ताप्लेजुङ: ताप्लेजुङको मिक्वाखोला गाउँपालिकास्थित वाग्मा पोखरी पर्यटकीय हिसाबले ओझेलमा परेको छ । मिक्वाखोला गाउँपालिका–४ साँवामा रहेको पर्यटकीय सम्भावना बोकेको वाग्मा पोखरी आवश्यक संरक्षण तथा प्रचारप्रसारको अभाव हुँदा ओझेलमा परेको हो ।
करिब पाँच रोपनी बराबरको क्षेत्रफलमा फैलिएको उक्त पोखरी धार्मिक दृष्टिकोणले प्रसिद्ध मानिने मानाभराको काखमा रहेको छ । मानव बस्तीभन्दा केही टाढा हरियाली वनको बिचमा एकान्त वातावरणमा रहेको पोखरी आवश्यक पूर्वाधार, संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको पाइन्छ । निकै सुन्दर र आकर्षकसमेत देखिने वाग्मा पोखरी पर्यटकीय सम्भावना बोकेको भए पनि पोखरीको प्रवर्द्धनका लागि तीनै तहका सरकारले प्राथमिकता नदिएको पाइएको छ । पोखरीको प्रवर्द्धनका कार्य र प्रचारप्रसार गर्न सकेमा जिल्लाकै स्थापित पर्यटकीय गन्तव्य फुङफुङ्गे झरना, वडा–५ पापुङको तोक्पेगोला लोदेन क्षेत्रसँगै वाग्मा पोखरीलाई पनि पर्यटकीय गन्तव्य बनाउन सकिन्छ ।
वाग्मा पोखरीसहितका पर्यटकीयस्थलको विकासका लागि सङ्घ र प्रदेश सरकारसमक्ष योजना प्रस्ताव गरिदैआएको, तर सोचेअनुसार प्रगति नभइरहेको अवस्था छ । वाग्मा पोखरी पुग्ने पदमार्गको स्तरोन्नति गर्नुपर्ने, सडक पुगाउनुपर्ने र अन्य संरचना तथा पूर्वाधारहरू निर्माण गर्नुपर्ने आवश्यक देखिएको छ । आवश्यक संरक्षण, प्रचारप्रसारसँगै पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्नका लागि पूर्वाधार समेतको अभाव हुँदा प्रशस्त सम्भावना भएर पनि ओझेलमा परेको छ ।
जिल्लाको एक पर्यटकीय स्थलका रूपमा रहेको वाग्मा पोखरी पुग्नलाई सदरमुकाम फुङ्लिङदेखि दोभान सान्थाक्रा तथा खोक्लिङ लिबाङ हुँदै गाउँपालिकाको प्रशासकीय केन्द्र थलङ र थलङ, साँवा सिरान हुँदै जान सकिन्छ । त्यस्तै, फुङ्लिङदेखि फक्ताङ्लुङ गाउँपालिकाको लिङ्खिम सिँवाबजार, खेजेनिम, सिबुक हुँदै पनि वाग्मा पोखरी पुगिन्छ ।




























































Discussion about this post