काठमाडौं, बैशाख १२ – नेपाल जियोटेक्निकल सोसाइटीका अध्यक्ष मन्दिप सुवेदीले भूकम्पको बेला तर्सिने, तर पछि बिर्सने बानी त्याग्नुपर्नेमा जोड दिएका छन् ।
२०७२ साल बैशाख १२ गते गएको विनाशकारी गोर्खा भूकम्पको दसौँ वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजना गरिएको ‘भूकम्प नबिर्सौं र्याली’मा बोल्दै उनले भूकम्पीय जोखिमलाई स्मरणमै सीमित नराखी, चेतनाको स्थायी अभ्यासमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका हुन्।


“यो र्याली पीडादायक दिनको सम्झना मात्र होइन,” सुवेदीले भने, “हाम्रो समाजलाई फेरि एकपटक भूकम्पीय जोखिमबारे सतर्क गराउने, र हामी इन्जिनियरहरूको दायित्व तथा भूमिकालाई पुनः स्मरण गराउने अवसर पनि हो।”
उनका अनुसार २०७२ सालको त्यो बिहान ११:५० मा धर्ती एकाएक थरथर काम्न थाल्दा धेरै नेपालीका जीवन र सपना चकनाचुर भएका थिए। “हामीले हजारौँ आफन्त गुमायौँ, संरचनाहरू ध्वस्त भए, र भविष्यप्रतिको विश्वास नै डगमगायो,” उनले भावुक हुँदै स्मरण गरे।
सुवेदीले उक्त र्यालीलाई केवल पदयात्रा नभई ‘एक सामूहिक प्रण’को रूपमा चित्रित गरे। “अबको समाज सुरक्षित र दिगो बनाउन, भविष्यका पुस्ताले हिजो जस्तै पीडा नभोगून् भन्ने उद्देश्यले हामीले यो कदम चालेका हौँ,” उनले भने।
नेपाल इन्जिनियर्स एसोसिएसन (NEA) को नेतृत्वमा आयोजित र्यालीमा नेपालिज आर्किटेक्ट्स सोसाइटी (SONA), स्ट्रक्चरल इन्जिनियर्स एसोसिएसन नेपाल (SEANep), नेपाल जियोटेक्निकल सोसाइटी (NGS), राष्ट्रिय भूकम्प प्रविधि समाज (NSET), शहरी विकास तथा भवन निर्माण विभाग (DUDBC-CLPIU), ललितपुर महानगरपालिका, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA), इन्जिनियरिङ कलेजहरूको संघ (AECON), र इन्जिनियरिङ अध्ययन संस्थान (IOE) लगायतका संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो।



कार्यक्रमको उद्देश्य भूकम्पपछि गरिएको आपत्कालीन प्रतिक्रिया तथा निजी ग्रामीण आवास पुनर्निर्माणमा इन्जिनियरहरूको योगदानप्रति सम्मान प्रकट गर्नु रहेको थियो। साथै, पूर्वाधार विकासमा जोखिम–सचेतता, नीतिगत सहकार्य र दीर्घकालीन जनचेतना निर्माणका लागि यस्ता कार्यक्रम आवश्यक रहेको आयोजकहरूले स्पष्ट पारे।


र्यालीमा इन्जिनियरिङ स्कुल तथा कलेजका विद्यार्थी, स्थानीय प्रतिनिधिहरू, महिला तथा आमा समूह, सामाजिक तथा सांस्कृतिक संघ–संस्थाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। सहभागीहरूले विगतका अनुभवको समीक्षा गर्दै अबको रणनीति अझ प्रभावकारी र जनकेन्द्रित हुनुपर्नेमा जोड दिए।
र्याली नेपाल इन्जिनियर्स एसोसिएसनको कार्यालयबाट सुरु भई पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान हुँदै पाटनढोका परिक्रमा गरी पुनः कार्यालयमै फर्किएर सम्पन्न भएको थियो।






























































Discussion about this post