काठमाडौं– पर्यटन विभागले उद्धार उडान (रेस्क्यु फ्लाइट) प्रक्रियालाई सहज बनाउन ठोस कदम चाल्न थालेको छ। विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मीको संयोजकत्वमा बसेको पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमन निर्देशक समिति बैठकले उद्धार प्रक्रियामा देखिएका चुनौतीहरू समाधान गर्न विभिन्न पहल गर्ने निर्णय गरेको हो।
बैठकले उद्धार उडानका लागि अनुमति प्राप्त गर्ने प्रक्रिया झन्झटिलो र लामो समय लाग्ने भएकाले प्रक्रियागत अनुमति छोट्याउन र निषेधित क्षेत्रहरू सम्बन्धी पुनरावलोकन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाउने निर्णय गरेको छ। विशेषतः मनास्लु र सोलुखुम्बु क्षेत्रमा उद्धार पर्खाइमा रहेका पर्यटकहरूको हवाई उद्धारलाई सहज बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टर उडान अनुमति प्रदान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गर्ने निर्णय भएको छ।
साथै, मनास्लु र सोलुखुम्बुमा रहेका पर्यटकहरूको अवस्था बुझ्न नेपाल पर्वतारोहण संघको नेतृत्वमा तत्काल अनुगमन टोली खटाउने निर्णय भएको निर्देशक राकेश गुरुङले जानकारी दिएका छन्। विपदमा परेका पर्यटकहरूको उपचारलाई सहजीकरण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग पनि समन्वय गरिने निर्णय गरिएको छ।



























































Discussion about this post