पोखराः अन्नपूर्ण संरक्षण क्षेत्र (एक्यापमा)पदयात्रामा जाने पर्यटकको संख्या कोभिड अघिकै हाराहारीमा पुगेको छ। पर्यटक आगमन लयमा फर्कने क्रममा आर्थिक वर्ष २०७९र०८० मा अन्नपूर्ण क्षेत्रमा पर्यटकको आगमन १ लाख ७२ हजार १ सय ८ जना पुगेको एक्यापका सूचना अधिकारी रविन कडरियाले जानकारी दिए। यो संख्या कोभिड अघिको वर्ष २०७५र०७६ मा १ लाख ८३ हजार ३ सय ५७ जना थियो।
अन्नपूर्ण क्षेत्रमा सबैभन्दा धेरै पर्यटक आव २०७५र०७६ मा १ लाख ८३ हजार ३ सय ५८ जनाले पदयात्रा गरेका थिए। कोभिडका कारण पर्यटकको आगमन कमी हुँदै जाँदा २०७६र०७७ मा १ लाख ४ हजार १ सय ६५ जना पदयात्रामा पुगेका थिए।
कोरोना संक्रमण विश्वव्यापी बन्दै जाँदा पर्यटकको आगमन खस्कँदै जाँदा अन्नपूर्ण क्षेत्रमा पदयात्रामा जाने पर्यटकको संख्या कमी भएर आव २०७७र०७८ मा ४ हजार ९ सय १६ जना मात्रै पुगेका थिए। यसपछि विस्तारै कोरोना संक्रमण नियन्त्रणमा आउन थालेपछि पर्यटकको आगमन बढ्दै गएर आव २०७८र०७९ मा ७५ हजार ८ सय २४ जनाले भ्रमण गरेका थिए।
आव २०७९र०८० मा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक प्रवेश शुल्कबाट भ्याटसहित एक्यापले २९ करोड ९४ लाख ३९ हजार रुपैयाँँ आम्दानी गरेको सूचना अधिकारी कडरियाले जानकारी दिए। गण्डकी प्रदेशमा पर्यटक कति आउँछन् भन्ने आधिकारिक तथ्यांक एक्याप र पोखरा विमानस्थलबाहेक अन्यत्र राखिँदैन। गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कोभिडअघिको दुई वर्ष प्रदेशमा आउने पर्यटकको तथ्यांक राख्न सुरु गरे पनि त्यसपछि राख्न छाडेको हो। यसैले गण्डकी प्रदेशमा वार्षिक कति पर्यटकले भ्रमण गर्छन् भन्ने यकिन तथ्यांक नै छैन। गण्डकी प्रदेशको राजधानी पोखरामा पनि बर्सेनि कति पर्यटक आउँछन् भन्ने यकिन तथ्यांक नै राखिने गरेको छैन।
गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पर्यटक आगमन बढ्ने विश्वासमा पर्यटकीय पूर्वाधारमा लगानी बढिरहेको छ। पछिल्लो पाँच वर्षमा पोखरामा होटलमा मात्र एक खर्ब रुपैयाँँभन्दा बढी लगानी भएको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताए।
पोखरामा होटलमा मात्र लगानी करिब साढे चार खर्ब रुपैयाँँ रहेको पनि सुवेदीले जानकारी दिए। होटल संघ पोखरा नेपालमा आबद्ध होटल ४ सय २५ वटा रहेका छन्। त्यसभन्दा बाहेक करिब ३ सय होटल पोखरामा रहेको पनि उनले सुनाए।
पोखरामा रेस्टुरेन्ट, साहसिक खेल प्याराग्लाइडिङ, बन्जी, जिप लाइन, अल्ट्रालाइट, राफ्टिङ, कायकिङलगायत पर्यटन क्षेत्रमा गरी खर्बांैको लगानी रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए। पर्यटन क्षेत्रको पूर्वाधारमा लगानी थपिँदो क्रममा छ तर पर्यटक आगमन र आएका पर्यटकको बसाइ पनि थोरै हुँदा पर्यटन क्षेत्रको लगानी जोखिममा परेको व्यवसायी सुनाउँछन् । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित भएको छ ।




























































Discussion about this post