- स्व. विष्णु प्रताप शाह
दिव्योपदेशका अनुसार नेपाल एकीकरणबारे मैधीकै सभामा पहिलो विचार विमर्श भएको थियो । यस ऐतिहासिक क्षणको साक्षी बस्ने सौभाग्य राजधानीबाट टाढा बूढीगण्डकीको पूर्वमा अवस्थित मैधीले पायो भने यही सौभाग्यबाट सदर गोर्खा ठगियो ।
नेपालका विभिन्न ऐतिहासिक स्थलहरू मध्ये गोरखा सबैभन्दा विशिष्ट स्थान रहेको छ । यसै ठाउँमा राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको जन्म भयो तथा यसै राज्यले राष्ट्रनिर्माणमा ठूलो भूमिका खेल्यो । यसैकारण यो ठाउँ सम्पूर्ण नेपालीको श्रद्धा र आकर्षणको केन्द्र रहेको छ । आफूलाई नेपाली हुँ भनी गर्व लिने कुनै पनि नेपाली यो ठाउँसित परिचित छन् ।
राष्ट्रनिर्माणको समयमा विभिन्न भूमिका रहेको अनगिन्ती ऐतिहासिक स्थलहरू देशभरि छन् । तर ती स्थानहरूबारे हामीलाई कमै थाहा छ । इतिहासका मूल विषयहरूमा नै अनुसन्धान गर्न र विवाद टुङ्गो लगाउन बाँकी रहेको आजको इतिहास उखानको अवस्थामा पश्चिमका विकसित समाजमा जस्तै स–साना ऐतिहासिक व्यक्तित्व र स्थलहरूको पनि नालीबेली खोजिरहन सम्भव पनि छैन । साधन पनि छैन । तैपनि यस्ता ऐतिहासिक स्थलहरूको चिनारी गराइरहने प्रयास भने भइरहनुपर्ने देखिन्छ । जसबाट यस सम्बन्धमा भविष्यमा अझबढी खोज हुन सकोस् ।
यस क्रममा एउटा अपरिचित तर ज्यादै महत्त्वपूर्ण ऐतिहासिक स्थलको सम्झना आउँछ । त्यो हो, बागमती प्रदेशको धादिङ जिल्लाको ज्वालामूखी गाउँपालिका वडा नम्बर ३ मा पर्ने ऐतिहासिक गाउँ- मैधी । पुरानो नाम मैधी भएको तर जनजिब्रोको अनुसरण गर्दै लेखापढीमा ‘मैदी’ पनि भनिन थालिएको छ । यो गाउँबारे पनि नेपालीहरू परिचित हुनुपर्नेमा स्वयं धादिङवासी अझ भनूँ भने सोही गाउँवासीहरू पनि यसको ऐतिहासिकतासित परिचित भएको पाइँदैन । यस लेखमा उक्त गाउँको सामान्य ऐतिहासिक चिनारी गराउने जमर्को गरिएको छ ।




धादिङ जिल्लाका पश्चिममा गोर्खा जिल्लालाई धादिङबाट अलग पार्दै बगेकी बुढीगण्डकीको किनारमा अवस्थित एउटा गाउँको नाम हो- मैधी (मैदी) । करिब चार, साढे चार हजार फिटको उँचाइमा रहेको मैधी ग्रामीणहरूको जीवनस्तर, कृषि उत्पादकत्व तथा जीवन शैलीको दृष्टिले जिल्लाका बाँकी पालिकाहरूभन्दा विशेष फरक छैन । तर ऐतिहासिक महत्वको दृष्टिले हेर्ने हो भने यो गाउँले धादिङ जिल्लामा आफ्नो माटोमात्र होइन, सम्पूर्ण अधिराज्यभरि नै विशेष महत्त्व राख्दछ भन्नुमा अत्युक्ति हुनेछैन ।
नेपालको इतिहासमा यो ठाउँको नाम कम्तीमा पनि चार पटक उल्लेख भएको पाइन्छ । पहिलो उल्लेख राम शाहको राज्य विस्तार क्रममा भएको छ, जब उनले यसलाई गोर्खा राज्यमा मिलाए । दोस्रो प्रसङ्ग त्यसबेला आउँछ जब आपसी गृह कलहको सन्दर्भमा पृथ्वीपति शाहका छोराहरू मध्ये एक छोरा दलु शाह यसै गाउँमा निर्वासित हुन्छन् । तेस्रो पटक यो ठाउँको नाउँ राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको व्रतबन्धको सिलसिलामा आउँछ । चौथो पटकमा स्वयं पृथ्वीनारायण शाहले नै यस ठाउँको नाम उल्लेख गर्दछन् जब काठमाडौं उपत्यका विजय गर्ने अभिलाषा यसै ठाउँमा सर्वप्रथम आफ्ना भारदारहरूको अगाडि प्रकट गरेको कुरा उनी दिव्य उपदेशमा बताउँछन् ।
मकवानपुरमा ससुरालीसित मनमुटाब भई गोर्खा फर्कँदा चन्द्रागिरिबाट सर्वप्रथम नेपाल खाल्डो देखेको र यसलाई हात पार्ने अभिलाषा जागृत भएको कुरा दिव्य उपदेशमा उल्लिखित छन् । सो उल्लेख गरिसकेपछि पृथ्वीनारायण शाह अगाडि बताउँछन्- “थांकोटको ठूलो भञ्ज्याङ काटि रात दिन गरी कल्हारिघाट तरी धादिङ उक्लेर चेप्याको षावा लिग्लीग्को आड गरी राषेका मेरा तिन बीर छन् तिनलाई बोलाहाटको रुका लेखन जैसि भन्दा तिनको नाउँ के–के हो भनि सुध्याया र रणजित् वस्नात् मानसिं रोकाहा वीरभद्र पाठक् मैधीमा रातदिन गरि आइपुक भनि लेषि पठायां र आईपुगे र तिनछेउ यकान्त गर्या र भने दिकबन्दसेनसित हाक दि आयां नेपाल पनि देषि आयां हान्नाको मनसुवा पनि राषी आयां तिमीहरु क्या भन्छौ भनि मैले भन्दा हान्नुहवस् माहाराजा भनेर सल्लाह दियां ….”
उपत्यका विजयको विचार चन्द्रागिरिको भन्ज्याङमा प्रादुर्भाव भइसकेको भए तापनि कार्ययोजनाको रूपमा सर्वप्रथम मैधीकै सभामा पहिलो विचार विमर्श भएको थियो भन्ने कुरा दिव्य सन्देशका उक्त वाक्यले बताउँछन् । यसैले मैधीलाई नै नेपाल एकीकरण अभियानको बीजारोपण थलो मान्न सकिन्छ । यो ठाउँमा भएको बीजारोपणले यस्ता अङ्कुरलाई जन्म दियो जसले पछि झ्याङ्गिँदै र हाँगिँदै विशाल वटवृक्षको रूपमा आज पनि हामी करिब तीन करोड नेपालीलाई शीतल छहारी दिइरहेछ । यो लेखको मूल विषय यत्ति हो ।


झट्ट पढ्दा यस लेखको विषय माथि नै टुङ्गिइसकिएको जस्तो लाग्दछ तापनि इतिहासको सूक्ष्म अध्ययन गर्न चाहनेहरूको जिज्ञासा यत्तिमै टुङ्गिँदैन । पृथ्वीनारायण शाहले उपत्यका विजयको आफ्नो अभिलाषा प्रकट गर्न यसै ठाउँलाई नै किन रोजे ? यो ठाउँको महत्त्व के थियो ? दलु शाहको निर्वासनस्थल तथा उनको आफ्नै व्रतबन्ध स्थल हुनुसित यो छनोटको केही सम्बन्ध छ कि ? इत्यादि । अगाडिका पङ्क्तिहरूमा लेखकले यही प्रश्नहरूको एक साथ उत्तर खोज्ने प्रयत्न गरेको छ ।
गोर्खा राज्यको उपत्यकाभित्र पाटनसित राम्रो सम्बन्ध भएको कुरा इतिहासले बताएको छ । राम शाह र सिद्धिनरसिंह मल्लका बीच भएको सुमधुर सम्बन्ध यसको पराकाष्ठा मान्न सकिन्छ । दुई राज्यका बीच हुने सुमधुर सम्बन्धले एक–अर्काको राज्यमा नागरिकहरूको आवागमनलाई प्रोत्साहन दिने हुनाले गोर्खा-पाटनबिच आवागमन प्रशस्त हुने गर्दथ्यो भनी अनुमान गर्न सकिन्छ । त्यसबेला नुवाकोट कान्तिपुर राज्य अन्तर्गत पर्ने र कान्तिपुरसित सम्बन्ध राम्रो नहुँदा गोर्खालीहरूले पाटन वा काठमाडौं आउन उपत्यका विजयपछिको समयमा जस्तो नुवाकोटको बाटो प्रयोग गर्दैनथे । फेरि पाटन र गोर्खाको प्रत्यक्ष सीमा लामिडाँडामा जोडिएको हुँदा पनि दुवै थरिलाई नुवाकोटको बाटो प्रयोग गर्नु आवश्यक थिएन । तसर्थ त्यसबेला गोर्खालीहरू काठमाडौं उपत्यका आउँदा बुंङ्कोटघाट तरेर मैधी हुँदै धादिङको बाटो कल्लेरीघाटबाट तर्थे र लामिडाँडाको बाटो ललितपुर उत्रिन्थे । प्रधानमन्त्री भीमसेन थापाले गोर्खा र मैधीको बिचमा पर्ने, बुंङ्कोटघाटमा विशाल मन्दिर तथा पाटीपौवाको निर्माण गराएका र त्यसका निमित्त गुठी राखेकाले पनि त्यसबेला यो बाटोको महत्त्व झल्कन्छ ।


बुंङ्कोटघाट तरेपछि बूढीगण्डकी किनार हुँदै पिपलटारबाट मैधी पुग्ने र मैधीबाट पूर्व धादिङतर्फ लाग्ने मूलबाटोको ठाउँ ठाउँमा पाइने प्रशस्त इँट झिण्टीका टुक्राहरूले कुनै जमानामा यो निकै चल्तीको बाटो थियो भन्ने पुष्टि गर्दछ । मैधीमा मूलबाटोको छेउमा तेलिया इँट प्रयोगै भएको एक भत्केको पाटीको बाल्यकालीन सम्झना यो लेखकलाई अझै छ । यो गाउँबेसी गर्ने स्थानीय बाटो मात्र भएको भए यस प्रकारको खर्चिलो निर्माण हुने थिएन होला । गोर्खा पनि लिच्छवी शासन अन्तर्गत परेको र लामिडाँडामा पर्ने जीवनपुरमा लिच्छविकालीन बस्ती भएको ऐतिहासिक तथ्यले पनि यो बाटो प्राचीनकालदेखि नै गोर्खा र काठमाडौं उपत्यकाबिचको मूल बाटो थियो भन्ने सहजै अनुमान गर्न सकिन्छ । मैधीबाट लामिडाँडा आउँदा बिचमा त्रिशूलीको कल्लेरीघाट हालको गल्छीनिर तर्नु पर्दथ्यो जसको उल्लेख पृथ्वीले दिव्य उपदेशमा गरेका थिए ।
काठमाडौँ उपत्यका र गोर्खाबिचको मूलबाटोमा पर्ने गाउँहरूमध्ये लेकाली उचाई तथा भीरपहरा नभएको एक मनोरम थलो भएको कारणले होला मैधीले विशेष स्थान ओगटेको अनुमान छ । गोर्खाली राजा पृथ्वीपति शाहको उत्तराधिकारीको प्रश्नलाई लिएर भएको गृहकलहमा उनैका छोरा दलु शाह यही ठाउँमा निर्वासित भएका र पछि मिश्र गुरुहरूलाई पनि यसैसित जोडिएको सलाङमा निर्वासित गरिएको कुरा बाबुराम आचार्य लिखित ‘श्री ५ पृथ्वीनारायण शाहको जीवनी’मा उल्लेख छ । यसबाट यस ठाउँले गोर्खा दरबारको ध्यानाकर्षण गराइसकेको प्रतीत हुन्छ ।


मैधीकोट भनिने यस गाउँको सबैभन्दा उच्च स्थानमा थुप्रै कोठाको भएको तथा वरपरका घरहरूको तुलनामा निकै नै विशाल देखिने एउटा घुमाउने गोल घर भएको र यसलाई बुढापाकाहरूले ‘दलु शाहको दरबार’ पनि भन्ने गरेको यी पङ्क्तिको लेखकलाई सम्झना छ । तर सर्वसाधारणको दृष्टिमा यो भगवतीको मन्दिरको रूपमा प्रचलित छ । यसैको भित्री भागको एक कोठामा भगवतीको स्थापना भएको थियो । भगवतीको बडादशैं र चैतेदशैंमा आजसम्म पनि चलिरहेको पूजाविधि र समारोहको शैली हेर्दा गोर्खा कालिकाको पूजाविधी र समारोहको शैलीको लघुरुप जस्तो देखिन्छ । यसको निमित्त नरभूपाल शाहले गुठी पनि राखिदिएका छन् जसको सञ्चालन लेखकको परिवारबाटै भइरहेको छ (हाल मैधीकोट खड्गदेवी संरक्षण समिति) । यो भगवती दलु शाहको पारिवारिक देवी भएको र उनी जीवित रहुन्जेल नित्य तथा दशैंको पूजा उनीबाटै निजी रूपमा चलिरहेको र उनको मृत्युपछि (उनका सन्तान नहुनाले) उनैका भतिजा नरभूपाल शाहले पूजाआजाको निमित्त गुठी राखिदिएको बूढापाकाको भनाइ छ । यसपछि यो दरबार भगवती मन्दिरको रूपमा परिचित हुँदै गएको हुन सक्छ । यसै दरबारमा पछि मन्दिर रहेको स्थानमा नै पृथ्वीनारायण शाहको व्रतबन्ध भएको हो । राजकाजी कारणबाट उत्पन्न बाध्यता, गुरुखलकको सन्निकटता, दरबारको रूपमा आवासीय सुविधा र ठाउँको मनोहरताले गर्दा नै पृथ्वीनारायण शाहको व्रतबन्धस्थल हुने सौभाग्य मैधीले पाएको हुनुपर्छ । काठमाडौं उपत्यकातर्फ आवतजावत गर्दा गोर्खा राजपरिवार वा भारदारहरू यो ठाउँमा केही दिन मुकाम गरेर अगाडि बढ्ने प्रचलन रहेको पनि अनुमान गर्न सकिन्छ ।


पाठकलाई झर्को लाग्न सक्ने खतरालाई झेलेर पनि माथिका पङ्क्तिहरू लेख्नुको उद्देश्य चन्द्रागिरिमा पृथ्वीनारायण शाहको मनमा काठमाडौँ उपत्यका विजय गर्ने महत्त्वाकाङ्क्षा उत्पन्न भएपछि सो कुरामा पहिलो छलफल गर्न किन बीच बाटोमा पर्ने मैधीलाई नै रोजे भन्ने प्रश्नको उत्तर दिने पृष्ठभूमि तयार पार्नु हो । पृथ्वीनारायण शाह विजिगीषु प्रवृत्ति (जित्न इच्छुक) का र महत्त्वाकाङ्क्षी स्वभावका थिए भन्ने कुरा ऐतिहासिक तथ्य हो । चन्द्रागिरिको शिखरबाट काठमाडौं उपत्यका देखेपछि उनीभित्रको विजिगीषु प्रवृत्ति जागृत भई महत्त्वाकाङ्क्षा रूप लिइसकेको थियो । उनी हतारिएका थिए । उनको हतार गर्ने स्वभाव कीर्तिपुरको लडाइँमा पनि देखिएको हो । काकाबाजेले स्थापना गरेको र पिताले गुठी राखिदिएको भगवतीको दर्शन गर्न, काका बाजेसँग भेटघाट गरी आशीर्वाद लिन र चलिआएको चलन अनुसार उनी त्यहाँ केही दिन मुकाम गरेर बसेको र चन्द्रागिरिको शिखरमा पैदा भएको महत्त्वाकाङ्क्षाले उनीलाई गोर्खा पुगुन्जेलसम्म पर्खने धैर्य नदिएकाले आतुर हुँदै मुकामकै अवधिमा भारदारहरूलाई त्यहाँ बोलाई आफ्नो भाव पोखिहालेको र योजना शुरु गरिहालेको हुन सक्दछ । जुनसुकै कारणले किन नहोस् परिणामतः यो ऐतिहासिक क्षणको साक्षी बस्ने सौभाग्य राजधानीबाट टाढा बूढीगण्डकीको पूर्वमा अवस्थित मैधीले पायो भने यही सौभाग्यबाट सदर गोर्खा ठगियो । यस प्रकार मैधी गाउँ धादिङ जिल्लाको मात्र होइन, अधिराज्यकै एक प्रमुख ऐतिहासिक स्थल हुन पुग्यो ।


अतीतको बयान गरेपछि यो गाउँको वर्तमानबारे पनि केही चर्चा गर्नु अप्रासङ्गिक हुने छैन । यस गाउँ जिल्लाको सबैभन्दा ठूला र मनोरम बस्तीहरूमध्ये एक हो । यहाँको मैधीकोटमा प्रसिद्ध भगवतीको मन्दिर छ, जसको नित्य पूजाको अतिरिक्त ठूलो दशैं र चैते दशैंमा विधिवत् भव्यपूजा र बलिको निमित्त राजगुठीको व्यवस्था छ । यहाँ दुई माध्यमिक विद्यालय, स्वास्थ्य केन्द्र, इलाका हुलाक, प्रहरी चौकीका अतिरिक्त साना किसान आयोजनाको कार्यालय पनि छ । ब्राह्मण, क्षेत्री र मगरहरूको यस ठाउँमा बाहुल्य छ भने दमाई र कामी जातिको बसोबास पत्ति प्रशस्तै छ । गोर्खाली राजा पृथ्वीपति शाहका एक छोरा राजकुमार चन्द्ररुप शाहका वंशज तथा कोतपर्वभन्दा पहिलेका प्रधानमन्त्री पुष्कर शाहका (उनका छोराहरू कोतपर्वमा ज्यान जोगाउन यस ठाउँमा लुक्न आएका) सन्ततिहरू पछि यसै ठाउँमा बसोबास गरिरहेछन् । यस्तो ऐतिहासिक महत्त्व र पर्यटन स्थलको सम्भावनालाई बोकेर बसेको यस ठाउँको समुचित विकासतर्फ सरोकार निकायहरूले ध्यान दिन आवश्यक छ ।
(स्व. विष्णु प्रताप शाहले लेख्नु भएको प्रस्तुत लेख मैधीको अमूल्य सम्पत्ति ठानी गोरखापत्र (२०४६ साल चैत्र १८ गतेको शनिबार परिशिष्टाङ्क) बाट साभार गरिएको हो । यो लेखका केही अंशहरू देशको हालको संरचनाअनुसार भाव र तथ्य नबिग्रने गरि सम्पादन गरिएको छ । यस लेख ‘गोरखापत्रका एकसय एक निबन्ध’ एवं आफ्नो माटो, स्मारिका- ३ मा समेत सङ्ग्रहीत छ ।)
थप तस्बीरहरू:






































































Discussion about this post