- राजु झल्लु प्रसाद/ प्रेम बास्तोला
मण्डलीथान । पर्यटकीय पालिकाको रूपमा स्थापित हुने क्रममा रहेको धादिङ जिल्लाको ज्वालामूखी गाउँपालिका वडा नम्बर ४ स्थित बसाह ढोला मण्डलीमाईको थान (मन्दिर) धार्मिक पर्यटकहरूमाझ आफ्नो परिचय साट्दै छ । सवारीसाधनको पहुँच विस्तार भएसँगै मङ्गलवार बाख्राका पाठीहरू लिएर मण्डली माईलाई चढाउन लानेको लर्को दिनानुदिन बढ्दो छ । हाल यस मन्दिरमा बागमती प्रदेश (विशेषतः धादिङ, गोरखा र नुवाकोट) र गण्डकी (विशेषतः चितवन) प्रदेशबाट आन्तरिक पर्यटकहरूको आवतजावत भइरहेको पाइन्छ भने भारतको विहार राज्यबाट समेत धार्मिक पर्यटकहरू आइरहेका छन् । निकट भविष्यमै नेपालका ७ वटै प्रदेश र भारतका अन्य राज्यहरूबाट समेत धार्मिक पर्यटकहरू आउने आंकलन गरिएको छ । मन्दिर व्यवस्थापन र पर्यटकीय पूर्वाधार निर्माण गरि यस मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा प्रचारप्रसार गर्न सकेको खण्डमा स्थानीय पालिका र स्थानीयले गतिलो दीर्घकालीन आर्थिक स्रोतका रूपमा प्रयोग गर्न सक्नेमा शङ्कै रहेन ।
जिल्ला सदरमुकाम धादिङवेशीबाट करिब ८ किलोमिटरको दूरीमा रहेको यस मन्दिर परिसरभित्र प्रदेश सरकार, पालिका एवं बसाह मण्डली संरक्षण समाज अन्तर्गत रही पर्यटकीय पूर्वाधार विस्तार भएको छ । विस्तारित संरचना एवम् मण्डलीको सम्पूर्ण विकासको खाका एकीकृत परियोजना प्रतिवेदन (डिपीआर) ले पुरातात्त्विक एवं धार्मिक मर्यादालाई भने ध्यान दिन नसकेको देखिन्छ । मण्डलीसम्म पुग्ने बाटो विस्तार, खानेपानी, भान्छा निर्माण एवं अन्य संरचना निर्माण भने सकारात्मक सङ्केतहरू देखिएता पनि अनावश्यक कङ्क्रिटका संरचना निर्माण कारण प्राकृतिक अवस्थामा रहेको यस थानको सुन्दरतामा ह्रास आएको छ, यसलाई तत्काल सम्बोधन गर्न आवश्यक छ ।


बसाह मण्डली संरक्षण समाजका अध्यक्ष गोकुल दर्लामी मगरले प्रदेश एवं पालिकाको सहयोग र संरक्षण समाजको आन्तरिक स्रोतबाट मन्दिर संरक्षण एवं व्यवस्थापनका विविध कामहरू भइरहेको बताए । मन्दिरको स्तरोन्नति, गेट निर्माण, स्टल निर्माण, खानेपानीको धारा निर्माण, भोज व्यवस्थापन, फोहोर जलाउनका लागि डिस्पोजल किट लगायतका कामहरू भइरहेको उनी बताउँछन् । “गत साल प्रदेशबाट प्राप्त १० लाख रुपैयाँ अन्तर्गत रही भान्सा र स्टलहरू निर्माणको काम भयो । हाल ५ वटा कम्पाउन्ड बाहिर र १ वटा मन्दिरको कम्पाउन्डभित्र रहेको छ, जसमध्ये ३ वटा गतसाल निर्माण भएको हो । यसैगरी, पालिकाबाट प्राप्त १० लाख रुपैयाँ अन्तर्गत रही डीपीआर निर्माण गरेका छौँ, जसअनुसार मन्दिर बाहिर स्विमिङ पुल एवं पाहुनाघर निर्माण गर्ने लगायतका सोचहरू लिएका छौँ । डीपीआर अन्तर्गत नै रही पानी परेको बेला ओत लाग्ने घर, शौचालय निर्माण, मन्दिर वरपर पोखरी निर्माण लगायतका कामहरू गर्दैछौँ”, उनले भने ।
मगरका अनुसार, संरक्षण समाजको आन्तरिक स्रोतबाट ओत लाग्ने घर, शौचालय निर्माण लगायतका कार्यहरू भइरहेका छन् । “हाल वर्षमा सरदार ६ हजार पाठी आइरहेका छन् । प्रतिपाठी १०० रुपैयाँ लिइरहेको छौँ । यस हिसाबले वर्षको ६ लाख र दानमार्फत थप एक, डेढ लाख आइरहेको छ । २ लाख मन्दिर व्यवस्थापनमा खर्च गरिरहेका छौँ भने ५ लाख जति बचत भइरहेको छ”, उनले भने । मगरका अनुसार दुई वर्षदेखि पालिकाले मण्डलीमाईको संरक्षण, संवर्द्धन एवं प्रवर्द्धन कार्यका लागि १०/१० लाख छुट्याउदै आएको छ ।


मन्दिरको विशेषता:
बस्तीदेखि दूर घना अनकन्टार जङ्गलको बीच भागमा रहेको यस मन्दिरमा मङ्गलवार दर्जनौँ बाख्राको पाठी काटेर भोग दिने गरिन्छ । मङ्गलवार बिहान सबेरैबाट यस मन्दिरमा देशका विभिन्न स्थानबाट पाठी लिएर आउने धार्मिक पर्यटकहरूको भीड लाग्ने गर्दछ । मगर समुदायकै कुमार केटा पुजारी रहेका यस मन्दिरमा भोग दिइएका पाठीको मासु प्रसादका रूपमा मन्दिर परिसरभित्र पकाई खाई, खाईसकेर मात्रै जानुपर्ने प्रचलन रहेको छ । यहाँ भोग दिइएका पाठीको मासु बाहिर पकाएर खाए अनिष्ठ हुने जनविश्वास छ । यहाँ बलि दिइएको पाठीको मासु धौखोला र च्याडुखोला पारि एवं मन्दिर रहेको स्थानभन्दा ५० मिटर माथि लग्न पाइँदैन । साथै, यस मन्दिरमा महिलाहरू जान नहुने प्रचलन यद्यपि कायमै रहेको छ ।
किम्वदन्ती:
ढोला मण्डलीमाईको उत्पत्ति भएको समय करिब वि.सं. १७५० सालतिर भएको अनुमान गरिन्छ, तर आधिकारिक खोजी बाँकी नै छ । त्यतिबेला एक जना देवीदास नाम गरेका मगर जातिका मानिस (सिकर्मी ?) घर बनाउनका लागि सालको थाम काट्ने उद्देश्यले बन्चरो लिएर वनमा गए । त्यहाँ सालको रूख काट्न लाग्दा बन्चरोको धार नै झर्यो । सालको रूखमा डोब पनि लागेन । यस्तो देखेर ती मगर आश्चर्यचकित हुँदै घर फर्किए । भोलिपल्ट धार झरेको बन्चरो लिएर कामीको आरनमा गई अर्जापेर ल्याए र पुनः सालको थाम काट्न भनि सोही रुखमा जाँदा बन्चरोको पहिलो प्रहार पर्नासाथ सो सालको रूखबाट रातो रगत बग्न थालेछ । त्यो दुर्लभ दृश्य देखेर हायलकायल भएका उनी सालको थाम काट्ने विचार त्यागी अत्तालिँदै घरै फर्किए ।
बेलुका खाना खाएर सुतेपछि देवीदासलाई राती सपनामा भएछ । ‘म मण्डली माई हुँ । म यही सालको रूखमा बसेकी छु । यो सालको रूखलाई काट्न प्रयत्न नगर्नू । गाउँ, सहर, राष्ट्र र त्यहाँका निवासी सबैलाई सङ्कट आइपरेको बेलामा संरक्षण गर्नेछु । यस बन्चरोको प्रहारले गर्दा म साहै दुखित छु । मेरो पीडा शान्ति र सन्तोषको लागि एकादशी, औँसी, श्रावण महिना र अरू अहिंसात्मक चाड पर्व बाहेकका प्रत्येक मङ्गलवार मेरो पूजा गर्नु । बाजागाजा, नाचगान आदि खलबल नगरी एकान्त जंगलमा मेरै सालको फेदमा फलफूल, धूप, दीप, नैवेद्यले पूजा गरी कुमारी पाठी वली दिएर पूजा गर्नु । मेरा पूजाविधि निम्न प्रकारको छ: पूजा गर्नका लागि १२ वर्षभित्रको कुमार केटो हुनुपर्छ । बाख्राका पाठीहरू मेरा निम्ति भोग लगाउनुपर्छ । लावा, चन्दन, अक्षता, फूल, नैवेद्य, फलफूल आदिद्वारा मेरो पूजाआजा गर्नुपर्छ । महिलालाई यहाँ आउन र मेरो प्रसाद खान नदिनु । पूजापछि प्रसाद (टाउकोबिनाको पाठी) कसैले पनि सिरमा नलगाई त्यसै जङ्गल परिसर भित्रै बसेर सबै भक्तहरूले भोजन गर्नु । हरेक वर्षको चण्डीपूणिर्माको दिन निमपूजा गर्नु । यो गरेका खण्डमा म प्रसन्न हुन्छु र भक्तहरूले चाहे अनुसार वरदान दिन्छु’ भनेर मण्डली देवी अन्तर्ध्यान भइछन् । आफूलाई देवीको सपना भएको कुरा देवीदास दर्लामी मगरले आफ्ना जहानहरूलाई सुनाएछन् । जहानहरूले छरछिमेकका बताएछन् । यसप्रकार, सबै मगर जातिहरू अति प्रभावित हुँदै गाउँघर सबैतिर प्रचारप्रसार गर्दै त्यसै दिनदेखि मगर जातिको किशोरले बाख्राको पाठी वली दिई पूजा गर्ने परम्पराको थालनी भएको भन्ने किंवदन्ती प्रचलित छ ।


ढोलामण्डली क्षेत्रमा गई स्थानीयवासीसँग भलाकुसारी गरेको खण्डमा यस किम्बदन्तीलाई अझ रोचक बनाउन एउटा सर्पको प्रसङ्ग समेत जोड्ने गरेको भेटिन्छ । देवीदासलाई सपना हुँदै गर्दा उनले सोही रुखमा बेरिएर रहेको एउटा सर्प देखे, सर्प देखेपश्चात् उनी सो सपनाबाट ब्युँझिएको समेत बताइन्छ । कसैकसैले सोही सर्पलाई ‘देवी’ समेत भन्ने गरेका छन् । अझ, कसैकसैले सो सर्प देखेपश्चात् बलि दिइएको पाठीको मासु महिलाले खानै नहुने र घरमा समेत लैजान नहुने थिति बसेको बताउने गर्दछन् । पछि जोडिएको सङ्केत पाइने यस कथनले तत्कालीन समयमा केही मानिसले बलि दिइएको पाठीलाई घर लगेको वा महिला त्यहाँ गएको हुनसक्ने सङ्केत गर्दछ ।
यस सर्पका सम्बन्धमा हाम्रो ढोला पुस्तकका लेखक प्रमोद भट्टले लेखेका छन्, “मण्डली मन्दिरको जीर्णोद्धार गर्ने क्रममा २०७१ ज्येष्ठ १० र ११ गते मन्दिरमा पिल्लरको लागि खनिएको खाडल वरिपरि सर्पले परिक्रमा गरि काममा अवरोध पुर्याएपछि पुरानो मन्दिरबाट झिकिएको घण्टा पुरानै मन्दिरमा लगेर राखी मङ्गलवार क्षमा पूजा गरेपछि सर्प नदेखिएको र मन्दिर निर्माण कार्य गरिएको स्थानीयवासी बताउँछन् ।” खैर, इतिहास अध्ययनमा लाग्नेहरू ज्ञानको ढोकालाई खुला राखेर नयाँ कुरालाई अद्यावधिक गरिरहने हुँदा कालक्रममा ढोलामण्डलीको उत्पत्तिसम्बन्धि नयाँ तथ्यहरू खुल्दै जाला !
यसैगरी, मण्डलीमाईले सपनामा बताएको पूजाविधिविपरीत पूजा गर्न गएको बेलामा अप्रिय घटनाहरू भएको समेत पाइन्छ । नलाङका रामचन्द्र सिलवालले जुत्ता नफुकालीकनै मण्डलीमाईलाई नमस्कार गरेकाले तत्काल दिउँसै अन्धकार भएको र उनले आफ्नो अगाडि बाघ आई आँखा बन्द भएको बताएका थिए । पछि, उनले मण्डलीमाईलाई क्षमासहित प्रार्थना गरेपछि उनका आँखा खुलेका र तत्पश्चात्को मङ्गलवारमा एउटा पाठी चढाएका थिए । पाठी चढाएपछि आँखा खुलेकाले उनले माईप्रति विश्वस्त भई घण्ट र बाघको मूर्तिसमेत चढाएका थिए । सोधीखोजी गरेमा यस्ता अन्य घटनाहरू पनि भेटिन सक्छन् ।


हाल केकसरी पुजा हुँदै आइरहेको छ ?
वर्ष दिनमा एक दिन मात्र निम पूजा गर्दा ज्यादै घुइँचो हुने भएकाले पुजारी मगरको परिवार भेला भएर महिना दिनभरिमा आउने एउटा औँसी र दुई वटा एकादशीमा मण्डलीमाईको पूजा नलाग्ने भएकाले ती तीन दिनबाहेक एक महिनामा आउने चार वा पाँच मङ्गलवार बाख्राका पाठीहरूको बलि दिने र चैत महिनाको २२ गतेभन्दा पहिले समक्ष पूजा गर्ने निष्कर्ष छलफलबाट निकालियो । निर्णयानुसार, हालसम्म चलिआएको पूजाको चलन पनि यही हो । मण्डलीमाईको पूजा गर्दा आफूले सोचेको कुरा पुगेको विश्वास भक्तजनहरूमा रहेको छ ।
देवीदास दर्लामी मगरलाई सपना भएअनुसार नै हालसम्म यहाँ पूजापाठ हुँदै आएको पाइन्छ । देश तथा विदेशबाट ल्याइएको पूजा सरजाम पनि उसैगरी मङ्गलवार कुमार केटाले पूजा गर्ने, प्रसाद जङ्गलबाहिर नलगी सबै मिलेर त्यसै मण्डली परिसरमा बसेर खाने चलन छ । यस शक्तिपीठमा मगर समुदायको १२ वर्षभन्दा मुनिका बालक प्रेम बहादुर दर्लामी मगर (११ वर्ष, अविवाहित) पुजारी छन् भने राम बहादुर दर्लामी मगर (४० वर्ष) र यम बहादुर दर्लामी मगर (४२ वर्ष) सहायक पुजारीका रूपमा रहेका छन् । हाल यहाँ पाठी बलि दिनका लागि १०० रुपियाँ टिकट लिने गरिएको छ ।


हाल एकादशी, औँसी, श्रावण महिना र अरू अहिंसात्मक चाडपर्व बाहेकका प्रत्येक मङ्गलवार करिब २००-३५० हाराहारीमा पाठी बलि दिइँदै आइएको छ । प्रत्येक वर्ष मङ्गलवार नपरे पनि वैशाख शुक्लपूर्णिमाको दिनमा पाठी वली गरी नित्य पूजा र प्रत्येक श्रावण महिनाको १५ गते वा त्यसअघिको मङ्गलवार पाठी वली नगरी नयाँ पोलेको मकै, फलफूल तरकारीहरू, नैवेद्य चढाई पूजा गर्ने गरी वर्षको दुई पटक गाउँको नित्य पूजा चल्दै आएको छ । वर्षको नयाँ मकै मण्डली देवीलाई नचढाई ढोला गाउँका मानिसहरू नखाने परम्परा यथावत् रहेको पाइन्छ । यसैगरि, कुनै बखत गाउँमा आकस्मिक दुर्घटना परेमा यहीँ गई क्षमा पूजा भनी पूजा गर्ने चलन रहेको छ भने मन्दिरको जङ्गलबाट काठपातलगायत सामाग्री लगे सो घरको परिवारमा सङ्कट पर्ने मान्यता स्थानीयमाझ रहेको छ ।
प्रचारले निम्ताएको विकृति: मदिरा सेवन
पछिल्लो समयमा मण्डलीमाईको प्रसादलाई बाहिर लागि रक्सीसँग सीतान बनाई खाइएको पाइएकाले त्यसप्रति गम्भीर आपत्ति जनाउँदै स्थानीय सरकारले बन्देज गरेको छ तर, मगर मन्दिर क्षेत्रमा मदिरा सेवन निषेधित भएतापनि भक्तजनहरूले लुकिछिपी खाने गरेकाले विकृतिको रूप लिइसकेको छ । संरक्षण समितिका अध्यक्ष मगर स्थानीय नखाएको तर लुकिछिपी खानाले बाहिर जिल्लाका भक्तजनलाई यद्यपि रोक्न नसकिएको बताउँछन् । “हामीले प्रयास गरिरहेका छौँ, पालिकाले पनि यस कुरालाई रोक्न खोजिरहेको छ । सेवनकर्ताले आपराधिक गतिविधि जस्तैः गालीगलौज, होहल्ला, कुटपाट, लडाईझगडा आदि गर्ने हुनाले र यसबाट मण्डलीमाईको आस्थामाथि खलल पुग्ने हुनाले यसलाई यथाशक्य छिटो रोकेर मण्डलीमाईको परिचयलाई अझ विराट बनाउनेछौँ”, उनले भने । यसैगरी, मगर मण्डली क्षेत्रमा प्लाष्टिक एवं अन्य फोहोर व्यवास्थापनको समस्या समाधानउन्मुख हुने क्रममा रहेको समेत बताउँछन् ।
ढोलामाईको पुजा र दलितको आन्दोलन:
पहिले दलितहरूले ढोला मण्डली माईको पूजा गर्न र दर्शन गर्न पाएका थिएनन् । हाल सो व्यवस्था हटेको छ तर, हामीले सो इतिहासलाई पनि स्मरण गर्नुपर्दछ । कुन समयदेखि यसप्रकारको गलत अभ्यास थालिएको हो भनेर किटान गर्न नसकिएपनि मण्डलीमाईको स्थानमा जान नहुने र पूजाआजा गर्न पनि हुँदैन भनी निषेध गर्नु गलत भएको बताउँदै धादिङका पचास साठी जना दलितहरू ढोला मण्डलीमाईको पूजा र दर्शन गर्न जाँदा स्थानीय अन्य जातिहरूसँग भिडन्त समेत भएको इतिहास भेटिन्छ, सो दिनको यकिन मिति खोजी भएता पनि घटना सत्य हो । यसबारेमा डिल्लीरमण शर्मा अर्ज्यालले लेखेका छन्, “हाम्रा कुनै पनि नियम, कानुन र धर्मग्रन्थहरूमा कुनै पनि जाति जान र पूजाआजा गर्न रोक लगाइएको छैन । दलितहरूले पूजा र दर्शन गर्न पाउनुपर्छ, मण्डलीमाईको स्थानमा जान र पूजा गर्न पाउनुपर्छ भनी जिल्ला अदालत धादिङमा उजुरी पर्दा दलितहरूलाई ढोला मण्डलीमाईमा प्रवेश नरोक्नु भनी आदेश दिइसकेको छ ।” सो लेखमा उनले २०५६ साल वैशाख १४ गतेदेखि २०६२ साल जेठ ३० गतेसम्म पुरानो परम्पराअनुसार चलेको थियो भनेर किटान गरेका छन्, तर ०५६ सालअगाडि पनि सो परम्परा रहेको पाइन्छ । यता, वि.सं. २०६२ जेठ ३१ गते दलित सेवा सङ्घका तत्कालीन अध्यक्ष गोपाल विश्वकर्माको नेतृत्वमा ५२६ जना दलितका साथ ढोला मण्डलीमाईमा पाठीहरू चढाएदेखि दलित समुदायले पूजापाठ गर्दै आइरहेका छन्, जो सुखद पक्ष हो । यस घटनालाई दलित आन्दोलन को इतिहासमा एक उदाहरण साबित भएको छ ।


महिला निषेध ढोला मण्डलीमा उपप्रमुख पुगेको घटना:
धार्मिक मठमन्दिरमा महिला निषेध गर्नुले वर्तमान समयसापेक्ष नभएको बताउँदै विभिन्न प्रश्नहरू उठिरहेको पाइन्छ । प्यूठानको स्नाथान मन्दिर, ललितपुरको लगनखेलस्थित हनुमानथान मन्दिर, मकवानपुरको भीमफेदी गाउँपालिका–६ मा पर्ने चिसापानी गढीमा भएको कालीतोप र गढी परिसरभित्रको बटुक भैरव मन्दिर, बाग्लुङको जैमिनी नगरपालिकामा अवस्थित थन्थाप माई भगवती (माईको थान), रामेछाप नगरपालिका–७ मा महांकाली देवीको मन्दिर आदिमा पनि मण्डली माईको सरह महिला निषेध गरिएको छ, यस सम्बन्धमा त्यस ठाउँमा पनि विरोधका आवाज उठिरहेको छ ।
मण्डलीकै हकमा, माहिलाले भाकल गर्न सक्ने तर उक्त भाकल पुरा गर्नभने पुरुष नै मन्दिर जाने चलनको विषयमा महिला अधिकारकर्मीहरूले विरोध गरिरहेका छन् । यसै सबन्धमा डिल्लीरमण शर्मा अर्ज्याल अगाडि भन्छन्, “त्यहाँको चलनअनुसार महिला जातिले त्यहाँ जान पनि नहुने र पूजा पनि गर्न नहुने भन्ने किसिमको प्रचलन र तरिका ठिक जस्तो लाग्दैन । किनकि पुरुष अर्धाङ्ग हो भने स्त्री अर्धाङ्गिनी हो । देवदेवीहरूको दर्शन गर्न र पूजा गरी प्रसाद खान बन्देज गर्न उचित लाग्दैन । किनकि शिवपुराणअनुसार, एकपल्ट भगवान् शिवसँग पार्वती रिसाउनुभएको थियो । शिवजी ताण्डवनाच गर्न थाल्दा उहाँको शरीर आधा मात्र घुम्यो, पूरा घुम्न सकेन । पार्वती रिसाएकीले पूरा घुम्न नसक्नुभएको भन्ने कथा लेखिएको छ ।”
विभिन्न किंवदन्ती र धार्मिक पक्ष जोडेर मठ–मन्दिरमा महिला एवं दलित प्रवेश रोक्नु गलत भएको बताइरहँदा ढोला मण्डलीमा ज्वालामुखी गाउँपालिकाको पूर्व उपाध्यक्ष जानुका सिम्खडा मण्डली थानको पूर्वाधार निर्माणको अवलोकन गर्ने क्रममा मण्डली माईको थान पुगेको घटना स्मरणीय छ । यस घटनाले त्यतिबेला राम्रै हल्लाखल्ला पाएता पनि महिला प्रवेशलाई सहज बनाउन भने सकेन ।
मण्डली माईको परिसरमा ज्वालामुखी गाउँपालिकाको पूर्व उपाध्यक्ष जानुका सिम्खडा
बसाह ढोलामण्डली सम्बन्धि केहि रोचक तथ्य:
- रामकोट मण्डली र ढोलामण्डलीलाई ‘दिदीबहिनी’ मानिन्छ । रामकोट मण्डली र ढोलामण्डली दुवै बाक्ला रूखहरूको बीचमा छन् । उनीहरू वरिपरिका लेकहरू फँडानी गर्न नहुने विश्वासका कारण त्यो शोभा हालसम्म विद्यमान छ ।
- सम्भवत: नेपालकै एक मात्र मन्दिर जहाँ पाठीको मात्र बली दिइन्छ र सो प्रसाद त्यसै मन्दिर वरपर रहेर ग्रहण गर्नुपर्दछ ।
- ढोलामण्डली माईको पुजारी मगर हुनुले तत्कालिन मैधी राज्यका घलेहरू मगर रहेको मगरहरू आदिवासी रहेको संकेत गर्दछ ।
- यस पहाडी वन क्षेत्र यद्यपि पर्यापर्यटकीय दृष्टिकोणले पनि महत्त्वपूर्ण रहनु र सो समयमा बाघ पाइने तथ्यप्रति संरक्षणकर्मीहरूको विशेष ध्यान जानु आवश्यक छ ।


कसरी पुग्ने बसाहा ढोला मण्डलीको थान ?
मण्डली जाने आउने ३ वटा बाटोहरू रहेका छन् । पहिलो बाटो धादिङवेशी, धौखोला हुँदै मण्डलीसम्म आइपुग्छ । दोस्रो बाटो गाउँ हुँदै झर्ने पुरानो बाटो हो भने तेस्रो बाटो मुरलीभन्ज्याङ हुँदै मण्डलीमाईको थानसम्म आउने गर्दछ । तेस्रो बाटो बनेको ३ वर्ष मात्रै भएको छ । यहाँ जानआउन मोटरबाटोको प्रयोग गर्न सकिने र जिल्ला सदरमुकामबाट ८ किमीको दूरीमा रहेको छ ।
सन्दर्भ-सामाग्री सूची:
१. डिल्लीराम शर्मा अर्ज्याल, ढोला मण्डलीमाईको ख्याति, मधुपर्क (२०६८)
२. प्रमोद भट्ट, हाम्रो ढोला, (२०७१)
३. मुरलीभञ्ज्याङ र चैनपुरको सेरोफेरो: धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरू, पर्यटकीय विम्बचित्रमा धादिङ (२०६८)
४. लक्ष्मी बस्नेत, महिला निषेधित मन्दिर, हिमालखबर (२०७६)
५. स्थलगत अध्ययन, सहायक पुजारी राम बहादुर दर्लामी मगरसँगको भेटघाट एवं स्थानीयसँग अन्तर्किया ।




























































Discussion about this post