नेपालले चार देश सम्मिलित महिला टि२० आई सिरिजअन्तर्गत कुवेतलाई ३४ रनले पराजित गर्दै फाइनल नजिक पुगेको छ । इन्दु बर्माको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा नेपालले दोस्रो जित हात पार्न सफल भएको हो ।
बायोमास ओभलमा टस हारेर पाहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रन बनाएको थियो । नेपालको ब्याटिङमा भने कमजोर प्रदर्शन रह्यो । नेपालको जितमा इन्दु बर्माले १९ बलमा २ चौकासहित सर्वाधिक २३ रन बनाइन् । काजोल श्रेष्ठले १८ बलमा १ चौकासहित १९ रनको अविजित इनिङ खेलिन् ।इन्दुले २ र काजोलले एक बाहेक अन्य कुनैपनि ब्याटरले चौका प्रहार गर्न सकेनन् ।
जितको लागि ९० रनको मध्यम विजयी लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रन मात्र जोड्न सफल भयो । कुवेतका लागि जिफा जिलानीले १९ बलमा १ चौकासहित सर्वाधिक ११ रन बनाइन् ।
नेपालको लागी इन्दु बर्माले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् । नेपालका लागि पहिलो खेल खेलेकी खुशी डंगोलले ३ ओभरमा २ मेडनसहित ३ रन खर्चेर २ विकेट लिइन् । ईश्वरी विष्ट, कविता कुँवर र सीता रानामगरले एक एक विकेट लिइन् । कुवेतका लागि महियम हैदरले ४ विकेट, मर्याम ओमारले ३ ओभरमा १० रन खर्चेर २ विकेट, प्रियादा मुराली र खादिजा खालिलले एक एक विकेट लिइन् ।
चार देश सम्मिलित सिरिजमा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । नेपालले अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा फाइनलमा पुग्नेछ । पराजित भएमा अन्य टोलीको नेटरनरेटमा भर पर्नेछ ।
शीर्ष दुईमा रहन सके शनिबार फाइनल खेल्नेछ । पराजित भएमा तेस्रो स्थानको लागि खेल्नेछ । नेपालले सोमबार थाईल्यान्डसँग पनि अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट खेल्नेछ । एसिया क्षेत्र छनोट अगष्ट ३१ देखी ९ सेप्टेम्बरमा मलेसियामा खेल्नेछ । नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् ।
फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि२० विश्वकप खेल्न पाउनेछन् । नेपालले पहिलो खेलमा ३१ अगष्टमा मलेसिया, १ सेप्टेम्बरमा बहराइन, ३ सेप्टेम्बरमा भुटान, ४ सेप्टेम्बरमा कतार र ६ सेप्टेम्बरमा युएईसँग खेल्नेछ ।




























































Discussion about this post