भोजपुरः देशको पहिलो संस्कृत पाठशाला सञ्चालनका लागि स्थापना भएको ऐतिहासिक षडानन्द सीताराम गुठीको जग्गा खोजी थालिएको छ । भोजपुरको दिङ्लामा नेपालकै पहिलो पाठशाला सञ्चालनका लागि आबाल ब्रह्मचारी षडानन्द अधिकारीले विसं १९३२ मा स्थापना गरेको गुठीको जग्गा खोजी थालिएको हो ।
हालसम्म गुठीको नाममा करिब एक हजार दुई सय रोपनी जमिन रहेको भए पनि बाँकी जग्गा कहाँ–कहाँ छ भनेर खोजीकार्य भइरहेको षडानन्द सीताराम गुठीका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । हाल फेला परेको जग्गामध्ये करिब दुई सय २० रोपनी जग्गा भने बाँझो रहेको उनको भनाइ छ । गुठीको नाममा कुल एक हजार सात सयदेखि दुई हजार रोपनीसम्म जग्गा रहेको बुझिएको अध्यक्ष पौडेलको भनाइ छ । खोजी गर्ने क्रममा सङ्खुवासभा जिल्लाको मानेभञ्याङमा गुठीको नाममा रहेको नौ रोपनी जग्गा फेला परेको उनको भनाइ छ ।
“षडानन्द सीताराम गुठीका नाममा रहेको जग्गा विगतका वर्षबाट नै खोजी गरिरहेका छौँ”, अध्यक्ष पौडेलले भने, “महाराजले यहाँ पाठशाला सञ्चालन गर्न धेरै ठाउँमा गुठी स्थापना गरेको देखिन्छ । खोजी गर्ने क्रममा सङ्खुवासभामा पनि गुठीका नाममा रहेको जग्गा फेला परेको अवस्था छ । खोजी गर्ने कार्यलाई हामीले जारी राखेका छौँ ।”
तत्कालीन द्वन्द्वका समयमा यहाँको संरचनामा आगलागी गरिँदा कागजात जलेका कारण खोजीकार्यमा केही कठिनाइ देखिएको उनले बताए । गुठीको स्वामित्वमा भोगचलन भएको जग्गा विसं २०३६ को नापीमा छुटेको पाइएको उनले बताए । तत्कालीन समयमा गुठीको स्वामित्वमा रहेको कतिपय जमिन वन क्षेत्रमा परेको उनको भनाइ छ । गौचरन, गैरीचौरलगायत षडानन्दले गुठीको रूपमा राखेको बुझिए पनि ती क्षेत्रलाई वन क्षेत्रमा राखिएको पाइएको पौडेलले जानकारी दिए ।
आवश्यक प्रमाण जुटाएर नापीमा छुट भएका जग्गालाई गुठीको स्वामित्वमा ल्याउन पहल भइरहेको उनको भनाइ छ । “गुरुले स्थापना गरेका कतिपय जमिन वन क्षेत्रमा नापी भएको पनि देखिएको छ”, उनले भने, “कतिपय जमिन नापीमा छुटेको पाइएको छ । गुरुले राखेको जगेडा वनलाई त्यो समयमा धार्मिक वनमा राख्न छुटेको अवस्था पनि छ ।”
गुठीको नाममा रहेको तर अतिक्रममा परेको जमिनलाई व्यवस्थित गर्ने काम पनि भइरहेको उनको भनाइ छ । कात्तिके बजार र दिङ्ला बजारमा रहेको गुठीको जग्गालाई कानुनी दायरामा ल्याएर व्यवस्थित गर्दै संरक्षण गर्ने काम भइरहेको अध्यक्ष पौडेलले जानकारी दिए । “कतिपय ठाउँमा गुठीको जग्गामा मानव बस्ती रहेको छ”, उनले भने, “त्यस्तालाई व्यवस्थित गर्न लागिपरेका छौँ । बस्ती नहटाए पनि त्यहाँबाट गुठीलाई केही आम्दानी भित्र्याउने हाम्रो योजना छ ।”
गुठीको जमिनको खोजी तथा संरक्षण गर्दै यहाँ संस्कृत भाषाको पाठ्क्रम लागू गर्नका लागि राज्यसँग समितिले पहल गरिरहेको भए पनि त्यसको सुनुवाइ नभएको अध्यक्ष पौडेलले बताए । गुरुकुलसहित यहाँका धेरै संरचना जीर्ण बनेपछि संरक्षण भइरहेको समितिले जनाएको छ । विस २०७२ को विनाशकारी भूकम्पले यहाँका धेरै संरचनामा क्षति पुर्याएको छ ।
यहाँ बालागुरु षडानन्दले नै साप्ताहिक हाट मेलाको सुरुआत गरेको जनाइएको छ । रामनवमीमा सतबिज मेला र चौमासा पुराण लाग्ने गरेको गुठीका अध्यक्ष पौडेलले जानकारी दिए। त्यस्तै तीज, ठूलीएकादशीलगायतका अवसरमा भव्य मेला लाग्ने गरेको छ । यहाँ आएर दर्शन गरे सन्तान प्राप्ति हुने तथा बौद्धिक क्षमतामा वृद्धि हुने धार्मिक विश्वास रहेको छ ।
तत्कालीन समयमा देशको पश्चिम नेपालका गुल्मी, सल्यान, प्यूठानसम्म र छिमेकी मुलुक भारतको सिक्किम तथा आसाम र भुटानलगायतबाट गुरुकुल शिक्षा लिन विद्यार्थी आउने गरेका थिए । अहिले पनि दाङ, स्याङ्जा, काठमाडौँ, धरान, विराटनगरलगायत अधिकांश ठाउँबाट दर्शन गर्न मानिस आउने गरेको अध्यक्ष पौडेलको भनाइ छ । खेती भइरहेको गुठीको जग्गाबाट वार्षिक दुई सय मुरी हारहारीमा धान आउने गरेको पौडेलले जानकारी दिए ।
यहाँ रहेको पार्वती कुण्ड र हनुमान कुण्डको संरक्षण गरिएको छ । चार रोपनी क्षेत्रमा रहेको भित्री बगैँचाको पनि संरक्षण थालिएको छ । त्यहाँ कागती, सुन्तला लगाउने काम भइरहेको छ । त्यस्तै षडानन्दले नै स्थापना गरेको बाहिरी बगैँचाको पनि संरक्षण गर्ने तयारी रहेको गुठीको भनाइ छ । यहाँका बगैँचामा एक सय आठ प्रजातिका बोटविरुवा रहेको स्थानीयको भनाइ छ ।
यहाँका धार्मिक तथा ऐतिहासिक संरचनाको संरक्षण गर्दै विकासमा स्थानीय सरकारले भूमिका खेल्ने षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिए। गुठीका नाममा रहेका सम्पूर्ण सम्पत्तिको खोजीका लागि नगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्ने उनको भनाइ छ ।
“षडानन्द क्षेत्र देशको नै सम्पत्ति हो”, उनले भने, “यसको विकासमा नगरले आवश्यक भूमिका खेलिरहेको छ । ऐतिहासिक सम्पदाको संरक्षण गर्दै गुठीको नाममा रहेको जग्गा खोजीमा नगरले आवश्यक सहयोग गर्दै आएको छ । गुठीको विधानअनुसार काम अघि बढेको अवस्था छ ।”
यहाँका छात्राबाससहितको तीनवटा संरचनामध्ये दुई भत्किएका छन् भने एउटा जीर्ण अवस्थामा रहेको छ । जीर्ण बनेर भत्किएको एउटा भवन निर्माणका लागि केन्द्र सरकारसँग बजेट माग गरेको भए पनि बजेट नपरेको समितिले जनाएको छ ।
गुठी परिसरमा षडेश्वर राम–सीताको मन्दिर रहेको छ । रामचन्द्र नर्मदेश्वर, शिवालय र पशुपतिका चारवटा मन्दिर जीर्ण बन्दै गएका छन् । कैलाश डाँडामा रहेको बेद विद्याश्रम भवनको भने जीर्णद्धार भएको छ । अहिले २३ जना बटुकले ृशिक्षार्थीे विभिन्न कर्मकाण्ड सिक्दै आएका छन् । यहाँ भागवत पुराण, चण्डीपाठलगायतको सिकाइ हुने गरेको छ । त्यसको अलवा अतिरिक्त विषयका रूपमा अहिले पनि संस्कृतसमेत पठनपाठन हुने गरेको छ । रासस




























































Discussion about this post