काठमाडौं: बाघभैरव मन्दिर काठमाडौंको कीर्तिपुरमा छ । यो मन्दिरलाई कीर्तिपुरवासीले आराध्यदेवका रूपमा पूजा गर्छन् । काठमाडौं उपत्यकाबाट सात किलो मिटर दक्षिण पश्चिममा रहेको बाघभैरवको मन्दिर समुद्री सतहबाट एक हजार ४ सय ५ मिटर उचाइमा लम्बाइ ५० मिटर र चौडाइ ३० मिटर क्षेत्रफलमा रहेको चोकभित्र छ ।
पूर्व-पश्चिम भागमा लाम्चो आकारमा फैलिएको कीर्तिपुर डाँडाको बीच भागमा फैलिएको बाघभैरव मन्दिर यस क्षेत्रमै सर्वाधिक ठूलो र महत्त्वपूर्ण मन्दिर हो । प्यागोडा शैलीको तीन तले मन्दिर जसको माथिल्लो छानो पित्तल, त्यसभन्दा तलको दुई छाना झिँगटीले छाएको छ । मन्दिरको सबैभन्दा माथि ११, बीचमा छ र सबैभन्दा तल एक गरी १८ वटा गजुर छन् । मन्दिरको भुँइतलामा प्राचीन महाभारत र रामायणका दृश्यहरू देख्न सकिन्छ ।
यस मन्दिरमा प्रत्येक वर्षको सिंह सङ्क्रान्ति (भदौ १ गते) बाघभैरव जात्रा लाग्छ । जात्राका अवसरमा खटजात्रा गर्ने प्रचलन छ । खटजात्रा चलाउने परम्परा वि.सं. २०१४ भदौ १ गतेदेखि सुरु गरिएकोमा खटजात्रा सुरु गरिएको ५० वर्षका अवसरमा वि.सं. २०६४ सालमा स्वर्ण महोत्सव भएको थियो ।
कीर्तिपुर क्षेत्रको ऐतिहासिकता एवम् सांस्कृतिक महत्त्वसँग बाघभैरव मन्दिर प्रत्यक्ष सम्बन्धित देखिन्छ । धार्मिक, सांस्कृतिक महत्त्वका साथै प्राचीन प्रस्तरकला र काष्ठकलाको अनुपम सङ्गम बाघभैरव मन्दिर नेपालको ऐतिहासिकताको अध्ययन र पर्यटकीयका लागि पनि महत्त्वपूर्ण स्थल हो । काठमाडौं उपत्यकाको दृश्यावलोकनका लागि पनि बाघभैरवको मन्दिर परिशर उपयुक्त स्थल मानिन्छ ।














तस्वीरहरू: सन्तोष प्रसाद रिमाल




























































Discussion about this post