- राजु झल्लु प्रसाद, प्रेम बास्तोला
अन्तर्राष्ट्रिय सालक दिवस: सालक संरक्षणको सन्देश विद्यार्थी हुँदै परिवार र समाजसम्म
धादिङवेशी । धादिङस्थित नीलकण्ठ माध्यमिक विद्यालय प्राङ्गणमा शुक्रबार धादिङका विभिन्न विद्यालयका विद्यार्थीहरू, शिक्षक, सामुदायिक वनका उपभोक्ता समिति एवं टोल सुधार समितिका पदाधिकारी एवं स्थानीयवासीहरूको अनुहार अनौठो रङले सिँगारिएको देखिन्थ्यो । विद्यालय प्राङ्गणभर यस्ता अनुहारहरूको बाक्लो उपस्थिति थियो । नियालिहेर्दा- ती अनुहारमा सालक र सालक संरक्षणप्रति प्रतिबद्ध नाराहरू अङ्कित भएको भेटिन्थ्यो ।
बालबालिकाको अनुहारमा सालकको चित्र । युवायुवतीको अनुहारमा सालकको चित्र । शिक्षक-शिक्षिकाका एकापट्टिको गालामा समेत सालकको चित्र रङ अङ्कित भएको भेटिन्थ्यो । अधबैँसेको अनुहारमा पनि उसैगरी लजालु र कसैलाई नोक्सानी नपुर्याउने सुधो वन्यजन्तु सालक संरक्षणमा प्रतिबद्ध भएको सन्देश सहितका सालकहरूको चित्रहरू कोरिएका देखिन्थ्यो । कसैकसैको त नङमा समेत सालकको चित्र भेटिन्थ्यो । अझ, लामबद्ध बसेर सालको चित्र खोपाउन आ-आफ्नो अनुहार धोइपखाली गरि आइरहेकाहरूको उत्साह बेग्लै थियो ।


यसप्रकार, अनुहार चित्र कोराइरहेका एवं चित्र खोप्न लामबद्ध हरेकको आँखा र ओठमा एक बेग्लै उत्साह र आनन्दको मुस्कानी रङ छचल्किरहेको थियो । मुस्कान आफैमा भाषा हो, आफैमा भाव हो । आफैँमा एक रङ हो । ती अनुहारले प्रकट गरिरहेको शान्त एवं प्रफुल्ल भावले सन् १९७३ देखि नै संरक्षित सूचीमा परेता पनि अत्यधिक चोरीसिकारीका लोपोन्मुख अवस्थामा पुगिसकेको सालकलाई जोगाउन धादिङ अग्रसर छ भन्ने सन्देश प्रवाह गरिरहेको महसुस हुन्थ्यो ।


अझ, कार्यक्रममा उपस्थित हरेक ४ जनामध्ये एक जना आ-आफ्ना गालामा लोपोन्मुख सालकको चित्र कोराइरहेका भेटिन्थे । कसैको देब्रे गाला, कसैको दाहिने गाला त कसैले दुवैतर्फ तस्करी तथा वासस्थान विनाशका कारण सङ्कटग्रस्त जनावर सालकको संरक्षणको प्रतिबद्धता व्यक्त गरिरहेका फेस पेन्टिङ गराइरहेका थिए । कसैका गाला रातो रङको देखिन्थ्यो, कसैको बैजनी त कसैको निलो रङको । कसैका गालामा पहेँलो रङको कुची चलिरहेको थियो भने कसैका गालामा हरियो रङको कुची चलिरहेको थियो ।


र, यसप्रकार कुची चलाउने काम वन विज्ञान अध्ययन संस्थान पोखरामा अध्ययनरत विद्यार्थीहरूले गरिरहेका थिए । सुशीला बज्राचार्य, साक्षी शाह, साधना अधिकारी, अपेक्षा कार्की, विष्णु अछामे लगायतका वन विज्ञानका विद्यार्थीहरूले सालकको ‘अनुहार चित्र’ कोर्ने एवं ‘सालक जोगाऔँ’, ‘सालक बचाऔँ’, ‘सेभ प्याङ्गोलिन्स’, आइ लभ प्याङ्गोलिन्स’ जस्ता नाराहरू खोप्ने काममा यति व्यस्त देखिन्थे कि उनीहरूले साँझैसम्म खाजा-पानीसम्म खान भ्याइरहेका थिएनन् । फागुनकै महिना भए पनि चरक्क चर्किएको दिउँसोको घाममा उनीहरू सालकप्रति धादिङ्गेलीले देखाएको वृहत् चासो देखाएर नतमस्तक थिए ।


धादिङमा पहिलो पटक ‘अन्तर्राष्ट्रिय सालक दिवस-२०८०’ भव्यताका साथ चलिरहँदाको दृश्यहरू हुन् यी ।
डिभिजन वन कार्यालय धादिङको अगुवाइमा शुक्रबार बिहान ११ बजेदेखि सुरु भई दिउँसोका ४ बजे सम्पन्न भएको सो कार्यक्रममा सालकको चित्र आ-आफ्ना गालामा कोराउनेहरूमा विशेष अभिरुचि स-सना कक्षामा पढिरहेका विद्यार्थीहरूमा बेसी भेटिन्थ्यो । उमेरले पनि साना र सालकजस्तो नौलो विषयप्रति उनीहरूको जुन रुचि देखिन्थ्यो, त्यसले हरेक वर्ष फेब्रुअरीको तेस्रो शनिवार मनाइने विश्व सालक दिवसलाई एक दिन अघि सारी शुक्रबार नै मनाउने डिभिजन वन कार्यालय, धादिङका प्रमुख विष्णुप्रसाद आचार्यको निर्णय सही थियो भन्ने प्रत्याभूति गराइरहेको थियो ।


सालकको ‘अनुहार चित्र (फेस पेन्टिङ)’ कोराइरहेका विद्यार्थी, महिला एवं आमाबुबाहरू सालक सम्बन्धी प्रस्तुत लोपोन्मुख खैजेडी भजन, ठाडो भाका, बिगुल, फेरी, लोकगीत, जनचेतनामूलक नाटक हेर्दै त थिए नै, स्थानीय सरकार, वन कार्यालय, वातावरणकर्मीहरूले सालक संरक्षणप्रति प्रतिबद्धता व्यक्त गरिरहेका र यसप्रकारको कार्यक्रम धादिङमै पहिलोपटक भएको भन्दै एकापसमा कानेखुसी एवं छलफल समेत गरिरहेका भेटिन्थे ।


अगाडि मञ्चमा बागमती प्रदेश सांसद गोविन्द लम्सालको प्रमुख आतिथ्ययतामा वन तथा भू-संरक्षण विभागका उप-महानिर्देशक दीपक ज्ञवाली, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे, जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारी, उपप्रमुख कुलमान वि.क, नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुङ्गाना, डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्य, सालकमा विद्यावारिधि गर्ने नेपालको पहिलो अनुसन्धानकर्ता डा. तुलसी लक्ष्मी सुवाल, आगलागी नियन्त्रणका अगुवा एवं वन रक्षक भूमिरमण नेपाल लगायत ‘सालकबारेको किताबी ज्ञानलाई फराकिलो दायरामा बुझ्नुपर्ने, कृषकहरूको लागि सालक अत्यन्त महत्त्वपूर्ण रहेको, लोपोन्मुख यो स्तनधारी जीवलाई जोगाउन धादिङले अग्रसरता लिने’ लगायतका सालक संरक्षण सम्बन्धि प्रतिबद्धता व्यक्त गरिरहेका थिए । संसारभर चोरी सिकारीबाट अति सङ्कटापन्न (क्रिटिकल्ली इन्डेन्जर्ड) यस जीवबारे गीत, गजल, कविता, कथा, भजन, लोकगीत, लोकभाका पनि घन्किरहेकै थियो ।


वन्यजन्तु संरक्षण सम्बन्धी विभिन्न सङ्घसंस्था र व्यक्तिहरूले मात्रै बोलिरहने ‘सालक’का सम्बन्धमा स्थानीयवासीदेखि स-सना बालबालिका यसप्रकार एकता देखिनु एक दुर्लभ र सुखद आश्चर्यको विषय थियो । स्कुलको हाताभित्र कार्यक्रम चलिरहेको हुनाले हामीले विद्यार्थी सालकको ‘अनुहार चित्र’ कोराइरहेका विद्यार्थीहरूसँग नै कुराकानी गर्यौँ ।


नीलकण्ठ माविमा कक्षा ५ मा अध्ययनरत गर्ने १० वर्षीय निकेश सापकोटा शरीरभरि बाक्लो र कडा कत्ला हुने सालक आफूले पहिलोपटक सुनेको र त्यसबारे सुनेको बताउँछन् । “मलाई त थाहै थिएन, यस्तो क्युट एनिमल पनि हुँदो रहेछ । पेट, मुख, आँखा सबै मनपर्यो । यति राम्रो सालकलाई किन होला दुख दिएका ? म त कहिल्यै त्यसो गर्दिनँ । घरमा ममीबुबालाई पनि त्यसो नगर्न भन्छु”, उनले भने ।


यसैगरि, विद्यालयका नाम नभनेका तर ५ कक्षामै अध्ययनरत रवीन परियार सालकको रङ र माटोको रङ उस्तैउस्तै हुने भएर आफूले अहिलेसम्म नदेखेको हो कि भनि संशय व्यक्त गर्छन् । “सरमिसले हिजोअस्तिदेखि नै यसको बारे भन्नुभएको थियो । यसले खतरा महसुस गर्यो भने यो भाग्दैन तर भकुन्डाेको आकारमा गोलो भएर बस्छ भन्नुभएको थियो । आज अझ धेरै कुरा थाहा पाएँ । यो सालक त पुच्छरको सहायताबाट रूखको हाँगामा पनि झुन्डिन पो सक्दो रहेछ”, उनले भने ।




यसैगरी, नीलकण्ठ माविकै ११ वर्षीय निकेश सापकोटाले आफ्नो देब्रे गालामा अङ्कित सालकलाई देखाउँदै यो मारिन्छ रे भनेको सुन्दा नराम्रो लागेको बताए । “हाम्रो खेतबारी मलिलो बनाउने, तरकारीको किरा पनि खाइदिने हाम्रो, किसानको साथीलाई किन त्यस्तो गरेको होला है ? अब कसैले त्यसो गरेको थाहा पाए भने पुलिसलाई भन्दिन्छु म त”, उनले बडो दु:खी आवाजमा भने ।


नीलकण्ठ माविमा अध्ययनरत प्रिसकला तामाङले सबै साथीहरूले सालकको चित्र बनाएकाले आफूले पनि बनाएको बताइन् । “मलाई त सालक मनपर्यो । कस्तो राम्रो लाग्यो । यसैले बनाको”, उनले छोटो मिठो कुरा गरिन् । उनले अँगालोमा शुक्रबार नै विमोचित ‘हाम्रो सालक, प्यारो सालक“ पुस्तक च्यापेकी थिइन् ।


यसैगरी, झार्लाङ घर भएकी तर हाल परिवारसँग धादिङवेशी नै बस्दै आएकी शर्मिला तामाङले डढेलो तथा गाउँगाउँमा रोड आदि पुग्दा पनि सालकलाई दु:ख भएको होला भन्ने आशय व्यक्त गरिन् । “अघिदेखि बसेर कार्यक्रम सुनिरहेँ । चोरले मात्रै नभएर डढेलो लाग्दा पनि सालक मर्दो रहेछ । अब म जङ्गलमा डढेलो लगाउन हुँदैन भन्छु । घरमा सबैलाई पनि त्यसै भन्छु”, उनले भनिन् ।


नागरिक र अझ बालबालिकाहरूलाई सालकको बारेमा जनचेतना फैलाउने र संरक्षण गर्ने उद्देश्यले सालक दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्यले बताए । “सालकको विषयमा बच्चाहरूलाई बुझाउन आवश्यक छ । आजका बालबालिका भोलिका आमाबाबुका सहारा र राष्ट्रका कर्णधार हुन् । वास्तवमा भन्ने हो भने कुनै पनि देशको भविष्य उनीहरूको उमेरसँगै बढिरहेको हुन्छ । फेरी बालबच्चाबाट तीव्ररूपमा ‘माउथ पब्लिसिटी’ हुन्छ । बालबालिकाले आफूले जानेबुझेका कुरा आमाबुबालाई पनि भन्छन्, बरु आमाबुबाले बालबालिकालाई सबै कुरा नभन्न पनि सक्छन् । यसैले हामीले विद्यालयसँग सहकार्य गरेर नै कार्यक्रम गरेका हौँ । कार्यक्रम अवधिभर विद्यार्थी भाइबहिनीहरू बसिदिनुभयो । दुःखको कुरा, उपभोक्ताहरूको उपस्थिति कम हुन् गयो तर बालबालिकाले सालकप्रति वृहत् चासो र चिन्ता व्यक्त गरेका छन् । यसैकारण कार्यक्रम सफल भएको विश्वास लिएको छु”, उनले भने ।


आगलागी नियन्त्रणका अगुवा एवं वन रक्षक भूमिरमण नेपालले सालकजस्तो अति लोपोन्मुख स्तनधारी जनावार संरक्षणका लागि सालककै चित्र विद्यार्थी एवं उपभोक्ताका गाला र हातमा कोरिनु नौलो र उदाहरणीय संरक्षण अभियान भएको बताए ।


सालकमा विद्यावारिधि गर्ने नेपालको पहिलो अनुसन्धानकर्ता डा. तुलसी लक्ष्मी सुवालले डिभिजन वन कार्यलयको आग्रहमा पोखराबाट वन विज्ञान अध्ययन गरिरहेका विद्यार्थीहरूलाई स्वयंसेवकमा रूपमा खटाएर सालकको चित्र विद्यार्थी हुँदै परिवार र समाजसम्म लैजाने कार्य उदाहरणीय र महत्त्वपूर्ण भएको बताइन् ।


































































Discussion about this post