मैदान, खरी । पर्यटनकै माध्यमबाट विकासमा कायापलट गर्न सक्ने सम्भावना बोकेको ज्वालामूखी गाउँपालिका भित्रका प्रत्येक वडाहरूमा प्रशस्त पर्यटकीय गन्तव्यहरू छन् । मिठो स्वाद र छिटो पाक्ने ‘खरी पिँडालु’ का कारण प्रसिद्ध साबिकको खरी गाविस (हाल वडा-५) पर्यटकीय हिसाबले महत्त्वपूर्ण वडा हो । गोरखा राज्यका संस्थापक द्रव्य शाहका छोरा पूर्ण शाहको समयमा गोर्खामा अधिनिस्थ भएको खरी (षरी)का बारेमा इतिहासमा पनि केही कुरा भेटिन्छ । त्यसबेलाको युद्धमा षर्याल (खर्याल)हरूको कत्तल गरि पूर्ण शाहको गोरखाली फौज मैधी (मैदी)तर्फ लागेको युद्धवर्णन भेटिन्छ । यसैगरी, गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौं आवतजावत गर्ने मूलमार्ग समेत खैरी, मैधी, ढोला, पूर्सु रहेकोबाट यसको ऐतिहासिकता अझ प्रष्ट हुन्छ । पश्चिमतर्फको वनपाखा, बूढीगण्डकीको सीमाना र प्रसिद्ध सल्यानटार, आरुघाट हुँदै गोर्खा आवतजावत गर्ने पुरानो पैदलबाटो (हालको मोटरबाटो) यहाँ हुनुले पनि खरीको पर्यटकीय सम्भावनामा अर्को आयाम थप्दछ । पश्चिम बूढीगण्डकी र दक्षिण छोरीगण्डकी सिमाना रहेको साबिकको खरी गाविसको विशेष महत्त्व प्राकृतिक सुन्दरता हो ।


वडाका वडाध्यक्ष टंक प्रसाद काप्रीका अनुसार वडामा पर्यटकीय सम्भावना बोकेका ठाउँहरू प्रशस्त छन् । राम्चेडाँडा भ्यु पार्क (राम्चेडाँडा), बुङ्कोटघाटस्थित पशुपति मन्दिर, काप्रीगाउँको देवीस्थान मन्दिर, धुसेनीको झण्डादेवी मन्दिर, बेलबोटे मन्दिर, खरिकोट (त्रिपुरासुन्दरी माईको थान), अन्नपूर्णा मन्दिर, आदामाराको मनकामना मन्दिर, ऐतिहासिक ठुलो पोखरी, घाटु लगाउने चौतारो, भदुवारको कालिका मन्दिर, छापथोकको जलदेवी मन्दिर, मण्डलीमाई, ढाडागाउँको सुन्तला खेती, जौबारी- कुमालखोपको जुनार, कागती एवं सुन्तला खेती, सुशिला डाँडादेखि राम्चेडाँडासम्मको क्षेत्र, पचुवाडाँडाको अदुवा खेती, बालेदह, निदोनी खोला एवं यस क्षेत्रका बहुल भाषी समुदाय र तिनका भेषभूषा एवं जातीय संस्कृति आदि वडाको पर्यटकीय सम्भावना भएको वडाध्यक्ष क्राप्री बताउँछन् ।


राम्चे डाँडाबाट देखिने मनमोहक हिमशृङ्खलाका साथै प्राचीनकादेखि प्रयोगमा आएका वस्तुहरूले यस ठाउँलाई अझ पृथक् बनाउँछ । बुङ्कोटघाटस्थित पशुपति मन्दिरमा ठुलो एकादशीका दिनमा सतबिउ छर्ने जात्रा लाग्ने गर्दछ । काप्रीगाउँको देवीस्थान मन्दिरमा खडेरी वा अकाल भएमा पानी पर्ने विश्वाससहित जेठमा पूजाआजा हुँदै आएको छ । धुसेनीको झण्डादेवी मन्दिरमा हरेक धान्य पूर्णिमापछिको औँसीमा जात्रा लाग्ने गरेको छ भने बेलबोटे मन्दिरमा धान्य पूर्णिमामा जात्रा (बेलबोटे जात्रा) लाग्दै आएको छ । यसैगरी, बुङकोटघाटमा सत्तल निर्माण गर्ने समयमा आइपुगेका भीमसेन थापाले बनाएको खरीकोट (त्रिपुरासुन्दरीमाईको थान)को लावारिस अवस्थाले पुनर्निर्माणको माग गरिरहेको छ, जहाँ भव्य कालरात्रि जात्रा लाग्ने गर्दथ्यो । यसैगरी, आदामाराको मनकामना मन्दिरमा पनि जात्रा लाग्दै आएको पाइन्छ । बस्तीदेखि माथिको पोखरी अर्थात् ठुलो पोखरीमा कहिल्यै पानी नसुक्ने विश्वास गरिन्थ्यो तर, हाल त्यहाँ पानी छैन भने संरचनाहरू पनि अस्तव्यस्त अवस्थामा रहेका छन् । खरीको घाटु लगाउने चौतारोले पनि आफ्नो ऐतिहासिकता बताइरहेकै छ, यसको संरक्षण आवश्यक देखिन्छ । छापथोकमा रहेको जलदेवी मन्दिरमा महिनाको एउटा पूर्णिमामा पाठी काट्ने गरिन्थ्यो । यसैगरी, गुफा बस्ने वन मान्छे (नयाँ प्रजातिको जीव) पाउने विश्वास गरिने निदोनी खोलाको ओडारको वास्तविक अध्ययन-अनुसन्धान भएमा खरीको पर्यटकीय आयाममा विविधता थपिने निश्चित छ ।


पर्यटन व्यवसायमा अनुभव बटुलेका वडाध्यक्ष काप्री यी विभिन्न मठमन्दिरमा परम्परागत रूपमा चल्दै आएका जात्रा तथा पर्वलाई समष्टिगत रूपमा उजागर गर्न सके पर्यटनमा टेवा पुग्ने बताउँछन् । देशविदेशबाट ग्रामीण भेग र त्यसको आउने पर्यटकलाई यस ठाउँमा भित्र्याएर घाटु नाच, सोरठी नाच लगायत सांस्कृतिक विविधताको स्वाद चखाउन सकिने उनी बताउँछन् । यसको लागि वडामा भएका भौतिक, प्राकृतिक तथा सांस्कृतिक सम्पत्तिको उचित संरक्षण, संवर्द्धन एवं प्रवर्द्धन कार्यलाई अझ विस्तारित गर्न आवश्यक रहेको उनले बताए । ग्रामीण क्षेत्रका विभिन्न पक्षहरू जस्तै: सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, प्राविधिक, पूर्वाधार, संस्थागत जस्ता विविध पक्षहरूको गुणात्मक तथा सकारात्मक सुधार हुनु नै ग्रामीण विकास उनी बताउँछन् । “मुलुकको अन्य गाउँले आफूसँग भएका यियस्तै संस्कृति देखाएर पर्यटनमार्फत मनग्ये आयआर्जन गरिरहेका छन्, तर धादिङका हकमा हामी भने चुकिरहेका छौँ”, उनले भने ।
वडावासीले पर्यटनकै माध्यमबाट राम्रो आयआर्जन गर्नसक्ने कुरामा उनी विश्वस्त देखिए । पर्यटनकै विषयमा कुरा गर्ने क्रममा वडामा हुने एकादशी जात्राको बारेमा खोज गरि त्यसको महत्त्व उजागर गर्न जरुरी रहेको समेत उनले बताए । साथै खरीकोट, अन्नपूर्ण मन्दिर, देवीस्थान मन्दिर, मनकामना मन्दिर, कालिका मन्दिर र उक्त मन्दिरसँग सम्बन्धित जात्रा लगायतका कुरालाई संरक्षण गर्न वडा लागिरहेको समेत उनले बताए । “यस्ता सम्भावना बोकेका स्थानहरूलाई अध्ययनको विषय बनाएर विद्यार्थी तथा पर्यटकलाई भ्रमण गर्ने वातावरण मिलाउन सके स्थानीय उत्पादन खपत हुने तथा रोजगारी समेत सिर्जना हुन् सक्छ”, उनले अगाडि भने, “वडामा कृषि पर्यटनको पनि प्रचुर सम्भावना रहेको छ । जौबारी, भदुवार, ढाडागाउँ, आलेगाउँ पिँडालुको लागि प्रख्यात छ । सुशिलाडाँडादेखि राम्चेसम्म एभोकार्डो खेतीको सम्भावना रहेको छ । जौबारी, कुमालखोप सुन्तला, कागती एवं जुनार खेतीका लागि प्रसिद्ध छ, यसलाई क्रमसँगै व्यवस्थित गर्दै जाने योजनामा छौँ ।” खरीमा विशेषगरि फलफूल खेती, बाख्रापालन, पिँडालु खेती हुने गरेको छ । जौबारी, आलेगाउँ, ढाँडा गाउँ र बाँझा गह्रा क्षेत्रसम्म सुन्तला तथा कफीको पकेट क्षेत्र बनाउन सके कृषकहरूले राम्रो आम्दानी गर्नसक्ने उनी बताउँछन् ।


गोरखाबाट मनासलु हुँदै आउने पर्यटक या गणेश हिमाल, सिङ्ला पास गरेर आउने पर्यटकलाई प्याकेज बनाएर केही दिन गाउँपालिका तथा वडामा राख्न सके ज्वालामुखीको पर्यटनमा सुधार हुने समेत उनले बताए । ज्वालामुखी गाउँपालिकाको हकमा, जलमुखी मन्दिर हुँदै घले डाँडा होमस्टे- खरिकोट- राम्चे डाँडा- छोरीगण्डकी खोला हुँदै मैधीकोट- ठुलोचौ जोडेर पैदल यात्राको रुट बनाउन सकिने उनी बताए । “यस रुटबारे सम्भाव्यता अध्ययन थालिनुपर्छ, पुरानो पैदलमार्गले पालिकाका महत्त्वपूर्ण धार्मिक स्थललाई मात्रै जोड्दैन यसले तदनुसारका सांस्कृतिक एवं सामाजिक विविधतालाई पनि एकीकरण गर्दछ, यसबारेमा हामीले सोच्न जरुरी छ”, उनले भने । प्रत्येक दसैँको अष्टमीका दिन खरीकोटमा हुने कालरात्रि जात्रा, ठुलो एकादशीका दिन बुंङ्कोटघाटमा लाग्ने जात्रा, बालाचतुर्दशीका दिन बेल्कोटेमा लाग्ने जात्रा लगायत विभिन्न जातजातिका परम्परागत हिसाबले लाग्दै आएका जात्रा पनि गाउँपालिकाको सांस्कृतिक सम्पत्ति भएको समेत उनले बताए । “घर-खेत गर्दा गोठबस्ने चलन थियो, खेतमा गोठ राखिन्थ्यो । यस कुरालाई विदेशीले बडो चाख दिएका छन्, तर हामीले हाम्रा जग्गाजमिन नै बाँझो राख्न थालेका छौँ । त्यो चलन लगभग हराइसकेको अवस्था छ, त्यसलाई ब्युँताउन सकिन्छ”, उनले भने ।
बहुप्रतिक्षित बुढीगण्डकी जलविद्युत आयोजना बारेमा समेत वडाध्यक्ष काप्रीले बताए । “स्वास्थ्यको दृष्टिकोणले साइकलबाट यात्रा गर्नु उचित रहेकाले बुढीगण्डकी विकास भएर ताल भएको खण्डमा सो स्थानमा साइकल टुरिजम फस्टाउन सक्छ । गाउँपालिकाको १,५ र ७ नम्बर वडा त्यसबाट लाभान्वित हुनेछन् । तर, यस आयोजनाले यद्यपि गति लिन सकेको छैन”, उनले भने ।


वडाध्यक्ष काप्रीले जनसमुदायको फेरिँदो जीवनशैलीका कारण ह्रास हुँदै गएको सामाजिक, सांस्कृतिक व्यवहारहरूबारे चिन्ता व्यक्त गरे । बाउबाजेले प्रयोग गर्दै आएको खुर्पेठ्याक, ढिकी, ठेकी, मदानी, जाँतो एवं परम्परागत चिजवस्तु हराउनु दुःखद रहेको उनले बताए । “पुराना घरायसी प्रयोगमा आउने सामग्री, पूजा सामग्रीसमेत हराइसकेका छन् । हामीले हाल प्राप्य यी वस्तुहरूको यथासम्भव सङ्कलन गरेर संग्रालयको रूप दिने हो भने पहाडी जनजीवन नियाल्नका लागि यहाँ विदेशीहरू आउन सक्छन्”, उनले अगाडि भने, “अहिले मानिसहरूको जीवनशैली आधुनिक हुँदै गएको छ । अखाद्य पदार्थ बढी प्रयोगमा आएका छन् । त्यसैले गाउँपालिकाले कृषि पर्यटनमा ध्यान दिए स्थानीय उत्पादन तथा परिकारबाटै लाभान्वित हुनसक्छ । हामीले पालिकालाई पर्यटकीय हिसाबले सोच्नै नथालेकाले यसप्रकारका कुराहरू गर्नु रमाइलो गफ प्रतीत हुन् सक्दछ तर यसमा म भविष्य देखिरहेको छु”, उनले भने । अहिलेबाटै उक्त अवधारणासहित अघि बढे भविष्यमा गाउँपालिकामा पर्यटन व्यवसाय फस्टाउन सक्ने र यसबाट ग्रामीण अर्थतन्त्रमा टेवा पुग्ने उनले विश्वास लिएका छन् । होमस्टे बिना ग्रामीण पर्यटनलाई अगाडि बढाउन कठिन हुने बताउँदै उनले भदुवार कालिकाजस्ता हाल सञ्चालित होमस्टेको प्रवर्द्धनमा पालिका अझ चुस्त रूपमा लाग्नुपर्ने बताए ।


नेपाल ग्रामीण पर्यटनको सम्भावनाले भरिपूर्ण रहेको बताउने वडाध्यक्ष क्राप्री वडा-५ मात्रै नभई, ज्वालामुखी गाउँपालिका मात्रै पनि नभई सिङ्गो धादिङ नै उदयमान पर्यटकीय क्षेत्र हुनसक्ने यथेष्ट सम्भावनाहरू रहेको बताउँछन् । “एकातिर जातीय, धार्मिक, भाषिक विविधता र अर्कोतर्फ भौगोलिक रूपमा विविधता पर्यटनको लागि उच्च सम्भावना युक्त क्षेत्र हो, त्यो हामीसँग छ । स्थानीय समुदायको कला, संस्कृति, भेषभुषा, भाषा, धर्म, रीतिरिवाज, चालचलन तथा त्यस समुदायहरू बस्ने स्थलबाट अवलोकन गर्न सक्ने प्राकृतिक दृश्यावलोकनले धादिङकै पर्यटकीय सम्भावनालाई उजागर गरिरहेको छ”, उनले अगाडि भने, “ग्रामीण जनताका लागि उनीहरू स्वयंको सक्रियतामा गरिने पर्यटन व्यवसाय नै ग्रामीण पर्यटन भएकाले त्यसतर्फ हामी सबै लाग्नुमै सबैको हित हुन्छ ।”


(राजु झल्लु प्रसाद र प्रेम बास्तोलासँग कुराकानीमा आधारित)


































































Discussion about this post