– ओजोन बाबु उर्फ आलोक शर्मा
“त्यो/बहत्तरको/भूकम्पको दिन ४१/४२ जनाको लागि भात पाक्दै थियो, यहाँ बाहिर आँगनको चुल्हामा । लोकल कुखुराको मासु पनि ।
भात त पाक्यो तर सबैलाई एकैचोटी खुवाउन नसकिने, भाँडै थिएनन् । लु २०/२५ जनालाई पठाइदिनु भनेर थाल बटुका तयार गर्न थालेँ । सबै हुरुरु आउँछन् त !
‘हन् पालै पालो खाँदा हुँदैन’, भन्दै छु । हाहाकार मच्चिहाल्यो । जमिनै हल्लिन थाल्यो ।
यत्राको २०/२५ ।
आँगनको चुल्हामा ४१/४२ लाई पाकेको मासु भात भरे दिउँसो १०० जना भन्दा बढीले चौरीमै खाए । बहत्तरको त्यो भूकम्पको बेला भात खाने मन कसलाई थियो र ?”
सिम्पानी बजारमा साँझमै खाइयो खाना । आज खाना धेर खाइयो लौ, भनेर यस्सो ढल्किँदै थिएँ, “मनमा आनन्द भएसी खाइन्छ हौ सर” भनेर दिनेश सरले गम खानुभयो । त्यही मौका पारेर १२/१३ वर्षदेखि सिम्पानीमा होटेल, पसल गर्दै आएका गोपाल घिमिरेले मन लागेर, आनन्द लागेर पो खाइन्छ । भोकले मात्र कहाँ खाइन्छ र भन्ने शीर्षकमा भूकम्पमा कसैलाई आनन्द नभएको किस्सा सुनाए ।
कोभिड उन्नाइस उर्फ कोरोना भाइरसको जगजगी निकै बाक्लिँदै गएपछि,
होटेल पसल बिहान ७ देखि १०,
औषधी जन्य नियमित,
क्यारेम बोर्ड लगायत सबका सब मनोरञ्जनका खेल पूर्णरूपमा बन्दै गर्ने,
जमघट, होहल्ला नगर्ने,
अत्यावश्यक काम बाहेक आवतजावत नगर्ने,
लगायतको ब्यहोरा भएको खोटेहाङ गाउँपालिका ८ नम्बर वडा कार्यालय सिम्पानीको सूचनाको तल दाहिने कुनामा हस्ताक्षर सहित भेटिए वडा सचिव दिनेश बस्नेत । जो सिम्पानी बजारमा साँझै नपरी भात खाइदिन्छन् र “मनमा आनन्द भएसी खाइन्छ हौ सर” भन्दिन्छन् ।
खोटेहाङको सिम्पानीमा साँझै नपरी डिनर खाइसकेर हाम्लाई होटेलमा भेट्न आएका मित्र बस्नेतले ब्यान कतिबेला जाने भन्दा पो क्या तनाव भइगयो ।
बिहान कतिबेला जाने त ? भनेर सोच्नु पनि गह्रौँ भारी बोके झैँ हुने अवस्था छ ।
“अब ब्यान क्यै खाएर मात्र हिँड्नु पर्ला, बाटोमा भात बिक्रीमा छैन आजकल ।” साहुजी बोल्नुभयो । तर, रसुवा भँडारेतिर त पसल होटेलहरू खुल्लै थिए । सायद मान्छेका मन बन्द थिए, मतलब डराएका थिए ।
“आःऽऽऽऽ म त डराउँदिन, कोरोनै लागेको मान्छे त यहाँसम्म आई पनि पुग्दैन होला नि त । अब व्यापारीको धर्मै हो, गरिन्छ व्यापार ढुक्कले । बरु यस्तो बेला खान बस्न दिए धर्मै पो होला । त्यत्रो भूकम्पमा त सब ऊ त्यहाँ बारीमा गोठ बनाएर बसे, बाहिरका मान्छे नि थिए । म त भात पकाएँ, खुवाएँ । यतै बसेँ । ”
कस्तो लाग्यो ?
– गज्जबै लाग्यो ।
एउटा साँघुरो, अँध्यारो कोठामा विस्तारै रात पर्यो र बिहान भयो । शौचालय टाढा भएकोले राति पानी चैँ फिटिक्कै पिइएन भन्दा पनि हुन्छ ।
एक दिनको बिहान, लु न त जाम, जानै छ आखिर भनेर प्लान बनेपछि यात्राको ग्य्राण्ड डिजाइन बन्यो । क्रमशः नगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले एक थान चिर्कटो थमायो । जसमा निजलाई जिल्लाभरि आवतजावत गर्न दिए फरक नपर्ला भन्ने खालको ब्यहोरा उल्लेख थियो ।




भोलिपल्ट बिहान उसलाई टेक्स्ट गरेको थिएँ “गुड मर्निङ ब्रदर, अब खेल (यात्रा) सुरु गरम त !” खासमा म उसलाई ब्रदर, सर, ब्रो जे पनि भन्दिन्छु । नाताका मन्छे पनि हुन् उनी/ हुनुहुन्छ उहाँ । हामीसँग स्टाफ स्टाफवाला साइनो समेत छ फेरी ।
सातुमा पानी घोलेर घुट्क्याएपछि एन नाइन्टी फाइभले दाह्री छोपेर निस्किएँ, क्यापटोपी र बुटजुत्तामा ।
दुई वटै कानको प्रत्यक्ष सहभागितामा मास्कले मुख छोपेर मास्काबादी हुनु त ठिकै होला, तर लकडाउनको कृपाले मौलाएको दाह्री नै ओझेल पर्ने गरी ‘एन नइन्टी फाइभ’लाई साक्षी राख्दा चैँ खास मक्ख पर्न सकिएन ।
नुनखला (पछि नुनथला भनिएको रे ) मा के भयो भन्नुहुन्छ भनेँ नि, बाटोको छेउपट्टि प्रहरी बुथ छ हगी ! रिमरिम उज्यालो/अँध्यारो छ । बुथछेउमै गाडी के पुगेको थियो, बुथका प्रहरी उछिट्टिएर एकदमै आपतमा झैँ गाडीमै टास्सिउँला झैँ झैँ भएर सरहरू काँसम्म भन्नुभयो करिब करिब आधा सासमा ।
– फलानो ठाउँसम्म ।
– पास छ ?
छ, देखाऊँ ? टाइप्सको मेरो मुद्रा देखेर र घाँटीमा निलो डोरीमा यस्सो नजर अन्दाज गरीवरी निजले ल ल ठिक छ भनेपछि, करिब करिब ४ कि.मि. सम्म त हाम्रो गफको विषय नै “ यार यो पुलिस त के साह्रो आत्तेको ” वरिपरि घुमिरह्यो ।
झोलाभरि इनर्जी ड्रिङ्क लगायतका जुस पदार्थ, चाउचाउ र चकलेट, बोइल्ड अण्डा, कोचिएका थिए, केही पेटमा भरिएका थिए । वर्षातको समयमा खोलानालाको पानी धमिलिएर स्ट्रङ मिल्क टी झैँ रङमा बगिरहेका थिए । तिर्खा मडारिएर घरी घरी घाँटीमै आइपुग्थ्यो र फेरी तलै फर्किन्थ्यो ।
राजापानीमा पानी पिऊँ न त भनेर यस्सो अडिन खोजेको पसलको तारबार, घेराबार देखेर आँटको जाँगर मरेर आयो ।
राजापानीको खङ्ग्रङ्गै सुकेको ओरालो कटेपछि फेदीमा लमतन्न फिँजारिएको रेग्मीटारमा पसल बन्द गरेर तमाम साहुजी साहुनी बरन्डामा हावा खाँदा थिए ओःऽऽऽऽ रमिता हेर्दा थिए ।
भँडार नै रित्तो भएको फिल हुनेगरी रित्तै थियो भँडारे, अलि पर्तिरको रमाइलोमा खल्लो लाग्यो । रसुवा त झन् रसिलै थिएन, उराठ थियो ।
तिर्खाको तिर्खा त राजापानीको टिठलाग्दो परिस्थितिमै मरिसकेको थियो ।
हरेक भन्ज्याङ/चोक/गौँडामा एकथान प्रहरी (मेरो साथी) भेटिन्थे, छेउछाउमा एकथान स्वास्थ्यकर्मी पनि । पिर्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र् सिट्ठी बज्नासाथ ब्रदरले घ्याच्च गाडी रोक्नुहुन्थ्यो ।


सरहरू काँ बाट, गन नभएका प्रहरीले बाटो छेक्नुहुन्थ्यो । म यहाँबाट त्यहाँसम्म भन्ने बेलिबिस्तार लगाएर , पास छ ? भन्ने प्रश्न तेर्सिनुभन्दा अगाडी नै तयार पारेर देखाउँथेँ । हामीले निलो डोरी पनि देखिने गरी घाँटीमा झुण्डाएका थियौँ । त्यो डोरी वास्तवमा पास नै नभएपनि हाम्रो नजरमा पासको भाइसम्म चैँ हो की भन्ने लागेको थियो । प्रत्येक नाका/प्रवेशद्वारमा भएका प्रहरीको सशङ्कित आँखा निलो डोरीमा पुगेपछि आधा सन्तुष्ट भएर फर्किन्थ्यो र बाँकी सन्तुष्टि चैँ पास पत्रले दिन्थ्यो ।
अनि गन सहितकी हँसीँली स्वास्थ्यकर्मीले ताकेर गन तेर्साउँथिन निधारमा र प्रहरीले जान दिएको अनुमतिलाई स्वास्थ्यको नजरबाट अनुमोदन गर्दिन्थिन् । कोभिड कालमा थर्मल गन नामको गनको प्रहार खुब खाइयो हगी !
वास्तवमा मास्कले छोपिएका अजनबी अनुहारहरू अजनबी नै रहन्थे । अब त पिर्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र् सिट्ठी नबजी नै प्रहरीय पोशाक देख्नासाथ हामी रोकिन्थ्यौँ र फटाफट तयारी हुन्थ्यौँ, तयारी प्रश्नको पुरै तयारी जवाफ दिई वरी, पास देखाई वरी, गन खाई वरी पास हुन्थ्यौँ ।
जसोतसो गाउँपालिका पुगियो । गाउँपालिकाको मुखैमा गाडी थन्क्याउन लगाएर एकथान प्रहरी मित्रले ‘चाबी यहीँ छोड्नुस् सरहरू’ भन्नुभो – (हामीसँग पास थियो), र भन्नुभो, ‘स्थानीय युवाहरूले बजारमा टाइट गरेका छन् । ५ बजे भन्दा अगाडी गाडी चलाउन पाइन्न ।’


जवाफमा, ५ बजेपछि कोरोनाले आराम गर्छ हो ? भन्दिएँ मनमनै ।
ल ठिकै छ नि त हामी गाउँपालिकामा कामले आएका थियौँ प्लस इलाका प्रशासनमा पनि काम छ, हामी फर्किहाल्छौँ काम सकेर\ भनेपछि गाडी छोडेर हामी मात्र पास भयौँ । त्यसपछिको करिब करिब ३० मिनेटको पैदलयात्रामा हाम्रो गफको विषय थियो, ‘क्या जमान आयो है यार !’
‘–उम !’
गाउँपालिकाको गेटमा स्यानिटाइज भएपछि हामी गाउँपालिका अध्यक्षको चिटिक्कको क्याबिनमा छौँ । उहाँले मगाउनुभएको कालो चिया वास्तवमै मिठो छ । यत्रो यात्रामा मन लाएर बल्ल कसैले चिया खुवाएको छ ।
गा.पा अध्यक्षको गुनासो टाइप्सको अनुभव चियामा मिसाइएको छ, “स्थानीयहरू सशङ्कित छन् । कोही सक्रिय रूपमा सुरक्षा चेतनाको अभियानमा पनि छन् । कोही ‘भित्री स्यानिटाइजर’ भन्दै दिन रात रक्सी पिउँदा छन् । कोही बाहिरबाट गाउँ भित्रिएर क्वारेण्टिनमा नबस्नलाई अनेक पावर भिडाउँदा छन् । यस्सो सम्झाउन खोजे अर्को पटक भोट चाहिएला नि समेत भन्दा छन् । कोही क्वारेण्टिनमा सुविधा पुगेन भनेर आन्दोलन गर्दा छन्, तोडफोड गर्दा छन् । कोही कोही त अध्यक्ष ज्यू कोरोना सल्किसक्यो क्यै गर्न सक्नुहुन्न ? भनेर धम्क्याउँदा छन् । यस्तै छ हौ हाम्रो पालिकामा, तपाईँहरूको तिर कस्तो छ ?”
पालिकाको हालखबर सोध्दा यस्तो जवाफ पाएर ताज्जुब लाग्यो । हाम्रोतिर नि यस्तै छ । वास्तवमै देशैभरि यस्तै छ भन्ने हाम्रो गफले निचोड निकाल्यो । चिया सकियो, काम पनि सकियो ।
यता चाबी जिम्मा लिएका प्रहरी हामीलाई धुइँधुइँति खोज्दै रहेछन् ।
सर तपैँहरूको चाबी जिम्मा लिनुस्, मेरो सिफ्ट फेरिन लाग्यो । म जान्छु अब । बजारभित्र चैँ गाडी नचलाउनुस् है, पास भए पनि स्थानीयको अभियान हो क्यारे सहयोग गर्दिनु होला भन्दै बाटो लागेपछि हामीलाई मान्न करै लाग्यो ।
इलाका प्रशासनमा हाइ हेल्लो नमस्कार सँगसँगै के था भइहाल्यो भनेँ आज यो ठाउँमा बास पाइन्न ।


नवराज ब्रदरले गुनासो मिश्रित स्वरमा प्रस्तुत भयो –तपैँले टेन्ट बोकेको भए अघिको जङ्गलमा क्या दाम्मी क्याम्प फाइरिङ हुन्थ्यो है सर !
म – ‘हो नि त हगी !’
उहाँ – ‘उम्म त !’
अब दुवैको हाँसो गुञ्जिएको छ । आफ्नै गम्भीर अवस्थामाथि मज्जाको हाँसो बर्साएपछि जे त होला भनेर हामी रिटर्न ब्याक भयौँ ।
खोटाङ बजारबाट सिम्पानी तिर (सिम्पानीबाट खोटाङ बजार तिर ) लम्किँदै गर्दा दुवै तर्फबाट ओरालो सकिएपछिको भित्तामा अडेस लागेकी पिखुवा देवी भेटिन्छिन ।
कलकल धारमा खलखल मुख धुएर, भित्तामा टल्किएको ऐनामा चटक्कै हेरेर/परेर पिखुवा देवीको शरणमा पर्यौँ हामी ।
माते जसोतसो काम त सकियो । गाँसबासको जिम्मा तपैँको है त ! भनेर धारामा अँजुली थापेर घटघट पानी पिएपछि यात्राको यात्रा सुरु भयो ।
सिम्पानीमा दिनेश बस्नेतको विशेष सक्रियतामा १२/१३ वर्षदेखि भाडामा पसल होटेल एण्ड लज धूमधाम चलाएर बसेका गोपाल घिमिरेले शरण दिन सफल भए, साँझ पर्नै लाग्दा ।
गोपाल दाइको चिनी र तातोपानीमा मेरो कफीधुलो मिसिएर/घोटिएर/घोलिएर स्ट्रङ ब्ल्याक कफी बन्यो ।
मैले स्मार्ट/एन्ड्रोइड/दलुवा फोनबाट अस्थायी सन्यास लिएपछि त्यसको सट्टामा किताबले झोलामा भरपुर ठाउँ पाउन थालेको छ आजकल । ब्ल्याक कफीको प्यालातिर आँखै नलाई यस्सो छामछाम छुमछुम गरेर कफी निल्दै पुस्तकमा घोत्लिएको म कोरोनाको कहरले दिनु दिएको यातना बिर्सँदा भएँ ।
एउटा साँघुरो, अँध्यारो कोठामा विस्तारै रात पर्यो र बिहान भयो ।


यात्रा सिम्पानीबाट ओरालो लागेको छ । झोलाले पुनः जुस, इनर्जीवाला पेय, चाउचाउ, चकलेट, बिस्कुट र उसिनेको अण्डाको भारी बोकेको छ ।
जङ्गल छिचोलेपछि बाटो तेर्सिएको छ । तेर्सो बाटोमा एकजना ज्येष्ठ नागरिक बाजे लट्ठीलाई आफ्नो ढाडमा तेर्सो बनाएर अड्याएर, त्यसका दुवै तर्फका हात पछाडिपट्टि लट्ठीमाथी राखेर, अब यो बाटो मेरो हो, टाइप्सले मनमौजी सडक बिचमा हिँडिरहनुभएको छ । टिःँऽऽऽऽऽऽऽ हर्नको तिखो आवाजले उहाँको सात्तो नगएको हामी अनुमान लगाउन वा कामना गर्न मात्र सक्छौँ । सडक किनारपट्टी छड्कीउर उहाँ मुस्कुराउनु भएको छ । यो लिच्की राम्चे हो ।
बाटोहरू दायाँ, बायाँ, सिधा अगाडी समेत हेर्दा तीनवटा मुख आँःऽऽऽ गरेर तेर्सिएका छन् । हामीसँग झोलाले टन्न खानेकुरा बोकेको छ, समयो सिमै छैन भनेँ किन हामी सिधा बाटो छोडेर अर्को बाटो नहिँड्ने त, भन्ने विषयमा छलफल सुरु भयो । र ठाउँको ठाउँ हामी दुई सदस्यले सर्व सम्मत निर्णय पारित गर्यौँ र सिधा बाटोलाई मुल्तबीमा राखेर बायाँ मोडिएका छौँ ।
सधैँ राइट वे मा हिँड्नु पर्छ भनेर धुरुन्धार अध्ययन गरेका हामी यसपालि भनेँ राइट वे छोडेर लेफ्ट मोडिएको केही समय मात्र के भएको थियो, हामी गलत साबित हुन सफल भर्यौँ ।
निकै ठूलो फाँटिलो मैदानमा १०/१२ वटा भिकमाया ज्यान भएका आँपका रुख सिङ्गल सिङ्गल उभिँएका छन्, चोर औँला (इन्डेक्स फिंगर)ले एक, दुई, तीन भनेर गन्दा आँखा गाडीका ठ्याक्कै १६ जति घरले आफ्ना बासिन्दा गुमाएका रहेछन् ।
घरहरू मस्त हाँसिरहेका देखिएका छन्, मान्छेका शासन/अनुशासनबाट मुक्त भएका यी घरहरू क्या मस्त देखिइरहेका छन् हगी नवराज सर !
उहाँ भन्नुहुन्छ होइन सर, मान्छे नभएर यी घर उजाड छन् ।
खैर, म पदम सरलाई झटपट सम्झिन्छु, यो उहाँको बुढी/श्रीमती/जोई/जहान/स्वास्नी/अर्धाङ्गिनी/जीवन सङ्गिनी/वाईफ………….को माइती गाउँ हो ।


टिरिङ………….. टिरिङ……………… टिरिङ……… टिरिङ…………. टिरिङ…….
हेल्लो, पदम सर म तपाईँको ससुरालमा छु मतलब गाउँमा छु, ताज्जुपको कुरा म भोकै छु । अर्को ताज्जुपको कुरो म हराएको छु ।
उहाँ हा ……..हा ……….. हा …………. हाँस्नु हुन्छ । अनि भन्नुहुन्छ, ‘हँसाउनु हुन्छ यारररररर !’ पछाडि लक्ष्मी जी समेतको हाँसो खप्टिन्छ ।
काँ हिँड्नु’भको ?
– घुम्न ।
हन् यहाँका मान्छेहरू कहाँ गए हौ लक्ष्मी जी ?
ये ये त्याँ पो पुग्नु भयो, त्याँका मान्छेलाई त पानीले बसाइँ हिँडायो नि ।
पानी त हाम्रो झोलाले पनि बोकेको छ, हामी सम्झेर घुटक्याउछौँ ।
ओके सी यू सुन म्यान, भनेर चार फन्को लाएर जुन बाटो आएको त्यै बाटो फर्किएपछि तीनमुखे बाटो भेटिँदा झनझनै खुसी भइजान्छौँ । ओरालै ओरालो रसुवा, तेर्सै तेर्सो रमाइलो, भँडारे, रेग्मिटार । उकालै उकालो राजापानी, बुइपा, माहुरे, नुनथला, मुडेलाई साक्षी राखेर अर्को यात्राको तयारी गर्न हामी बिसाउँछौँ ।
साप्सुखेलाभरी माछासरी/किरासरी अटीँनअटी मान्छे मान्छे थिए । दुवाली छेकेर/फर्काएर माछा टिपिरहेका । कोरोना किरा आए, लकडाउन गराए, माछाको सत्यानाश ।
१३ डिसेम्बर २०२० ।




























































Discussion about this post