जनकपुरधामः हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल जनकपुरधाम पछिल्लो समय ‘होटेल हब’ बन्दैछ। धार्मिक पर्यटकहरूलाई लक्षित गरी धर्मशालाबाट होटेलमा प्रवेश गरेको हो, जनकपुर। जहाँ पछिल्लो समय ठूलो लगानीका व्यावसायिक होटेल पनि खुल्न थालेका छन्।
यहाँ सानो तथा ठूलो लगानीका करिब दुई सय होटेल सञ्चालनमा छन्। ती सबै होटेलमा हालसम्म करिब रु १० अर्ब लगानी भइसकेको र करिब पाँच हजारलाई प्रत्यक्ष रोजागारी दिइएको व्यवसायीहरूको दाबी छ।
घरेलु तथा साना उद्योग कार्यालय धनुषाको १० वर्षको तथ्यांक हेर्दा पनि यहाँ होटेलमा ठूलो लगानी भइरहेको देखिन्छ। जनकपुर उद्योग वाणिज्य संघ र होटेल व्यवसायी संघ जनकपुरको विवरणले पनि यहाँ बर्सेनि होटेलहरू थपिने क्रम जारी रहेको देखाउँछ। तर, आर्थिक क्रियाकलाप र बजारको दायरा नबढेकाले व्यवसायीहरू उत्साहित छैनन्। आर्थिक तथा धार्मिक पर्यटकीय गतिविधि बढ्ने आशैआशमा होटेलमा लगानी बढिरहे पनि पछिल्लो समय धेरै व्यवसायी निराश रहेको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ बताउँछन्।
संघका वरिष्ठ उपाध्यक्ष मनिषरमण साह भने राज्यले अत्यावश्यक पूर्वाधार निर्माण र अनुकूल वातावरण बनाइदिने हो भने जनकपुरको होटेल व्यवसायले नेपालकै अर्थतन्त्रको विकासमा गुणात्मक योगदान गर्नसक्नेमा आशावादी देखिन्छन्। होटेल व्यवसायी संघका अध्यक्ष सुरेन्द्र भण्डारी पनि जनकपुरका होटेलहरूले लगानीअनुसार प्रतिफल पाउन नसकेको गुनासो गर्छन्।
धर्मशालाबाट उठेको व्यवसाय
जनकपुर हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा परिचित छ। मिथिलाञ्चलका चक्रवर्ती राजा जनकपुत्री सीता र रामको वैवाहिक सम्बन्धसँग जोडिएकाले पनि विश्वका करोडौं हिन्दू धर्मावलम्बीले यसलाई पवित्र तीर्थस्थल मान्छन्। भारत र नेपालका विभिन्न भूभागबाट जनकपुर दर्शनमा आउने चलन परापूर्वकालदेखि नै छ।
होटेल व्यवसायी विजय झुनझुनवाला तिनै तीर्थालुलाई लक्षित गरी यहाँ होटेल व्यवसायको विकास भएको बताउँछन्। भन्छन्, ‘जनकपुरधामको मूल चिनारी नै धार्मिक तीर्थस्थल हो। यो भूमि विश्वका अर्बौं मानिसहरूको आस्थाको केन्द्र हो। तिनै तीर्थाटनमा आउने श्रद्धालुलाई लक्षित गरी यहाँ होटेल व्यवसायको विकास भएको इतिहास छ।’
उनका अनुसार जनकपुरमा धर्मशालाबाट होटेलको विकास शुरु भएको हो। र, त्यसको श्रेय गोपाल धर्मशालालाई जान्छ। भारतबाट जानकी मन्दिर दर्शन गर्न आउने श्रद्धालु भक्तजनलाई लक्षित गरी ००९-१० सालतिर गोपाल धर्मशालाले न्यूनतम शुल्क लिएर आवास तथा खानाको व्यवस्था गरेबाट यस क्षेत्रको विकास शुरु भएको झुनझुनवालाको भनाइ छ। ‘जनकपुरमा धर्मशालाबाट होटेलको इतिहास शुरु भएको हो। भारतको कोलकाताबाट आएका मारवाडी पोद्दार परिवारले धार्मिक पर्यटकको सुविधाका लागि खाने, बस्ने व्यवस्था गरेको र पछि अरू धर्मशालासमेत स्थापना गरिएको पाइन्छ। यो नै जनकपुरमा होटेलको जग हो,’ उनी भन्छन्।
मेचीदेखि काठमाडौंसम्म सडक, पूर्वपश्चिम महेन्द्र राजमार्ग निर्माण र ०२४ सालदेखि हवाई सेवा शुरु भएपछि मात्रै यहाँ व्यावसायिक होटेलको स्थापना भएको हो। जनकपुरमा ०२४ सालतिर पहिलो होटेलका रूपमा ‘होटेल एभरेस्ट’ स्थापना भएको इतिहास छ। अहिले जनकपुरधाममा ६० भन्दा बढी ठूला होटेलहरू सञ्चालनमा छन्। तीमध्ये केही होटेल ‘तीनतारे’ स्तरका छन्। यहाँ होटेलहरूको कूल क्षमता करिब एक हजार मानिसलाई बसाउन सक्ने छ।
अर्थतन्त्रमा सुधार, आर्थिक क्रियाकलापमा वृद्धि हुँदै गएमा आगामी पाँच वर्षमा ठूलो लगानीका धेरै होटेल खुल्ने झुनझुनवाला बताउँछन्। होटेल व्यवसायी जीवनाथ चौधरी पनि जनकपुरका होटेलहरू आधारभूत रूपमा धार्मिक पर्यटक लक्षित भए पनि समयक्रममा व्यावसायिक हिसाबले पनि सञ्चालन भइरहेको बताउँछन्। ‘हाम्रो मूल आधार धार्मिक पर्यटन नै हो। तर, पछिल्लो समय प्रदेश राजधानी पनि बनेपछि लगानी, सेवा र कार्यशैली नै फेर्नुपर्ने अवस्था छ,’ चौधरी भन्छन्।
धार्मिक कार्यका लागि आउने पर्यटकहरूलाई लक्षित गरी व्यवसायको स्थापना भए पनि दिगो व्यवस्थापन, लगानी र बदलिँदो सामाजिक मनोवृत्तिअनुरूप रूपान्तरणको जरुरी रहेको अर्का होटेल व्यवसायी सन्तोष गिरीको धारणाछ। कुनै पनि होटेल तथा व्यवसाय धार्मिक मान्छेहरूको क्रियाकलापले मात्रै चल्न नसक्ने उनको ठम्याइ छ। अहिलेकै अवस्था रहे जनकपुरमा होटेलको भविष्य चुनौतीपूर्ण रहेको उनले देखेका छन्।
उत्साहित छैनन् व्यापारी
जनकपुरलाई मधेश प्रदेशको राजधानी बनाइएपछि पछिल्लो समय सम्भावनाको क्षेत्र थप विस्तार भएको छ। सडक, हवाई र रेल सेवाले जोड्ने नेपालको एक मात्र शहर भएकाले यहाँ आवागमन बढ्ने क्रममा छ। तर, आर्थिक गतिविधि बढ्न नसकेकामा व्यापारीहरू निराश छन्। ‘जनकपुर भ्रमणमा आउने भारतीय तथा अन्य मुलुकका पर्यटक, स्वदेशी नागरिक, सरकारी तथा गैरसरकारी संघ संस्थाका क्रियाकलाप, सभा, सम्मेलन भएमा होटेलको व्यवसाय बढ्ने हो,’ गिरी भन्छन्, ‘तर, देशको अर्थतन्त्रका समग्र सूचक, जनताको खर्च गर्ने क्षमता र प्रवृत्ति नबदलिएसम्म यस क्षेत्रको भविष्य पनि आशालाग्दो हुने कुरा भएन।’
व्यवसायी झुनझुनवाला र चौधरी पनि सरकारी तवरबाट पर्यटन पूर्वाधार, पर्यटक आवागमनका लागि ठूला अभियान, मधेशको धार्मिक पर्यटनको विकास, विस्तार र प्रचारका लागि काम नभएमा अवस्था आशाजनक नरहेकामा सहमत छन्।
होटेल व्यवसायी संघका अध्यक्ष भण्डारी त संख्यात्मक रूपमा धेरै होटेल देखिए पनि धेरैजसो व्यवसायी पलायन हुने अवस्थामा रहेको बताउँछन्। ‘झट्ट हेर्दा होटेलहरू खुलेकै छन् तर वास्तविकता कारुणिक छ। केही होटेलको व्यापार ठीकठीकै रहे पनि अधिकांशले लगानी उठाउन र कर्मचारी पाल्न नसक्ने अवस्था छ,’ भण्डारी भन्छन्, ‘सरकारबाट सहुलियत नहुने र आर्थिक गतिविधि नबढ्ने हो भने निकट भविष्यमा धेरै होटेल बन्द हुन्छन्।’
महासंघका अध्यक्ष महासेठ पनि अरू व्यवसायको तुलनामा होटेल क्षेत्र अहिले पनि चलायमान नै भएकाले धेरै निराश हुनुपर्ने अवस्था नरहेको तर आर्थिक क्रियाकलाप नबढेमा होटेलको संख्या मात्रै बढेर नहुने बताउँछन्। भन्छन्, ‘जनकपुर धार्मिक शहर र प्रदेशको राजधानी हो। तर, यहाँ न उद्योग, कलकारखाना छन् न त नजिकै तेस्रो मुलुकसँग जोड्ने ठूलो नाका छ। यसर्थ सबै सरोकारवालाहरूले योजनावद्ध रूपमा केही रणनीतिक महत्त्वका काम नगर्ने हो भने सोचेअनुरूपको परिणाम हासिल गर्न कठिन छ।’
महासंघका वरिष्ठ उपाध्यक्ष साह भने धार्मिक आस्थाको केन्द्र अयोध्यामा राम मन्दिर निर्माण भएपछि त्यसको प्रभाव जनकपुरमा पनि पर्ने र त्यसपछि केही सुधार हुने सम्भावना रहेकोमा विश्वस्त छन्। तर, त्यसबाट लाभ लिन सरकारले अहिलेदेखि नै रणनीतिक तयारी गर्न जरुरी रहेको उनको भनाइ छ। हिन्दू धर्मको कुरा गर्दा जसरी राम र सीतालाई अलग गर्न सकिँदैन, त्यसैले ‘नेपालविना राम पनि अधुरा’ र ‘सीता माताविना अयोध्या अधुरो’ भन्ने भाष्य स्थापित गर्न अहिलेदेखि नै लाग्न सके मात्र जनकपुरमा आर्थिक मन्दीको स्थितिमा सुधार हुने मधेश प्रदेशसभा सदस्य रामसरोज यादव बताउँछन्।
अहिलेको अवस्थामा जनकपुर भ्रमणमा आउने पर्यटकहरू एक दिन पनि बस्ने अवस्था नरहेकाले कम्तिमा दुई वा दुईभन्दा बढी दिन यहीं बस्ने अवस्था बनाउन पर्यटकीय गन्तव्य छनोट गरी ‘टुर प्याकेज’ बनाउन अपरिहार्य रहेको उनको भनाइ छ। ‘अहिले बिहान आएर बेलुका फर्किनुपर्ने बाध्यता छ। किनकि, जानकी मन्दिर र जनकपुर मात्रै हेर्न त दुई घण्टाभन्दा बढी लाग्दैन,’ उनी भन्छन्, ‘पर्यटकलाई यहाँका अरू ठाउँमा पनि घुमाएर ‘इंगेज’ गराउने र खर्च गर्ने ठाउँ एवं क्षेत्र विस्तार गर्नसके मात्रै हामीले लाभ लिनसक्छौं। त्यसतर्फ प्रदेश र स्थानीय सरकारले अझ बढी ध्यान दिनुपर्छ।’
मिथिलाञ्चलको मौलिक सभ्यतासँग आगन्तुकहरूलाई साक्षात्कार गराउने नयाँ रणनीति अख्तियार गर्न नसकेमा होटेल मात्रै होइन, यहाँको समग्र क्रियाकलाप नै समस्यामा पर्ने प्रदेशसभा सदस्य रामअशिष यादव बताउँछन्। भन्छन्, ‘छिमेकी भारत र अरू मुलुकबाट आउने पर्यटकलाई यहाँका ऐतिहासिक सभ्यता, संस्कार, मौलिक रहनसहन, लोकजीवन, खानपिनको अध्ययन र अवलोकन गर्न मिल्ने गरी हामीले एउटा प्याकेज बनाउन सक्नुपर्छ। त्यसले उनहरूलाई केही दिन बस्न अभिप्रेरित गर्ला र यहाँको आर्थिक क्रियाकलापमा योगदान पुग्ला।’रासस



























































Discussion about this post