सुनिल उलाक
पुलका इतिहासहरु खोज्दै जाँदा तथा कोर्दै जाँदा धेरै किसिमका इतिहासहरु भेटिए । दुरदराज गाँउमा राणाकालमा चन्द्रशम्शेरको समयमा स्कटल्याण्डबाट सामग्री मगाएर बनाइएका आधुनिक झोलुङ्गे पुलका निर्माणका इतिहासले राणा प्रति नकारात्मकताको प्रचार प्रसार अत्यधिक भएको पुष्टी हुन्छ । अर्को तर्फ गाउँघरमा आफ्नै श्रम र श्रोतले बनाइएका झोलुङ्गे पुलहरुले गरिव जनतामा पनि सामाजिक चेतना तथा केही गरौ भन्ने भावना ओतप्रोत भएका इतिहास बुझ्न पाएका छौ ।
आफ्नो निजी खर्चमा बनाइदिएका पुलहरुको इतिहास पनि निकै भेटिएका छन् । फेसबुक मार्फत मलाई पठाइएका जानकारीहरुका आधारमा भन्नुपर्दा सयौ पुल निजि खर्चमा बनाइदिएका भेटेका छौ । अहिलेको धनी भनिएकाहरु भन्दा त्यो बेलाका गरिवहरु बढि जिम्मेवार नागरिक थिए भन्ने सहजै अनुमान गर्न सक्छौ ।
राणाकालमा बनेका पुलहरु सयौ वर्ष सम्म जस्ताको तस्तै हुनु तर राणाकाल समाप्त भए पछि देशमा प्रजातन्त्र आएपछि बनाइएको हाडीगाउँको भत्केको पुलले २००७ देखि २०१५ साल बिचको राजनैतिक अस्थिरताको समयमा घुसखोरी र कमिशनतन्त्रको शुरुवात भएको नमुनाको रुपमा बुझ्न सक्छौ । पुल बनेको केवल तीन वर्षमा (कसै कसैको भनाइमा उद्घाटनको तीन दिनमा) नै पुल भत्किएको थियो । जसले अहिले गणतन्त्रकालको पुलहरुको सम्झना आउँछ ।
करोडौ रुपैया खर्चेर बनाइएका पुलहरु भत्किदा मुनाफाखोर र कमिशनतन्त्रको नमुनाको रुपमा बुझ्न सक्छौ । नेपालमा अहिले बिकासका कुनै पनि काममा निश्चित बजेटको केवल ४० प्रतिशत मात्र खर्च गरिने गरिन्छ । बाकि ६० प्रतिशत कमिशन तथा ठेकेदाको नाफामा सकिने गर्दछ । जसले गर्दा गुणस्तरिय कामको अपेक्षा राख्नु मुर्खता हुन्छ ।
म संग नेपाल भरिका २०० भन्दा बढि साँघु, फट्के, तुइन, पक्की पुल तथा झोलुङ्गे पुलका तस्विरहरूमा केही तस्विरहरु निकै मन छुने छन् । तुइनमा झुण्डिएर खोला तर्दै गरेका तस्विरहरुले त सबैको मन छुने गर्दछ । काठे पुलहरुमा समय र मौसमले बिग्रिएर अस्थिपञ्जर झै बचेका केही फल्याकहरुमा टेक्दै पुलमा हिड्न बाध्य ति जनताको दुख सम्झदै सरकारलाई धिक्कार्न मन लाग्छ । अहिले गणतन्त्रले जनताको दुख बुझ्नेछ भनेका थिए तर अहिले पनि स्थानिय सरकारमा रहेकाहरु जनताका बास्तविक आबश्यकता भन्दा अनावश्यक डाँडाको टुप्पामा करोडौ खर्चेर भ्यूटावर तथा कंक्रिटका नमुनाहरु बनाउँछन् ।
संखुवासभाको मुडे बजारमा नक्कली चाँपको रुख बनाइएको छ । इनरुवाको सखुवागाछीमा नक्कली सखुवा रोपिएको छ । दैलेखको गुराँस गाउँपालिकामा नक्कली गुराँस बनाइएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिकाले पनि नक्कली गुराँस फूलाएको छ । लसुने बजारमा नक्कली लसुन बनाइएको छ । उदयपुरमा नक्कली बेलको फल चोकमा सजाइएको छ । धनकुटाको जितपुर बजारमा रुद्राक्ष, धनकुटा बजारमा एभाकाडो, कागतेमा कागती, सिंधुवामा काउली, छिन्ताङमा सुन्तला, हिलेबजारमा तोङ्वा, सिन्धुली माडीमा जुनारको बोट रोपिएको छ । त्यस्तै मैनामैनीमा सिमेन्टको सुंगुर बनाइएको छ । यहाँ यसैलाई बिकास भनिन्छ ।
केही ब्यक्तिले सिमित स्वार्थले बनाइएका यस्ता संरचना अहिलेको सामाजिक संजालका प्रयोगकर्ताको लागि फोटो र भिडियो खिच्ने स्थल त बन्नेछ । तर केही वर्ष पछि मर्मत संभार नहुँदा कुरुप बन्नेछ । प्राकृतिक रुख विरुवाले जुन किसिमको मानव जीवनलाई सहयोग गर्दछ । यि कृत्रिम रुख बिरुवा वा यस प्रकारको नमुनाले केही सेवा गर्दैन । यो भन्दा जनतालाई अति आबश्यक र बनाउनै पर्ने धेरै कुराहरु थिए होला । तर ति सबैलाई बेवास्ता गरिए । अब त बिरोध गर्दा पनि यस्ता संरचनाका समर्थकहरुका बिभिन्न तर्कहरु आउने गर्दछन् । त्यहाँ कतिपय जनताका आधारभुत आबश्यकता धेरै हुन सक्छ ।
पुराना पुलहरुका तस्विरहरुमा घोत्लिदा मलाई केही तस्विरले मन छोएको थियो । जसमा यो तस्विर पनि पर्दछ । यो पुल बागमती नदीमा बनाइएको हिउँदे पुलको हो । हरेक वर्षातको समाप्ति पछि हिउँदमा यस प्रकारको पुल बनाउने गरिन्थ्यो । वर्षातको भेलसंगै यस प्रकारको पुलहरु भत्केर जाने गर्दथ्यो । फेरी अर्को वर्ष स्थानीय गुठीहरुको सहयोगमा मर्मत गरेर बनाइन्थ्यो ।
यहाँ तस्विरमा यसरी नै बर्षे भेलले भत्किएको फट्केको बचेको केही मुढाहरुमा टेक्दै बागमती तर्न खोज्दै गरेको देख्न सकिन्छ । यहि तस्विरलाई हेरेर सानो दुइ शब्द पनि कोरेको थिएँ मैले ।
पाइला बढे कै थिए मेरा अगाडी
कठिनताको परवाह थिएन मलाई
टुटिसके मैले भर्खर टेकेको बाटो
नियतीले फर्कन पनि दिएन मलाई




























































Discussion about this post