काठमाडौं- निजी विमान कम्पनीहरूले आगामी तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने घोषणा गरेका छन् । विपत्को समयमा विमान कम्पनीहरूले अधिकतम मूल्य लिएको भन्दै सामाजिक सञ्जालमार्फत घोर आलोचना भएपछि उनीहरूबाट यो घोषणा आएको हो ।
आइतबार बिहानैदेखि सामाजिक सञ्जालमा देशका विभिन्न ठाउँका यात्राका निस्किएका हवाई यात्रुले बुद्ध एयर, श्री एयर लगायतका विमान कम्पनीहरूद्वारा विपदकेन्द्रित मुनाफा कमाउन बढाइएको भाँडा दर सामाजिक सञ्जालमा राखेका थिए । र, ती कम्पनीको चर्को विरोध गरेका थिए ।


सामाजिक सञ्जाल प्रयोगकर्ता प्रताप उप्रेतीले एक स्क्रिनसर्टसहित लेखेका छन्, “देशमा यत्रो ठूलो आपत परेको छ, तर यहाँको घरेलु विमान सेवा कम्पनीहरूले भने कालोबजारी गरिरहेका छन्। कठै, मेरो देश!”


यसैगरी, सामाजिक सञ्जाल प्रयोगकर्ता प्रभास डल्लाकोटीले श्री, यति र बुद्ध एयरको बढाइएको भाडा दर सार्वजनिक गर्दै सोही क्याप्सन लेखेका छन् । अर्का प्रयोगकर्ता गणेशप्रसाद दुलालले पनि स्क्रिनसर्टसहित सोही कुरा लेखेका छन् ।


अर्का प्रयोगकर्ताले पार्किङमा पनि उच्च मूल्य तिर्नुपरेको बताएका छन् ।


सामाजिक सञ्जालमार्फत विरोधपश्चात सरकारले लिएको निर्णय:
आइतबार बिहान नै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक सञ्जालमार्फत महँगो मूल्य नलिन अमेरिकाबाटै आग्रह गरेका थिए । यसअघि शनिबार नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भाडादर घटाउन नौ बुँदे निर्देशन दिएका थिए ।
यसपश्चात वायुसेवा सञ्चालक सङ्घको आइतबारको बैठकले तीन दिन (सोमबार, मंगलबार र बुधबार) सम्म अधिकतम मूल्यमा टिकट बिक्री नगर्ने निर्णय गरेको हो । यससँगै अब सबै एयरलाइन्सहरूले यात्रुलाई सस्तो मूल्यका टिकट दिने भएका छन्।
संघले सरकारसँग पनि इन्धन, विमानस्थल शुल्क, ल्याण्डिङ र पार्किङलगायतको शुल्कमा छुट गर्न आग्रह गरेको छ । आन्तरिकतर्फ उडान गरिरहेका वायुसेवा कम्पनीहरूले अबको तीन दिनसम्म सस्तो मूल्यमै टिकट दिने भएका छन्।
देश बाढी, पहिरोको चपेटामा रहेको बेलामा नागरिकलाई राहत प्रदान गर्न यस्तो निर्णय गरेको संघका अध्यक्ष मनोज कार्कीले बताए। यसका साथै नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा अधिक नाफा नलिने र परल मूल्यमा नै उपलब्ध गराएको अस्थामा फ्युल चार्ज घट्ने र हवाई यात्रुलाई टिकटको मूल्य सस्तो पर्ने भन्दै इन्धनको मूल्य घटाइदिन संघले विज्ञप्तीमार्फत आग्रह गरेको छ।
‘जहाजको जति अकुपेन्सी हुन्छ त्यसको ७० प्रतिशत लोअर लिमिटमा बेच्छौं। यो भरिएपछि १५ प्रतिशत मिडल र यो पनि भरिएपछि १५ प्रतिशत अपर लिमिटमा बेच्ने गरेका छौं,’ उनले भने, ‘अहिलेको लागि अपर लिमिटमा नबेच्ने र सबै टिकट लोवर लिमिटमै बेच्ने गरी निर्णय गरिएको छ।’त्यस्तै वायुसेवा सञ्चालक संघले ल्याण्डिङ, पार्किङ, नेभिगेसन, यात्रुसेवा शुल्क लगातका अन्य शुल्कमा छुट दिएको अवस्थामा हवाई यात्रुलाई थप राहत हुने पनि विज्ञप्तीमा उल्लेख गरेको छ ।
अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुलाई ११ अक्टोबरसम्म उड्न दिने:
नेपाल वायु सेवा निगमले वर्षाले प्रभावित भएर अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुहरूलाई ११ अक्टोबरसम्म उडान गर्न दिने भएको छ ।
निगमका अनुसार, २७ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म टिकट लिएका यात्रुहरूलाई ११ अक्टोबरसम्म उडान गर्दा शुल्क लाग्ने छैन ।
निगमले अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुहरूलाई यथाशिघ्र निगमको कार्यालयमा सम्पर्क राख्न पनि आग्रह गरेको छ ।





























































Discussion about this post