अष्ट्रेलिया: इंग्ल्यान्ड पहिलोपटक फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सह–आयोजक तथा घरेलु टोली अष्ट्रेलियालाई ३–१ ले पराजित गर्दै इंग्ल्यान्ड महिला विश्वकपको इतिहासमा पहिलोपल्ट फाइनलमा प्रवेश गरेको हो ।
बुधबार स्टेडियम अष्ट्रेलिया सिड्नीमा भएको सेमिफाइनलमा सह–आयोजक अष्ट्रेलियालाई पराजित गर्न इंग्ल्यान्डकी एला टुन, लौरेन हेम्प र एलेसिया रुसोले गोल गरेकी हुन् । अष्ट्रेलियाकी कप्तान सामन्था खेरले एक गोल फर्काएकी हुन् ।
खेलको ३६औं मिनेटमा एला टुनले गोल गर्दै इंग्ल्यान्डलाई १–० को अग्रता दिलाइन् । ६३औं मिनेटमा कप्तान सामन्था खेरले दर्शनीय गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् । ६९औं मिनेटमा लौरेन हेम्पले गोल गर्दै इंग्ल्यान्डलाई २–१ को अग्रता दिलाइन् । त्यस्तै, ८६औं मिनेटमा एलेसिया रुसोले गोल गर्दै इंग्ल्यान्डलाई जिततर्फ डोहोर्याएकी हुन् । त्यसपछि थप गोल निस्कन नसक्दा इंग्ल्यान्ड विजयी हुन सफल भयो । अब इंग्ल्यान्डले उपाधिका लागि २० अगस्टमा स्पेनसँग खेल्नेछ ।
यसअघि इंग्ल्यान्ड लगातार दुई संस्करण सन् २०१५ र सन् २०१९ मा सेमिफाइनलमा पुगेपनि टोली त्यसभन्दा अघि बढ्न सकेको थिएन । २०१५ मा तेस्रो भएको इंग्ल्यान्ड २०१९ मा चौथो भएको थियो ।




























































Discussion about this post