काठमाडौं उपत्यकापछि धार्मिक र सांस्कृतिक हिसाबले भोजपुरको टक्सार पूर्वाञ्चलमै प्रसिद्ध मानिन्छ । बौद्धमार्गी नेवार जातिको बाहुल्यता रहेको टक्सारमा काठमाडौं, पाटन र ललितपुरका नेवारले जस्तै गुँलापर्व, वसुन्धरा व्रत, गाईजात्रा, लाखेजात्रा, ईन्द्रजात्रा, दसैँतिहार चाडपर्व मनाउने गरिन्छ । सदरमुकाम भोजपुरदेखि आधा घण्टाको दुरीमा रहेको एकमात्र विमानस्थल पनि टक्सारमा नै पर्छ । पर्यटनको विषयमा जानकारी दिन टक्सारमा नै पर्यटन सूचना केन्द्रको समेत स्थापना भएको छ ।
वर्तमान नेपालको पूर्वाञ्चल (संख्या १) प्रदेश, कोशी अञ्चल, भोजपुर जिल्ला, भोजपुर नगरपालिकाको वडा ९ मा पर्ने स्थान राणाकालमा पूर्व ४ नं माझकिरात जिल्ला, खिकामाछा थूम, बाँडागाउँ नामले चिनिन्थ्यो । सो ठाउँमा दुई सय वर्ष अघि एक र दुई तोला बराबरको पैसाको ढ्याक (धःधेबा–ढक पैसा), डोलो आकारको हुँदा डोली पैसा पनि भनिने, टक काटेको हुनाले अहिले टक्सार नामले बढी प्रशिद्ध छ । टक्सार नेपाल अधिराज्यमा धेरै ठाउँमा हुनाले यसलाई पुरानो र नयाँ नाम जोडी “खिकामाछा टक्सार” भन्नु बढी उपयुक्त हुने देखिएको छ । यो नामले शुरु शाहकाल, राणाकाल र वर्तमानकाललाई बोध गराउँछ ।
टक्सारमा सरस्वती गुफा, अजिमा मन्दिर, भीमसेनथान, शाक्यमुनि बिहार, महादेव मन्दिर, टक्सार अड्डाको विद्याधरी धारा, खिकामछा दरबारको अवशेषलगायत प्राकृतिक छटाले सुन्दर वातावरणयुक्त ऐतिहासिक स्थलहरूको अवलोन गर्न सकिन्छ । अनुसन्धानात्मक इतिहासका निम्ति यहाँका पुराना हस्तकलायुक्त भवन, शिलालेख, ताम्रपत्र र ऐतिहासिक सामग्रीहरू पर्याप्त छन् ।






















तस्वीरहरू: विकास चाम्लिङ




























































Discussion about this post