हेटौँडाको कान्तिराजपथ भएर यात्रा गर्दै हुनुहुन्छ भने चुच्चेखोलामा एकछिन रोकिन करै लाग्छ । चुच्चेखोला पुग्दा सडकबाटै खुवा घोट्दै गरेका दृश्यहरू देखिन्छन् । यहाँ लहरै रहेका झन्डै एक दर्जन पसलहरूमा बिहानदेखि बेलुकैसम्म खुवा (कुराउनी) पकाइन्छ, जसको मीठो वासना सडकसम्म फैलिएको हुन्छ । यो बाटो हुँदै आवतजावत गर्नेलाई यहाँ नरोकिई सुख हुँदैन, किनभने पूर्वपश्चिम राजमार्गको बाजेको पेडा जस्तै यहाँको खुवाको चर्चा व्यापक छ । यस खुवाको आत्मकथा तपाईँलाई नसुनाई भएको छैन, तपाईँलाई खुवा नचखाई भएकै छैन ।
चुच्चेखोलाको खुवाको चर्चा हेटौँडामा मात्रै हैन, पोखरादेखि वीरगन्ज, नारायणगढ र जनपुरसम्म छ । हेटौँडाको चुच्चेखोलामा तयार हुने खुवाको प्रमुख बजार पनि यिनै सहर हुन् । हेटौँडा पुगेकाहरूले चुच्चेखोलासम्म पुगेर कोसेली लैजाने प्रचलन पुरानै हो । फेरी रमाइलो कुरा के भन्दा, देशका जतिसुकै आर्थिक मन्दि भए पनि यहाँका खुवा व्यवसायीलाई बजारको कुनै पिर चिन्ता नै छैन । उनीहरूको व्यवसाय यथावत् रूपमा चलिरहेकै छ ।
दूधलाई ३ चरणमा फरक–फरक चुल्होमा तताएपछि चौथो चरणमा मात्रै खुवा तयार हुन्छ । एक चरणमा खुवा तयार गर्न २० मिनेट मात्रै लाग्छ । यहाँका अधिकांश पसलमा परिवारका सदस्यहरूले पालैपालो बसेर खुवा घोट्छन् । खुवा घोट्ने प्रक्रियामा दाउराकै प्रयोग गरिने हुँदा मिठो खुवा खाइरहँदा आँत पनि तातो हुन्छ, जीउ पनि न्यानो हुन्छ ।


बिहान ८ बजे रामकुमार तिमिल्सिना ‘श्री कृष्ण खुवा’ घोटिरहेका छन्, उनका बुबा कृष्ण प्रसाद तिमिल्सिनाकै कारण चुच्चे खोलाको खुवाले ख्याति कमाएको हो । उनी गर्वसाथ भन्छन्, “चुच्चेखोला चिनिएको खुवाले, खुवालाई चिनाएको हाम्रो बुवाले ।” बुबाले अँगालेको व्यवसायले निरन्तरता दिइरहेका छन् रामकुमार । उनी बिहान ५ बजेदेखि बेलुका अबेरसम्म खुवा घोटिरहेका हुन्छन् । उनकी श्रीमती पसल सम्हालिरहेकी छन् भने बुबा कृष्ण प्रसाद वरपरका कृषकका गाइ-भैँसीका हालखबर बुझिरहेका हुन्छन्, आफ्ना प्राचीन मित्रगणसँग बात मारिरहेका हुन्छन् ।
श्री कृष्ण खुवा पोखरा, जनकपुर, काठमाडौँसम्म पुग्छ । दैनिक रूपमा बसमार्फत खुवा बाहिर पठाउने गरिन्छ । हेटौँडा बाहिरका मिठाइ व्यवसायीहरू ‘श्री कृष्ण खुवा’ भनेपछि आँखा चिम्लेर ग्रहण गर्छन् । श्री कृष्ण खुवा चुच्चे खोलाको ब्रान्ड बनेको छ । खाद्य जिज्ञासुका लागि यो थलो नपुगी नहुने गन्तव्य हो ।
कृष्ण प्रसाद तिमिल्सिनाले २०३६ सालदेखि स्थानीय कृषकबाट दूध सङ्कलन गरी खुवा बनाउन सुरु गरेका हुन् । त्यतिबेला दूधको भाउ एक रुपैयाँ माना थियो । काभ्रेबाट हेटौडा झरेका कृष्ण प्रसादले प्रतिकिलो १५ रुपैयाँमा बेच्न सुरु गरेको खुवाले अहिले देशभर ख्याति कमाएको छ । “यहाँ सानो बजार थियो तर वस्तु पाल्ने, दूध बेच्ने चलन थिएन । बुबाले खुवा बनाउन थालेपछि भैँसी पाल्ने किसानहरू पनि व्यावसायिक रूपले अगाडी बढे र हाम्रो व्यवसाय पनि बढ्दै गयो ।”, छोरा रामकुमार बताउँछन् । यस पसल चलेसँगै वरिपरि अन्य १०/१२ वटा खुवा पसल पनि थपिएका छन् । चुच्चे खोला खुवाको लागि नामचिन थलो बन्दै गएको छ ।
यहाँ भैँसीकै दूध प्रयोग गरि खुवा बनाइन्छ । १२ महिना खुवा बनाइने यहाँ दिनको २०० लिटर दूध ठेक्का रहेको छ । “चाडबाडमा दोब्बर-तेब्बर खुवा बनाउँदा पनि पुग्दैन । बनाउन सक्नुपर्यो त्यतिबेला जति पनि जान्छ”, तिमिल्सिना भन्छन् । यहाँको खुवा नेपालभरि मात्रै नभएर अमेरिका-अष्ट्रेलिया जानेहरूले पनि लिएर जाने गरेका छन् । प्रतिकिलो रु पाँच सयमा खुवा बेच्दै आएका तिमिल्सिनाले गुदपाक, घ्यू, पनीर र मिठाइ पनि बेच्दै आइरहेका छन् ।


श्रीकृष्ण तिमिल्सिना २०२४ सालमा जन्मथलो काभ्रे छाडेर कलकत्ता पुगे । कलकत्तामा ७ वर्ष बसेपछि काठमाडौँ पुगेका उनी त्यही ४ वर्ष रहे । “साहुका काम गर्याथेँ। काम गर्दै जाँदा साहुले नराम्रो वचन भन्यो । यसपछि अर्काको नोकरी जिन्दगीमा गर्दिनँ भनेर काम समातेँ”, तिमिल्सिना आफ्नो विगत सम्झँदै भन्छन्, “नोकरी छाडेँ तर, के गर्ने भन्ने थाहा थिएन । घर बस्न मन थिएन । ७/८ वटा दाजुभाई थियौँ । मलाई यो गर्,उ गर् भनेर सल्लाह दिने मान्छे पनि कोही भएन । बगाली छाम्दा ४०० रुपियाँ भेटेँ । मेरो मामाघर यहि माथि थियो, मामाघर आएँ ।” मामाघर आएर १० दिन झोक्र्याइसकेपछि उनी चुच्चेखोला झरे । यहाँ उनले चिया पसल गरिरहेका काभ्रेकै एक मान्छे भेटे । “यो पसल गर तिमि भनेर उसले मलाई छाडिदियो । ६/८ महिना मैले सोही चिया पसल सम्हालेँ । दिनहुँ चिया उमाल्दा नौलो काम के भन्ने सोचिरहेँ,” उनले खुवा व्यवसाय थाल्नुपूर्वको पूर्वकथन तुरे ।
यसपछि उनले मकवानपुर जिल्लामै नभएको नौलो खुवा व्यवसाय सुरु गर्ने विचार गरे । यसका लागि गाउँका एक किसानलाई दुई वटा भैँसी किन्न सुझाए । “तपाईँ भैँसी किन्नुस्, म कराई किन्छु भनेर बोलेपछि खुवा बनाउन सुरु भयो”, तिमिल्सिना भन्छन्, “दुई वटा भैँसीको बिहान-बेलुकाको दूध घोटेर कचौरामा राखे, तर कसैले चिन्दैन । यो मान्छे हिँड्ने बाटो एवम् भारी बिसाउने थलो भएकाले आउजाउ गर्ने सबैलाई चखाउन थालेँ । विस्तारै हेटौँडातिर थाहा भयो । मान्छेले कोसेली बोक्न थाले । हात्तीको पाइला सरह खुवाको चर्चा बजारतिर लम्कँदै गयो”, उनले भने ।
तिमिल्सिनाको खुवा शहरतिर लम्किन थालेसँगै स्थानीय कृषकहरूका गोठमा गाइ-भैँसी थपिन थाले । कृषकहरूले आफ्नो दूध बेच्ने थलो भेट्टाए । गाइ-भैँसी पाल्ने कृषकको सङ्ख्या अहिले निकै बढेको छ, वरपर खुवा पसलहरू पनि थपिएका छन् ।


चुच्चेखोलमा सबैले देख्ने गरी आगो नै बालेर सफा र शुद्ध तवरले खुवा घोटिन्छ । यहाँ गाइको दूधबाट खुवाइ बनाइँदैन । किनभने गाईको दूधको खुवा खान पनि उत्ति स्वादिलो हुँदैन भने देख्न पनि त्यति राम्रो हुँदैन । खुवा घोट्दा डढ्ने समस्याका कारण पनि गाईको दूधलाई चुच्चेखोलाका व्यवसायीले रोजेका छैनन् । अहिले भैँसी पाल्ने क्रम ह्वात्तै घटेको छ । विकासे प्रजातिका गाई पाल्ने क्रम बढ्दै गर्दा भैँसीको दूध पाउन मुस्किल हुन्छ । भैँसीले गाईको तुलनामा कम दूध दिने भएकाले किसानले पाल्नै छाडेका छन् ।
एउटा भैँसी किन्न नै एक लाखसम्म खर्चिनुपर्ने भएपछि किसानले ठूलो खर्च गर्ने आँट पनि गर्न छाडेका छन् ।यहाँका खुवा व्यवसायीले किसानलाई स्थानीय सहकारीमार्फत ऋण झिकिदिन्छन् । त्यसबाट भैँसी किन्न उत्प्रेरित गर्छन् । त्यसरी भैँसी किनेका किसानले सम्बन्धित खुवा पसलमै दूध बेच्छन् । ९० रुपैयाँ प्रतिलिटरमा भैँसीको दूध किनिन्छ । त्यही दूधको पैसाबाट केही महिनामा नै सहकारीको ऋण तिरेपछि किसानले भैँसी आफ्नो बनाउँछन् । भैँसीको दूध पाउनै छाडेपछि खुवा व्यवसायीले यस्तो उपाय लगाएका हुन् । यसबाट किसानले पनि दूधको मूल्य डेरीमा भन्दा राम्रो पाएका छन् भने जीविकोपार्जनमा पनि खुवा पसल चलाउनेहरूको साथ पाएका छन् ।
चुच्चेखोला खुवाकै लागि चर्चित छ । अब कान्तिराजपथ काठमाडौँसँग पुरै दुई लेनको कालोपत्रे सडकबाट जोडिँदै छ । यस सडकमार्फत खुवा व्यवसाय अझ बढ्ने यहाँका व्यवसायीहरू बताउँछन् ।


कसरी पुग्ने ?
चुच्चेखोलाबाट हेटौडा ७ कि.मी रहेको छ । कान्तिलोकपथ सडक अन्तर्गत चुच्चे खोलाबाट २० मिनेटको गाडी/बाइक यात्रामा ऐतिहासिक मकवानपुर गढी पुग्न सकिन्छ । विसं.२०१३ मा राजा महेन्द्रले शिलान्यास गरेपछि यो ‘राजपथ’ निर्माण सुरु गरिएको थियो । काठमाडौँ– हेटौँडा वैकल्पिक सडकको योजनाका रूपमा २०६५ सालमा सरकारले तत्कालीन कान्ति राजपथलाई ‘लोकमार्ग’ नाम दिई छुट्टै योजनाका रूपमा कामअघि बढाएको हो ।





























































Discussion about this post