ताप्लेजुङः ताप्लेजुङको पूर्वी सिदिङ्वा गाउँपालिकामा रहेको ढङढङ्गे झरनाप्रति पर्यटक आकर्षित बन्दै गएका छन् । भारतको सिक्किम र पाँचथर जिल्लासँग सीमा जोडिएको सिदिङ्वा गाउँपालिकाको उक्त झरनामा पछिल्लो समय आन्तरिक पर्यटक आकर्षित बनेका हुन् ।
सिदिङ्वा गाउँपालिका–५, लिम्बूदिन र वडा–६, मेहेलेको सिमानामा रहेको ढङढङ्गे झरना नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ । निकै मनमोहक, आकर्षक र सुन्दर ढङढङ्गे झरनामा हाल आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको स्थानीय बासिन्दाले बताएका छन् ।
पर्यटकको उपस्थिति बढ्न थालेसँगै विभिन्न सामाजिक सञ्जालमा ढङढङ्गे झरनाको तस्बिर र भिडियोहरू भाइरल बनिरहेका छन् । सामाजिक सञ्जाल र केही सञ्चार माध्यममार्फत झरनासम्बन्धी प्रचार हुन थालेपछि आन्तरिक पर्यटकको उपस्थिति बाक्लिँदै गएको सिदिङ्वा गाउँपालिका–५ लिम्बूदिनका वडाध्यक्ष अमर लिम्बूको भनाइ छ ।
उनका अनुसार ताप्लेजुङसहित छिमेकी जिल्ला पाँचथरलगायतबाट ढङढङ्गे झरनाको भ्रमण तथा अवलोकन गर्न पर्यटक जाने गरेका छन् । ढङढङ्गे झरनाको भ्रमणमा जाने पर्यटकहरू झरनाको सुन्दरतामा भुल्दै रमाउने गरेका लिम्बूले बताए। भर्खरै भ्रमण गरेका स्थानीय राजकुमार बानियाले ढङढङ्गे झरनामा पुगेर रमाउन पाउँदा आनन्द महसुस गर्न पाएको बताए
आन्तरिक पर्यटक ओमेन्सा राईले पनि ढङढङ्गे झरनाको मनमोहक दृश्यले जो कोहीलाई आनन्द दिलाउने बताए । ढङढङ्गे झरना वरिपरि हरियाली जङ्गलसँगै आकर्षक देखिने भिर तथा पहराबिचबाट झर्ने भएकाले पनि सुन्दर रहेको उनले बताए । उनका अनुसार झरना निकै अग्लो रहेको र छुट्टै खालको ढङढङ् आवाज सुनिने हुँदा पर्यटक थप आकर्षित हुने गरेका छन् ।
यता पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको ढङढङ्गे झरनाको प्रवर्धन र विकासमा भने पहल नपुगिरहेको बताइएको छ । झरनाको आवश्यक प्रचारप्रसार अपुग रहेको छ भने सडकलगायतका पूर्वाधारहरू निर्माण हुन सकिरहेको छैन । सिदिङ्वा गाउँपालिकाले पर्यटकीय गन्तव्यका रूपमा स्थापित तिम्बुङ पोखरी क्षेत्रसहित ढङढङ्गे झरना, सिदिङ्मा धाम र चमेरे गुफालाई पर्यटकीय गन्तव्य बनाउनका लागि पहल भने सुरु गरेको छ ।
ढङढङ्गे झरनालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि सङ्घ र प्रदेश सरकारसँग योजना माग गरिएको गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कडरियाले बताइन । पालिकाको तर्फबाट प्रस्ताव गरिएको योजना अनुसार चालू आर्थिक वर्षका लागि सङ्घीय सरकारले १५ लाख रुपियाँ बजेट विनियोजन गरेको उनले जानकारी दिइन। प्रदेश सरकारको योजना भने आफूलाई थाहा नभएको उनले बताइन ।
गाउँपालिकाको तर्फबाट पनि ढङढङ्गे झरनाको विकासका लागि चालु आवमा केही बजेट विनियोजन गरेको जनाइएको छ । ढङढङ्गे झरना हुँदै तेर्छे, सिदिङ्मा धाम र तिम्बुङ पोखरीलाई जोड्ने गरी बृहत् पर्यटन योजना गाउँपालिकाले बनाए पनि बजेटको अभाव रहेको छ । स्थानीय तहको पर्यटन योजनाका लागि सङ्घ र प्रदेश सरकारसँग नै आवश्यक बजेटका लागि पहल हुँदै आएको गाउँपालिकाका अध्यक्ष मानबहादुर राईको भनाइ छ । यो खबर आजको गोरखापत्रमा प्रकाशित भएको छ ।




























































Discussion about this post