चेबाजा बजाउनपर्छ भन्ने सोच मनमा कहिलेदेखि र कसरी पलायो ? कसैले सिकाइ दिएको कि आफैँले सोचेको ?
दमै जातिले मात्र बजाउँदै आएको पञ्चेबाजा अरू जातिले पनि बजाउन थालिसकेका थिए जस्तो कि– खाल्टेमा बाहुनहरूले र सलाङमा मगरहरूले । उनीहरूले गरेको सुनेर र देखेर मलाई हामीले पनि गर्नुपर्यो भन्ने सोच आएको हो । कसैले गर् भनेर र सिकाएर गरेको होइन ।
पञ्चेबाजा नै बजाउन रोज्नुको कारण चाहिँ के हो ? के कुराले यसप्रति बढी उत्प्रेरित गर्यो र ?
यो बाजाको हाम्रो समाजमा विशेष महत्त्व छ । विभिन्न शुभकार्यहरूमा मानिसहरू यही बाजा चाहन्छन् । फेरी, यो बाजा राम्रो पनि छ, यसमा सबैलाई ‘टक’ छ, यसले पुरै गाउँलाई नै रमाइलो बनाइदिन्छ, मानिसहरू यही बाजको साथमा नाच्न, गाउन र रमाइलो गर्न मनपराउँछन् । त्यसैले आजसम्म यो नै सबैभन्दा बढी लोकप्रिय बाजा हो । फेरी, अरू नयाँ बाजाहरूको बारेमा त हामीलाई थाहा पनि त छैन र सिक्न पनि गाह्रो हुन्छ होला नि । सिकिहाले पनि गाउँलेहरूले नयाँ बाजा मन पराएनन् भने त के काम लाग्यो र !
पैसा कमाउनको लागि बाजा बजाउन थाल्नुभएको कि मनोरञ्जनको लागि ?
पैसा र रमाइलो दुवै नै हो । गाउँबाट यो बाजा हराउँदै जान थाल्नु, तर बाजाप्रतिको मानिसहरूको चाहना भने बढ्दै जानुले यो बाजा आयस्रोतको माध्यमा बन्नसक्छ भन्ने मलाई लागेको थियो ।
पञ्चेबाजा बजाउन त अरूको पनि साथ चाहिन्छ, अरूलाई पनि साथ दिन मनाउनु पर्यो होला ! सुरुमा आफ्नो मनको प्रस्ताव क–कससँग राख्नुभयो र उनीहरूको प्रतिक्रिया के-कस्तो पाउनुभयो ? सुरुमा तपाईँलाई अरूले पागल वा वाहियात त भनेनन् ? अरूलाई कसरी मनाउनुभयो त ?
हो नि, एक्लै त सम्भव हुने कुरै भएन नि । मनको कुरा पहिले आफ्नै भाइसाथीहरूसँग राखेँ । प्राय: सबैको बाजा बजाउने रहर त थियो, तर बाजा किन्न र बजाउन सकिएला र भन्ने आत्मविश्वास थिएन । कतिले अचम्म पनि माने । मैले उनीहरूलाई सम्झाउने, बुझाउने र हौसला दिने कोसिस गरेँ । बाजा बजाउन थालेपछि रमाइलो गर्न सकिन्छ, बाजा किनेको खर्च पनि उठ्छ र कमाइ समेत हुन थाल्छ भने पछि सबैजना तयार भए ।
यसबारे अरू गाउँलेहरूको शुरुका दिनहरूमा के कस्तो प्रतिक्रियाहरू आउँथे ? विरोध वा समर्थन ?
अरू गाउँलेहरूले के के भने वा कुरा काटे वा काटेनन्, हामीलाई थाहा भएन र चासो पनि भएन । समर्थन गरे वा गरेनन् भन्दा पनि विरोध गरेको चाहिँ थाहा भएन र सुनिएन पनि ।
अहिले तपाईँका समूहको प्रतिक्रिया कस्तो छ ? अनि गाउँलेहरूका नि ?
अहिले हाम्रो समूहका सबै जना खुसी नै छन् भन्ने बुझेको छु । राम्रै काम गरिएछ भन्ने ठानेका छन् सबैले । गाउँलेहरूले पनि दमाईंहरूलाई भन्दा हामीलाई बढी रुचाएका छन् भन्ने लागेको छ, किनकि हामीहरू बढी इमानदार र विश्वासिलो बन्न सकेका छौँ ।
बाजा किन्न सुरुमा कति खर्च लाग्यो र यो रकम कसरी जुटाउनुभयो ?
सुरुमा ६० हजार रुपैयाँ जति लाग्यो । यो रकम हामीहरूले समूहबाट उठाएर र नपुग ऋण गरेर जुटाउन सक्यौँ ।
बाजा किनेको खर्च सबै चुक्ता गरिसक्नुभयो त ? कति समय लाग्यो चुक्ता गर्न ?
बाजाको खर्च त हामीले एक दुई वर्ष भित्रमा नै चुक्ता गरी सकेका थियौँ । विभिन्न गाउँहरूमा जान्थ्यौँ, भट्टहरूले पनि सहयोग गरे, अधिकारीहरूले पनि रुचाए । अन्य समुदायले आफ्नो शुभकार्यमा हामीलाई बोलाउने गर्न थाले ।
बाजा बजाउन आफूले कसरी सिक्नुभयो र अरूलाई कसरी सिकाउनुभयो ?
बाजा बजाउन मैले पहिले नै केहीकेही जानेको थिएँ । बाजा किनिसकेपछि प्राय: बेलुका सबै जना जम्मा भएर सिक्न, सिकाउन र अभ्यास गर्न थाल्यौँ ।
तपाईँहरूको गाउँमा कत्तिको माग भइरहेको छ ? बाजा बजाएर जीवन चल्न सक्ने रहेछ त गाउँमा ?
माग त भई नै रहन्छ । गाउँ मात्रै होइन टा–टाढाबाट समेत हाम्रो माग भइरहन्छ । बाजा बजाएर मात्रै सबैको पूरै परिवार पालिन त गार्है छ, तर पनि गाउँको हिसाबमा भने राम्रै आयस्रोत हुन सक्ने रहेछ ।
बाजा बजाएको कति पैसा लिने गर्नुहुन्छ ? सो पैसा के-के काममा लगाउनुहुन्छ ?
समय र ठाउँ हेरी हामी एकपटकको १० देखि २५ हजार रुपैयाँसम्म लिने गर्छौँ । सो मध्ये आधा रकम हामी सबै बाँडेर लिन्छौँ भने बाँकी आधा रकम कोषमा राख्छौँ । कोषमा राखिएको रकम हामी बाजाहरू मर्मत गर्न, नयाँ बाजा किन्न र सामाजिक सेवाको काममा खर्च गर्छौँ । जस्तो कि: ठुला भोजभतेर हुँदा चाहिने धेरै र ठुला भाँडा कुँडाहरूको बन्दोबस्त गरेका छौँ भने त्यस्तै काम पर्दा भातभान्साको लागि टहरा पनि बनाएका छौँ ।
तपाईँहरूको कामलाई प्रशंसा गर्दै कोही व्यक्ति वा सङ्घ-संस्थाहरूले सहयोग/पुरस्कार पनि गरेका/ दिएका छन् त ? छन् भने क–कसले र कति सहयोग गरेका छन् ?
त्यस्तो काम त खासै भएको छैन । तर पनि ‘माइली काइँली ट्रष्ट’ ले ९ वर्ष पहिले १० हजार रुपैयाँ दिएर सहयोग र प्रशंसा भने गरेको थियो ।
पञ्चेबाजालाई पुर्ख्यौली पेशा बनाएका दमाईं जातिले आफ्नो भाग खोसिदिए भन्ने गुनासो त छैन ? उनीहरूको पेशामा असार त पुगेको छैन ?
हाम्रो कारणले दमाईंहरूको भाग खोसिएको र उनीहरूको पेशामा असर पुगेको छ भन्ने लाग्दैन, किनकि उनीहरूको पनि बाजा बजाउन सक्ने उमेरका मानिसहरू घरमा बस्दै बस्दैनन्, सबै लुगा सिलाउने काममा शहरतिर पसेका छन् । बाजा बजाएर भन्दा त लुगा सिलाएरै राम्रो कमाइ हुन्छ नि आजकाल ।
नयाँ पुस्ताहरूले कत्तिको रुचि लिएका छन् यो बाजामा ? यसलाई निरन्तरता दिन उनीहरूलाई कसरी उत्प्रेरित गर्ने र सिकाउने गर्नुभएको छ ? तपाईं मरेपछि यो लोप हुने त हैन ? यसलाई कसरी जगेर्ना गर्ने सोच बनाउनुभएको छ त ?
नयाँ-पुराना सबै पुस्तालाई मनपर्ने बाजा भएर होला, सबैले बजाउन सिक्न चासो दिएकै छन् । फेरी नयाँ पुस्तालाई पनि यसबाट गाउँमै बसेर पनि केही कमाइ गर्न सकिने रहेछ भन्ने परेको छ । त्यसैले म मरे पनि यो बाजा नमर्ला र गाउँबाट लोप नहोला भन्ने लाग्छ ।
तपाईँहरूको मुख्य समस्या अहिले के-के हो ? समाधानका उपाय के-के हुन सक्लान् भन्ने लाग्छ ?
बाजा बजाउन पनि बल चाहिने रहेछ । तन्नेरी भएपछि बाजा बजाउन सक्ने केटाहरू पढ्न वा कामको खोजीमा गाउँ छोड्नु पर्नाले हामीलाई बाजा बजाउने टिमको अभाव हुने गरेको छ । बाजा बजाउनुपर्छ भनेर उनीहरूलाई रोक्नु पनि त भएन नि । गाउँमै रोजगारीको व्यवस्था र राम्रो क्याम्पस भइदिएको भए हामीलाई बाजा बजाउने मानिसहरूको अभाव हुने थिएन होला । अहिले त बाजाको माग भएको बेला र ठाउँहरूमा समेत जान सकिएको छैन अर्थात्, मागलाई पूरा गर्न पनि सकिएको छैन ।
अरू कसैले सिक्ने रहर गरे भने सिकाइ दिनुहुन्छ ? अन्य कोही मानिसहरू सिक्न आउँछ कि आउँदैनन् ?
किन नसिकाउनु । सिक्न आउनेहरूलाई सिकाइदिने गरेका छौँ । बेलावखत केही मानिसहरू सिक्न आउने पनि गर्छन् ।
वडालाई विकास गर्न के-के गर्नु पर्ला वा सकिन्छ भन्ने लाग्छ ?
यहाँ गर्न सकिने र गाउँलेहरूले जानेको भनेको खेतीकिसानी र पशुपालन नै हो । तर त्यसलाई अलि धेरै र व्यवस्थित रूपमा गर्नु पर्नेहुन्छ । हामीसँग जग्गा र पानीको स्रोत प्रशस्त छ तर त्यसको सदुपयोग हुन सकेको छैन । मानिसहरूमा एक अर्कोप्रतिको विश्वास कम छ र समूहमा मिलेर काम गर्ने परिपाटि पनि छैन । फेरी उत्पादन भएपनि त्यसको बजारको उचित प्रबन्ध छैन । त्यसैले मानिसहरू केही गर्न त खोज्छन्, तर बिचैमा छोडिदिन्छन् । अनि नयाँ काम गर्न सबै डराउँछन् । हेरौँ, बुढीगण्डकी बनेपछि अवस्था केही सुधारिन्छ कि !
यहाँलाई सधैँ मनमा उठ्ने गरेका र भन्न मन लागेका कुराहरू केही छन् ?
गाउँ विकासमा सधैँ पछि पर्यो भन्ने मेरो मुख्य चिन्ता हो । पढेलेखेका, जान्ने बुझ्नेहरू र काम गर्न सक्नेहरू कोही गाउँमा बस्दैनन् । नपढेका र नबुझ्नेहरू सबै कुनै न कुनै पार्टीको पछि लागेर हिँडेका छन् । उनीहरूको बिचमा मेलमिलाप र सहयोगको भावनै छैन । भोट ज-जसलाई दिए पनि चुनावपछि त सबै जना मिलेर गाउँको विकासमा लागे हुने हो- आफूले सोचेर र भनेर मात्रै नहुने रहेछ ! त्यसैले मैले त अब बोल्नै छोडिसकेँ ।
प्रस्तुति: नारायण अधिकारी




























































Discussion about this post