मङ्सिरमा धान भित्र्याएपछि खुला खेतमा गाईबस्तु चराउन रमाइलो मानिन्थ्यो । धान भित्र्याएपछि खाली भएको खेतमा कसले पहिले गाई चराउने भन्ने गोठालाहरूमा प्रतिस्पर्धा हुन्थ्याे । खाली खेतमा मडिलाे जस्ता घाँस हुन्थ्याे, जसलाई गाईबस्तुले खुब मन पराउँथे । खेतमा चराउँदा जङ्गलमा जस्तो गाईबस्तु हराउने र खोज्न जाने समस्या पर्दैनथ्यो । हामीजस्ता गोठाला पनि खेतमा यत्रतत्र छुटेका धानका बाला जम्मा पारेर राख्थ्यौँ । जसलाई ‘सिलाे खोजेको’ भनिन्थ्यो । कसले बढी सिलाे धान जम्मा पारेको छ भन्ने कुरामा गोठालो जाने बालबालिका बीच प्रतिस्पर्धा हुन्थ्याे । गाउँका सबै बालबालिकाले मङ्सिर पुषमा जम्मा पारेको सिलाे धान एकै ठाउँमा मिसाइन्थ्यो र त्यसबाट चामल बनाइन्थ्यो ।
श्रीपञ्चमीकाे दिन गाउँदेखि अलि पर खुला चउरमा गाउँका सबै केटाकेटी जम्मा भएर सरस्वतीको पूजा गरिन्थ्यो र त्यहीँ वनभोज पकाएर खाइन्थ्यो । मङ्सिर पुषमा गोठालो जाँदा सिलाे खोजेको धानकाे चामल त्यही वनभोजमा पकाइने चामलमा मिसाइन्थ्यो । वनभोज खाइसकेपछि मादल बजाएर खेतमै सरस्वती वन्दना र नाचगान गरिन्थ्यो । सरस्वती पूजा तथा खाना पकाउने पकाउने काममा बालबालिकाका आमाबुबाले सघाउनुहुन्थ्यो ।
श्रीपञ्चमीकै दिनलाई शुभ साइतकाे दिन मानेर नयाँ बालबालिकालाई अन्नप्राशन गराउने, अक्षर सिकाउने, तथा किसानहरूले बहर गाेरु दाउने, धानकाे भकारी र मकैको कुन्याे पैट्याउने र नयाँ वर्षकाे लागि अन्नको बीऊ निकाल्ने जस्ता नयाँ कामकाे थालनी गरिन्थ्यो । तसर्थ गाउँघरमा बाल्यकालमा श्रीपञ्चमी रमाइलो पर्वको रूपमा मानिन्थ्यो ।




























































Discussion about this post