- प्रेम बास्तोला/राजु झल्लु प्रसाद
ज्वालामूखी । सामुदायिक विद्यालयमा पढाई राम्रो हुँदैन भन्ने आमसोचाइलाई चिर्नका लागि धादिङ जिल्लाको ज्वालामूखी गाउँपालिकाले आफ्नो नीति कार्यक्रम र बजेटमा शिक्षाको गुणस्तर विकासका लागि विविध कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । जसकारण सामुदायिक विद्यालयतर्फको आकर्षण बढ्दै गइरहेको शिक्षा, यूवा तथा खेलकुद शाखा प्रमुख देवकी सिम्खडाले जानकारी दिएकी छन् ।
गाउँपालिकाले पालिकाभित्रका १३ वटा विद्यालयहरूमा बहुकक्षा बहुस्तर (Multi Grade Multi Level –MGML) शिक्षण पद्धतिबाट विद्यार्थीहरूलाई पढाइरहेको उनले जानकारी दिइन् । यस पद्धतिमा सिकाइलाई पाँच चरणमा बाँडिन्छ । परिचयात्मक, अभ्यासात्मक, मूल्यांकनात्मक सबलीकरण र सुधारात्मक । यिनै चरणहरूमा आधारित रहेर विभिन्न शैक्षिक क्रियाकलापहरूको विकास गरि विद्यार्थीहरूमा ज्ञानको निर्माणलाई बढुवा दिने गरिएको उनले बताइन् ।


बहुकक्षा बहुस्तर शिक्षण पद्धति (एमजीएमएफल) बाट तीन वटा कक्षाका विद्यार्थीहरूलाई एकै ठाउँमा राखेर पढाइने गरेको सिम्खडाले बताइन् । यस पद्धतिबाट शिक्षण गर्दा विद्यार्थीहरूले आ-आफ्नो क्षमता, रुचि अनुसार आ-आफ्नो समूह छुट्याएर अध्ययन गर्ने हुँदा अझ प्रभावकारी भएको उनले बताइन् । यस किसिमको शिक्षण सिकाइमा शिक्षक सहजकर्ताको भूमिका रहने र विद्यार्थीहरू बढी क्रियाशील रहेको आफूले पाएको उनले बताइन् ।
विद्यार्थी र शिक्षक कम भएका विद्यालयहरूमा एमजिएमएल पद्धतिबाट पढाउँदा निकै प्रभाकारी भइरहेको सिम्खडाले बताइन् । उनका अनुसार अघिल्लो शैक्षिक सत्रबाट गाउँपालिका ३७ वटा विद्यालयमध्ये १३ वटा विद्यालयमा यो पद्धतिबाट कक्षा १, २ र ३ का विद्यार्थीहरूलाई पढाउन थालिएको हो । चालु शैक्षिक सत्रमा १० या १२ वटा विद्यालयमा एमजिएमएल पद्धतिबाट विद्यार्थीहरूलाई एउटै कक्षा कोठामा राखेर पढाउने कार्यक्रम थाल्ने कार्यक्रम रहेको उनले सुनाइन् ।
गाउँपालिकाले शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकहरूको क्षमता विकासका लागि विभिन्न खालका तालिमहरूको आयोजना गरिसकेको उनले बताइन् ।


विद्यालयमा ‘नो ब्याग फ्राइडे’ कार्यक्रम
पालिकाले चालु आर्थिक वर्षदेखि देखि सामुदायिक विद्यालयहरूमा ‘नो ब्याग फ्राइडे’ कार्यक्रम पनि समावेश गरेको छ । यो कार्यक्रम अन्तर्गत साउनको अन्तिम सातादेखि ‘नो ब्याक फ्राइडे’ सुरु गरिएको उनले जानकारी दिइन् । पालिकाभित्रको ३७ वटा विद्यालयमा नै सो कार्यक्रम लागु गरिएको छ । ‘शुक्रबार विद्यार्थीहरू ब्याग नबोकी विद्यालय जान्छन् ।
निःशुल्क शिक्षा सुरु
ज्वालामूखी गाउँपालिकाले चालु आर्थिक वर्षदेखि कक्षा ११ र १२ मा निःशुल्क शिक्षा सुरु गरेको छ । गत आर्थिक वर्षमा पालिकाका दलित र आर्थिक विपन्न विद्यार्थीलाई निःशुल्क शिक्षा सुरु गरेकोमा चालु आर्थिक वर्षदेखि पालिकाभित्र अध्ययन गर्ने सबै समुदायका विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गरिएको सिम्खडाले जानकारी दिइन् । त्यसका लागि पालिकाले सबै सामुदायिक विद्यालयको खातामै पैसा हाल्ने कार्य गरेको उनले बताइन् । गत वर्षको शैक्षिक सत्रसम्म विद्यालयले विद्यार्थीसँग भर्ना र मासिक शुल्क लिए पनि अब पालिकाले नै विद्यालयको खातामा सिँधै पैसा हालेपछि कुनै पनि प्रकारको शुल्क लिन नपाउने सिम्खडाले बताइन् ।


प्राविधिक विषयमा छात्रवृत्तिको व्यवस्था
पालिकाको शिक्षा शाखाले अझ प्राविधिक शिक्षा अध्ययन गर्ने चाहने विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था समेत गरेको उनले बताइन् । त्यसका लागि पालिकाले आवश्यक सूचना नै प्रकाशन गर्ने गरेको उनले जानकारी दिइन् ।
पालिका भित्रका स्थानीय विद्यार्थीहरूले नेपालको जुनसुकै स्थानमा गएर पनि कृषि, इन्जिनियरिङ, स्वास्थ्यजस्ता प्राविधिक विषयमा उच्च शिक्षा अध्ययन गरेमा गाउँपालिकाले छात्रवृत्ति स्वरूप केही रकम उपलब्ध गराउने सिम्खडाले बताइन् ।
अतिरिक्त कार्यक्रममा जोड
गाउँपालिकाले विद्यार्थीहरूको क्षमता विकासको लागि पढाईको अलावा क्षमता अभिवृद्धिका लागि अतिरिक्त कार्यक्रमहरू पनि बर्सेनि नियमित रूपमै सञ्चालन गर्दै आएको छ । गएको भदौमा गाउँपालिकाले शैक्षिक मेला सञ्चालन गरेको थियो । शैक्षिक मेलामा विज्ञान सामाग्री प्रदर्शनी गरेको उनले सुनाइन् । सो प्रदर्शनीमा माध्यमिक तहका १२ वटा विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए । सो मेलाबाट विद्यालय, विद्यार्थी र पालिकालाई पनि उत्प्रेरणा प्राप्त भएको उनले बताइन् । चालु शैक्षिक सत्रमा पनि त्यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिइने उनले बताइन् ।


प्रधानाध्यापक तथा शिक्षकहरूको नियुक्तिका लागि कार्यविधि
गाउँपालिकाले प्रधानाध्यापक तथा शिक्षकहरूको नियुक्तिको लागि कार्यविधि बनाउन लागेको उनले बताइन् । ‘कार्यविधि बनाएर प्रधानाध्यापक र शिक्षकहरूको व्यवस्थापन गर्ने तयारीमा गाउँपालिका लागेको उनले बताइन । गाउँपालिकाले विद्यार्थीहरूको नियमित पढाई र सिकाइमा असर नपरोस् भन्ने ठानेर सुत्केरी बिदामा बसेको शिक्षकहरूको सट्टामा विद्यालयमा शिक्षक राख्न आर्थिक व्यवस्थापनसमेत गरिरहेको उनले जानकारी दिइएकी छन् ।
‘पढ्दै–कमाउँदै कार्यक्रम’ प्रभावकारी बन्दै
ज्वालामूखी गाउँपालिकाले विद्यार्थीहरूलाई पढाई अलावा आर्थिक रूपमै आयआर्जनमा समेत लगाउने उद्देश्यले केही माध्यमिक तहका विद्यालयहरूमा ‘पढ्दै–कमाउँदै कार्यक्रम’ सञ्चालन गरेको सिम्खडाले बताइन् । जुन कार्यक्रम एकदमै प्रभावकारी बनेको उनले बताइन् । अघिल्लो शैक्षिक सत्रमा पालिकाका २ वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिएको उनले बताइन । यो कार्यक्रम पालिकाको वडा नम्बर ५ मा रहेको बालादेवी माध्यमिक विद्यालयमा फुलखेती र अन्नपूर्ण माध्यमिक विद्यालयमा कुखुरा पालन र च्याउ खेतीमा विद्यार्थीहरूको सहभागिता गराइएको उनले बताइन् ।


दुई विद्यालयमा सञ्चालन गरिएको पढ्दै-कमाउँदै कार्यक्रमको प्रभावकारीको विश्लेषण गरि थप १२ वटा सामुदायिक विद्यालयहरूको माध्यमिक तहका विद्यार्थीहरूमा यो कार्यक्रम सञ्चालन गर्ने योजनामा पालिका रहेको सिम्खडाले सुनाइन् ।


विद्यालयमा जङ्क फुड निषेध
विद्यार्थीहरूको स्वास्थ्यलाई विशेष ध्यानमा राखेर पालिकाकै स्वास्थ्य शाखाको सहकार्यमा पालिकाका सबै सामुदायिक विद्यालयमा खाजाका रूपमा जङ्क फुड पूर्णरूपमा निषेध गरिएको शिक्षा शाखा प्रमुख सिम्खडाले बताइन् । घरमा जे पाक्छ त्यही खाजाका रूपमा पठाउन अभिभावकहरूलाई आग्रह गरिएकोमा अभिभावकहरूबाट राम्रो सहयोग पाएको उनले बताइन् । जस कारण पहिलेको भन्दा हाल खाजाकै कारण स्वास्थ्य बिग्रने समस्याको अन्त्य भएको उनले दाबी गरिन् । त्यति मात्र नभई अभिभावकहरूको अतिरिक्त खर्च पनि कटौती भएको उनले बताइन् ।
प्रदेशको छनौटमा ज्वालामूखी
शिक्षाको गुणस्तर सुधार लगायतका कार्यक्रम सञ्चालन गरिएका कारण ज्वालामूखी गाउँपालिका बागमती प्रदेशभरिका छनौट भएका उत्कृष्ट १८ स्थानीय तहमा पर्न सफल भएको सिम्खडाले बताइन् । धादिङ जिल्लाभरिका १३ पालिकामध्ये ज्वालामूखी गाउँपालिका तेस्रो स्थानमा पर्न सफल भएको उनले सुनाइन् । यसैगरि, पालिकामा बागमती प्रदेश सरकारको आधारभूत तहको अनिवार्य शिक्षा र माध्यमिक तहमा निःशुल्क शिक्षा कार्यक्रम कार्यान्वयन गरिएको सिम्खडाले बताइन् ।


विद्यालयमै आवासको व्यवस्था
ज्वालामूखी गाउँपालिका भित्रका केही विद्यालयहरूमा प्राथमिक तहबाटै व्यवस्थित आवासीय कार्यक्रम लागू गर्ने योजनामा पालिकाको शिक्षा शाखा तयारीमा लागेको सिम्खडाले बताइन् । त्यसका लागि आवश्यक योजना नै बनाएर शाखा अगाडि बढिसकेको उनले सुनाइन् । विद्यार्थी भर्नादर वृद्धिका लागि यो कार्यक्रम बढी प्रभावकारी हुने उनको विश्वास छ । हाल विद्यालयको भर्नादार ९३ प्रतिशत रहेको छ ।
वैदेशिक रोजगारमा जाने केही अभिभावकहरूले परिवारलाई शहरमा लगेर राख्ने र आफ्ना बालबच्चा पनि शहरतिरै पढाउने गरेकाले केही मात्रामा प्राथमिक तहमा विद्यार्थीको भर्नादर घटेको उनले बताइन् । सोही कारण भर्ना भएका केही विद्यार्थीहरू बिचमै पढाई छाडेर अन्यत्र गएको रेकर्ड पनि रहेको उनले सुनाइन्।
बजेटमै शिक्षालाई पहिलो प्राथमिकता
ज्वालामूखी गाउँपालिकाले पालिकावासीलाई शिक्षित बनाए मात्रै समग्र पालिकाको विकास हुने विश्वासका साथ पालिकाको वार्षिक नीति, कार्यक्रम र बजेटमै सबैभन्दा बढी शिक्षा क्षेत्रलाई प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले बताए । पालिकाले चालू आर्थिक वर्षमा पनि शिक्षा क्षेत्रमा सबैभन्दा बढी बजेट विनियोजन गरेको दनैले बताए ।


पालिकाले गत शैक्षिक सत्रबाट पालिका भित्रका सामुदायिक विद्यालयमा सुरु गरेको बहुकक्षा बहुशिक्षा पद्धतिका लागि कक्षा कोठा निर्माणका लागि गैरसरकारी संस्थाबाट आर्थिक सहयोग प्राप्त भएपनि ती कक्षा कोठामा आवश्यक पर्ने शैक्षिक सामाग्रीहरू खरिदका लागि गाउँपालिकाले नै बजेट विनियोजन गर्नुपर्ने भएकाले सोही अनुसार बजेटको व्यवस्थापन गरिएको शिक्षा शाखा प्रमुख सिम्खडाले बताइन् । सो पद्धतिको पढाईका लागि एउटा कक्षा कोठामा सामाग्री व्यवस्थापनका लागि मात्रै ३ लाख रुपियाँ खर्च हुने गरेको सिम्खडाले जानकारी दिइन् ।
अर्कोतर्फ, सबै विद्यालयका शिक्षकहरूको तलब पनि पालिका मार्फत नै दिनु पर्ने भएकाले पनि शिक्षा शाखाको बजेटको आकार ठुलो देखिएको सिम्खडाले बताइन् । पालिकाले बनाएको स्थानीय पाठ्यक्रम र विद्यालयहरूले बनाएको कार्यक्रम अनुसार शिक्षा सुधारका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने उनले बताइन् ।


गाउँपालिकाभित्र बाल विकास केन्द्र गरि ३७ वटा विद्यालय रहेको छ । गत वर्ष ११ वटा विद्यालयलाई पूर्ण समायोजन र तह घटाएर समायोजन गरिएको छ । यसबाट विद्यार्थी भएको शैक्षिक संस्थामा शिक्षक नहुने र शिक्षक पर्याप्त भएको संस्थामा विद्यार्थी नभएको विधि परिवर्तन भएको छ । अहिले विद्यार्थी भएको स्थानमा शिक्षकलाई व्यवस्थापन गरिएको छ । ज्वालामूखी गाउँपालिकाभित्र बाल कक्षादेखि १२ कक्षासम्म ५,२०५ बालबालिका रहेका छन् ।



























































Discussion about this post