- अश्विन दुवाडी, प्रेम बास्तोला, राजु झल्लु प्रसाद


श्री पञ्चमी, वसन्त पञ्चमी वा भनौँ सरस्वती पूजा नाम फरक भए पनि दिन एकै हुन्- माघशुक्ल पञ्चमी ।
माघशुक्ल पञ्चमीको दिन मनाइने वसन्त पञ्चमी ‘सरस्वती पूजा गर्ने दिन’ भनेर बढी चिनिन्छ । उसो त सङ्गीत, कला, साहित्य एवं विद्याकी देवी सरस्वतीको आराधनाका लागि वसन्त पञ्चमी कुर्नुपर्छ भन्ने छैन । हरेक दिन नयाँ ज्ञान र विद्या आर्जन गर्नेक्रममा सरस्वती भगवानको भक्ति गरिरहेका हुन्छन् हरेक मानिसले । बौद्ध धर्मावलम्बीहरूले पनि सरस्वतीलाई बोधिसत्त्व मञ्जुश्रीको रूपमा ज्ञानको प्रतीक मानेर पूजाआजा गर्ने गर्छन् । पछिल्लो समय विद्यालय, शिक्षालय र अन्य शैक्षिक सङ्घसंस्थाले सरस्वती पूजा धूमधामका साथ मनाउन थालेपछि भने वसन्त पञ्चमी, श्री पञ्चमीभन्दा बढी ‘सरस्वती पूजा गर्ने दिन’ भनेर बढी चिनिन थालेको छ ।
अक्षर आरम्भ गराउन स-साना नानीबाबुहरूलाई आजकै दिनबाट शिक्षालय पठाउने, नयाँ सीप सिक्न आजकै दिनबाट प्रारम्भ गर्ने जस्ता महत्त्वपूर्ण कामहरू सुचारु गर्न उत्तम दिन आज रहने विश्वासका छ । यस कारण पनि सरस्वती पूजाको दिनबाट नयाँ सिकाइ आरम्भ गर्ने चलन पहिलेबाटै चलिआएको छ भने यसको निरन्तरता आजका दिनसम्म पनि छ र महत्त्व अझै बढ्दै गएको देखिन्छ । कतिपय शिक्षालयले आजका दिन नयाँ कक्षामा भर्ना हुने विद्यार्थीलाई निःशुल्क तथा केहीले आंशिक छुट दिने गरेको पनि पाइन्छ । नेपालमा विद्यालय शिक्षाको नयाँ शैक्षिक सत्र वैशाखमा सुरु हुने भएता पनि पहिलोपटक विद्यालय जाने स-साना बालबालिका लागि भने अक्षर आरम्भको शुभदिन आजलाई मानिने हुँदा आजकै दिनबाट भर्ना गर्ने गरिएको पाइन्छ ।




यसैगरी, आजका दिन कतिपय ठाउँमा भने पहिलोपटक नाक कान छेड्ने काम शुभ रहने मानिन्छ । विशेष गरि महिलाहरू जो नाक र कान छेडेर गरगहना लगाउने गर्छन् उनीहरूले आजकै दिन आफ्नो नाक कान पहिलो पटक छेड्ने गरेको पनि पाइन्छ । अर्कोतर्फ, धादिङ मुरलीभन्ज्याङ लोकसंस्कृतविद् राममणि दुवाडी यस दिन मङ्सिरमा धान भित्र्याएपछि बचेको धानका बालाहरू बटुल्दै जाने (जसलाई ‘सिलाे खोजेको’ भनिन्थ्यो) र यस दिन सोही बालाबाट चामल निकालेर वनभोज जाने चलन रहेको स्मरण गर्दछन् ।
“गाउँका सबै बालबालिकाले मङ्सिर पुषमा जम्मा पारेको सिलाे धान एकै ठाउँमा मिसाइन्थ्यो र त्यसबाट चामल बनाइन्थ्यो । श्रीपञ्चमीकाे दिन गाउँदेखि अलि पर खुला चउरमा गाउँका सबै केटाकेटी जम्मा भएर सरस्वतीको पूजा गरिन्थ्यो र त्यहीँ वनभोज पकाएर खाइन्थ्यो । मङ्सिर पुषमा गोठालो जाँदा सिलाे खोजेको धानकाे चामल त्यही वनभोजमा पकाइने चामलमा मिसाइन्थ्यो । वनभोज खाइसकेपछि मादल बजाएर खेतमै सरस्वती वन्दना र नाचगान गरिन्थ्यो । सरस्वती पूजा तथा खाना पकाउने पकाउने काममा बालबालिकाका आमाबुबाले सघाउनुहुन्थ्यो । श्रीपञ्चमीकै दिनलाई शुभ साइतको दिन मानेर नयाँ बालबालिकालाई अन्नप्राशन गराउने, अक्षर सिकाउने, तथा किसानहरूले बहर गोरु दाउने, धानकाे भकारी र मकैको कुन्याे पैट्याउने र नयाँ वर्षकाे लागि अन्नको बीऊ निकाल्ने जस्ता नयाँ कामकाे थालनी गरिन्थ्यो (स्रोत: राममणि दुवाडी) ।”
श्री पञ्चमी, वसन्त पञ्चमीका दिन प्रारम्भ हुने यस्ता धेरै शुभ कार्यहरू छन् । जुनकुनै शुभकार्यका लागि आजको दिन कुन साइत नचाहिने, पुरै दिन शुभ रहने विश्वास छ । सिकाई प्रारम्भको शुभदिन साथमा ग्रामीण क्षेत्रमा भने श्री पञ्चमीको अर्को विशेषता पनि रहेको छ । श्री पञ्चमीका दिन ग्रामीण गाउँमा ‘दूध रोप्ने’ चलन रहिआएको छ । पछिल्लो समय भने यो परम्परा कम हुँदै नवपुस्तालाई यो रुचिकर विषय बन्न सक्दछ ।
के हो ‘दूध रोप्ने’ ? कसरी रोपिन्छ ?
ग्रामीण भेगमा केही वर्ष अघिसम्म पनि खेतबारी खनजोतको प्रमुख आधार भनेको गोरु जोत्नु नै थियो । नेपालको पहाडी भेगमा भिरालो खेतीयोग्य भूमि र स-सना गह्राहरू धेरै हुने भएकाले ठुला औजार प्रयोग कठिन थियो । तर, पछिल्लो समय भने साना हाते ट्याक्टरले प्रयोगले गोरु पालन कम भएको छ । काठको हलोमा फलामको फालीको मद्दतले खेत जोत्न हल गोरुको प्रयोग गरिन्थ्यो । यस्तै, हल गोरुले जोतेर खेतबारीमा दूध रोप्ने चलन अझै पनि ग्रामीण ठाउँमा रहिआएको छ । यसलाई कहिँकतै ‘हलसारो (पहिलो पटक हलो जोताई)’ पनि भन्ने गरिएको पनि पाइन्छ ।
श्री पञ्चमीका दिन बिहान नुहाएर, शुद्ध भएर शुद्ध गाइको दूध आफ्नो खेतबारीमा हलोको सियोमा रोप्ने चलन अझै पनि फाट्टफुट्ट देख्न पाइन्छ । पहिलोपटक हलो चलाउँदा साइत हेर्न पर्दैन भन्ने मान्यतासहित त्यस समयमा हलो र फाली पूजा पनि गरिन्छ । यसरी दूध रोप्दा सुरुमा गोरु नारेर फुल अक्षता चढाइ धूप बालेर हलो र फालीको पूजा गर्ने गरिन्छ । त्यसपश्चात् एकसियो जोत्ने र त्यही सियो (हलोले जोत्दा बनेको लामो खाल्डो – धर्सा) मा गाईको दूध पछिपछि चुहाउँदै (७ वा ९ ठाउँमा ) जाने परम्परा रहि आएको छ । यसरी पहिलो सियो दूध रोपेपछि गोरु फर्काएर उक्त दूध रोपेको सियो छोप्नुपर्ने (दूध पुर्नुपर्ने) भन्ने चलन रहि आएको छ ।
उसो त ग्रामीण भेगमा श्री पञ्चमीमा खेतबारी खनजोत गर्दैनन्, अझ भन्दा गोरुको सहायताले दिनभर खेत जोत्दैनन् तर यस दिन यसरी दुई सियो मात्रै जोत्न र दूध रोप्न भने गोरु नार्ने गरिन्छ । यसरी दूध रोपिसकेपछि गोरु फुकाइन्छ । थप जोत्न नहुने विश्वास छ ।


खासगरी पहिले पहिले ब्राह्मण समुदायका मानिसले जोत्न नहुने भन्ने परम्परा अनुरूप नै आजका दिन क्षेत्री समुदायका मानिस बोलाएर गोरु जोत्न लगाउने गरेको पाइन्छ । यस्तो दूध रोप्ने परम्परा भने ब्राह्मण, क्षेत्री र अन्य जनजाति सबैले मनाउने गरेको पाइन्छ (दलित समुदायले चाहिँ हाम्रो ठाउँमा दूध रोपेको थाहा नभएको स्थानीय नवराज दुवाडी र हरि प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो) ।
एकातर्फ यसरी रोपेको दूध अन्नबाली उब्जनी हुँदा सुरुमा फल लाग्नुअघि फूल भित्र दूध भरिन्छ भन्ने विश्वास रहिआएको पाइन्छ । श्री पञ्चमीका दिन आफ्नो खेतबारीमा रोपेको दूध नै वर्षभरि आफ्नो अन्नबालीमा दुधिलो रूपमा उब्जनी भएको भन्ने आम जनमानसमा रहिआएको छ ।
अर्कातर्फ, भने त्रेता युगमा राजा जनकले सुनको फालिले भूमि जोत्दा सीताको उत्पत्ति भएको विश्वासका आधारमा आजको दिन जमिनमा हलोले जोतेर दूध रोप्दा रत्न प्राप्त हुने भन्ने पनि विश्वास रहिआएको पाइन्छ ।
विभिन्न फरक आस्था र विश्वास रहेका पाइए पनि विशेषतः आजको दिन अन्न उब्जनी हुने धर्ती र कृषि कर्ममा कृषकका सारथि औजार हलोको पूजा गर्ने दिनको पनि कतिपयले दूध रोप्ने गरेको पाइएको छ ।


पछिल्लो समय कृषिलाई मुख्य पेसा मान्नेहरू दिनानुदिन घट्दै गएकाले, विदेश पुगेका युवाले पठाएको विप्रेषणबाट आयातित खाद्यान्न किनेर खाने, कृषि जमिन बाँझो राख्ने प्रवृत्ति मौलाएकाले एवं कृषिप्रधान मुलुक ‘पूर्वकृषि मुलुक’ बनेको सङ्केतहरू देखिन थालेकाले यस्ता प्रचलनहरू लोप हुँदै छन् । फलत:आधुनिक औजारको प्रयोगले गर्दा गोरुको सहायताले हलोले खोत जोत्ने परम्परा लगभग अन्त्य हुँदा हलोको सियोमा दूध रोप्ने मौलिक कृषि संस्कृतिको लगभग अन्त्य भएको छ । । यसरी गाउँघरमा गोरु पाउनै मुस्किल पर्न थालेका कारण श्री पञ्चमीका दिन दूध रोप्ने परम्परा पनि हराउँदै गएको छ । यद्यपि गोरु पालिरहेका किसानहरू भने आजको दिन अझै पनि आफ्ना खेतबारीमा दूध रोप्ने चलन गर्दै आइरहेका छन् ।
अन्त्यमा,
नेपालका बहुसङ्ख्यक जनता कृषक रहँदा र देशका आर्थिक परिसूचकहरूमा कृषि अग्रस्थानमा रहेको बखत परम्परागत कृषि कार्यमा के गर्दा कृषिलाई फाइदा हुन्छ भन्ने विश्वासका आधारमा कैयौँ प्रचलनहरू समाजमा देख्न/भेट्न पाइन्थ्यो । कृषिलाई आवश्यक पानीको जोहो गर्दा, खेती लगाउँदा, खेतीपातीको संरक्षण गर्दा, खेती स्याहार्दा, आफूले लगाएको अन्न पाकेर देवीदेवतालाई अर्पण गरेर खान लाग्दा र भण्डारण गर्दासम्मका अनेकौँ संस्कार खोजिपसेमा जनसमाजमा फाट्टफुट्ट भेटिने गर्दछन् । यी कार्यले कृषि र संस्कृतिबिचको सम्बन्धलाई अझ मजबुत बनाउने हुँदा कृषिप्रतिको घट्दो माया र मोहलाई बढोत्तरी गर्ने बेला भएको छ ।
फेरी अर्कोतर्फ, कृषि कार्यको प्रारम्भ र संस्कृतिसँग आबद्धताको इतिहास खोज्न विश्वमा कृषि विकासको प्रारम्भिक चरणसम्म पुग्न अनेकन् अध्ययन, अनुसन्धान भइरहेका छन् । कृषिकार्यको प्रारम्भ र विकासका आधार खोज्ने र भोकमरी उन्मुख वर्तमान सङ्कटलाई समाधान गर्न विभिन्न परम्परागत धार्मिक र वैज्ञानिक मान्यताहरूको खोजी कार्य बढिरहेको हुँदा ‘दूध रोप्ने चलन’ लगायतका मौलिक कृषि संस्कारका सम्बन्धमा अध्ययनलाई व्यापक र लोपोन्मुख यस्ता प्रचलनहरूलाई जोगाउन आवश्यक छ ।


सन्दर्भ सहयोगी
नवराज दुवाडी ( बुवा)
हरि प्रसाद तिमल्सिना (बराह कालिका माविका पूर्व शिक्षक)
लोकसंस्कृतिविद् राममणि दुवाडी
यो पनि पढ्नुहोस्:




























































Discussion about this post