- प्रेम बास्तोला, राजु झल्लु प्रसाद
पछिल्लो समय देशका विभिन्न स्थान घुमेर त्यहाँको अध्ययन-अवलोकन गर्ने नियमित कार्य झैं बनेको छ हामी दुईभाइको । केही समय पहिले हामी बर्दिया राष्ट्रिय निकुञ्ज घुमेर आएका थियौं । त्यहाँबाट फर्किएको भोलिपल्ट (गत पुस १९ गते) छिमेकी जिल्ला धादिङको ज्वालामुखी गाँउपालिका भ्रमण गर्ने योजना बनायौं । जसै योजना बन्यो, हामी त्यसतर्फ लम्किहाल्यौं पनि । कलंकीबाट धादिङबेसी जाने बस चढ्यौं ।
दुई दिन धादिङ सदरमुकाममै बसियो । त्यसपछि बल्ल ज्वालामुखी गाउँपालिकातिर लाग्यौं, जहाँ सहयात्री राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)को घर समेत छ ।
धादिङबेसीबाट दिनको एक हजार भाडा तिर्नेगरी टु-२० पल्सर बाइक भाडामा लिएर हामी लाग्यौं ज्वालामुखी गाउँपालिका क्षेत्र । मोटरसाइकल बाटोमा बिग्रिएर हैरान भएपनि बनाउँदै अगाडि बढ्यौं । अनि पुग्यौं उखुबारी भट्टगाउँस्थित राजु भाइको घर । भोलिपल्ट बिहानै उठेर ज्वालामुखी गाउँपालिकाको महत्त्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र अनकन्यादेवीको थान (अनकन्या मन्दिर) दर्शन गर्न गयौं । पालिकाको केन्द्र साँधभञ्ज्याङबाट करिब १० किमी दूरीमा रहेको अनकन्या मन्दिरको रोचक किंवदन्ती, ऐतिहासिक पृष्ठभूमिसहित पृथक भौगोलिक विशेषताका कारण यसको पर्यटकीय महत्व उच्च रहेको रहेछ । तर यस मन्दिर धार्मिक भक्तजन, इतिहासका विद्यार्थी एवं आन्तरिक तथा बाह्य पर्यटकमाझ अपरिचित रहेको पाउँदा भने दु:ख लाग्यो ।


मन्दिरको ऐतिहासिकता र धार्मिक महत्वलाई ध्यानमा राखेर यसको विकास गरी प्रचारप्रसार गर्न सकेको खण्डमा यही मन्दिरमा आउने पर्यटकहरूबाट ज्वालामुखी गाउँपालिको गतिलो दीर्घकालीन आम्दानीको स्रोत बन्ने देखियो । तर जिल्लाका भैरवीकोट, त्रिपुरासुन्दरी माई (सल्यानटार), जलमुखी मन्दिर, मैधीकोट खड्गदेवी, बसाह ढोला मण्डली माईको तुलनामा यो मन्दिर ओझेलमै रहेछ ।
मन्दिरको किम्बदन्ती
करिब एक हजार मिटरको उचाइमा रहेको यो मन्दिर चैनपुरको सालवास बजारबाट उत्तर-पश्चिमतर्फको डाँडो (चैनपुरकोट)मा अवस्थित छ । मन्दिरको नामको विषयमा रोचक किंवदन्ती रहेछ । चैनपुरका लेखनाथ लोहनीले हामीलाई बताएअनुसार, जाडोको समयमा एकजना स्थानीय गिदेल मगरको घरमा मानिसहरू गफिंदै आगो तापिरहेका थिए । अनायास अगुल्टोमा आगो पड्कियो र बाहिर निस्कियो । आगो पड्केर नजिकै खरानी खस्ने सामान्य कुरा हो, तर त्यसपटक आगोको झिल्को बाहिर आँगनसम्म पुग्यो । मानिसहरू चकित भए र बाहिर निस्किए । आगो खसेको ठाउँमा खरानी नभएर एउटा अनौठो शिला फेला पर्यो । मानिसहरूले यसलाई देवी शक्ति माने । सपनामा त्यस घरका मूलीले देवीको दर्शन पाए । आफूलाई उच्च स्थानमा राखेर पूजाआजा गरे सबैको भलो गर्ने कुरा देवीले भनिन् । भोलिपल्ट मगर बुढाले सपनाको कुरासमेत सुनाए । सबैले मिलेर शिलालाई उच्च स्थानमा (हाल रहेको स्थानमा) लगे । अँगेनाबाट निस्केकी हुनाले उनीहरूले यसैलाई अनकन्ये देवी भन्ने नाम राखे र पूजाआजा गर्न थाले । अनकन्येबाट अपभ्रंश भएर यसबेला यो मन्दिरलाई ‘अनकन्यादेवीको थान अर्थात् अनकन्या मन्दिर’ भन्ने गरिन्छ ।
अनकन्ये देवीले आफूलाई चैनपुरको सबैभन्दा माथिल्लो भाग (शिर)मा राखेर पूजा गर्नु भनेअनुसार चैनपुरकोटमा रहेका बस्तीलाई अलिक तल (सालवास) बजारछेउ सारेर देवीलाई कोटमा राखिएको विश्वास गरिन्छ । बस्ती सारेपछि हालको स्थानमा गिंदेल मगर समुदायले नै मन्दिर स्थापना गरी आँगोबाट उछिट्टिएको ढुंगालाई मूर्ति बनाएर पूजाआजा गर्न थालिएको ९२ वर्षीय (यसअघिका पुजारी) गोमानसिंह गिंदेल मगरले सुनाए ।


हाल उनका छोरा जग बहादुर गिंदेल मगर मन्दिरका पुजारी छन् भने पुरोहितको कर्म स्थानीय खोपराज लोहनीले गर्दै आएका रहेछन् । अनकन्या देवी मन्दिर निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ लोहनी रहेछन् ।
मन्दिर क्षेत्रको वर्तमान भौगोलिक संरचनाले हाल मन्दिर रहेको स्थानमा पहिला मानव बस्ती रहेको हुनसक्ने संकेत हामीसँगको भेटमा ९२ वर्षीय गोमानसिंहले गरे । वर्तमान पुजारी जगबहादुरले २०३५ सालसम्म हाल मन्दिरदेखि मुन्याड रहेको ठाडो बान्धननिर आफ्नो घर रहेको हामीलाई जानकारी दिए ।


विशेष पूजापाठ
अनकन्यादेवी मन्दिरमा दशैंको पन्ध्र दिनसम्म विशेष पूजाआजा हुने गर्दो रहेछ । यसबेला धार्मिक भक्तजनहरूको भीड लाग्छ । मन्दिर परिसरमा कोजाग्रत पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीका दिन धूमधाम मेला लाग्ने गरेको र अहिले बिस्तारै हराउँदै गएको पनि पुजारीबाट बुझ्न पाइयो । ज्येष्ठ शुक्लको कुनै एउटा दिन तिथिमिति जुराएर विशेष मेला समेत लाग्ने रहेछ ।
हामीले मन्दिरको विषयमा जानकारी लिने क्रममा मन्दिरमा पुस्तौंदेखि स्थानीय मगर समुदायका पुजारीहरूले दैनिक रूपमा पूजाआजा गर्दै आइरहेको पायौं । हाल जगबहादुर गिंदेल मगर मन्दिरका पुजारी हुन् । कान्छा छोरा दलबहादुरसँग बसिरहेका जगबहादुरले हामीसँग पुरानो दिन सम्झिंदै भने, ‘उतिबेला लाठको खान्की ५२ थियो । टोली ल्याएर उठाउन आउँदाखेरि २४ रूप्पे कोटको लागि खर्च छोड्थ्यो । त्यो २४ रुप्पेले अगेर पूजा खर्च पुर्याउँथे । त्यो नि हरायो । जिम्बुवाल उठेपछि खर्च आएन अनि चन्दा उठाउन थाले । चन्दा पनि अगेर गच्छे हेरीहेरी मोहोर, रुपैयाँ यस्तै उठाउँथे । चन्दा उठाएर पूजा गर्न थालेपछि पञ्चायतीमा गयो । पछि पञ्चायतीमा गएपछि सक्नेले दिंदै गए र पूजा चलाउँदै गयौं । त्यही पैसालाई ब्याजमा लगायौं, ब्याजले पुग्दै गयो । २६ हजार उतिबेला उठेको थियो । अहिले दुई-तीन लाख पुग्या छ रे भन्ने सुनेको छु । मलाई ठ्याक्कै थाहा अहिले केके गरिराछन् भनेर । कान पनि सुन्दिनँ, मन्दिर जान पनि सक्दिनँ ।’
९२ वर्षीय गिंदेलले मन्दिरको छाना खरको भएको र पछि आफूहरूले जस्ता ल्याएको र अहिले ५-७ लाख पैसा आएको हल्ला सुनेको समेत बताए । मगरलाई पुरोहित गुरुदत्त लोहनी (लेखनाथ लोहनीको बुबा) पुरोहित रहेको थाहा रहेछ । गुरुदत्त पण्डितको समयमा उनकै खलकका मुखिया हस्तबहादुरले पूजा गर्दथे, उनका छोराले नमानेपछि आफूलाई पूजा गर्न अह्राएको गुरुदत्तले बताए । अहिले उनी नसक्ने भएपछि छोराले गर्दै आएका रहेछन् । उतिबेला नगरा बजाउने कटुवाल चाहिं कान्छो दमै (दले दमाईं) थिए, अहिले उनका नातिले गरिरहेको उनले जानकारी दिए ।


मन्दिरको शिला र गणेश एवं कालीको मूर्ति चोरी भएको प्रसंगको कुरा पनि उनले उप्काए । उनले पूजा गर्न थालेपछि आगोमा भेटिएको शिला पनि चोरी भएको थियो रे । विष्णुदत्त सुब्बाले चढाएको कालीको र हिरालाल छत्कुली सुबेदारले गणेशको मूर्ति पनि चढाएका थिए । ती मूर्तिहरू पनि चोरी भए । शिला र मूर्ति चोरी भएपछि बुढीगण्डकीमा गएर शिला ल्याएर थपना गरेर फेरि पूजा सुरु गरेको उनले सुनाए । मन्दिरमा रहेको पुरानो घण्ट बलभद्र छत्कुली डिट्ठाले चढाएका हुन् । यस मन्दिरको गुठी चाहिं रहेनछ । गुठीमा लैजानुपर्छ भन्ने कुरा आफूहरुलाई थाहा नभएको पनि उनले सुनाए ।
दुई सय वर्ष पुरानो जोर घण्ट
४०० वर्ष पुरानो मानिने यो मन्दिरमा आजभन्दा २०० वर्षअघि चढाइएका दुईवटा घण्टा अझ सुरक्षित छन् । ज्वालामुखीका ऐतिहासिक महत्त्व बोकेको मैधीकोटमा घण्टसहितको मूर्ति र ज्वालामुखीमा घण्ट चोरी भइसक्दा पनि यस मन्दिर क्षेत्रमा भने सय वर्ष पुरानो घण्ट यद्यपि देख्न पाउँदा हामी हर्षित भयौं । जसले मन्दिरको प्राचीनतालाई दर्शाइरहेको थियो । तर उत्पत्ति हुँदाको शिला भने यहाँबाट पनि चोरी भइसकेको रहेछ । माओवादी द्वन्द्वकालमा उक्त शिला चोरी भएको पूर्वपुजारी ९२ वर्षीय गोमानसिंहले सुनाए ।


‘पूर्वाधार निर्माणमा गाउँपालिका चुक्यो‘
मन्दिरको दर्शनपछि गाउँपालिका अध्यक्ष यामनाथ दनैलाई पनि भेट्यौं । उनले अनकन्यादेवी मन्दिर मात्र नभई ज्वालामुखी गाउँपालिका नै धार्मिक र ऐतिहासिक पर्यटनको सम्भावना बोकेको पालिका रहेको सुनाए । तर त्यअनुसार पूर्वाधार निर्माणमा भने पालिका चुकिरहेको उनले स्वीकारे पनि । यहाँका ऐतिहासिक, सांस्कृतिक, धार्मिक एवं प्राकृतिक थलोहरू, ग्रामीण जीवनशैली, मौलिक स्वाद जोगाई प्रचारप्रसार गरी पर्यटन विकास गर्न पालिका लागिपरेको उनले सुनाए ।
गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि ५० लाख रुपैयाँ बजेट छुट्टाएको र बसाह ढोला मण्डलीमाई, खड्गदेवी मैधीकोट, खरीकोट (त्रिपुरासुन्दरीमाईको थान), अनकन्यादेवी र जलमुखीमाई गरी पाँचवटा मन्दिरमा १०-१० लाखका दरले वार्षिक बजेट विनियोजन गरी पर्यटकीय पूर्वाधार विकासमा काम गरिरहेको उनले बताए ।


मनै लोभ्याउने प्राकृतिक तथा जैविक विविधता
अनकन्या मन्दिर परिसरबाट उत्तरमा माछापुच्छ्रे, धौलागिरि, मनास्लु, गणेश, पाविल, पाल्डोरजस्ता हिमशृंखलाको सुन्दर दृश्य देख्न सकिन्छ । साथै कलकल बगिरहेको आँखुखोला, बुढीगण्डकी नदी, नेपालकै दोस्रो ठूलो टार ‘सल्यानटार’ र राम्रा तरेली परेका धादिङका मनोरम पहाडहरू, हिमालको काखबाट झरेको ठूलो पानीको धारा ‘घोडापुच्छ्रे धारा’ देख्न सकिन्छ ।


अनकन्यादेवी मन्दिर वरपरका वनमा साल, सल्ला, अस्ना, कटुस, चाँप, चिलाउने, साज, गुराँस, खर्सु (खस्रेतो), टाँकी, सिमल, बर्रो, सिरिस प्रजातिका रुखबिरुवाहरू पाइन्छन् । वनका केही स्थानमा चितुवा, भालु, मृग, हरिण, बाँदर, ढेडु, खरायो, दुम्सी, घोरलजस्ता जनावर पनि देख्न सकिन्छ । कालिज, तित्रा, भ्याकुर, काग, कोइली, चिल, ढुकुर, भँगेरा, जुरेली जस्ता चराचुरुंगीको आवाज यहाँ सुन्न सकिन्छ ।
होटल र होमस्टे छैनन्
धार्मिक पर्यटनको अथाह सम्भावना भए पनि यहाँ पूर्वाधारको भने निकै कमी छ । खानबस्नका लागि यहाँ कुनै होटल छैनन् भने होमस्टे पनि सञ्चालनमा ल्याइएको छैन । सालवास बजारमा सामान्य किराना र खाजा-नास्ता पसलबाहेक अरू केही पाइँदैन ।


यस क्षेत्रका अन्य महत्त्वपूर्ण मन्दिरहरू:
समशीतोष्ण हावापानी रहेको यस क्षेत्रमा अन्कन्या मन्दिरको अलावा महादेवको मन्दिर (माथिल्लो र तल्लो), शीतलादेवी मन्दिर, स्थानापति मन्दिर आदि उल्लेखनीय रहेका छन् । महादेवको मन्दिरमा पुष मसान्तीमा भव्य जात्रा लाग्ने गर्दछ । आँखुबेसी, बाटुलेचौरको माख्लो महादेवस्थान र बौंसेरहको तल्लो महादेवस्थान जात्रा लाग्ने ठाउँहरू हुन् । श्रद्धालु भक्तजनहरू माघेसङ्क्रान्तिको अघिल्लो रात महादेवस्थानमा भेला भएर पूजाअर्चनाका साथै नाचगान गर्दछन् र भोलिपल्ट बिहान नेत्रावतीमा स्नान गरेर घर फर्कन्छन् । पहिलेपहिले यो काम भव्य रूपमा हुने गरेको भएपनि हाल रातको बसाइँ घटेको छ र बिहान स्नान गर्ने भक्तजनहरूको भने कमी छैन ।
यसैगरि, चिलाउनेको रुखमा पूजा हुँदै आइरहेको शीतलादेवीमा सो रुख लडेपनि मन्दिर क्षेत्रमा रहेका नकुँदिएका ढुङ्गाका मूर्तिहरूले यस्तो पुरातात्त्विक महत्तालाई बताइरहेको छ । अर्कोतर्फ, इटनीहरूको कुलदेवताथान स्थानापति मन्दिरमा साउने सङ्क्रान्ति, ठुलो दशैं, न्वागी (मङ्सिरको नयाँ खेती) एवं चैते दशैंमा इटनीहरूले अक्षता पुर्याउने गर्दै आइरहेका छन् । यहाँका मुख्य जातिहरूमा ब्राह्मण, क्षेत्री, मगर, तामाङ, सार्की, दमाईं, कामी आदिको मिश्रित बसोबास रहेको चैनपुरका बुद्धिजीवी लेखनाथ लोहनी बताउँछन् ।
चैनपुरका अन्य सांस्कृतिक पर्वहरू
चैनपुरका अन्य सांस्कृतिक पर्वहरू हरि खनालले लेखेका छन्, “परम्परालाई जीवित राख्ने कुरामा केही वर्ष अघिसम्म चैनपुरका बासिन्दाहरू सजग र सक्रिय थिए । द्वन्द्वकालपछि यस्ता पक्षहरू छायाँमा पर्दै गए । कृष्णअष्टमी, जनैपूर्णिमा र तिजका दिन झिकिने लाखे नाच, विभिन्न पूजाआजाका बेलामा आयोजना गरिने सोरठी नाचले चैनपुरको सांस्कृतिका चिनारी कायम गरेको थियो भन्छन्, लोकनाथ लोहनी । लाखेनाचको आरम्भका बारेमा उनीसँग रमाइलो स्मरण छ ।
वि.सं. २०१८ सालमा बाघले स्थानीय समुदायका मानिसलाई दुःख दियो । सबै गाउँले मिलेर बाघ मार्ने अभियानमा लागे । बाघ मारियो र गाउँमा घुमाइयो । त्यसबखत स्थानीय समुदायहरूले केही रकम सङ्कलन गरेर सामुदायिक एकता अभिवृद्धि गर्ने तथा सामाजिक सांस्कृतिक परम्परालाई मजबुत तुल्याउने सल्लाह गरे । उनीहरूले यसकै एउटा अंशको रूपमा माथि उल्लेखित तिथि तथा पर्वहरूमा लाखे नाच लगाउने भनेर सल्लाह गरे र स्थानीय नगर्चीहरूलाई जिम्मा दिए । त्यसबेला देखि बसेको परम्परालाई स्थानीय नगर्चीहरूले हालसम्म पनि निरन्तरता दिएको प्रसङ्ग सुनाउछन् लोहनी । (स्रोत: मुरलीभञ्ज्याङ र चैनपुरको सेरोफेरो: धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरू, हरि खनाल)
सालवास र चैनपुर नाम कसरी रह्यो ?
गोरखाका राजा राम शाह यो बाटो हुँदै काठमाडौँ उपत्यका जानको निम्ति आउँदा चैनपुर भन्ने ठाउँ मन परेर यहाँ केही समय बसेर रमाएर यस ठाउँमा चयन गरेको हुनाले ‘चैनपुर’ नाम परेको हो । सालवासको नामकरण प्रसङ्गमा चाहिँ सालका रुखहरू प्रशस्त रहेकाले र उनी राम शाहको यहाँ बास परेकाले ‘सालवास’ भनिएको जनविश्वास रहेको लोहनी बताउँछन् । राम शाहले उतिबेला ठाउँठाउँमा कोट निर्माण गरेको हुँदा चैनपुरकोटको अस्तित्व राम शाहको शासनकालसम्म जोडिन पुग्ने देखिन्छ ।
र, अन्तमा
हरिया पहाडको नाभी हुँदै खेतीयोग्य फाँटवारिलाई सिञ्चित गरिरहेका आँखु र बुढीगण्डकीको मूल अर्थात् मनासलु र गणेश हिमाल एकसाथ देख्न सक्ने यस ऐतिहासिक थलो धार्मिक भक्तजनका लागि मात्रै नभई मगर जातिको भाषा, कला संस्कृति, खानपान र रहनसहनको अध्ययन गर्नेहरूको लागि खुला संग्रालय हो । यस क्षेत्रले कृषि तथा वन क्षेत्रका अनुसन्धानदाताहरूलाई पनि उत्तिकै लोभ्याउँछ । यसकारण अनकन्यादेवीलाई केन्द्रमा राखी समग्र चैनपुरको थप विकास र प्रवर्द्धनमा गाउँपालिका, पालिकावासी मात्र नभई जिल्लावासी नै लाग्नुको विकल्प देखिँदैन ।
स्रोत-सन्दर्भहरू:
१.स्थलगत भ्रमणका क्रममा मन्दिरका पुजारी जगबहादुर गिदेल मगर, उनका बुबा गोमान सिंह गिंदेल मगरसँग लिइएको प्रत्यक्ष अन्तर्वार्ता ।
२. स्थानीय बुद्धिजीवी लेखनाथ लोहनीसँग गरिएको फोन कल ।
३. स्थानीय मदन मगरसँग प्रत्यक्ष भेटघाट ।
४. अमृत सापकोटाले सम्पादन गरेका ‘पर्यटकीय विम्बचित्रमा धादिङ’ पुस्तकमा संग्रहित हरि खनालको मुरलीभञ्ज्याङ र चैनपुरको सेरोफेरो: धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरू नामक लेख, २०६८ ) ।
५. नरहरीनाथद्वारा सम्पादित गोरखा राजवंशावालीका केहि अंश, आदि ।
कसरी पुग्ने ?
काठमाडौंबाट एकै दिनमा थोरै खर्चमा पुगेर आउन सकिने ठाउँ हो अनकन्यादेवी मन्दिर । काठमाडौंबाट नौबिसे हुँदै मलेखु पुगेपछि उत्तर-पश्चिमतर्फको कालुपाण्डे राजमार्ग हुँदै धादिङ सदरमुकाम धादिङबेसी पुग्न सकिन्छ । धादिङबेसीबाट साँधभन्ज्याङ, पाल्पाभन्ज्याङ, हुलाकभन्ज्याङ हुँदै सालवास बजार पुगिन्छ । पाल्पाभन्ज्याङबाट करिब १० किलोमिटरको यात्रा गरेपछि ज्वालामुखी गाउँपालिका-७ को सालवास बजार आउँछ । यो बजारबाट उकालो डाँडो चढेसँगै १५ मिनेटको छोटो पैदलयात्राले अनकन्यादेवी मन्दिर पुर्याउँछ ।
अनकन्यादेवीको मन्दिर यात्रा भदौदेखि वैशाखसम्म गर्नु उपयुक्त हुन्छ । बर्खायाममा भने बाटो हिलाम्मे हुने भएकाले नजाँदा नै राम्रो हुन्छ । यहाँ जानका लागि आफ्नो निजी सवारी साधन पनि प्रयोग गर्न सकिन्छ । प्रकृतिसँग रमाउँदै यात्रा गर्ने हो भने मोटरसाइकलको यात्रा झनै रोमाञ्चक हुन्छ ।




























































Discussion about this post