सुनिल उलाक
नेपालको आफ्नो पानीजहाज समुन्द्रमा चलाउने धोको केवल केपी ओलीको मात्र दम्भ थिएन । बि.सं. २०२५ सालतिर पनि नेपालमा एक प्रकारको दम्भ शुरु भएको थियो । जर्मनको ब्रेमन शहरमा रहेको ए जी वेजर कम्पनीले २०२७ सालमा नरेन्द्रलक्ष्मी नाम राखिएको पानीजहाज कलकत्ता बन्दरगाहमा पठाएको थियो ।
भारतीय पानी जहाज कम्पनीको नाममा शुरु गर्ने जमर्को गरिएको थियो । तर पछि भारतीय कम्पनीको स्वार्थलाई सहयोग गर्न अस्विकार गर्दै नेपालमा इस्टर्न नेभिगेसन कम्पनी नामबाट छुट्टै कम्पनी खुल्यो । पछि यसको नाम परिवर्तन गरेर रोयल नेपाल सिपिङ कर्पोरेसन स्थापना गरी यसै मार्फत पानीजहाज किन्ने निर्णय गरिएको थियो । जसको पहिलो किस्ता स्वरूप रवीशम्शेरले रकम बुझाएपछि कोलकाता बन्दरगाहमा नेपाली झन्डा फरफराउँदै पानीजहाज आइपुगेको थियो ।
सो पानीजहाज झन्डै २२ दिनसम्म कलकत्ता बन्दरगाहमा रोकिएको थियो । रवीशम्शेरले पठाएको दोश्रो किस्ता जहाज कम्पनीको एजेन्टले कमिशन बापत लिइदियो । तेश्रो किस्ता बुझाउनु पर्ने समयमा रवीशम्शेरलाई एक साथ दुई किस्ता वापतको रकम जहाज निर्माता कम्पनीलाई पठाउनु पर्ने भयो । जसले गर्दा रवीशम्शेरलाई हम्मे हम्मे पर्यो । अर्थ मन्त्रालयले सहयोग नगरेको कारणले गर्दा नेपाल सरकारले ग्यारेन्टी पनि बसिदिएन । अन्तत रवीशम्शेरले पनि हात उठाउन बाध्य भयो । समयमा किस्ता बापतको रकम बुझाउन नसक्दा पानीजहाज कम्पनीले नेपाली पानीजहाज “रवीलक्ष्मी”लाई त्यहीँबाट फिर्ता लग्यो ।
त्यस समय रोयल नेपाल शिपिङ कर्पोरेशनलाई पानीजहाज निर्माता कम्पनीले पठाएको जहाजको नमुना तस्विरमा देख्न सकिन्छ । कम्पनीका अनुसार जहाजको लम्बाइ १६१.५ मीटर थियो भने चौडाइ ३१.५ मीटर र उचाइ ६३.५ मीटर थियो । जहाजको अधिकतम क्षमता १०३०० टन (deadweight) थियो । सो पानीजहाज जर्मनको ब्रेमन शहरमा रहेको ए जी वेजर कम्पनीले बनाएको थियो । पानीजहाजको नाम नरेन्द्रलक्ष्मी राखिएको थियो ।
बि.सं. २०३४ सालमा फेरी पानीजहाज भित्र्याउने प्रयास भएको थियो । तर त्यो पटक पनि सम्भव भएन । पूर्व प्रधानमन्त्री केपी ओलीले फेरी एक पटक नेपालीलाई सपना देखाए । तर यो पनि कार्यकर्ता पाल्ने मेसो जस्तै भयो ।
यि त भए समुन्द्रमा नेपालको पानीजहाज चलाउने सपनाका कुरा । नेपाल नामाकरण हुनु अगाडि हाम्रो यस भूभाग गोर्खा भनेर नै विश्वमा चिनिने गरेको थियो । यहाँका वीर सैनिक गोर्खालीको नामले यस क्षेत्रलाई गोर्खा भनिन्थ्यो । बि.सं १९४५ मा यिनै गोर्खालीको सम्मानमा “एचएमएस गुर्खा १८८८ (HMS GHURKA 1888)” नाम बाट रोयल इन्डियन मेरिनले सानो टर्पेडो पानीजहाज समुन्द्रमा तैराएको थियो । बि.सं १९५७ मा यसको नाम परिवर्तन गरियो । यस पछि बि.सं १९६४ बैशाख ८ मा फेरी अर्को “एचएमएस गुर्खा १९०७ (HMS GHURKA 1907)” फेरी समुन्द्रमा तैरिन थालेको थियो । यो पानीजहाज बि.सं १९७३ माघ २७ मा समुन्द्रमा डुब्यो ।
बि.सं १९९५ कार्तिक ५ मा फेरी अर्को पानीजहाज “एचएमएस गुर्खा एफ२० (HMS GURKHA F20)” समुन्द्रमा चल्न थाल्यो । यो पानीजहाज पनि विमान आक्रमणको कारण १९९६ चैत्र २६ गते समुन्द्रमा डुब्यो । यस पछि बि.सं १९९७ फागुन ७ मा नै अर्को पानीजहाजलाई “एचएमएस गुर्खा जी६३ (HMS GURKHA G63)” नाम राखेर समुन्द्रमा चलाइयो जो पनि बि.सं १९९८ माघमा समुन्द्रमा डुब्यो । अन्तिम पटक बि.सं २०१७ असार २८ मा “एचएमएस गुर्खा एफ१२२ (HMS GURKHA F122)” नामको पानीजहाज समुन्द्रमा चलेको थियो । २०४० चैत्र १७ गते यो पानीजहाज इन्डोनेशियालाई बिक्री गरिए पछि नाम परिवर्तन भयो साथै गुर्खा नाम भएका पानीजहाजहरुले सधैको लागि बिदा लियो ।
दोश्रो विश्व युद्ध शुरु हुनु पूर्व नै नेपाल नाम राखेर समुन्द्रमा पानीजहाज तैरिन थालेको थियो । बि.सं १९९८ पुसमा “एचएमएस गुर्खा जी६३ (HMS GURKHA G63)” समुन्द्रमा डुबेपछि सोही साल पुसमा नै “एचएमएस नेपाल” नामबाट पानीजहाज समुन्द्रमा तैरिन थालेको थियो ।
साउथह्याप्टनमा बनाइएको एन-क्लासको युद्धक पानीजहाज तैयार भएर बि.सं १९९८ मंसिरमा रोयल निडरल्याण्ड नेभीलाई हस्तान्तरण गरिएको थियो । जसलाई रोयल निडरल्याण्ड नेभीले एचएमएस नेपाल नामबाट समुन्द्रमा चलाउन थालेको थियो । बि.सं. १९९९ जेठ १६ मा “एचएमएस नेपाल” लाई रोयल अष्ट्रेलियन नेभीलाई हस्तान्तरण गरिएको थियो । तर बि.सं. २००३ असारमा भने यसको नाम परिवर्तन गरियो ।
यसरी गोर्खा सैनिकहरुको सम्मानमा “गुर्खा” र “नेपाल” नाम गरिएका बिभिन्न पानीजहाजहरु समुन्द्रमा तैरिएका थिए । यी पानीजहाजहरु नेपाल सरकारको स्वामित्वमा नभएको हुँदा नेपालको झण्डा राखिएका थिएनन् ।




























































Discussion about this post