भोजपुर र खोटाङको सिमानामा रहेको कपासे भन्ज्याङ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन थालेको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका तथा खोटाङको खोटेहाङ गाउँपालिकासँगै केन्द्र र प्रदेश सरकारले कपासे भन्ज्याङमा आवश्यक संरचना निर्माण गरेपछि पर्यटकको आवागमनमा वृद्धि भएको हो । यहाँ विशेषत: आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो ।
हरियाली चौर तथा विभिन्न हिमशृङ्खलासँगै तराईका सुन्दरफाँट हेर्न सकिने भएकाले जो कोही पनि यो ठाउँमा पुग्न रुचाउने गरेको देखिन्छ । मौसम खुलेको समयमा कपासे भन्ज्याङमा दैनिक ५/७ समूहमा पर्यटक आउने गरेको देखिन्छ । यहाँ घुम्ने पर्यटक प्राय: भोजपुर, खोटाङ तथा अन्य जिल्लाबाट पनि रहेका छन् । पर्यटकको सहज आवागमनका लागि टेम्केमैयुङ गाउँपालिकामा पर्ने मुन्दुम पदमार्गलाई कपासे भन्ज्याङसम्म विस्तार गर्ने लक्ष्य रहेको छ ।
कपासे भन्ज्याङलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न टेम्केमैयुङ गाउँपालिकाले विभिन्न आर्थिक वर्षमा खानेपानीको लागि रु. ८ लाख र सुम्निमा पारुहाङको मूर्ति स्थापनाका लागि रु. १० लाख लगानी गरेको जनाएको छ । मूर्ति संरक्षणका लागि घेराबार तथा द्वार निर्माण र पैदलमार्ग निर्माणका लागि टेम्केमैयुङ–९ लेखर्कले रु. ४ लाख लगानी गरेको वडा कार्यालयले जनाएको छ । यो आर्थिक वर्षमा पनि थप काम गर्न वडाले रु. १ लाख बजेट विनियोजन गरेको छ भने विद्युत् विस्तारका लागि गाउँपालिकाले काम गरिरहेको छ ।
कपासे भन्ज्याङको बृहत्तर विकासका लागि रु. ९ करोड २२ लाख बराबरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर काम भइरहेको छ । यसको लागि खोटेहाङ गाउँपालिकाले राष्ट्रिय विभूति स्मारक पार्क निर्माणमा रु. २५ लाख र वडा कार्यालयले रु. चार लाख लगानी गरेको छ । त्यस्तै, केन्द्र सरकारले रु. २० लाखको लगानीमा पर्यटन पार्क निर्माण गरिदिएको छ । वडा कार्यालयले विभिन्न आर्थिक वर्षमा यहाँ रहेको तीन कन्या पोखरी निर्माणमा रु. ८ लाख र गुम्बा निर्माणमा रु. ४ लाख गरी कूल १२ लाख लगानी गरेको थियो ।
यो ठाउँको विकास भएपछि विसं २०७४ देखि ११ घर परिवारले बसोबास समेत गर्न थालेका छन् । प्रदेश सरकारले रु. २० लाख लगानी गरेर बजार व्यवस्थापनका लागि चार वटा ट्रस्ट निर्माण गरिदिएको छ । त्यस्तै, कोशी प्रदेश सरकारको रु. २० लाख सहयोगमा सेल्मे–कपासे सडक निर्माण गरिएको छ । दुई जिल्लाको सङ्गमस्थल रहेकाले खोटाङको खोटेहाङ गाउँपालिकासँगको सहकार्यमा आवश्यक संरचना निर्माण भइरहेको छ । जसकारण कपासे भन्ज्याङ आउने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो स्थानमा आन्तरिक पर्यटकको आवागमनले स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुगेको छ ।




























































Discussion about this post