रोलवालिङ उपत्यकाको माथिल्लो उपत्यका, च्छोरोल्पा ताल, यालुङ री र रोलवालिङ हिमनदी नजिक ना गाउँ (४,१८० मि.) रहेको छ । नाबाट च्छोरोल्पा ताल र दुधपोखरीको दृश्यावलोकन गरेर बेदिङ फर्कन पनि सकिन्छ यात्रु स्वस्थ हुँदा । समयले साथ दिएमा ना गाउँमा एक/दुई दिन बसेर त्यस क्षेत्रमा रहेका हिमताल, हिमनदी, विशाल बगर र हिमाली चुचुराहरूको गहन अवलोकन पनि गर्न सकिन्छ । यात्राको पाँचौँ दिन, २०७३ कात्तिक २ गते बिहानै ना गाउँदेखि करिब पाँच किलोमिटर उत्तरपूर्वमा रहेको च्छोरोल्पा तालतिर ठडियौँ । च्छोरोल्पा हिमताल यस क्षेत्रको पदयात्राको मुख्य थलो हो । मौसममा आएको परिवर्तनको कारण नेपाल, चीन, साइबेरिया, आइसलेण्ड, अन्टार्कटिकाजस्ता ठाउँमा हिम चट्टान पग्लँने, हिमताल बन्ने प्रक्रिया र फुटेर तालभन्दा तल्लो क्षेत्रमा बाढी आउने, समुद्र सतह बढ्ने जस्ता क्रम र त्रास प्रतिवर्ष वृद्धि भएको छ ।
च्छोरोल्पा बरफ पग्लेर बनेको नेपालको उच्च क्षेत्रमा रहेको हिमताल हो । यो हरेक वर्ष क्रमशः विस्तार हुँदै गएको छ । शेर्पा भाषामा च्छो (च्सो) भनेको ताल हो । रोलवालिङ यस क्षेत्रको नाम हो । रोल्पा नामचाहिँ रोलवालिङबाट बनेको हो । यसलाई छ्यूगीमा पोखरी पनि भनिन्छ ।
च्छोरोल्पा बरफ पग्लेर बनेको नेपालको उच्च क्षेत्रमा रहेको हिमताल हो । यो हरेक वर्ष क्रमशः विस्तार हुँदै गएको छ । शेर्पा भाषामा च्छो (च्सो) भनेको ताल हो । रोलवालिङ यस क्षेत्रको नाम हो । रोल्पा नामचाहिँ रोलवालिङबाट बनेको हो । यसलाई छ्यूगीमा पोखरी पनि भनिन्छ । यो ताल समुद्र सतहदेखि ४,५५० मिटरको उचाइमा रहेको छ । मनाङमा तिलिचो चुली र अन्नपूर्ण हिमालको मुख्य काखमा रहेको तिलिचो ताल ४,९२० मिटर र आकारमा सानो दामोदर कुण्ड ४,८९० मिटरको उचाइमा रहेका छन् । नेपालमा साना ठुला गरी सयौँ हिमताल रहेका छन् ।


विकिपिडियामा राखिएको जानकारीअनुसार च्छोरोल्पा हिमताल पचास वर्षपहिले मात्र निर्माण भएको हो । त्यस बेला यसको क्षेत्रफल ०.२३ वर्ग किलोमिटर भएकोमा सन् १९९७ मा लिएको भू–उपग्रहको नक्साअनुसार १.६५ वर्ग किलोमिटरमा फैलिएको छ । अहिले त पक्कै पनि बढेको छ । यसको वरपरको गहिराइ ५५ मिटर, बिचको गहिराइ १३५ मिटर, लम्बाइ ३.४५ किलोमिटर र चौडाइ ५०० मिटर रहेको छ । तालमा १० करोड घनमिटर पानी रहेको अनुमान गरिएको छ ।
मैले सन् २०१९ को अक्टुबरमा कञ्चनजङ्घा आधारशिविरको यात्रा गर्दा कञ्चनजङ्घा हिमनदीमा पनि माथि भनिएझैँ, त्यस बेला स–साना हिमताल बगरको वरपर देखेको थिएँ । तिनले पनि समयक्रममा च्छोरोल्पा तालको रूप लिने त होलान् नि ! झल्यास्स त्यस्तो तर्क मनमा उब्ज्यो ।
हिमतालसम्बन्धी अध्ययन गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाले ताल फुट्न सक्ने र त्यसले नदीको तल्लो तटीय क्षेत्रमा धनजनको ठुलो नोक्सान गराउन सक्ने खतरा औँल्याएका छन् । च्छोरोल्पा ताल फुटेर भविष्यमा तामाकोशी किनारवरपरका बस्ती जोखिममा नपरून् भनेर त्यहाँ तालको गतिविधि अनुगमन गर्न सूचना प्रणाली जडान गरी अनुगमनका साथै पानी नियन्त्रण द्वार बनाइएको छ । ताल फुटेमा माथिल्लो पखेरामा कुद्न भ्याउने गरी स्थानीय बासिन्दाले ‘घण्टी बजेको सूचना पाउने छन्’ भनिएको छ । ती उपकरणले काम गर्लान् वा नगर्लान् त्यो भने गौरीशङकरमाथि नै भर नपर्ला भन्न सकिन्न । अन्य परिस्थितिले त्यस्तो देखाएको छ । हाम्रो चाहना नागरिक सुरक्षित रहून् भन्ने हो । हिउँ पग्लेर पानीको तह वृद्धिको आधारमा पानीलाई पठाउन सक्नेगरी फलामको ढोका बनाइएको छ । तालको प्राकृतिक बाँध भने हिमतालको बगर नै हो । ढोकाबाट निस्केको पानी सेती नदीभन्दा सेतो देखिन्थ्यो । बाँध बनाएको भिरालो भागबाट सो पानी झरनाको आकारमा झरेर खोलाको रूप लिएको छ । यो खोला तामाकोशीको ठुलो शाखा हो ।
पश्चिमतिरको ओमी च्छो गो चुचुरोको छायाँ ठ्याक्क च्छोरोल्पामा परेको थियो । पानी दुध रूपमा भएकोले हिमालको छायाँ सङ्लो पानीमा जस्तो प्रस्ट देखिदैनथ्यो । कतै–कतै पछ्यौँरीले कम्मरमा पटुका बाँधेजस्तो गरी बादलले हिमाल र अग्लो चट्टाने पखेरालाई ढाके पनि मौसम खुल्दै गएको थियो । तालको दक्षिणतर्फ तालकै संरक्षणको लागि बसे जस्तो चट्टान र बगरको भागबाट पनि बादल रोलवालिङ हिमनदीतिर लम्क्यो ।
हामी तालको किनारमा पुग्दा बिहान ८ः३० बजेको थियो । मौसम अघिल्लो दिन दुधपोखरीमा जाँदाजस्तो सफा थिएन । च्छोरोल्पा तालभन्दा माथिल्लो खण्डमा भुल्के कुहिरोले हिमाल मेरै प्रियसी हुन् भने जस्तो गरी अँगालोमा कसेको थियो । हिमतालभन्दा उत्तरतिरका काङ नाचु गो (६,७३७ मि.), ओमी च्शो गो (६,३३२ मि.), दिङइङ री र रोलवालिङ काङ (६,६६४ मि.)का चुचुराहरू बादलसँग लुकामारी खेल्दै थिए । तालसँगै टाँसिएको पूर्वतिरको अग्लो नुम री (६,१६६ मि.) को चुली बिहानीको सूर्यको किरणले गर्दा मधुरो देखिएको थियो । हामी त्यहाँ घुम्दै गर्दा बादल उठेर पश्चिमतिर लम्क्यो । तालको सम्पूर्ण रूप छर्लङ्ग देखियो । पश्चिमतिरको ओमी च्छो गो चुचुरोको छायाँ ठ्याक्क च्छोरोल्पामा परेको थियो । पानी दुध रूपमा भएकोले हिमालको छायाँ सङ्लो पानीमा जस्तो प्रस्ट देखिदैनथ्यो । कतै–कतै पछ्यौँरीले कम्मरमा पटुका बाँधेजस्तो गरी बादलले हिमाल र अग्लो चट्टाने पखेरालाई ढाके पनि मौसम खुल्दै गएको थियो । तालको दक्षिणतर्फ तालकै संरक्षणको लागि बसे जस्तो चट्टान र बगरको भागबाट पनि बादल रोलवालिङ हिमनदीतिर लम्क्यो ।
अनायासै मैले तिब्बतको कैलाश पर्वत र मानसरोवरलाई सम्झेँ । कैलाश पर्वतवाट जलक्रीडा गर्न शिव र पार्वती हाँसको रूपमा मानसरोवरमा प्रत्येक दिन एकाबिहानै आउँछन् भन्ने विश्वास गरिन्छ । त्यस बेला मानसरोवर तालमा हावाको गतिसँगै लहराउने छालमाथि तैरिँदै मायाप्रेममा तल्लीन हाँसको जोडीलाई गुर्लामन्दता हिमालले टुलुटुलु हेरेको हुन्छ । त्यसै बेला मलाई लाग्यो, च्छोरोल्पा तालको दक्षिण कोणमा तालमै अवस्थित चट्टान पनि कतै जलक्रीडा सम्पन्न गरी चट्टानको रूप धारण गरेर विश्राम गरेका शिव र पार्वती त होइनन् ? म झल्यास्स भएँ ।
साथीहरू तालको अग्र भाग, जहाँ तालको गतिविधिबारे जानकारी दिने सूचना प्रणाली राखिएको थियो; त्यसको नजिकै ढुङ्गामाथि ढुङ्गा खप्ट्याएर छुट्टाछुट्टै थुप्रो पारिएको केर्न वरपर तस्बिर लिँदै हुनुहुन्थ्यो । यस प्रकारका केर्न (ढुङमाथि ढुङ्गा राखेर बनाइको थुप्रो) राख्ने चलन संसारभर हुँदो रहेछ । यसलाई बाटोको सङ्केत, चुचुरोको सङ्केत, दाहसंस्कार गरिएको स्थानको सङकेतको रूपमा राख्ने चलन विश्वभर छ । नेपालमा पनि प्रायः सबै ठाउँ खासगरी हिमाली क्षेत्रमा बाटोको चिह्नको साथसाथै मृतकलाई गाडेको वा जलाइएको ठाउँमा त्यसरी ढुङ्गा माथि ढुङ्गा खप्ट्याएर राख्ने गरिन्छ ।
साथीहरूलाई त्यहीँ छोडेर म तालको दक्षिण किनारको गोरेटो हुँदै पूर्वतिर लागेँ । त्यो पदमार्ग नेपालको कठिन भञ्ज्याङमध्येको एक तासी लाप्चा (५,७५५मि.) भञ्ज्याङ पार गर्दै थामे निस्कने मार्ग हो । बरफ, ठाडो बरफ सहितको चट्टान, हिमनदी, ढुङ्गा झर्ने, गहिरो धाँजा, उच्च भन्ज्याङ र बास बस्ने ठाउँ नभएके कारण यो कठिन मार्गमा पर्दछ । थामेबाट पूर्वतर्फ नाम्चे हुँदै सगरमाथा र उत्तरतर्फ नाङपा ला (५७१६ मि.) हुँदै तिब्बत जाने प्राचीन मूल मार्ग रहेको छ ।
काठमाडौँदेखि रोलवालिङ उपत्यका–च्छोरोल्पा–तासीलाप्चा–थामे हुँदै सगरमाथा आधारशिविर जाने सबैभन्दा छोटो पुरानो ऐतिहासिक मार्ग हो । यसमा पर्ने सबैभन्दा कठिन भञ्ज्याङ तासीलाप्चा हो जुन ५,७५५ मिटरको उचाइमा रहेको छ । यसको अर्को महत्वपूर्ण पक्ष भनेको यही हिमाली धार वा शृङ्खलाले पूर्वको महालङ्गुर हिमालय, खुम्बु क्षेत्र र पश्चिमको रोलवालिङ हिमालय खण्ड छुट्ट्याउँछ । त्यसैगरी यसले दुधकोशी र तामाकोशी नदीको बहाव उपत्यकालाई छुट्याउँछ । तासीलाप्चा पार गर्नु अति नै कठिन छ । हालैका दिनमा स्थानीय निकाय, पर्यटन व्यवसायी र नेपाल सरकारको पहलमा तासीलाप्चाको त्यस अति विकट खण्डमा बास बस्न मिल्ने छाप्रो र चट्टानको खण्डमा त्यसलाई खोपेर टेको (खुड्किलो) र समात्नका लागि डोरीको व्यवस्था गरिएको छ । ग्रेट हिमालयन ट्रेलको वर्गीकरणको आधारमा यो मार्गलाई कठिन भागमा राखिएको छ ।
मैले तासीलाप्चा क्षेत्रको केही परसम्मको बाटो हेरेर फर्केँ । सन् १९९४ को अक्टुबरमा गोक्यो पिक, चोला पास र कालापत्थर चढेर फर्कँदा म थामेसम्म पुगेर नाम्चे नै फर्केको थिएँ । मेरो यात्रामा च्छोरोल्पादेखि थामेसम्मको खण्ड भने बाँकी रहेको छ । ना गाउँदेखि पालसहितको बन्दोबस्तीका साथ थामे पुग्न तीन–चार दिन लाग्छ ।
अति छोटो अवलोकन गरी साथीहरू भए छेउ पुगेँ । अग्लो केर्न र च्छोरोल्पा तालको सम्पूर्ण आकार आउने गरी तालको तस्बिर लिएँ । तालसम्म मिठाराम, अनामिका र हिमाल न्यौपाने पनि साथमै भएकाले थप रमाइलो भएको थियो । तालको सौन्दर्य, तालनजिकको चुनढुङ्गाको पखेरो र मन्द रूपमा आराम गरिरहेजस्तो अवस्थामा रहेको दुधताल पनि भन्न मिल्ने नेपालको अति नै चर्चित हिमतालको अवलोकन गर्दै खाजा खायौँ । त्यसपछि तालको सूचना प्रणाली भएको ठाउँ, फलामको ढोका र पानी झर्दै गरेको ठाउँको अवलोकन गर्यौँ । त्यहाँ देखिएको सौन्दर्य र भौगोलिक अवस्थितिलाई पनि मनभित्र राख्यौैँ । त्यहाँबाट बेदिङसम्म फैलिएको रोलवालिङ उपत्यका र नाबाट उत्तरतिर छिरेको अर्को उपत्यका हेर्दै ना गाउँतिर झर्यौँ । झर्दै गर्दा मलाई के लाग्यो भने रोलवालिङ उपत्यकामा खाने, वस्ने ठाउँको राम्रो व्यवस्था र सूचना सहितको सुरक्षित पदमार्ग हुने हो भने हरेक वर्ष पचासदेखि साठी हजार नेपाली युवा नै पर्यटक बनेर त्यहाँ रमाउँदै, नाच्दै, गीत घन्काउँदै पुग्ने थिए । त्यसबारे विचार गर्नुपर्छ ।


वि.सं. २०६७ साउन ३ मा बीस वर्षको लागि यस क्षेत्रको संरक्षणको जिम्मा राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिइयो । अन्नपूर्ण, मनास्लुजस्तै यो पनि संरक्षण क्षेत्र हो । यो क्षेत्र लाङटाङ र सगरमाथा राष्ट्रिय निकुञ्जको बिचमा पर्दछ । यसको क्षेत्रफल २१७९ वर्ग किलोमिटर रहेको छ भने सिन्धुपाल्चोक, दोलखा र रामोछाप जिल्लाका दुई नगरपालिका र ८ गाउँपालिका यसमा पर्दछन् ।
जलवायुमा आएको परिवर्तनले मानव, जीवजन्तु, वनस्पति र हिमालमा प्रत्यक्ष प्रभाव पारेको हाम्रा समान्य आँखाले पनि देख्न सकिन्थ्यो । दस वर्ष पहिलेको तुलनामा त्यसबेला हिउँ कम परेको, पहिले फुल्ने फूल देख्न छोडिएको, पहिले पाइने च्याउ र जडिबुटी देखिन छोडेको, चौरी चर्ने खर्क सुख्खा भएको कुरा ना होटलकी आमाले आफ्नो अनुभव सुनाउँदै हामीलाई भन्नुभएको थियो । यस अवस्थामा यहाँको जैविक विविधता, जीवजन्तु, चराचुरुङगी, वनस्पति, हिमाल, पर्वत, नदी, खोला, झरना, दर्शन, धर्म, संस्कार र संस्कृति आदि धेरै विषयको संरक्षण गर्न पनि उत्तिकै जरूरी छ । यी सम्पूर्ण पक्षहरूको दीर्घकालीन संरक्षणलाई ध्यानमा राखी नेपाल सरकारले वि.सं. २०६६ पुस २७ मा गौरीशङकर प्रकृति संरक्षण क्षेत्रको स्थापना गरेको हो ।
वि.सं. २०६७ साउन ३ मा बीस वर्षको लागि यस क्षेत्रको संरक्षणको जिम्मा राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिइयो । अन्नपूर्ण, मनास्लुजस्तै यो पनि संरक्षण क्षेत्र हो । यो क्षेत्र लाङटाङ र सगरमाथा राष्ट्रिय निकुञ्जको बिचमा पर्दछ । यसको क्षेत्रफल २१७९ वर्ग किलोमिटर रहेको छ भने सिन्धुपाल्चोक, दोलखा र रामोछाप जिल्लाका दुई नगरपालिका र ८ गाउँपालिका यसमा पर्दछन् ।
सानो क्षेत्रमा उपोष्णदेखि टुन्ड्रा हावापानी पाइने भएकाले वनस्पति, जीवजन्तु, जातजाति, संस्कृति, धर्म, दर्शन, चाडपर्व, जन्म र मृत्युसंस्कार, भेषभूषा, खानाको परिकार आदिमा विविधता रहेको पाइन्छ । यो समग्र संरक्षण क्षेत्रमा तामाङ जातिको ठुलो बसोबास छ भने शेर्पा, क्षेत्री, जिरेल, कामी, दमाई, सार्की, गुरुङ, थाङमी (थामी) बाहुनलगायत अन्य जातिको पनि बाक्लो बसोबास रहेको छ ।
गौरीशङ्कर संरक्षण क्षेत्रका अनुसार यस क्षेत्रको जङ्गल र झाडीले कुल भूभागको करिब ४४.५ प्रतिशत भूमि ओगटेको छ । यसअन्तर्गत खेतीयोग्य भूमि ८.८ प्रतिशत, घाँसे पखेरा, खर्क र खरबारी ८.६ प्रतिशत, हिमनदी २.७७ र अन्य सुख्खा क्षेत्र रहेको छ । यसरी यस क्षेत्रमा ५६५ थरिका वनस्पति, ३५ थरिका जनावरमध्ये प्रमुखमा हिमचितुवा, हिमाली ब्वाँसो, कस्तुरी मृग, घोरल, थार, झारल, हाब्रे, ठुटे मुसा, हिमाली मलसाप्रो पाइन्छन् । यहाँका नदी र खोलामा १६ थरिका माछा, जमिन र पानीमा बस्ने ९ थरिका जीव, २२ थरिका सर्पको वर्गमा पर्ने जीव र २३५ थरिका चराचुरुङ्गीमध्ये प्रमुखमा चिलिमे, हिमाली हिउँकुखुरा, टुङ्गा, डाँफे, कल्चौडा, हिमाली लेक चरी, हुपी, हिउँजुरे तोरी गाँडा, तिब्बती हिउँकुखुरा, हिमाली ढुकुर, गिद्ध, लामो पखेटा हुने गिद्ध आदि यस क्षेत्रमा पाइन्छन् । गौरीशङ्कर संरक्षण क्षेत्र सगरमाथा र लाङटाङ राष्ट्रिय निकुञ्जसँग जोडिएकाले जैविक मार्ग बन्न पुगेको छ । प्रमुख नदीमा भोटेकोशी (पछि सुनकोशी), तामाकोशी, खिम्ती, बलेफी आदि नदी रहेका छन् । लिखु नदीको शिर पनि च्छोरोल्पाभन्दा दक्षिण पूर्वमा रहेको लिखु हिमनदी हो ।
यात्राकै क्रममा किन नहोस्, च्छोरोल्पा ताल, रोलवालिङ हिमनदीको सुख्खापन, हिमालवरपर र तल्लो भागमा देखिएको काला पहाडले हामीलाई निकै दुःखी तुल्यायो । हुन त झर्दै गर्दा देखिने सेता चुचुरा र सफा हृदय भएको रोलवालिङ उपत्यकाले हिमालकै भाषामा ‘पिर नगर’ भने जस्तो लाग्थ्यो । यथार्थ र भावनासँग द्वन्द्व गर्दै ना गाउँमा पुगेको थाहै भएन ।
खाना तयार थियो । उचाइमा तलमाथि गरेकोले थाकेर सबैको अनुहार रातो र शरिर तातो भएको थियो । आँखा राता देखिनुका साथै तिनमा थकानको झलक छर्लङ्ग देखिन्थ्यो । थकानले अघिल्लो दिनमा जति दालभात खान सकेनौँ । जे जति रुच्यो स्वादका साथ खायौँ । रुकस्याक ठिक गर्यौँ । केही सामान छुट्यो कि भन्दै दोहोर्याएर हेर्यौँ ।
च्छोरोल्पा, तासीलाप्चा, यालुङ ला, छुकिमा, रोलवालिङ हिमनदी, चोबुजे, रोलवालिङ काङसँग फेरि भेट गर्न आउने वाचा गर्दै मैले बिदा मागेँ । अन्तमा दुई दिनसम्म मिठो खाना खुवाउँदै, आफ्नै सन्तानलाई झैँ माया गर्ने ना लजकी आमासँग बिदा भएर बेदिङतिर झर्यौँ । यो साँझ हामी सगरमाथा आरोहीकै होटलमा बास बसेका थियौँ । हिमाल आरोहणका कठिन र रोमाञ्चक घटनाहरू उहाँले सुनाउनुभएको थियो । उहाँको नामको हेक्का नराखेकोमा अहिले दुःख लागेको छ ।
भोलिपल्ट छैटौँ दिन निकै लामो हिडाइ भयो, जुन गलत थियो र हो पनि । त्यो दिन झण्डै बाह्र घण्टा हिँडेर बेदिङबाट गोङ्गोर झरेका थियौँ । मित्र हिमाल न्यौपानेलाई दुई घण्टा बढी लागेको थियो । नाम हिमाल भए तापनि उहाँलाई त्यो यात्रा कठिन तर रोमाञ्चक भएको पछिल्ला दिनमा पनि सुनाउनु हुन्थ्यो । सातौँ दिनको बिहान बसबाट काठमाडौँ लाग्यौँ ।
बाटोनजिक देखिने दोलखाका फाँटमा धान पाकेर पहेँलपुर बनेर साँच्चिकै लोभलाग्दो देखिएको थियो । पाकेर नुगेको धानका बाला देख्दा एक दुई दिन त्यतै बसेर धान काटेर फर्कूँ कि जस्तो पनि लाग्थ्यो । त्यो भावना मात्र थियो । यथार्थमा म त बसमा काठमाडौँको धुलो र धुँवाको कालो मुस्लो निल्न त्यतै कुँदिरहेको थिएँ । जे होस्, त्यस बेला खेतको आलीमा उभिएका किसानको अनुहार उज्यालो देख्दा मेरो मन पनि आनन्दले फुरुङ्ग भएको थियो । मलाई यस्तो लाग्यो कि किसानको आँखाको ज्योती चोबुजे चुली चमक्क चम्केझैँ चम्केको छ । जताततै रमाइलै रमाइलो थियो । एकातिर धान र कोदो थन्क्याउने चटारोमा किसान मुस्काएका थिए भने अर्कोतिर तिहार र छठले पनि गौरीशङ्कर मुस्काएझैँ अग्रिम मुस्कान पस्किसकेको थियो ।
[प्रस्तुत यात्रा संस्मरण टुर न्यूज, मासिक, वर्ष २, अंक ११, असोज २०८० मा समेत प्रकाशित छ- सम्पादक ।]































































Discussion about this post