- हेमन्त आचार्य, चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान संञ्जाल, बर्दिया (सीबीएपीयु)
पछिल्लो समय नेपालमा बाघ, गैँडालगायतका वन्यजन्तुको चोरी सिकारी घटेको सरकारी तथ्यांक छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागकाअनुसार, आर्थिक वर्ष २०६९/७० सालमा ९ वटा बाघ, एउटा गैँडा र २ वटा हात्तीको चोरी सिकारी भएको र त्यसपछिका वर्षहरूमा निरन्तर घटेको छ । आ.व. ०७४/७५ मा चोरी सिकारीबाट बाघ र गैँडा मारिएनन् भने ०७५/७६ मा एउटा गैँडा र दुईवटा रेडपाण्डाको चोरी सिकारी भएको पाइन्छ । यस तथ्यांकले यो बताउँदछ कि पछिल्ला घटनाहरू प्राकृतिक कारण, सडक दुर्घटना र अन्य जनावरको आक्रमणका कारण भएका छन्, न कि चोरी-सिकारीका कारण । यस तथ्यांकसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनले पनि सहमति जनाउँदछ । सीआईबीको तथ्यांकअनुसार सन् २००२ मा ३५ वटा गैँडाको चोरी सिकारी भएकोमा सन् २०१८ मा एउटा मात्रै गैँडा चोरी सिकारी भएको छ ।
वि.सं. २०६४ सम्म देशभर लोपोन्मुख जनावरहरू मार्ने, चोरीनिकासी हुने क्रम कहालीलाग्दो अवस्थामा थियो । उसो त, देशभर नै लोपोन्मुख वन्यजन्तुको संरक्षणको महत्त्व र अपराधको गाम्भीर्य नबुझ्दा राष्ट्रिय निकुञ्ज,सिकार आरक्ष, संरक्षण क्षेत्र र वन्यजन्तु आरक्ष क्षेत्रहरूमा वन्यजन्तुको आखेटोपहर ओसारपसारको धन्दा निकै तीव्र गतिमा अघि बढेको थियो । दशक लामो द्वन्द्वमा जंगल पसेका विद्रोहीको त्रासका कारण यो क्रम केही रोकिएपनि त्यसपछि निरन्तर बढेको थियो भने शान्ति प्रक्रियापछि जंगली जन्तुको सिकारमा हिँडेकाहरू समातिएर कारबाहीमा परेका घटना विरलै देखिएका थिए ।


यद्यपि, आज पनि सालकको खपटा, बाघको छाला, गैँडाको खाग, कस्तुरीको बिना, भालुको पित्त मात्र होइन, चिरुको रौँदेखि चिम्पान्जीसम्मको चोरी-सिकारी एवम् व्यापारको विश्वव्यापी सञ्जालमै नेपालको अग्रणी भूमिका (ट्रान्जिट पोइन्टको रूपमा) रहेको पाइन्छ । यसमा संगठित अपराध र अपराधीको संलग्नतामा गोप्यता रहँदा सुरक्षाकर्मीले तस्करीको भित्री जालो चिर्न हम्मे-हम्मे परिरहेको पर्यावरणविद्हरू बताउँछन् । कानूनले आफ्नो दायरा बन्दूक बोकेर जङ्गल पस्ने सिकारीहरूमा मात्र सीमित गरिदिँदा पनि आखेटोपहार सम्बन्धी गतिविधिहरू फरक आवरणमा खुलेआम चलिरहेको विज्ञहरू बताउँछन् । यस्ता वन्यजन्तु अपराधका कैदीहरूलाई कानूनले पनि राजनीतिक पहुँचको आधारमा सहुलियत प्रदान गरिरह्यो/गरिरहेछ ।
सरकारले जनावरको सिकार र वनपैदावर तस्करीलाई कम प्राथमिकता दिई ठूला स्तनधारी जनावरलाई मात्र केन्द्रमा राखेर संरक्षणका गतिविधि गरिदिँदा पनि नेपाल वन्यजन्तु ओसारपसारको ‘ट्रान्जिट’ बनिरहेको हो । ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट माथि उठ्न अझ सरकार, निकुञ्ज र स्थानीय जनसमुदायले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता देखिन्छ ।
देशका अन्य निकुञ्जमा यी यस्ता घटनाहरू देखिरहँदा बर्दिया राष्ट्रिय निकुञ्जको हकमा भने यस्ता घटना बिरलै सुन्न-देख्न पाइन थालिएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत आशिष न्यौपानेले उपलब्ध गराएको तथ्यांकले आ.व. २०७९/८० को फागुनसम्म शून्य चोरीनिकासीको घटना देखिएको छ । तथ्यांकअनुसार, वन्यजन्तुको क्षति विवरण(मृत्यु) मा प्राकृतिक मृत्यु ६, सडक दुर्घटना परि २२ र अन्य कारण २९ वटा घटना देखिएको छ । वन्यजन्तुको क्षति विवरण (घाइते) भने शून्य रहेको छ भने उद्धार तथा पुनस्थापना गरिएका टुहुरा वन्यजन्तुको संख्या ८८ रहेको छ । यसप्रकार, बर्दियामा चलेको चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान (सिबिएपियु) धेरै हदसम्म सफल भएको पाइन्छ । हाल विश्व वन्यजन्तु दिवस तथा चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान दिवस फागुन २० गते मनाइने गरिएको छ ।
बर्दियाका स्थानीय १५ जना युवाको समूहले ‘चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान सञ्जाल, बर्दिया (सिबीएपीयु)’ भनेर सुरु गरेका थिए । सुरुवाती १५ जनाको समूहका अभियन्तामध्ये एक हुन्, हेमन्त आचार्य । उनी हाल चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान सञ्जाल बर्दियाको अध्यक्ष छन्, जो आफैँमा वन्यजन्तुले पीडा दिएको परिवारबाट आउँछन् । ०६६ मा उनको बुबालाई जंगली हात्तीले मारेको थियो । आचार्य सरह नै अभियानको प्रभावकारितासँगै आफन्त गुमाएका र धेरै दुःख सास्ती पाएका घरपरिवारका सदस्यहरू पनि यिनै वन्यजन्तुको संरक्षणमा सक्रियताका साथ लागेका छन् ।


प्रस्तुत छ, चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान संञ्जाल, बर्दिया (सीबीएपीयु) का अध्यक्ष हेमन्त आचार्यसँग टुर न्यूजका लागि राजु झल्लु प्रसादले गरेका कुराकानीको सम्पादित अंश:
यस अभियान सुरु हुँदा दिनहरू सम्झिनुहोस् न !
अभियान सुरु हुँदा एक महिनामा दुईवटासम्म गैडा मर्ने गर्थे । सन् २०१० पछि त्यो शून्य हुन पुग्यो । बर्दियामा शून्य चोरी निकासीमा सिबिएपियुसँगै निकुन्जको सहयोग पनि रह्यो । सीबीएपीयुको सहयोगमा निकुन्जले घरमा राखेका २६० वटा बन्दुकहरू संकलन गरेको थियो । त्यसैगरी, चित्तलको छाला, वन पासोहरू लगायत दुई ट्रयाक्टर भन्दा बढी विभिन्न वन्यजन्तुहरूको सिङ संकलन गरिएको थियो । ठूला वन्यजन्तु मारेपछि सबै लैजान अलिक गाह्रो भएकाले देखिन्थ्यो, साना वन्यजन्तुको चोरी सिकारी त नगन्य मात्रामै हुन्थ्यो । यसक्रममा, स्थानीय १५ जना युवाको समूहले ‘चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान संञ्जाल, बर्दिया (सीबीएपीयु) भनेर सुरु गर्यो ।
सुरुको अवस्थामा यस समूहले चोरी सिकारीमा संलग्न भएका तर राज्यले समात्न नसकेका मान्छेहरूलाई समात्ने र निकुन्जलाई बुझाउने काम गर्न थाल्यो । चोरी सिकार नियन्त्रणमा लाग्ने भन्दा चोरी सिकारी गर्नेहरूलाई गाइड गर्ने भूमिकामा स्थानीयहरूको उपस्थिति बाक्लै थियो । अभियानले गति लिएपश्चात् मानव-वन्यजीवको सहअस्तित्व बोध गराउने काम भएसँगै यो संख्या दिनानुदिन बढ्दो हुन गयो । हाल सीबीएपीयुको बफर जोनको हकमा ३,३६६ जना सदस्य रहेका छन् । यस अभियानभित्र १९ उपसमिति, ११० भन्दा बढी इकाईहरू रहेका छन् ।
नेपालको हकमा सन् २००१ मा मध्यवर्ति वन विकास कार्यक्रम थालिएसँगै वन्यजन्तुको वृद्धिदर बढेको र सँगसँगै वन्यजन्तुको चोरी सिकारी दर पनि बढेको देखिन आउँछ । यसक्रममा, मध्यवर्ति क्षेत्रका युवाहरू सजग र सचेत भई यस अभियानलाई जोडतोडले जनमानससँग जोड्ने गरेको पाइन्छ ।
हाल यस अभियानले के कस्ता कार्यक्रमहरू गर्दै आइरहेको छ ?
स्थापनाको सुरुवाती चरणमा थोरै व्यक्तिको समूह भएका कारण यो अभियान वन्यजन्तुको अवैध सिकारमा संलग्न व्यक्तिहरूलाई समात्ने र निकुञ्जलाई बुझाउने काममा सीमित थियो । अहिलेको अवस्थामा, वन्यजन्तुको अवैध चोरी सिकार नियन्त्रण गर्ने, युवाहरूको क्षमता अभिवृद्धि गर्दै आम्दानीको स्रोत पहिल्याउन सहयोग गर्ने जस्ता कार्यहरू गर्दै आइरहेको छ ।
यस अभियानले मध्यवर्ती तथा संरक्षित क्षेत्र वरपर वन्यजन्तुको चोरी सिकार नियन्त्रण मात्र नभई अन्य गतिविधि पनि गर्दछ । जस्तै: अवैध रूपमा गरिने काठदाउरा चोरी निकासी तथा गैरकाष्ट वन पैदावारको सङ्कलन, वन अतिक्रमण रोकथाम, आगलागी नियन्त्रण तथा माछा एवम् अन्य जलचर मार्न निरुत्साहित गर्ने काम आदि । यस्ता कामलाई प्रभावकारी बनाउन र भोलि के गर्न सकिन्छ भनेर समय-समयमा समूहका सदस्यहरूसँग अन्तरक्रिया पनि गर्दै आइरहेका छौँ । यस अभियानअन्तर्गतका इकाइहरूले समय-समयमा राष्ट्रिय निकुञ्जका कर्मचारीसँग मिलेर संयुक्त गस्ती गर्ने, जङ्गलमा अवैध क्रियाकलाप भएको वा कुनै वन्यजन्तु घाइते एवम् मृत भेटिएमा आकस्मिक गस्ती गर्ने गर्दछन् ।
साथै, जनचेतनाको कमी अर्थात् जैविक विविधताको संरक्षण गर्न पर्छ भन्ने ज्ञानको अभावले गर्दा पनि जनसमुदायले अन्जानमा आफ्नो प्राकृतिक सम्पदामा क्षति पुर्याइरहेका हुन्छन् । यसैले हामी विभिन्न समूह एवम् इकाइमार्फत कानूनदेखि लिएर प्राकृतिक स्रोतको संरक्षणको महत्त्वका साथै अवैध कार्य गरेबापत दिइने दण्डसजायबारे समुदायलाई जानकारी दिने गर्छौँ । सडक नाटक, पर्चा वितरण, रेडियो कार्यक्रम, र्याली लगायतका मध्यमबाट सचेतना अभिवृद्धि गर्दै आइरहेका छौँ ।


उसो भए, चोरी सिकारीको अवस्था अहिले शून्यप्राय: छ ?
हो, अहिलेको अवस्थामा ठूला वन्यजन्तुको चोरी सिकारी शून्य जस्तै छ । यद्यपि, साना वन्यजन्तुहरू कहिलेकाहीँ दुर्घटनावश मरेको देखिन्छ । तर, चोरी सिकारी नै भनेर खासै त्यस्तो छैन । निकुञ्जभित्र अवैध रुपमा प्रवेश गरेर घाँस दाउरा सङ्कलन गर्ने, जाल प्रयोग गरी माछा मार्ने, पासोमा पारी चित्तल मार्ने जस्ता गतिविधि पनि नियन्त्रणन्मुख छन् ।
वन्यजन्तुको अवैध सिकारमा कस्ता व्यक्तिहरू संलग्न भएको पाउनुहुन्छ ?
सुरु-सुरुमा त हामीले केही स्थानीयहरूलाई पनि संलग्न रहेको पाएका थियौँ । बाहिरको मान्छेलाई स्थानीय युवाहरूले प्रलोभनमा परी ठाउँहरू देखाइदिने अथवा चोरी सिकारी गर्न एक किसिमले गाइड गरिदिने गरेको पाइन्थ्यो । तर, पछिल्ला दिनमा हेर्ने हो भने वन्यजन्तुको अवैधानिक ओसारपसारमा सरिक व्यक्तिहरू नै अहिले हामीसँगै संरक्षणमा लागिरहनु भएको छ, यो बर्दियाको सबल पक्ष हो ।


वन्यजन्तुको अवैध चोरी-सिकारमा प्राय: कुन जनावरहरू प्राथमिकतामा पर्ने गरेको पाउनुहुन्छ ?
विशेषगरी त गैडाको खागलाई मानिसहरूले बढी सिकार गर्ने हुन् । यस सँगसँगै बाघको छाला तथा नङ्ग्रा, चित्तलको मासु तथा छाला र कहिलेकाहीँ चराहरूसमेत सिकारको मारमा पर्ने गर्दछन् । औषधिजन्य प्रयोग, सोख आदि कारणले वन्यजीव मृत्युको मुखमा पुगिरहेका छन् । अन्यत्र पनि वन्यजीव सुरक्षित रहून् ।
वन्यजन्तुको अवैध चोरी-सिकारीको संजाल कहाँसम्म फैलिएको पाउनुहुन्छ ?
सुरुवाती चरणमा भारतसम्म जोडिएको थियो, जो पछि भियतनाम र चीनसम्म यो सञ्जाल फैलिएको बताइन्छ । यसबारे सरकारले नै बताउन सक्ला । तर, विश्वभर नै लागूऔषध, हातहतियारपछि वन्यजन्तुको आखेटोपहार ओसारपसारको कारोबार भइरहेको पाइन्छ ।
सामान्यतया निकुन्जभित्र अवैध कार्य भइरहेका छन् कि छैनन् भने थाहा पाउन निकुन्ज आसपासका क्षेत्र पनि चहार्नुपर्ने हुन्छ । यसको लागि गस्ती संचालन पनि जरुरी छ, एउटा सामान्य व्यक्तिले बुझ्ने भाषामा गस्ती संचलानमा केकस्ता कार्यहरू गरिन्छ ?
निकुन्जभित्र आर्मीहरूले संरक्षण गरिरहेका हुन्छन् । हामीले निकुन्जले छुटाएका क्षेत्रहरूमा सामुदायिक वनसँग समन्वय गरेर गस्ती संचालन गर्छौं । यसमा स्थानीय बुद्धिजीवीहरूको समेत साथ, सहयोग र संलग्नता रहेको हुन्छ । हामीले गस्ती संचालन भनेर ठ्याक्कै त्यही मात्र पनि गर्दैनौँ, सामुदायिक वनमा वन्यजन्तु अवलोकन गर्ने, जनावरहरूको पाइलाहरू चिन्ने, चराचुरुङ्गीको अवस्था नियाल्ने गर्छौं । यस अभियानमा १६-४० उमेर समूहका व्यक्ति संलग्न भएका कारण पनि काम गर्न सहज भइरहेको छ । यी कार्यहरू गरिरहँदा हाम्रो मुख्य ध्येय भनेको यहाँ आवद्ध मानिसहरूले वन्यजन्तु संरक्षणलाई नै पेशा बनाउन सकून् र अन्य पेशामा आवद्ध भएतापनि वन्यजन्तु संरक्षणमा सक्रिय हुन् भन्ने हो ।
बर्दिया निकुन्जको हकमा स्थानीय व्यक्तित्त्व मात्र नभएर विदेशीहरू पनि आकर्षित देखिएको पाइन्छ, यस अभियानमा उहाँहरूको पनि केही भूमिका छ कि ?
उहाँहरूले सीबीएपीयुलाई मात्र नभएर नेपालकै वन्यजन्तु, वातावरण, वनस्पति जस्ता कुराको संरक्षणमा चासो देखाईरहेको पाइन्छ । उहाँहरू आउने, हामीसँग सिक्ने र काम गर्न पनि इच्छुक हुनुहुन्छ । उहाँहरूसँगै मिलेर हामीले विशेषत: वन्यजन्तुको अनुगमन गर्ने गर्दछौं । निकुन्ज क्षेत्रमा मानव-वन्यजन्तु द्वन्द्व भइरहने र भारतसँग जोडिएका क्षेत्रहरूमा पनि यस्ता खालका क्रियाकलाप हुने हुँदा विश्वमा काम गर्ने रेन्जरहरूले यसमा आवश्यक पर्ने प्राविधिक सहयोग गरिरहनु भएको छ, जसले हामीलाई आफ्नो कर्तव्य निर्वाह गरीरहन धेरै सहज र सजग बनाइरहेको छ ।


निकुन्जले व्यहोरिरहेको समस्याहरू के-के हुन् ? यसमा सरकारले के-के गर्न सक्छ ?
चोरी-सिकारीकै कारण देशभर नै अहिले धेरै वन्यजन्तु लोपोन्मुख अवस्थामा छन् । वन्यजन्तुका अङ्गको माग भएकैले यिनको चोरी सिकार बढेको हो । यस्तोमा पैतृक सम्पत्ति, सांस्कृतिक परम्परा वा पहुँचको आडमा पुराना आखेटोपहार बेचबिखन भइरहेको आशङ्कालाई नकार्न सकिन्न । फेरि पुराना आखेटोपहार देखाएर नयाँको कारोबार पनि भइरहेको हुन सक्छ । यसकारण यो मुद्दा गम्भीर हो । यसलाई नजरअन्दाज गरिए अपराधीको मनोबल बढ्नुका साथै दुर्लभ जनावरको संरक्षणमा अझै चुनौती थपिन सक्छ ।
यसका साथै मानव-वन्यजन्तु द्वन्द्वको वैज्ञानिक कारण खोज्न, अध्ययन तथा अनुसन्धान गर्न सक्छ । निकुन्जको वास्तविक क्षमता, सामुदायिक वनको स्थिति, घासे मैदानको व्यवस्थापन, स्थानीय युवा तथा अन्य व्यक्तिलाई संरक्षणका कार्यहरूमा कसरी संलग्न गराउने, निकुन्जलाई प्रयोग गरेर आर्यआर्जन गर्न सकिने कुराको चेतना कसरी फैलाउन सकिन्छ भन्ने कुरामा अध्ययन गर्न सक्छ । त्यही अनुरुप योजना बनाएर त्यसलाई कार्यान्वयन गर्न सक्छ । चोरी सिकारी नियन्त्रण अभियानलाई देशव्यापी र प्रभावकारी बनाई मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सहयोग गर्न सकिन्छ । यो कुरा सरकारले चाहेर मात्र पनि हुँदैन, यसमा सबैजनाको एक्यबद्धता जरुरत छ ।
अर्कोतर्फ, वन्यजन्तुका अङ्ग तस्करी स्थानीय होइन, अन्तर्राष्ट्रिय समस्या हो । कंगोमा सिकार गरिएको सालक, माडागास्कारका चरा अनि चीनको चिरुका रौं नेपालमा समातिएका छन् । त्यसैले हाम्रो कानूनी क्षमताले हाम्रो मात्र होइन, दक्षिण एसिया अनि विश्वकै वन्यजन्तु संरक्षणमा महत्त्व राख्छ ।




(अर्काइभ, टुर न्यूज पत्रिकाको बर्दिया विशेषांक)




























































Discussion about this post