हुम्लाः नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फको उडानका लागि नयाँ नियम लागु गर्दा कर्णालीका हिमाली जिल्लामा उडान प्रभावित हुँदै आएका छन् ।
हिमाली जिल्लाका विभिन्न विमानस्थलको उडान तालिका अनुसार मात्र उडान भर्नुपर्ने नियम लागु भएसँगै दैनिक उडान प्रभावित हुँदै आएका हुन् ।
हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बिहान बाक्लो कुहिरो लाग्ने, पानी पर्ने र बादल लाग्ने भएका कारण एक सातायता दैनिक हवाई सेवा अवरुद्ध हुँदै आएको बताए। उनले प्राधिकरणले हवाई उडानका लागि नयाँ नियम लागु गरेपछि उडान प्रभावित हुने गरेको बताउँदै उडान नहुने चिन्ता थपिएको बताए।
प्राधिकरणले साउन दोस्रो साताबाट आन्तरिक हवाई उडानका लागि उडान तालिकाको समयबाहेक अन्य समयमा उडान भर्न नपाउने नियम लागु गरेको छ । उनले बर्खाको मौसममा बिहान ११र१२ बजेसम्म मौसम बिग्रिने र १२ बजेपछि मौसममा सुधार आउने भए पनि नयाँ हवाई उडान नियम अनुसार सिमकोट विमानस्थलका लागि १२स्३० बजेपछि उडान भर्न नपाउने भएकै कारण समस्या देखिएको बताए ।
हवाई सुरक्षाका लागि नयाँ नियम राम्रो भए पनि हिमाली जिल्लाका लागि यो नियम व्यावहारिक नभएकोसमेत उनले बताए। उनले बाध्यता र अवस्था नबुझेर नयाँ कार्यतालिका लागु गर्दा कर्णालीका बासिन्दा मर्कामा परेको बताए ।
कर्णालीका हुम्लाको सिमकोट, मुगुको ताल्चा, डोल्पाको दुनै, सुदूरपश्चिमको बाजुराको कोल्टी विमानस्थलका लागि बिहान ६ बजेबाट दिउँसो १२स्३० बजेसम्म उडान भर्ने नयाँ कार्यतालिका रहेको छ । यी विमानस्थलमा चार दिनदेखि लगातार उडान हुन सकेको छैन । समिट एयर सिमकोट स्टेसनका प्रबन्धक गोविन्द लामाले प्राधिकरणको नयाँ नियम हिमाली जिल्लामा उडान भर्न समस्या देखिएको गुनासो सुनाए।
सडक सञ्जाल नजोडिएको माथिल्लो हुम्लाका लागि हवाई सेवाभन्दा यात्रुलाई अन्य विकल्प नभएका कारण पनि अहिले लागु भएको नियममा संशोधन गर्न आवश्यक रहेको उनले बताए। समिट र तारा एयरले चार दिनदेखि सिमकोटका लागि उडान भर्न सकेका छैनन् । उनले बर्खामा ११र१२ बजेपछि मात्र मौसममा सुधार आएर उडान भर्न सकिने अवस्था रहेको बताउँदै उडान भर्ने तालिकामा मौसम सुध्रिन लाग्ने र मौसममा सुधार आएको समयमा उडान तालिका सकिने भएको कारण महिनौँसम्म उडान नहुने सम्भावना बढी रहेको बताए।
नयाँ उडान तालिका कार्यान्वयनमा आएसँगै उडान प्रभावित हुँदा यात्रु मर्कामा परेका छन् भने कार्गो सामानसमेत ढुवानी हुन नसक्ने अवस्था आएको छ । सीता एयर नेपालगन्जका बजार प्रबन्धक सन्दीप भण्डारीले कर्णालीका हिमाली जिल्लामा अहिलेको नयाँ उडान नियम उपयुक्त नभएको बताए। उनले हवाई सुरक्षाका लागि नियम आफ्ना ठाउँमा ठिक भए पनि हिमाली जिल्लामा १२स्३० बजेपछि मात्र मौसम सुधार भएर उडान हुने भएका कारण समस्या देखिएको बताए । अहिलेको नियमले कर्णालीका जुम्ला र सुर्खेत जिल्लामा मात्र उडान हुने देखिएको छ ।
जुम्लाको उडान तालिका बिहान ६ बजेबाट बेलुका ४ बजेसम्म रहेको छ । उनले यस हिसाबले कर्णालीका हिमाली जिल्लामध्ये जुम्लाबाहेक अन्य विमानस्थलमा उडान प्रभावित भइरहेको बताए। हवाई सुरक्षालाई सुरक्षित बनाउनका लागि प्राधिकरणले नयाँ नियम कार्यान्वयन ल्याएको र यसलाई केही समयसम्म कार्यान्वयनमा रहने परिपत्र आएको सिमकोट विमानस्थलले जनाएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।




























































Discussion about this post