काठमाडौं- पहाडकी रानी उपनामले चिनिएको बन्दीपुरलाई ‘भिजिट बन्दीपुर–२०२५’को रूपमा घोषणा गरिएको छ। यो घोषणा पर्यटन दिवसको अवसरमा बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवर्धनका लागि गरेको हो।
आन्तरिक र बाह्य पर्यटकलाई बन्दीपुर भित्र्याउने उद्देश्यले ४५औँ विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रममा भ्रमण वर्षको लोगो सार्वजनिक गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश कृषि, भूमि तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठ र बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले संयुक्त रूपमा ‘भिजिट बन्दीपुर २०२५’को घोषणा गरेका हुन्।


मन्त्री जिसीले भने, “बन्दीपुर भ्रमण वर्षले यहाँको समृद्धिमा थप टेवा पुर्याउने छ। कृषिमा लगानी बढाएर किसानको आयमा वृद्धि गर्न यस पर्यटकीय क्षेत्रले सहजीकरण गर्नेछ।” उनले बन्दीपुरको सुन्दरता यहाँका ऐतिहासिक र पुरातात्विक सम्पदामा रहेको छ र मठ, मन्दिर र गढीहरूको प्रचारप्रसार गर्दा पर्यटकहरूको सङ्ख्या वृद्धि गर्न सकिने बताइन्।
गाउँपालिकाले यसअघि पनि विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। ‘घुम्न जाउँ है बन्दीपुर’ नामक कार्यक्रमअन्तर्गत अघिल्लो आर्थिक वर्षमा देशका प्रमुख सहरहरू काठमाडौँ, पोखरा, चितवन, बुटवल, र भैरहवामा अन्तरक्रिया गरिएका थिए।
बन्दीपुरका प्रमुख गन्तव्यहरूलाई चिनाउन विभिन्न भाषामा प्रचार सामग्री तयार पारिएको छ, जसमा क्युआर कोडमार्फत सजिलै पढ्न र सुन्न सकिने व्यवस्था गरिएको छ। गाउँपालिका अध्यक्ष थापाले भने, “अघिल्लो आर्थिक वर्षमा नै बन्दीपुरको पर्यटकीय क्षेत्रको बारेमा जानकारी गराउन भिडियो डकुमेन्ट्री निर्माण गरिएको छ।”
बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले ‘भिजिट बन्दीपुर–२०२५’ मा वर्षभरि गाउँपालिकाका सबै वडामा पर्यटन प्रवर्धनका विभिन्न कार्यक्रम आयोजना गरिने जानकारी दिएका छन्। यहाँका प्रमुख गन्तव्यहरूमा खड्देवी मन्दिर, बिन्दबासिनी थानीमाई मन्दिर, सिद्धगुफा, पातालीद्वार गुफा, र मणि मुकुन्दसेन पदमार्ग सहितका स्थलहरू समावेश गरिएको छ।
बन्दीपुरमा विशेष गरी चीन, फ्रान्स र जर्मनीबाट पर्यटक आउने गरेका छन्। यहाँको प्राकृतिक सुन्दरता, हावापानी, र पुरानो घरहरूको आकर्षण विदेशी पर्यटकलाई लोभ्याउने प्रमुख कारण बनेको व्यवसायीहरूले बताएका छन्।
सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ। यहाँबाट मनोरम हिमशृङ्खला, पहाड, र टाकुराहरू अवलोकन गर्न सकिन्छ, जसले आगन्तुकको मन लोभ्याउँछ।



























































Discussion about this post