‘२०७२ मा नौ हजार नेपालीको ज्यान भूकम्पले होइन, कमजोर संरचनाले लिएको’ विपद् विज्ञ तथा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) का अध्यक्ष आमोदमणि दीक्षितले बताएका छन्।
गोर्खा भूकम्पको दसौँ वार्षिकोत्सवको अवसरमा आज आयोजित ‘भूकम्प नबिर्सौं र्याली’मा बोल्दै दीक्षितले ९ हजारभन्दा बढी नेपालीले ज्यान गुमाउनुमा भूकम्पभन्दा कमजोर संरचना जिम्मेवार रहेको बताएका हुन्।
“उनीहरूलाई मारेको भूकम्प थिएन, उनीहरू कमजोर घर र संरचनाका कारण मारिएका हुन्,” दीक्षितले भावुक हुँदै भने, “यदि उनीहरूले बोल्न सक्थे भने भन्ने थिए — बलियो घर भएको भए हामी बाँच्थ्यौं।”


र्यालीमा दीक्षितले त्यो भयावह क्षणको पीडा र त्यसपछिको सामाजिक सहनशीलता, आत्मबल तथा पुनःउत्थान क्षमताको प्रशंसा गरे। “हामी भग्नावशेषको छायाँबाट उठ्यौं, बाँचेका छौं, र अब अघि बढ्ने अठोटमा छौं,” उनले भने।
दीक्षितले स्मृति दिवसलाई केवल सम्झनाको अवसर नभई दृढ संकल्पको दिनका रूपमा लिनुपर्नेमा जोड दिए। “हामी भूकम्प प्रतिरोधी संरचना निर्माण गर्न सक्षम छौं, अब ढिलाइ नगरी त्यस्ता संरचनामा लाग्नुपर्छ,” उनले स्पष्ट पारे। “बलियो नेपाल बनाउने बाटो बलियो घरबाट सुरु हुन्छ।”
उनका अनुसार आगामी सम्भावित भूकम्प वा अन्य प्राकृतिक प्रकोपबाट देशलाई सुरक्षित राख्न व्यापक सतर्कता, जनचेतना र इन्जिनियरहरूको सक्रियता अपरिहार्य छ।


“हामी इन्जिनियरहरूको दायित्व भनेको केवल संरचना बनाउनु मात्र होइन, समाजलाई सुरक्षित बनाउनु हो,” दीक्षितले भने।
उनले अझै पूर्णरूपमा पुनर्निर्माण हुन नसकेका जलस्रोत, आवास, संरचना तथा ऐतिहासिक सम्पदाहरूको पुनःनिर्माणमा पनि राज्य र प्राविधिक क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए।
र्याली नेपाल इन्जिनियर्स एसोसिएसन (NEA) को नेतृत्वमा आयोजना गरिएको थियो। नेपालिज आर्किटेक्ट्स सोसाइटी (SONA), स्ट्रक्चरल इन्जिनियर्स एसोसिएसन नेपाल (SEANep), नेपाल जियोटेक्निकल सोसाइटी (NGS), शहरी विकास तथा भवन निर्माण विभाग (DUDBC-CLPIU), ललितपुर महानगरपालिका, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA), इन्जिनियरिङ कलेजहरूको संघ (AECON), र इन्जिनियरिङ अध्ययन संस्थान (IOE) लगायतका संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो।


र्याली नेपाल इन्जिनियर्स एसोसिएसनको कार्यालयबाट सुरु भई पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान हुँदै पाटनढोका परिक्रमा गरी पुनः कार्यालयमै फर्किएर सम्पन्न भएको थियो।
कार्यक्रमको उद्देश्य आपतकालीन प्रतिक्रिया, ग्रामीण आवास पुनर्निर्माणमा इन्जिनियरहरूको योगदानप्रति सम्मान प्रकट गर्नुका साथै पूर्वाधार विकासमा जोखिम सचेतता, नीतिगत सहकार्य र दीर्घकालीन जनचेतना निर्माण गर्नु रहेको आयोजकहरूले बताएका छन्।




























































Discussion about this post