काठमाडौं: कवि, गीतकार तथा सामाजिक अभियन्ता अनिल पौडेललाई ‘जेबी टुहुरे स्मृति स्रष्टा सम्मान–२०८०’ बाट सम्मान गरिने भएको छ ।
जेबी टुहुरे फाउण्डेसनले १ लाख रुपैयाँ धनराशिसहित पौडेललाई सम्मान गर्ने भएको हो । आगामी भदौ १० गते राष्ट्रिय नाचघर, काठमाडौंमा टुहुरेको दोस्रो स्मृति दिवसको सन्दर्भमा आयोजना गरिने विशेष साङ्गतिक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातबाट पौडेललाई सम्मान गरिने फाउन्डेसनकी अध्यक्ष नीर्भिका टुहुरेले बताएकी हुन् ।
पौडेलले लेखेको ‘मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रैछ, देशभक्त छोरो मर्दा देशै रूँदो रैछ’ गीत जेबी टुहुरेले गाएका थिए । कार्यक्रममा जेबी (उनको सम्झनामा विभिन्न व्यक्ति र व्यक्तित्वका संस्मरणात्मक लेखहरूको सँगालो ‘जेबी टुहुरे स्मृति ग्रन्थ’ पनि सार्वजनिक गरिने बताइएको छ ।
२००१ साल कात्तिक १५ गते धरानको पुरानो बजारमा जन्मिएका जुठबहादुर खड्गी (जेबी टुहुरे)ले गीत संगीतको क्षेत्रबाट नेपालको वाम लोकतान्त्रिक आन्दोलनलाई माथि उठाउन महत्त्वपूर्ण योगदान गरेका थिए । उनले गाएका ‘बसाइँ हिँड्नेको ताँतीले’, ‘आमा दिदी बैनी हो’ जस्ता गीतहरु लोकप्रिय छन् ।
टुहुरेको २०७८ भदौ १० गते काठमाडौंको वयोधा अस्पतालमा निधन भएको थियो । उनको स्मृतिमा जेबी टुहुरे फाउन्डेसनले गत वर्षदेखि स्रष्टा सम्मान कार्यक्रम गर्दै आएको छ ।



























































Discussion about this post