- अश्विन दुवाडी ‘समीप’
विज्ञानको परिभाषाको कुरा गर्ने हो भने ढुङ्गा माटो निर्जीव वस्तु हुन् । ढुङ्गामा न जीवन हुन्छ, न जीवित राख्न सकिन्छ । तर विज्ञानभन्दा अलि पर बसेर जीवनको परिभाषा सोच्ने हो भने चाहिँ जीवित रहनु भनेको बाच्नु हो र बाच्नु भनेको आफ्नो अस्तित्व कायम राख्नु हो । आफू हुनुको अस्तित्व कुनै न कुनै पाटोबाट हर कुनै वस्तुले प्रमाणित गर्न सक्छ भने त्यो वस्तु बाँचेको हो । अस्तित्व सबैको हुन्छ । सजीव, निर्जीव, प्राकृतिक वा कृत्रिम, सबैको आ-आफ्नै अस्तित्व र महत्त्व छन्, हुन्छन् । केहीको वैज्ञानिक महत्त्व रहला, केहीको सामाजिक महत्त्व रहला भने केहीको पौराणिक र ऐतिहासिक महत्त्व रहन्छन् । आ-आफ्नो महत्त्व र अस्तित्वले हरेक क्षेत्र र वस्तु बाँचिरहेका छन् । अस्तित्व र महत्त्व कायम राख्न नसक्नेहरू अन्ततः मर्छन्, तिनको अस्तित्व समाप्त हुन्छ ।
नेपाल विविधता भित्र पनि विविधता भएको, अस्तित्व भित्र छुट्टै अस्तित्व बाँचिरहेको, विविधामय महत्त्व र अथाह सम्भावना बोकेको भूमि हो । यहाँका हरेक क्षेत्र हरेक दृष्टिकोणले महत्त्वपूर्ण छन् । यहाँका हरेक क्षेत्र हरेक परिभाषामा जीवित छन् । चाहे वैज्ञानिक, सामाजिक, ऐतिहासिक होस् या धार्मिक, पौराणिक दृष्टिकोणले यहाँका हरेक क्षेत्रले आफ्नो अस्तित्वमा बाँचेका छन् । आफू जीवित रहेको प्रमाण विश्वसामू जबर्जस्त रूपमा प्रमाणित गरिरहेका छन् । धादिङ जिल्लाको ज्वालामूखी गाउँपालिका ग्रामीण भेगको पालिका हो । यो पालिकाको पनि आफ्नै अस्तित्व र महत्त्व छ । यहाँका हरेक डाँडाकाँडाको आफ्नै जीवन छ । हरेक धार्मिकस्थलको आ-आफ्नै पौराणिक, पुरातात्त्विक र ऐतिहासिक महत्त्व छ । हरेक पाखापखेरा प्रचुर सम्भावनाका क्षेत्र छन् । ज्वालामूखी गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने ढुंङ्गेनी डाँडा यस्तै प्रचुर सम्भावना बोकेको क्षेत्र हो ।



झट्ट हेर्दा ढुङ्गेनी डाँडा ढुङ्गैढुङ्गाको पाखो हो, पहरो हो, भिर हो, रुखो डाँडा हो । दुई सामुदायिक वन रानाचौतारो सामुदायिक वन र लेखडाँडा सामुदायिक वनको सीमाना छुट्ट्याउने उजाड नाङ्गो पाखो हो, छरपस्ट ढुङ्गाको थुप्रो हो- ढुङ्गेनी डाँडा । वर्षातमा लेउले ढाक्ने र हिउँदमा सुकेका लेउले दाग मात्रै छोड्ने काला फराकिला चिप्लेटी ढुङ्गाको थुप्रो हो- ढुङ्गेनी डाँडा । तर सम्भावनाको आँखाले हेर्ने हो भने प्रचुर सम्भावना भएको ठाउँ हो । ऐतिहासिक दृष्टिकोणले नियाल्ने हो भने ऐतिहासिक दाह्रेगौडाको इतिहास जोडिएको ठाउँ हो । पर्यटकीय सम्भावनाले हेर्ने हो भने पर्यटकको पहिलो रोजाइ बन्ने क्षेत्र हो । समग्रमा पालिकाकै जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्ने प्रचुर सम्भावनाको क्षेत्र हो ,ढुङ्गेनी डाँडा।
भौगर्भिक अध्ययनको पक्ष
आमबुझाइमा र हालसम्मको प्रयोगलाई मात्रै आधार मान्ने हो भने ढुङ्गा ‘निर्माण सामग्री’ मात्रै हो । घर, भवन, बाटो बनाउन मात्रै ढुङ्गाको प्रयोग हुन्छ भन्ने आमबुझाइ भेटिन्छ । चट्टान अथवा ढुङ्गाका प्रकार, गुण, शक्ति र अवस्थाका आधारमा निर्माण सामाग्रीको गुणस्तर फरकफरक हुन्छन् । निर्माण सामाग्रीको गुणस्तरको दृष्टिकोणमा नियाल्ने हो भने चाहिँ ढुङ्गेनी डाँडाका सतहमा देखिएका ढुङ्गा कमजोर चट्टानको समूहमा पर्दछन् । तर, जियोलोजीको भाषामा उक्त क्षेत्रमा देखिएका चट्टान फिलाइट (Phyllite) नामका परिवर्तित (Metamorphic Rock) चट्टान हुन । फिलाइट (Phyllite) नाम ग्रिक (Greek) शब्द फ्लोन (Phlon) बाट आएको हो, जसको अर्थ पात (Leaf) हुन्छ । फिलाइट चट्टान चिप्लो, खैरो (Grey), हल्का हरियो खैरो (Greenish-Grey) रङ्गका हुन्छन् । सतहमा छुँदा साबुन जस्तै चिप्लो हुने गर्छन् (Soapy touch) । तर लामो समयसम्म सतहमा देखिएका कारण मौसम फेरबदल सहेका (weathering) कारण ढुङ्गेनी डाँडाका फिलाइटहरू सतहमा कालो र खस्रो तथा कमजोर भइसकेका छन् । सेल (Shale) तथा अन्य माटोबाट बनेका नरम पत्रे चट्टानहरू (Claystone/Mudstone) बाट लाखौँ-करोडौँ वर्षपश्चात् अत्यधिक ताप र चापका कारण (Regional metamorphism) परिवर्तित भई बनेका यस्ता चट्टान लो ग्रेड मेटामर्फिक रक (Low Grade Metamorphic Rock) अन्तर्गत पर्दछन् । पत्रपत्रमा टुक्रिने गुण भएका यस्ता चट्टान थोरै बलमा पनि सजिलै धुजाधुजा भएर टुक्रिन्छन् । सतहमा फोहोर र लामो समयसम्म मौसमी फेरबदल सहेका (weathering) का कारण कालो, खस्रो देखिए पनि यी चट्टानका वास्तविक गुण नरम र चिप्लो हो । फिलाइट रकमा पाइने प्रमुख मिनिरल (खनिज) माइका (Mica)हो । माइका स-साना सेता र घाममा चम्किलो देखिने मिनिरल हो ।


माइकाका अलावा ढुङ्गेनी डाँडाका चट्टानहरूमध्ये केहीमा क्वार्ज (Quartz) मिनिरल पनि प्रशस्त भेटिएका छन् । केही चट्टानहरूमा क्वार्ज भेन (Quartz vein) अर्थात् ढुङ्गाका बिचबिचमा देखिने कडा तथा गाढा सेतो चम्किलो रङ्गको सिसाजस्तै टल्कने ढुङ्गाहरू प्रशस्त भेटिएका छन् । सतहमा देखिएका केही ढुङ्गाहरूमा चिनीको दाना जस्तै देखिने गरि प्रशस्त सेता क्वार्ज (Quartz grain) भेटिएका छन् । सतहमा हाल सुकेका लेउ र फोहोरका कारण काला देखिए पनि वास्तविक रङ्ग सेतो र चम्किलो हुन्छन्, जुन चट्टानका एक छेउमा फुटाएर हेर्दा भित्रका दानाहरू प्रष्टसँग देखिएका छन् ।


ऐतिहासिक पक्ष
ढुङ्गेनी डाँडाको आफ्नै छुट्टै ऐतिहासिक पक्ष पनि छ । ऐतिहासिक दाह्रेगौडा नजिकैको उक्त डाँडा नजिकै पुरानो ढकाल चौतारा पनि सँगै छ । पहिले गोर्खा राज्य हुँदा दाह्रेगौडा मैधी ढोला प्रवेश गर्ने पूर्वी नाका भएको बताइन्छ । हाल पालिका मुकाम रहेको साँधभञ्ज्याङबाट ठाडो उकालो उक्लिए पछि दाह्रेगौडा पुगिन्छ । उकालो चढ्दाको थकाइ मार्न दाह्रेगौडा नजिकै एकजना ढकाल थर गरेका व्यक्तिले चौतारो लगाएका र उक्त चौतारोको नाम ‘ढकाल चौतारो’ राखिएको भन्ने इतिहास छ । करिब ३०/४० वर्ष अघिसम्म पनि ढकाल चौतारामा चैत वैशाखको चर्को गर्मीको मौसममा जमिनको सतहमुनी माटोको गाग्रो गाडेर राखिने र हरेक बिहान उक्त गाग्रोमा पानी भरेर बटुवाका लागि राखिदिने गरेको कुरा स्थानीय समाजसेवी तथा बराह कालिका माविका पूर्व शिक्षक हरि प्रसाद तिमल्सिनाले सुनाउनुभयो ।


ढुङ्गेनी डाँडाको छुट्टै आफ्नै इतिहास र महत्त्वको बारेमा जानकारी नभएता पनि दाह्रेगौडा र ढकाल चौतारोसँग यसको ऐतिहासिक पक्ष जोडिएको उहाँले सुनाउनुभयो । ढुङ्गेनी डाँडाबाट वरपर मानिस तथा अन्य कोही आऊजाऊ गरेको प्रष्ट देखिने भएर पनि दाह्रेगौडा आसपासबाट कोही आवतजावत गरेको नियाल्ने स्थलको रूपमा ढुङ्गेनी डाँडालाई लिन सकिने त्यहाँको भौगोलिक बनावट रहेको छ ।
पर्यटकीय सम्भावना
पर्यटकीय सम्भावनाको दृष्टिकोणले सोच्ने हो भने ढुङ्गेनी डाँडा ज्वालामुखी गाउँपालिका भित्रको सबैभन्दा रमणीयस्थल मध्येको एक हो । उच्च भूभागमा रहेको यस क्षेत्रबाट वरपरका सम्पूर्ण क्षेत्रको मनमोहक दृश्य सजिलै अवलोकन गर्न सकिन्छ । उत्तरपूर्वी दिशामा मनमोहक दर्जन हिमालहरू: गङ्गापूर्ण, अन्नपूर्ण १–२–३–४ चुचुराहरू, गणेश १-२-३ चुचुराहरू, माछापुच्छ्रे हिमाल, पाल्डोर हिमाल, पाविल हिमाल, लाङटाङ हिमाल, किलर माउन्टेन’का नामबाट संसार प्रसिद्ध मनास्लु हिमाल आदि टल्किरहेका देखिन्छ भने पश्चिमतर्फ ऐतिहासिक मैधीकोट, दक्षिणतर्फ ऐतिहासिक तथा धार्मिक स्थल सिद्धलेक (सिद्धबाबा) मन्दिर देखिन्छ । वरपरका खेतीयोग्य फाँटहरू, जिल्ला सदरमुकाम धादिङ बेसी र आसपासका पहाड तथा फाँटहरू उस्तै रमणीय देखिन्छन् ।


हाल बिदाका दिन यस क्षेत्रमा स्थानीय पर्यटकहरू दृश्य अवलोकनका लागि आउने गरेका छन् भने थप व्यवस्थित र प्रचारप्रसार गर्न सके बाह्य पर्यटकलाई पनि आकर्षित गर्न सकिने प्रचुर सम्भावना रहेको छ । उक्त स्थानमा रहेको दाह्रेगौडाको ऐतिहासिक पक्षको वर्णन सुनाउन सके मात्रै पनि पर्यटकको आकर्षण बढ्ने छ भने ढकाल चौतारा र ढुङ्गेनी डाँडाका ढुङ्गाहरूलाई व्यवस्थित गर्न सके पनि पर्यटक आकर्षणको बलियो सम्भावना देखिन्छ ।
ढुङ्गेनी डाँडामा यसै छरिएर रहेका ढुङ्गामा रहेको भौगर्भिक संरचना (Geological Structure) जस्तै: Crenulation Cleavage (ससाना बाङ्गाटिङ्गा धर्साहरू) क्वार्ज भेनहरूलाई संरक्षण गर्दै आकर्षक स्वरूप दिन सकिन्छ । फराकिला चिप्ला चिप्लेटी ढुङ्गामा कालिगडद्वारा आकर्षक चित्र तथा मूर्ति कोरेर रक गार्डेनको अवधारणामा संरक्षण गर्न सकेपनि ढुङ्गेनी डाँडाले पर्यटकलाई आकर्षित गर्नेछ । उच्च स्थान र वरपरका रमणीय स्थल अवलोकन गर्न सकिने भएकाले पनि भोलिका दिनमा बाह्य लगानी भित्राउन सके साहसिक खेल, प्याराग्लाइडिङ, जिपलाइन, हिल स्विङ जस्ता खेलस्थलका लागि पनि ढुङ्गेनी डाँडा उपयुक्त ठाउँ रहेको छ ।


यसरी विविध पक्षलाई नियाल्दा ढुङ्गेनी डाँडा आसपासका ढुङ्गा, नजिकैको ढकाल चौतारो , ऐतिहासिक दाह्रेगौडा नाका संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको भान हुन्छ । प्रचुर सम्भावना बोकेको हुँदाहुँदै पनि यस्ता स्थलहरूलाई पर्यटक आकर्षणको केन्द्र बनाउन नसक्नु वा ढिलाइ गर्नु कमजोरी हो । अन्यत्र कृत्रिम सुन्दरताको प्रचार गरि पर्यटक आकर्षक गरिरहेको अवस्था यस्ता प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्त्वले भरिपूर्ण स्थलहरूको संरक्षणमा ध्यान दिई थप व्यवस्थित मात्रै गर्न सके पनि ज्वालामूखी गाउँपालिकामा पर्यटक भित्र्याउन कुनै चुनौती छैन ।


ज्वालामूखी ४ धादिङका अश्विन समीप त्रिभुवन विश्वविद्यालयको भूगर्भ शास्त्र केन्द्रीय विभागका विद्यार्थी हुन्, उनी हाल इन्जिनियरिङ जियोलोजी अध्ययनरत छन् ।
थप फोटोहरू :









































































Discussion about this post