केहि समयअघि चितवनमा आयोजना भएको एसियाटिक वाइल्ड डग इन्टरनेशनल कन्फरेन्समा देश–विदेशबाट वैज्ञानिक, अनुसन्धानकर्ता, विज्ञ र प्रकृतीप्रेमी मानिसहरूले सहभागिता जनाएका थिए । उक्त कन्फरेन्समा सहभागी हुन नवराज शाही पनि पुगेका थिए । उनी डिभिजन वन कार्यालय बाँकेमा रेन्जर पदमा कार्यरत छन् । बिगत ८ वर्ष देखि रेन्जर पदमा कार्यरत शाहीले वन तथा वातावरणसँग सम्बन्धित प्रविणता तहदेखि स्नातकसम्म अध्ययन गरेका छन् । कन्फरेन्सको मेलोमा शाहीसँग जुरेको भेटमा हामीले केहि कुराकानी गरेका छौँ ।
प्रस्तुत छ, उनै शाहीसँग वन तथा वातावरणसँग नजिक रहेर गरिएको कुराकानीको सम्पादित अंशः
बाँके डिभिजन वन कार्यालयमा ढोल(वन कुकुर) देखिएका छन् ?
बाँके आफैँमा ढोलेको लागि सम्भावित क्षेत्र हो । ढोले देखिनुपर्ने र हुनुपर्ने स्थान हो । ढोलको वासस्थानको हिसाबले सम्भावित स्थान हो । यद्यपि हामीले ढोलेको खोजी नगरेको हुनाले ढोले छ कि छैन भनेर भन्न नसकिने अवस्था छ । यसमा डाटाले बोलेको छैन ।
विश्वभरी नै ढोलको सङ्ख्या कम हुँदै गएको छ, तपाईंले कन्फरेन्सबाट ढोलको अवस्था बारे के कसो बुझ्नुभयो ?
विश्वको डाटाले के–कस्तो बताउँछ तर नेपालको हकमा चाहिँ ढोलेलाई संरक्षण गर्न दिइएको प्राथमिकता हेर्दा सन्तोषजनक छ लाग्छ । ढोलेप्रति सरकारी तहबाट तथा ढोलसँग सम्बन्धित सरोकारवाला निकायबाट देखिएको लगाव अनुरुप ढोलेको सङ्ख्यामा भएको वृद्धिलाई तुलानात्मक हिसाबले हेर्ने हो भने घटेको छ भन्ने लाग्दैन । नेपालमा लोल्याण्डदेखि हाइल्याण्डसम्म ढोलेपाइन्छ । अन्य देशभन्दा नेपाल ढोलेको वासस्थानका लागि डाइभर्स हिसाबले डिस्पर्स भएर रहेको जस्तो मलाई महसुस हुन्छ ।
तपाईं आबद्ध बाँकेमा लोल्याण्ड क्षेत्रमा अहिले देखिइरहेका वातावरणीय समस्या के कस्ता छन् ?
तराई आफैँमा निकै उत्पादक क्षेत्र हो । कृषिजन्य खाद्यान्न उत्पादनका लागि उर्वर क्षेत्र र वनजङ्गलको हिसाबले विभिन्न प्रजाति पाइन्छ । आर्थिक हिसाबमा पनि निकै राम्रो मूल्यमा बिक्री हुने र ठुलो मात्रामा उत्पादन हुने ठाउँ हो ।
अर्कोतिर लोल्याण्ड समथर भएकाले वन्यजन्तुका लागि बस्न र सुरक्षित रहन सजिलो छ । वासस्थान सिर्जना गर्न सजिलो ठाउँ रहेको छ । बोर्डरका समस्याहरू तराईमा हुने हुनाले वातावरणीय हिसाबले चुनौती छ । तस्करीका तथा गैरकानुनी व्यापारका कुराहरूले गर्दा चुनौतीपूर्ण रहेको छ ।


वन्यजन्तु तथा मानवबिचको द्वन्दलाई एवम् वन अतिक्रमणलाई कसरी कम गर्न सकिन्छ ?
प्रथमतः वन्यजन्तु तथा मानवबिचको द्वन्द र अतिक्रमण भनेको एकआपसमा अन्तरसम्बन्धित कुरा हो । जब मान्छेको जनसंख्या बढ्दै जान्छ, व्यक्तिगत तथा पारिवारिक र सामाजिक आवश्यकता पनि बढ्दै जान्छन् । नेपालमा पारिवारिक सङ्ख्या बढ्नु भनेको त्यसको प्रत्यक्ष छाप वनजङ्गलमा पर्नु हो । उनीहरूले आफ्नो आधारभूत आवश्यकता पुरा गर्न जङ्गलमै आधारित हुनुपर्ने अवस्था छ । जनसंख्या वृद्धि हुँदै जाँदा फरक-फरक ठाउँमा घर बनाउनु पर्ने हुन्छ र जङ्गलकै क्षेत्रलाई अतिक्रमण गर्ने गरिन्छ । अतिक्रमण गर्नु भनेको जङ्गलको छेउमा बस्नु, वन्यजन्तुको बासस्थानलाई बिगार्नु हो । यसरी वन्यजन्तुको वासस्थानसँग नजिक भएर बसीरहँदा अतिक्रमणसँगै द्वन्द समेत सिर्जना हुन्छ ।
यो पार्क भित्र–बाहिर नै देखिएको हो ?
पार्कको एउटा निश्चित क्षेत्र छ । निश्चित क्षेत्रभित्र गएपछि यस्तो हुनु हुँदैन, यहाँ पस्नु हुँदैन र निषेधित क्षेत्र, बफर जोन, कोर एरियाभित्र प्रवेश गरेपछी हुने कानूनी प्रावधानहरू र त्यस बाहिरको प्रावधानहरू स्पष्ट खुलाइएको छ । जसकारणले गर्दा अपरेशन गर्ने टिम र त्यसको कानुनलाई कार्यन्वयन गर्ने टिम त्यही हिसाबले सचेत भएको हुन्छ । पार्क बाहिर हामीले व्यवस्थापन गर्ने र वन क्षेत्र व्यवस्थापन गर्ने तरिका फरक हुन्छ । फरक भएको हुनाले स-साना समस्या बाहिर अझै धेरै आउने गर्छन् । त्यसको तथ्यांक हामीले संकलन गर्ने नसकिने र कतिपय कुरा रेकर्डको हिसाबले राख्न नसकिने हुनाले समस्या नभएको हो कि जस्तो देखिन्छ तर ठ्याक्कै कार्यान्वयनको पाटोबाट हेर्दा, फिल्डमा गएर बुझ्दा त्यो समस्याकै हिसाबमा देखिन्छ ।




























































Discussion about this post