ललितपुरः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि मन्त्रालय प्रत्यक्षरूपमा कृषकसँग जोडिएको हुँदा उनीहरूका समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
कृषि विभागले बिहीबार ललितपुरमा आयोजना गरेको विभाग र मातहतका निकायको चौथो त्रैमासिक तथा वार्षिक समीक्षा गोष्ठीमा उनले किसान लक्षित कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न र किसानका समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।
‘कृषकका समस्या सामाधानमा मेरो भूमिका रहनेछ । मलाई गल्ती गर्ने छुट छैन’, उनले भने, ‘कृषि उत्पादन वृद्धि र किसानका समस्या समाधानमा मन्त्रालय र विभागबीच नङ र मासुको सम्बन्ध हुनुपर्छ, विभाग थप सक्रिय बन्नुपर्छ ।’
मन्त्री अधिकारीले कृषि क्षेत्रका समस्या समाधानमा विभाग र कृषि विज्ञ सक्रिय हुनुपर्नेमा जोड दिए । उनले भने, ‘विभिन्न बाली तथा पशुमा देखापरेका रोगको उपचार गर्न स्थानीय कृषि शाखा प्रमुख सक्रिय रूपमा किसानसँग जोडिरहनुपर्छ ।’मन्त्री अधिकारीले किसानको आर्थिक अवस्थालाई सुधार्न र उत्पादन थप वृद्धि गर्न आफूले विभिन्न मन्त्रालयसँग परामर्श गरिरहेको र आगामी दिनमा कृषकका विद्यमान समस्याहरू समाधान हुने विश्वास व्यक्त गरे ।
अब भैँसीको मासु र सुन्तला चीन निर्यात हुन्छ
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले प्रशोधित भैँसीको मासु र सुन्तला चीनमा निर्यातका लागि तयारी अन्तिम चरणमा रहेको बताएका छन् । नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत महामहिम चेन सोङ्गसँग शिष्टाचार भेटघाटका क्रममा प्रशोधित भैँसीको मासु र सुन्तला चीनमा निर्यात गर्नको लागि कानुनी प्रक्रियाहरू पुरा गर्ने अन्तिम चरणमा रहेको बताएका हुन् ।


मन्त्रालयमा भएको भेटमा नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालय र चिन सरकारको तर्फबाट कृषि तथा ग्रामीण विकास मन्त्रालय बिच कृषि, पशुपन्छी तथा मत्स्यपालनको क्षेत्रमा यस अघि हस्ताक्षर भएको समझदारी पत्र कार्यान्वयन गर्ने दुवै पक्षबाट प्रतिबद्धता व्यक्त गरेका छन् ।
हाल हेलेज र औषधीजन्य जडीबुटीहरू निर्यात सुरु भएको छ । चीनबाट नेपालको कृषि विकासका लागि पुर्याउँदै आएको सहयोगलाई निरन्तरता दिदैं नेपाल सरकारले चालु आर्थिक वर्ष २०८१–०८२ को दशकलाई “कृषिमा लगानी दशक” घोषणा गरेकाले यसलाई कार्यान्वयन गर्न ठुलो लगानीको आवश्यकता रहेकाले त्यसमा पनि आपसी समझदारीमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको छ ।
यस्तै उन्नत बिउ उत्पादन र प्रविधि हस्तान्तरणमा पनि सहयोग गर्ने बारेमा छलफल भएको अधिकारीले जनाएका छन् ।




























































Discussion about this post