काठमाडौं: अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले साफ यू–१९ फुटबल च्याम्पियनसिपको तयारी सुरु गरेको छ । पाँचौं संस्करणको साफ यू–१९ फुटबल च्याम्पियनसिप असोज ४ देखि १३ गतेसम्म दशरथ रंगशालामा आयोजना हुन् लागेको हो ।
च्याम्पियनसिपका लागि एन्फाले जिल्ला र प्रदेश हुँदै केन्द्रीय स्तरसम्मको छनोट गराएर ३५ जना खेलाडीलाई प्रशिक्षणमा राखेको छ । छनोटमा देशभरबाट पाँच सय ४६ खेलाडी सहभागी थिए । यस च्याम्पियनसिपमा नेपाल, माल्दिभ्स, पाकिस्तान, भारत, भुटान र बंगलादेशको सहभागिता रहने छ ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपालको समूहमा पाकिस्तान र माल्दिभ्स रहेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपालले यसपटक पनि उपाधि जित्ने लक्ष्य राखेको छ । नेपालले यसअघि सन् २०१५ र २०१७ मा उपाधि जितेको थियो ।
एन्फाले च्याम्पियनसिपका लागि टिकेटिङ अधिकार, यातायात र होटेललगायत अन्य आवश्यक सुविधाका लागि खुला प्रतिस्पर्धाको सूचना जारी गरिसकेको जनाएको छ । सहभागी टोलीले च्यासल र भद्रकालीस्थित आर्मीको खेल मैदानमा अभ्यास गर्नेछन् ।
च्याम्पियनसिप सम्पन्न गर्न दुई करोड ७७ लाख ३२ हजार ८ सय रुपियाँ खर्च हुने र यसको आर्थिक व्यवस्थापन दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले गर्ने बताईएको छ ।




























































Discussion about this post