काठमाडौं: उपत्यकाका नेवा:हरूको प्रमुख चाड इन्द्रजात्राको दिन पारेर काठमाडौं उपत्यका आक्रमण गर्न गोरखाका राजा पृथ्वीनारायण शाहले भाद्र कृष्ण चतुर्दशीका दिन क्षेत्रपाटी, टुँडिखेल, नरदेवी, खिचापोखरीमा सेनाले घेरा हालेर आफू भने मौकाको ताकमा नरदेवीको द्यछेमा बसिरहेका थिए । कुमारीको रथ तानेर ह्युमत पुगेको समय पृथ्वीनारायणले दरवारमा आक्रमण गरे ।
राजा जयप्रकाश मल्ल भागेर पाटन पुगे । त्यसपछि पृथ्वीनारायण गद्दीमा बसे । भोलिपल्ट नेवा: परम्परा अनुसार कुमारी घरको डबलीमा गद्दी राखेर नयाँ राजाले कुमारीबाट टिका ग्रहण गरे । यसरी सहजै पृथ्वीनारायण शाह काठमाडौंको राजा बनेका थिए । राजा बने पछि उपत्यकाको धार्मिक परम्परालाई सहजै स्विकार्दै अन्य राज्य पाटन तथा भक्तपुरमा पनि विजय प्राप्त गरेको थियो ।
गोरखाबाट आक्रमण गरि राजा बनेका गैर नेवार भए पनि नेवा:हरूको सांस्कृतिक पर्व तथा देवताहरू प्रति सद्भाव र स्विकार गर्दै रहँदा विभिन्न विकासका कामहरू पनि गर्न थालेका थिए । जङ्गबहादुर राणाका जिजुबाजे एवं पृथ्वीनारायण शाहको समय सरदारको रुपमा रहेका रामकृष्ण कुँवरले राजाको अनुमति लिइ पशुपतिनाथको मन्दिर देखि गुह्येश्वरीसम्म जाने ढुङ्गे बाटो बनाएका थिए । बाटो भरि ढुङ्गा ओछ्याउने तथा ठाउँ ठाउँमा सिढी पनि बनाएका थिए ।
यसरी रामकृष्ण कुँवरले पशुपति मन्दिरदेखि गुह्येश्वरीसम्म बनाएको बाटोको प्रसङ्ग आए पनि बागमती नदी माथि बनाइएको ढुङ्गे पुलको प्रसङ्ग भने कतै उल्लेख गरिएको पाइदैन । पुलको कुनै प्रसङ्ग नआएको भए तापनि सो बागमती नदी माथि बनाइएको पुल सोही समयमा बनाइएको हुन सक्ने अनुमान भने लगाउन सक्छौ । वि.सं. १८२६-२७ को बिचमा सो बाटो बनाउँदा नै बागमती नदी माथिको ढुङ्गे पुलको पनि निर्माण गरेको मान्न सकिन्छ ।
बागमती नदीलाई पशुपतिनाथको मन्दिरको क्षेत्रमा दुवैतर्फ घाट बनाएर खोलालाई साँघुरो पारिएको छ । यसरी साँघुरो भएको ठाउँमा दुवै किनारमा ढुङ्गे पर्खाल उठाएर त्यसमाथि बलिया काठका मुढा तेर्स्याएर त्यसमाथि ढुङ्गा बिछ्याएर पुल बनाएको देखिन्छ । मानिसहरूको मात्र आवतजावत हुने हुँदा पनि यो पुल २५० वर्ष देखि उस्तै देखिन्छ । पुलको समय समयमा मर्मत गरिने हुँदा पनि यो पुल हालसम्म यथावत देखिन्छ । यहाँ राखिएको तस्विर खिचिएको समय अर्थात राणा प्रधानमन्त्री चन्द्रशम्शेरको समयमा पुरानो ढुङ्गे पुलको उत्तर तर्फको अर्को पुल बनाउँदै गरेको देख्न सकिन्छ ।
साथै पशुपति मन्दिर तर्फको घाटमा पनि ढुङ्गा बिछ्याउने कार्य गर्दै गरेको देख्न सकिन्छ । बन्दै गरेको पुलमा पनि पुरानै शैलीमा लामा दुइ काठको सत्तरी राखेको देख्न सकिन्छ । जसरी घर निर्माणको क्रममा निदाल माथि दलिन बिछ्याइन्छ । त्यसैगरि यि पुलमा पनि लामा निदालमा तेर्सो दलिनका काठहरू झै राखि त्यसमा ढुङ्गा बिछ्याएर माटोले सम्याउने काम गरिन्छ । पहिले पहिले यसरी बन्ने गरेका पुलहरू निकै बलिया हुन्थे ।




























































Discussion about this post